१-१४ कात्तिक २०७२ | 18-31 October 2015

सद्भाव हाम्रो संस्कृति

Share:
  
- रामेश्वर बोहरा
संसारमा कमै देखिने सामुदायिक सद्भाव नेपाली समाजमा संस्कृतिको रूपमा स्थापित छ। राजनीतिक स्वार्थले त्यसलाई खल्बल्याउने प्रयास गरे पनि नेपाली सद्भाव डगमगाएको छैन।

द फर्स्ट सपर

आवरण तस्वीर : किशोर कायस्थ
तस्वीरमाः दायाँबाट क्रमशः बादल भट्ट, गौरी मल्ल, अरुणा कार्की, सफर पोखरेल, फिरोज खड्का, छिरिङ छोदेन, छिरिङरितार शेर्पा, प्रमोद अग्रहरि, रमेश रञ्जन झा, आलोक थापा, भिन्तुना जोशी, सरिता गिरी र अनिल पाण्डे।
बाइबलको 'न्यू टेष्टामेन्ट' मा क्रसमा टाँगिनुअघिको अन्तिम साँझ् जिसस क्राइष्टले आफ्ना शिष्यहरूसँग अन्तिम भोज (लास्ट सपर) गरेको उल्लेख छ। इटालीका चित्रकार लियोनार्दो दा विन्चीले यसैलाई आधार बनाएर 'द लास्ट सपर' शीर्षकको चर्चित चित्र बनाए। विन्चीको यही चित्रबाट प्रभावित भई दुईदशकदेखि फोटोग्राफीमा सक्रिय किशोर कायस्थले 'द लास्ट सपर' को नेपाली भर्सन सिर्जना गरे। “दोस्रो संविधानसभा पनि संविधान जारी गर्न असफल हुने हो कि भन्ने आशंकामा मैले यसको परिकल्पना गरेको थिएँ”, कायस्थ भन्छन्, “तर, काम अन्तिम चरणमा आइपुग्दासम्म संविधान जारी भयो र 'लास्ट सपर फर्स्ट सपर' (पहिलो भोज) बन्यो।”

उनको 'द फर्स्ट सपर' तस्वीरमा सामयिक नेपालको जातीय र क्षेत्रीय असन्तुष्टिलाई सहिष्णु भावले सम्बोधन गर्न सकिने आशय प्रकट भएको छ। 'द फर्स्ट सपर' को शीर्षकमा अस्ट्रेलियाली कलाकार सुसन डोरोथी ह्वाइटले महिला अधिकारको विषयमा २७ वर्षअघि यस्तै चित्रकला तयार पारेकी थिइन्।

प्रसारण उन्मुख टेलिश्रंृखला 'सिंहदरबार' का सदस्यहरूलाई पात्र बनाइएको यो तस्वीरमा कायस्थको परिकल्पना र फोटोशपको गजबको संयोजन छ। “संविधानको घोषणासँगै हिमाल, पहाड, तराई–मधेश सबै क्षेत्रका जनता विवाद समाधान गरी देश उज्यालो बनाउनेतिर लाग्नुपर्छ भन्नु नै तस्वीरको सन्देश हो”, उनी भन्छन्।

एसेन्स् पत्रिकामा पहिलोपटक छापिएको यो तस्वीरलाई यतिवेला कायस्थले आफ्नै खर्चमा पोष्टर बनाई निःशुल्क बाँडिरहेका छन्। अबको एक वर्ष यसखाले १२ वटा तस्वीरकला तयार पारी प्रदर्शनी गर्ने सोच बनाएका छन्।

