दावेदारी छोडेर आन्दोलन

Share:
  
- पुरुषोत्तम दाहाल
निरंकुशता विरोधी आन्दोलन सशक्त पार्न कांग्रेसले प्रधानमन्त्रीको दावेदारी छोड्नुपर्छ ।
p34
 
तस्वीरः बिलाश राई

मुख्य विपक्षीहरू मात्र होइन सत्तारुढ घटक समेत यतिबेला आन्दोलनको तयारीमा छ । कांग्रेस र एमालेसहितका विपक्षीहरूले तताउन लागेको तावामा सत्तारुढ मधेशी घटकहरू स्वार्थको रोटी सेक्ने तयारीमा छन् । सत्ताधारी मधेशी मोर्चाका संयोजक समेत रहेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सरकारले पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएर नेपाली राजनीतिको निर्लज्ज चरित्र प्रस्तुत गरेका छन् । हुन त सरकारको नेतृत्व गरेको माओवादीले समेत सडक आन्दोलन गर्ने उद्घोष गरिरहेकोले निर्लज्जताको पराकाष्ठा सीमाबारे अनुमान गर्न गाह्रो छ । भट्टराईलार्ई काँधमा बोकेर सत्तामा पु¥याएको दाबी गर्ने गच्छदार अहिले भट्टराईको राजनीतिक अवसान हुने संकेत पछि ‘यू टर्न’ को मनस्थितिमा पुगेका छन् । हुन त २०४८ पछि लगातार सत्तामा रहेका गच्छदार र उनको प्रवृत्तिबाट योभन्दा बढी अपेक्षा गर्नु राजनीतिक सभ्यता विपरीत हुनेछ ।

आन्दोलनको झिल्को
सानै भए पनि विपक्षीहरूबाट आन्दोलनको झ्ल्किो उठेको छ । तर १० माघमा दैलेख सदरमुकाममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री भट्टराई विरुद्धको प्रदर्शन र त्यसपछि उत्पन्न परिस्थितिका कारण राजनीति मुठभेडमा जान सक्ने आकलन गर्न सकिन्छ । न्याय माग्न आएका जनतालाई ‘गुण्डा’ को उपाधि भिराएका छन् अध्यक्ष दाहालले । आम नागरिकलाई यसरी अपमानित गर्ने अधिकार कसैलाई पनि छैन । विपक्षी दलका नेताहरू, सञ्चारकर्मी र अन्य समुदायको   आग्रहको बेवास्ता गर्दै प्रधानमन्त्री भट्टराई नियोजित भिडन्तको रणनीति अनुरुप दैलेख पुगेका थिए । भिडन्तपछि पत्रकार डेकेन्द्र थापाका अभियुक्तहरूलाई पक्राउ गर्न सक्रिय प्रहरी अधिकृतहरूसहित प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउनुबाट भिडन्त चाहेको प्रष्ट हुन्छ । 
 
आन्दोलनको झ्ल्किो फिलुङ्गो बन्दै डढेलोमा परिणत हुँदैछ । सिरियाका राष्ट्रपति बसर अल असदकै शैलीमा नेपालमा जनताविरुद्ध आक्रामक कारबाही गर्ने र सत्ता जोगाउने ध्येय प्रधानमन्त्री र उनका अपकर्मलाई काँध थापिरहेको माओवादी नेतृत्वले नसोचे पनि हुन्छ । त्यसको सानो ट्रेलर दैलेखवासीले देखाएका छन् । पत्रकार थापाका हत्याराहरूले प्रशासनसमक्ष आत्मसमर्पण गरिसकेपछि प्रधानमन्त्री र उनका कानूनी सल्लाहकारले दिएको अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्त विरोधी आदेशबाट सिंगो देश मर्माहत र क्रूद्ध भएको छ । 
 
