१-१४ कात्तिक २०७२ | 18-31 October 2015

दुनैमा नेपाल

Share:
  
- सरला गौतम, दुनैबाट फर्केर
डोल्पा सदरमुकाम दुनैलाई बाग्लुङका बाहुन र नेपालगञ्जका मुसलमानदेखि महोत्तरीका मधेशीसम्मको मुस्कानले सुन्दर बनाएको छ।

डोल्पा सदरमुकाम दुनै बजार।
“गरिखानेलाई सप्पै नेपाल आफ्नै घर हो”, दुनैको आफ्नो सैलुनमा डोल्पाली तन्नेरीलाई सिंगार्दै गरेका ५५ वर्षीय रामप्रित ठाकुरले पूरै आत्मविश्वासका साथ भने, “मैले यहाँ गरेको पौरखले महोत्तरीमा घर बनाएँ, परिआउँदा मेरा लागि काँध थाप्ने २२ वर्षदेखिका इष्टमित्र छन्, यहाँ।”

“रामप्रित ठाकुर भने'सी कसले चिन्दैन यहाँ”, छेउमै रहेका एक डोल्पाली तन्नेरीले यति थप्दा रामप्रितको आँखामा झ्ल्केको आत्मविश्वास, तस्वीरै लिउँ्क गरिको थियो।

खाद्य संस्थानको कार्यालय सहायकको रूपमा रुकुम र जाजरकोट हुँदै दुनै आइपुगेका रामप्रितलाई अहिले कर्णालीका अक्कर नाप्नु कुनै मुश्किलको बात छैन। यो पहाडमा कार्यालय सहायक र इलेक्ट्रोनिक्स पसलेदेखि कपाल काट्नेसम्मको सीप प्रयोग गरेका उनको मैथिली जिब्रोमा डोल्पाली टोन र गालामा हिमाली हावाको छाप लागिसकेको छ। “आधा डोल्पाली भइसकें”, कुराकानीलाई रमाइलो बनाउँदै ठाकुरले भने, “डोल्पालीलाई पनि टाकनटुकन हिन्दी सिकाइसकें।”

दुनैमा उनको गुजारा मात्र होइन, सपना रोपिएको छ– जागिरबाट निवृत्त भएपछि सानो इलेक्ट्रोनिक्स पसललाई ठूलो होलसेल स्टोर बनाउने। अहिले भने उनले कार्यालय बाहेकको समयमा खोल्ने इलेक्ट्रोनिक्स र केश काट्ने पसल छ। “जसले जहाँ गरेर खान सक्छ, त्यो त्यहीं जान–बस्न पाउनुपर्छ”, चम्किलो मुहार पार्दै उनले भने, “बाँकी कुरासँग हामीलाई मतलब छैन।”

हुन पनि आफ्नो समृद्धि जहाँ सम्भव छ, मान्छे त्यो ठाउँको माटोलाई अपनाउँदै आफ्नो बनाउँछ। रामप्रितलाई हेर्दा त्यस्तै लाग्छ। हिमाली हावामा मधेशी मायाको सुवास लोभलाग्दो थियो।

गुल्जार बजार

भेरी नदीको किनारमा छ, आफ्नै खालको सौन्दर्य बोकेको मौलिक दुनै। वारि–पारि अजंगका भीरबीच रहेको दुनै बजारमा खेल्नलाई स्नुकर र खानलाई नेवारी खाजाघरदेखि पिउनलाई कफी हाउससम्म छन्। दुनैमा भोलि हुनसक्ने कारोबार हेरेर आजै आइपुगेको छ, यताको पैसा उता र उताको यता पार्ने आईएमई पनि। यसका संचालक पोखराका रामकृष्ण रेग्मी (३०) रहेछन्। जो डोल्पामै रहेका दाइले पठाएको पैसा लिन सातसय रुपैयाँ खर्चेर कीर्तिपुरबाट जडीबुटी पुगेको तोडमा आईएमई लिएर ७ वर्षअघि दुनै पुगेका थिए। निर्माणाधीन सडकले उन्नतिको आशा बढाएकोले बिहानैदेखि गुन्गुनाउन थाल्ने बजारलाई संचारले बाँकी नेपालसँग जोडेको छ। एफएम रेडियोले छिनछिनमा समाचार भनिरहन्छ, मोबाइल पसलमा फिल्म र गीत भर्न पाइन्छ।