करीब एक महीनादेखिको भारतीय नाकाबन्दीले राजधानीसहित देशभरको जनजीवन नराम्ररी प्रभावित छ। इन्धन अभावले सडकमा गाडी घटेका छन्, यात्रुको विचल्ली छ। ग्याँस नपाएर कतिका घरमा चूलो बल्न छाडेको छ। राजधानीका सडकमा पेट्रोल–डिजल भर्न दुई–तीन वटा लाइनमा बसेका निराश अनुहार नियालेका समाज अध्येताहरू यो संकटले सामाजिक सद्भाव बिथोलिने तहमा पुर्‍याउला कि भनेर चिन्तित थिए। प्रत्यक्षतः मधेशकेन्द्रित दल र अप्रत्यक्ष रूपमा भारतले गरेको नाकाबन्दीले निम्त्याएको यो संकटले समाज अध्येताहरूको आशंका झ्ैं राजधानीमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिहरूमाथि कुनै पनि प्रकारको आक्रोश नपोखिनु सबैभन्दा सुखद् पक्ष रह्यो।

ठीक त्यही अवस्था देखियो, करीब दुई महीनादेखि ठप्प तराई मधेशमा पनि। मधेशकेन्द्रित दलका केही नेताले 'पहाडेहरूलाई लखेट्नुपर्छ' भन्ने सम्मका अभिव्यक्तिमार्फत साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयास गरे पनि मधेशी समुदायको संयम डग्मगाएन। अपवादका केही घटना भए पनि नेताहरूका साम्प्रदायिक घृणा फैलाउने आह्वानलाई मधेशी समाजले अस्वीकार गरिदियो। तराई–मधेशका पहाडिया समुदायले मधेशका जायज मागमा काठमाडौंलाई दबाब दिन विभिन्न ठाउँमा स्वस्फूर्त र्‍याली निकाले। “यही हो नेपाली समाजको विशेषता र शक्ति” मानवशास्त्री सुरेश ढकाल भन्छन्, “जसले देश जोगाएको छ।”

बिक्रम राई
पछिल्ला महीनाहरूका घटनाक्रम, तिनलाई लक्षित गरेर भएका सद्भाव बिथोल्ने प्रयास र समाजले त्यसलाई परास्त गर्दै सद्भावको अँगालो झ्न् कसिलो पारेको प्रसंगहरू महत्वपूर्ण छन्। ८ प्रहरी र एक नाबालकको ज्यान लिने गरी ७ भदौमा भएको टीकापुर घटनाको आडमा कतिपय व्यक्ति र समूह जातीय–क्षेत्रीय सद्भाव बिथोल्न सक्रिय भए, तर समाजले संयम गुमाएन। 'थरूहट/थारूवान प्रदेश' माग गर्दै प्रदर्शनका क्रममा भएको त्यो हत्याकाण्डपछि सिंगो थारू समुदायलाई 'हिंस्रक' देखाउने र 'सयौं थारूलाई मारिएको' डरलाग्दो अफवाह फैलाउने प्रयासहरू नभएका हैनन्। तर, एउटा घटनाविशेषलाई लिएर ल्याउन खोजिएको विभाजन प्रयासले सदियौंदेखि सहिष्णु रहिआएको समाजलाई विचलित पार्न सकेन।

टीकापुर हत्याकाण्डपछि दुई थरी अफवाह फैलाउन थालिएसँगै सामाजिक सञ्जाल र भएजति सञ्चारमाध्यमबाट सामाजिक सद्भाव जोगाउन अपील गर्ने अनगिन्ती सद्भाव दूतहरू क्रियाशील भए। त्यसरी टीकापुरबाट सल्काउन खोजिएको 'थारू भर्सेस पहाडे' र 'जनजाति भर्सेस गैर–जनजाति' तथा पछिल्लो समय 'मधेशी भर्सेस पहाडे' को आगो बल्नै नपाई निभ्यो। २०६३ सालमा नेपालगञ्जबाट भड्काउन खोजिएको 'पहाडे–मधेशी' संवेदना होस् या २०६४ को गौर नरसंहारपछिको अवस्था, कपिलवस्तुबाट फैलाउन खोजिएको साम्प्रदायिक हिंसा होस् या त्यसयताका षडयन्त्रहरू, नेपाली समाजले सबै दुष्प्रयासलाई निस्तेज र तिरस्कृत गरेको छ।