प्रमुख विपक्षीहरूको आन्दोलन र मानवअधिकारको प्रश्नबाट उत्पन्न परिस्थितिका कारण विभाजित माओवादीलाई एकै ठाउँमा उभिने अवसर दिन सक्छ । प्रतिपक्षीहरूसँग लय मिलाउँदै डा. भट्टराईलाई सत्ताच्यूत गर्ने मोहन वैद्य नेतृत्वको माओवादी यतिबेला द्विअर्थी भाषा प्रयोग गर्न थालेको छ । एमाओवादीले पनि कांग्रेस वा एमाले भन्दा वैद्यलाई नजिकको मित्र अनुभव गरिरहेको छ । हालै  सम्पन्न वैद्य पक्षको महाधिवेशन फिक्का र निरुद्देश्य भएको तथ्य वैद्य समर्थक लेखकहरूले प्रस्तुत गरिरहेकाले भोलिका दिनमा वामदेवको अवस्था नहोस् भन्नेतर्फ सचेत वैद्यले निर्वाचनअघि नै एकीकरण प्रस्ताव नल्याउलान् भन्न सकिंदैन । 
 
दावेदारी परित्याक्त आन्दोलन
निरंकुशता विरोधी आन्दोलन सशक्त गराउन प्रधानमन्त्रीका लागि कांग्रेसद्वारा प्रस्तावित सभापतिको नाउँ फिर्ता गरेको घोषणा गर्नुपर्दछ । कोइरालाका लागि प्रधानमन्त्री पद किस्तीमा सजाएर दिनकै लागि जनता सडकमा उत्रिने संभावना छैन । २०६२ को अवस्था भिन्न थियो । विगत जे–जस्ता भए पनि गिरिजाप्रसादको व्यक्तित्वले आन्दोलनमा आशा र भरोसाका साथ उचाइ बनाएको थियो । सशस्त्र हिंसामा सक्रिय माओवादीबाट भयभीत मानसिकताले आन्दोलनमा ऊर्जा थपेको थियो । राजा ज्ञानेन्द्रको महत्वाकांक्षाले आगोमा घिउ थपेको थियो । राजा ज्ञानेन्द्र जस्तै भट्टराई सरकार लोकतन्त्रविरुद्ध निरंकुशताको बाटोमा अग्रसर छ । आफू सम्राट अशोक जस्तो भएको भट्टराई वाणी तथा गौतम बुद्ध र गान्धीमार्गको पथिक भएको अध्यक्ष दाहालको लोक हँसाउने भनाइले माओवादीको निरंकुश लक्ष्यलाई निषेध गरेका छैनन् ।
 
अशोक वा बुद्ध र गान्धीको पदमार्गी हुन विगतका यावत हिंसात्मक कुकर्मको सार्वजनिक क्षमायाचना गर्ने तथा हिजोका कुनै पनि अपकर्मप्रति दण्डित हुन तयार भएको घोषणा गर्ने हिम्मत राख्न सक्नुपर्दछ । कमजोर प्रतिपक्ष र आन्दोलनको मूडमा नरहेको आम सोचलाई आन्दोलनको राप र परिवर्तनको धारमा समेट्नका लागि यो आन्दोलन नभई सिद्धान्तका लागि भएको विश्वास दिनु आवश्यक छ । एमाले, कांग्रेससहित आन्दोलनमा जान तयारहरूले आफ्नो उम्मेदवारी दावी परित्याग गर्नु मात्र होइन स्वयं आफूसँग सहमति गरेर कार्यान्वयन हुन नसकेको अनुभव गर्ने र आन्दोलनको बल्छी थाप्न उत्सुक सत्तारुढ मधेशी घटकले पनि नैतिकता छ भने पहिले सत्ताको चास्नीबाट बाहिर आउन सक्नुपर्दछ । पदमा बस्ने र आन्दोलनको नारा उराल्ने अथवा कसैलाई पदासीन गराउन मात्र हुने आन्दोलनको कुनै अर्थ रहँदैन । 
 
comments powered by Disqus

रमझम