१-१४ कात्तिक २०७२ | 18-31 October 2015

मैथिल गाउँछन् नेवार

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
उपत्यकाका नेवार भक्तजनहरू सदियौंदेखि हरेक बिहानी मैथिल भजनबाट आफ्नो दिन शुरू गरिरहेका छन्।

गोपेन राई
पाटनको कृष्णमन्दिरमा नेवार भजनमण्डलीका सदस्य मैथिल महाकवि विद्यापतिद्वारा रचित भजन गाउँदै (तल)।
तेतिसकोटी देव ठाकुर संगे,

नाथ महादेव भोला रंगे!

भनय विद्यापति आरती गावे,

सब दुःख हरलेओ गौरा माता।

ललितपुरको कृष्णमन्दिरमा नेवार भजन मण्डलीले यो भजन गाउन थालेको सदियौंदेखि हो। प्रत्येक दिन सूर्योदय र सूर्यास्तका वेला जब मन्दिरमा आरती शुरू हुन्छ, बाहिर यही भजन गुञ्जिन्छ। तर, कमैलाई थाहा छ, उहिल्यै उपत्यकावासीको हृदयमा बसेको यो मैथिली भजन हो। यसका रचनाकार हुन्, मैथिल महाकवि विद्यापति।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार कृष्णमन्दिरको आरतीमा मात्र होइन, मत्स्येन्द्रनाथको पूजा अनि उपत्यकावासी नेवारका घर–टोलमा साँझ्–बिहान मैथिल भजन टुट्दैनन्। जयश्री राग र चो तालको ६ हरफको यो भजन नेवार बूढापाकालाई कण्ठै छ।

तिरहुत प्रदेशमा चौधौं शताब्दीमा जन्मेका विद्यापतिका कतिपय भजन नेवारी संस्कृतिकै अंग बनेका छन्। विद्यापतिका रचनाहरूको संरक्षण यहाँका नेवार समुदायले गरिरहेको दाबी गर्दै संस्कृतिविद् जोशी भन्छन् “तर, यो कुरा मैथिलवासीलाई नै थाहा नहुन सक्छ।”

भजन मात्र होइन, उपत्यकाका नेवार समुदायका नाटकदेखि कात्तिक नाचमा पनि मैथिली संस्कृतिको झ्ल्को पाइन्छ। कात्तिक नाचमा कृष्ण, हिरण्यकशिपु लगायतका पात्रको संवादमा मैथिल शब्द नै सुनिन्छ।

नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश रञ्जन झा १४औं शताब्दीमा मुगल सम्राट गयासुद्दिन तुगलकको आक्रमणबाट सिम्रौनगढको पतन भएसँगै राजा हरिसिंह देवकी रानी देवलदेवी भारदार र पण्डितसहित भक्तपुर आएपछि यहाँको कलासंस्कृतिमा अर्को आयाम थपिएको बताउँछन्। उनी भन्छन्, “उपत्यकाको नेवारी भजन, नाच र नाटकसँगै संस्कृति निर्माणमा पनि मैथिल योगदान छ।”

करीब ७०० वर्षअघि सिम्रौनगढको पतनसँगै काठमाडौं पसेका तिरहुतिया (मैथिल) समुदाय यहाँका रैथाने भइसकेका छन्। उपत्यकाका पुराना नेवार बस्तीहरूमा जुजुबाजे भनिनेहरू मैथिल ब्राह्मण नै हुन्। उनीहरू नेवारीमै कुराकानी गर्छन्। तर, तराईका रौतहट, पर्सा, जनकपुरलगायत जिल्लाका सजातीय कुटुम्बसँग बिहेवारी गरेर कतिपयले आफ्नो परम्परा जोगाइरहेका छन्। तिरहुतिया ब्राह्मण समाजका अनुसार, काठमाडौंमा ७५, ललितपुरमा २६ र भक्तपुरमा २० तिरहुतिया–मैथिल ब्राह्मण परिवार छन्।

संगम शिल्पाकार
कात्तिक नाचका केही मुख्य पात्रको सम्वाद र मन्च सजावत मा प्रभाव देखिन्छ।

काठमाडौंका राजा जयस्थिति मल्लले मैथिल ब्राह्मणहरूकै सहयोगमा जात र वर्ण अनुसार कार्य विभाजन गरेका थिए। त्यो वेला मैथिल ब्राह्मणले नित्य पूजा छानेकाले उपत्यकाका धेरै मन्दिरका पुजारी मैथिल रहँदै आएको बताइन्छ। राजा योग नरेन्द्रदेव मल्लकी छोरी योगमतीले पाटनमा बनाएको च्यासिँदेवल मन्दिर, हरिशङ्कर मन्दिर र ज्वालानरसिंह मन्दिरमा अहिले पनि मैथिल पुजारी नै भेटिन्छन्। संस्कृतिविद् जोशी यस्ता सन्दर्भहरूका आधारमा पनि पहिलेकै समाजमा उदारता देखिएको बताउँछन्।

रंगकर्मी रञ्जन मैथिल र नेवार समुदायबीचको सदियौंदेखिको सांस्कृतिक सम्बन्धलाई उजिल्याउँदै नागरिकमा सद्भाव र सम्मान भाव जगाउन जरूरी भइसकेको छ। उनी भन्छन्, “शाह र राणाकालमा भएको जातीय विभेद र असमानताले समुदायबीच दूरी बढाउँदै लगेको हो। सांस्कृतिक सम्बन्धले यस्तो दूरी घटाउँछ।”

comments powered by Disqus

रमझम