महोत्तरीका रामप्रित ठाकुर।

नेपालगञ्जकी कमला श्रेष्ठ।

बजारमा खुलेका १२ वटा मोबाइल फोन पसलले डोल्पावासी आधुनिकतातर्फको यात्रामा हेलिएको देखाउँछ। चार वर्षअघि बाँकेको कोहलपुरबाट आएर राधे राधे इलेक्ट्रोनिक्स खोलेका निश्चल भण्डारी (२६) यार्सागुम्बाको सिजनमा रु.४० हजारसम्मका मोबाइल सेट फटाफट बिक्री हुने बताउँछन्। दुनै र आसपासका गाउँका विद्यार्थीदेखि व्यापारी र गृहिणीसम्म ग्राहक रहेको देख्दा समृद्ध जीवनशैलीको लागि डोल्पालीहरू आतुर भइसकेको झ्ल्को यिनै मोबाइल पसलहरूले दिन्छन्। १२ वर्षबाट जमेको न्यू श्रेष्ठ होटलकी कमला श्रेष्ठ (४१) को चारजनाको परिवारले भने दुनैमा सेलरोटी, अचार, मःम, छोएला, समयबजि आदिको स्वाद थपिदिएको छ। यहींको कमाइले नेपालगन्जको राँझा एअरपोर्ट छेउमा घर बनाएकी कमला यदाकदा मधेश र्झ्दा पनि फर्कने हतारो हुने बताउँछिन्। “दुनैबाट टसमस भइएला जस्तो छैन”, उनी भन्छिन्, “भेरी किनारको यो ढुंगे छाप्रोमा निद्रा पनि बडो चैनको लाग्छ।”

ब्रान्डेड कपडा पसल खोलेकी विनिता गुरुङ 173(२३) को घर स्याङ्जा र मावली डोल्पाकै काइगाउँ हो। दुर्गममा गनिएको डोल्पामा पुमा, एडिडास जस्ता कम्पनीका सामान खपत हुन्छ त? मजाले हुँदोरहेछ, अझ् यार्सा सिजनमा त झ्नै हुने रहेछ। अरू वेला खासगरी विदेशी पर्यटकले किन्ने विनिताले बताइन्। “भोटतिर जाने नेपालीहरूले टिस्यु पेपरदेखि ज्याकेट, जुत्तासम्म किन्छन्”, उनले भनिन्, “आजकाल मान्छेहरू पैसा कमाउँछन् र खर्च गर्न पनि डराउँदैनन्।”

हो, दुनै पूरै आधुनिक हुने दौडमा छ। १५ शैच्चयाको अस्पताल र एउटा सिनेमा हल भएको यो बजारमा क्यासिनो खुल्ने हल्ला पनि सुनियो। समयसँगै फेरिने उत्पादन प्रणाली र त्यससँगै फेरिने जीवनशैली–संस्कृतिको लयमा लागेको दुनैको लागि सौन्दर्य प्रसाधन भने नेपालगन्जका निशाम हुसेन (३५) ले विगत १२ वर्षदेखि आपूर्ति गरिरहेका छन्। उनले यहींको व्यापारबाट नेपालगन्जको सेतु बिक चोकमा घर बनाएका छन्। शुरूमा संस्कार फरक परे पनि अहिले दुनैले आफूलाई अपनाइसकेको उनी बताउँछन्। पूँजी जम्मा गरेर व्यापार विस्तार गर्ने योजनामा रहेको बताउँदै गर्दा मातेर कुरा बिथोल्न आएका एक स्थानीयलाई निशामले डोल्पाली पारामा हपारे बडो गजबको हिन्दी लवजमा डोल्पो बोलेर। यसबाट पनि उनी दुनैमा मज्जैसँग रत्तिएका देखिन्थे।

दुनैको व्यापारमा डोल्पाभन्दा बाहिरकै मानिसहरूको चहलपहल बढी देखियो। र, त्यो चहलपहलमा बाहिरबाट दुनैमा आएका मुस्लिम, हिन्दू र बौद्ध धर्मावलम्बीहरूको मुस्कान मिसिएको छ।