सद्भावका बदलिंदा आधार

आपसी सम्बन्ध र अन्तरनिर्भरता नै नेपाली समाजमा सामाजिक सद्भावको प्रमुख आधार थियो। कृषिमा आधारित पर्म, पैंचो जस्ता आर्थिक उपार्जनका लागि अपरिहार्य क्रियाकलापले एकापसको अन्तरनिर्भरतालाई निरन्तरता दिएका थिए। फरक–फरक परिवार र समुदायका सदस्यहरूबीचको आदान–प्रदान त्यसैले सुचारु गराएको थियो। अरूको कुभलो नचिताउने पुण्य दर्शनले त्यसलाई बल दिएको थियो

समाज विकासको क्रममा यस्ता मान्यताहरूमा स्वाभाविक बदलाव आयो। कृषिले धानेको अर्थतन्त्रको ठूलो हिस्सा क्रमशः अन्यक्षेत्रले लिन थाले। शिक्षा, विकास, आधुनिकीकरण आदिले समाजको स्वरुप फेर्न थाल्दा आत्मनिर्भर बन्ने चाहनाले अन्तरनिर्भरता घटाउन थाल्यो। समाजमा यी सब भइरहँदा सबै क्षेत्रमा राजनीति यस्तोसँग हावी हुनपुग्यो कि; पाप, धर्म, परोपकार, पुण्य कमाउने जस्ता मान्यताहरू बिथोलिन थाले। हरेक कुरा राजनीतिबाटै निर्धारण गर्न खोजिएपछि सद्भावका आधारहरू कमजोर बने। प्रतिद्वन्द्वी भावनाले गरिने राजनीतिले सद्भावलाई कमजोर बनाउनु स्वाभाविक थियो। राजनीतिमा दल र व्यक्तिविशेषका स्वार्थहरू निर्णायक बन्न थालेपछि सद्भावका परम्परागत आधारहरू कमजोर हुँदै गए। पछिल्लो समयका जातीय–क्षेत्रीय आन्दोलनहरूले घृणा र उपहासका आयामहरू त बनाए, तर खराबी विरुद्ध प्रतिरोधी चेत निर्माण गर्न सकेनन्। मानवशास्त्री ढकाल सबैतिर राजनीति हावी भएपछि सद्भावका पाटा खल्बलिएको बताउँछन्।

त्यसकै परिणाम हो, अहिले समाजका अगुवाहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि निरन्तर अपील गर्नुपर्ने अवस्था आउनु। जनकपुुरबाट यसका लागि निरन्तर पहल गर्दै आएका प्रा. राजेन्द्र विमल ६ दशकभन्दा लामो समयदेखि समाजमा कुनै किसिमको दुर्भाव आफूले नदेखेको, तर पछिल्लो समय त्यसमा आँच आएको बताउँछन्। “सद्भावमा कहीं न कहीं ग्रहण लागेको छ” प्रा. विमल भन्छन्, “यसको प्रमुख कारण राजनीति नै हो। सकारात्मक परिणाम दिने अपेक्षा गरिएको राजनीतिले कसरी समाजमा नकारात्मक भावनाको बीजारोपण गर्‍यो भन्ने चिन्ताको विषय भएको छ।”

उनी अहिलेको राजनीतिक अवस्थाबाट देशले निकास पाए पनि समाजमा जबर्जस्ती बढाइएको साम्प्रदायिक तनावको विषको असर रहने खतरा देख्छन्। यो विषलाई राजनीतिले नै मार्नुपर्ने उनको भनाइ छ। सद्भावका आधारहरूलाई सुदृढ पार्दै समाजलाई एकताबद्ध पार्ने काम पनि राजनीतिकै भएको उनी बताउँछन्। “अनेक जाति, भाषा, भूगोल र धर्म–संस्कृति नेपाली पहिचान हुन्”, प्रा. विमल भन्छन्, “यस्ता विविधतालाई पृथकतातिर नभई एकतातिर डोर्‍याउने काम राजनीतिक नेतृत्वको हो।”