तस्वीरहरुः सरला गौतम
कीर्तिपुर काठमाडौंका आशिष महर्जन।

नेपालगञ्ज बाँकेका निशाम हुसेन।

त्यसो त, स्वावलम्बनको सिकोमा स्थानीयहरू पनि आइसकेका छन्। तिनैमध्येका एक रवीन्द्र शाही (३२) ले पुस्तकालयसहितको कफी हाउस खोलेका रहेछन्। समाजशास्त्रमा एमए उनले क्याफे अगाडिको फराकिलो जमीन पनि लिजमा लिएर कफी हाउस आउटलुकलाई आकर्षक पारेका छन्। रंगी–विरंगी छाता मुनि बसेर रवीन्द्रले परको डाँडो देखाए, जसमुनि उनको बेकरी उद्योग छ। “त्यहीं छ, मेरो केशर खेती पनि”, डोल्पालीलाई कफी, पाउरोटी र आइसक्रिममा बानी पार्दै लगेका रवीन्द्रले भने “लामो समय एनजीओमा काम गरेपछि आफ्नो समाजमा आफैं दीर्घकालीन रोजगारी सिर्जना गर्न लागेको हुँ।”

आर्थिक कुरासँग सीधा जोडिने स्वतन्त्रता र स्वाभिमानले उनलाई विस्तारै लोभ्याएको देखिन्छ। जसका लागि संभवतः 'आर्थिक बलले सिर्जनशील बनाउने तर परनिर्भर दिमागले धेरै सोच्न नसक्ने' भन्ने उनको ठम्याइले काम गरेको छ।

भोलिको लागि जाँगर

डोल्पा सदरमुकाम दुनै अझै राष्ट्रिय सडक सञ्जालमा नजोडिए पनि जुफाल विमानस्थलसम्म कच्ची सडक छ। यसले तरक्कीको सपना पालेका जागरुक व्यापारीहरूलाई थोरै भए पनि राहत दिएको छ। उनीहरूले २०७१ माघबाट बाला त्रिपुरा सुन्दरी यातायात सेवा शुरू गरेकाले अहिले दुनै–जुफाल यातायात र ढुवानीमा दुःख छैन। तर, सडक कस्तो भने, बोलेरो जीपसँगै हेलिकप्टरबाट सीधै दुनै उत्रेका काठमाडौं कीर्तिपुरका आशिष महर्जन (२८) ले डाँगीबाडाको मोडमा १२ पटकमा पनि जीप मोड्न नसकेको सुनाए। “अहिले त बानी परेर ल्यायो, जता पनि फिलिली...”, जीवनमा हेटौंडा भन्दा पर्तिर नपुगेका उनले रमाइलो पारामा भने।

अहिले त्रिपुरा सुन्दरी यातायात सेवाका अध्यक्ष रहेका जनकबहादुर बुढा (३३) ले हेलिकप्टरबाट २०६८ सालमा पहिलो ट्रयाक्टर र २०६९ चैतमा बोलेरो जीप दुनै पुर्‍याएका थिए। उनको सिको अरूले पनि गरे। स्थानीय निकायमा निर्वाचन नगराएकोमा सरकारप्रति जनकबहादुरको ठूलो गुनासो छ। “यसबाट विकासमा ठूलो बाधा परेको छ, बाटो खोल्ने, पुल हाल्ने सबै काम व्यवसायीले गर्नु परेको छ”, उनले भने “तर, आज घाटा भए पनि भोलि कमाइएला भनेर जाँगर चलाएका छौं।”

२०५६ सालमा स्थापित डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालिमान बुढा (५५) का अनुसार, यार्सागुम्बा यहाँको मुख्य आकर्षण हो। यसैको आडमा अरू व्यापार–व्यवसाय चलेको छ। चाँडै राष्ट्रिय सडक संजालसँग जोडिएपछि जिल्लामा आन्तरिक र बाह्य पर्यटक बढेर व्यापार–व्यवसायले पनि अर्को स्वरुप लिनेमा लालिमान आशावादी छन्। उनी भन्छन्, “आजको लगानी र जाँगर त्यसैको लागि हो।”

दुनैको चहलपहल देख्दा लाग्छ मानिसले आफ्ना उन्नति भेट्ने माटोमा आफूलाई लैजान्छ। विस्तारै त्यहाँको समाजसँग घुलमिल हुदै जान्छ। अन्ततः त्यही माटोमा अपनत्व मिसाइदिन्छ र आफ्नो बनाउँछ। व्यापारिक आकर्षणकै कारण दुनैमा कोहलपुरदेखि कीर्तिपुरसम्म र बाग्लुङदेखि महोत्तरीसम्मको हाँसो अटाएको छ।

comments powered by Disqus

रमझम