सहभाव, समभाव र सद्भाव

तराई–मधेशमा जारी पछिल्लो आन्दोलनका क्रममा देखिएका कतिपय घटनाहरूले सामाजिक सद्भावमा चुनौती थपेको धेरैको विश्लेषण छ। पहिचानको लागि भन्दै भइरहेको आन्दोलनमा समुदाय विशेषलाई लाञ्छित र उत्तेजित गर्ने खालका नारा लाग्नुलाई खतराको संकेत मानिएको छ। मानवशास्त्री ढकाल इतिहासमा भएका गल्तीहरूलाई अगाडि सारेर घृणा र बदलाको भावना बढाउने प्रयास हुनुलाई खतराको संकेत मान्छन्। उनी भन्छन्, “जाति, समुदाय र सांस्कृतिक वा भौगोलिक समूहबीच घृणा फैलाउने दुष्प्रयास हुनु सामाजिक सद्भावको लागि सबभन्दा ठूलो चुनौती हो।”

यो चुनौतीसँग जोडिएर आएको छ– मधेशी समुदायले गरिरहेको समभावको खोजी। मधेशकेन्द्रित दल र तिनका नेता मात्र हैन, आम मधेशीको एउटा हिस्साबाट समेत त्यो भाव प्रस्फुटित हुनथालेको छ। मधेशी समुदायमाथि समान व्यवहार भएन भन्ने त्यसको अन्तर्य हो। मधेशका सर्वसाधारणदेखि अगुवा र अधिकारकर्मीहरू समभाव भए मात्र सद्भाव बलियो हुने भन्न थालेका छन्। अधिवक्ता दीपेन्द्र झा हिजोका दिनमा अधिकारप्रति सचेत नरहेको मधेशी समुदाय २०४६ सालयताका राजनीतिक परिवर्तन, शिक्षा र लोकतान्त्रिक चेतले अधिकार दाबी गर्ने स्थितिमा पुगेकाले यो अवस्था आएको बताउँछन्। “हिजोको सौहार्दपूर्ण सम्बन्ध सद्भावका कारण नभई दमित भावनाको परिणाम थियो”, झा भन्छन्, “सद्भावको प्रयास त बल्ल शुरू भएको छ।”

उनको भनाइमा, मधेशी होस् या पहाडी, जनजाति होस् या गैर–जनजाति, दलित होस् या गैर–दलित, हरेकले म अरू नेपाली समान छु भन्ने अनुभूति गर्न सक्दा मात्र दिगो र वास्तविक सद्भाव हुन्छ। त्यसका लागि नेपाली हुनुको परिभाषा फेर्नुपर्ने, संविधानले सुनिश्चित गरेको विविधतायुक्त राज्य निर्माणमा जोड दिनुपर्ने र सबै क्षेत्रमा समावेशी सिद्धान्त लागू गर्नुपर्ने उनको सुझाव छ। अधिवक्ता झ्ाका अनुसार, अहिले देखापरेका तनाव हटाउने सबभन्दा उपयोगी उपाय पनि यही नै हो। हिजोको मौनतालाई नै सद्भाव ठान्ने एकथरीले यो आवाजलाई स्वीकार नगरे पनि नयाँ पुस्तामा जबर्जस्त बढेको समभावको आकांक्षालाई सम्बोधन नगरी नहुने स्थिति देखिएको छ।

हरेक ठाउँमा अतिवादी स्वर उराल्नेहरूको कमी छैन, तर समान अधिकारको माग गर्दै आएका मधेशी, जनजाति लगायतका समुदायले जोड दिन थालेको एकापसमा सहभावको चाहनामा ध्यानाकर्षण हुनैपर्ने देखिएको छ। किनभने यही चाहना र मागले हिजोको मौनता तोडिएको छ। समुदायहरूमा यसरी प्रतिरोधी चेतको विकास हुनु आफैंमा सकारात्मक कुरा पनि हो।

प्रा. राजेन्द्र विमल २०६३ को मधेश आन्दोलनमा साम्प्रदायिकताको रङ देखिंदा तराई मधेशबाट पहाडी समुदायका परिवारहरू विस्थापित हुने अवस्था आए पनि काठमाडौंमा त्यसको नकारात्मक प्रतिक्रिया नदेखिनुले काठमाडौंको चेतनास्तर र सद्भावको नमूना प्रष्ट भएको बताउँछन्। यसपालि चाहिं मधेशले पनि त्यो चेतना प्रस्तुत गरेको ठान्ने उनी छिटपुट घटनालाई समग्रतामा हेर्न नहुने बताउँछन्। “ताप्लेजुङमा एकजना मधेशीमाथि दुर्व्यवहार भयो भने त्यसलाई पहाडी समुदायले नै गरेको भन्न मिल्दैन” प्रा. विमल भन्छन्, “यस्ता घटनाले आपसी सद्भाव र एकतालाई अझ् बलियो बनाउने अवसर दिन्छन्।”

तर, राजनीतिक नेतृत्वले यसमा विचार पुर्‍याएको देखिंदैन। शासन सञ्चालन र सार्वजनिक ओहोदामा रहेकाहरूले प्रयोग गर्ने भाषा सामाजिक सद्भावका लागि निकै संवेदनशील हुन्छ। तर, त्यो संवेदनशीलताको हेक्का राखेको देखिन्न। मधेशी समुदायमा पछिल्लो समय देखिएको आक्रोशको एउटा प्रमुख कारण नेताहरूको भाषण बनेको छ। कतिपय नेताका भाषाले समुदायमा घृणा फैलाउने काम गरेको छ भने कतिको भाषाले आक्रोश। “नेताहरू अलि भविष्यमुखी हुनुपर्‍यो, घृणा र बदलाको भाषा सद्भावका लागि विषै हुन्छ भन्ने ख्याल गर्नुपर्‍यो”, मानवशास्त्री ढकाल भन्छन्, “अहिले नेपाली समाजलाई सद्भाव, सद्भाव अनि सद्भाव नै चाहिएको छ।”

आशा नयाँ पुस्तामा

सामाजिक सद्भावमा देखापरेका पछिल्ला चुनौती नयाँ पुस्ताको नयाँ चेतका परिणाम पनि हुन्। यसको हेक्का राख्न नसक्ने हो भने भावी पुस्तालाई समेत पिरोल्नेछ। प्रा. विमल अहिले देखाउन सकिएन भने आउँदो पुस्ताका लागिसमेत कारुणिक अवस्था उत्पन्न हुनसक्ने खतरा देख्छन्। “अहिलेको घातक प्रवृत्तिप्रति होश पुर्‍याएनौं भने यसका दुष्परिणामले दशकौंसम्म पिरोल्न सक्छ” उनी भन्छन्, “राजनीतिका दुवै पक्षले आ–आफ्ना पूर्वाग्रह छाडेर संवाद गर्नुपर्‍यो, संविधानमा सुधार गर्नुपर्‍यो र समाजलाई एकताबद्ध हुने आधार दिनुपर्‍यो।”

मानवशास्त्री ढकाल भने समाजको विकासक्रमसँगै सद्भावका पनि नयाँ आधार निर्माण हुने भएकाले नयाँ पुस्ताले नै यसलाई अघि बढाउने आशा व्यक्त गर्छन्। सामान्यतः तुच्छ स्वार्थमा नलाग्ने नयाँ पुस्ताले सद्भावका नयाँ आयाम लिएर आउने उनको आशा छ। उनका अनुसार, नयाँ पुस्ता राष्ट्रिय जीवनको हर क्षेत्रमा नयाँ सोच लिएर अगाडि आउँछ र त्यसले नयाँ खालको सद्भाव कायम गर्छ। हिमाल, पहाड, मधेश सबै ठाउँका नयाँ पुस्ताबाट धेरै आशा गर्न सकिने ढकाल बताउँछन्। “सबै कुरालाई बिग्रेको राजनीतिसँग मात्र जोड्न खोज्नुहुँदैन”, ढकाल भन्छन्, “हाम्रो नयाँ पुस्ताले सद्भावको सांस्कृतिक विरासत पनि बोकेर आउने कुरा बिर्सनुहुँदैन।”

comments powered by Disqus

रमझम