१-१४ कात्तिक २०७२ | 18-31 October 2015

पहाड–मधेश दोस्ती

Share:
  
- चन्द्रकिशोर
पहाड–मधेश सम्बन्ध भनेको राजा महाराजाहरूले बनाएको राज्य संरक्षित नभई आर्थिक–सामाजिक आवश्यकतासँग जोडिएर जनस्तरबाट निर्मित हो।

मुस्लिम, पहाडी र मधेशीः अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष हनिफ मियाँ, पत्रकार पुण्य पौडेल र लेखक (दायाँबाट क्रमशः)।
दक्षिणी सीमान्त शहरबाट पहाडको जीवन र पहाडी समुदायसँगको सम्बन्धबारे सोच्दा सँगै जोडिएर अरू थुप्रै पक्ष आउँछन्। नेपाली राष्ट्रिय जीवन बुझनका लागि पनि पहाड र मधेश बुझनैपर्छ। पहाड नबुझिकन समग्रमा मधेश बुझिन्न भने मधेशलाई मधेश भित्रैबाट हेरेर मात्र पनि पुग्दैन। माथि पहाड पुगेर हेर्दा भने मधेशलाई समग्रतामा नियाल्न सकिन्छ। त्यसैगरी, पहाडलाई पनि गहिरोसँग बुझन मधेश बुझनुपर्छ र पहाडको चर्चा गर्दा हिमाल स्वतः आउँछ। यो आलेखको पहाडमा हिमाल पनि समेटिएको छ।

पहाड र मधेशको सच्चाइ

नेपालको भौगोलिक विविधता यहाँको सामाजिक–राजनीतिक जीवनको हर क्षेत्रमा प्रकट भइराखेको हुन्छ। पहाड नेपालको एउटा भौगोलिक सच्चाइ र यो आफैंमा एउटा सांस्कृतिक परम्परा पनि हो। पहाडको आफ्नै अर्थतन्त्र छ र छ– राजनीतिक वर्चस्व पनि। पहाडी जीवन भन्नासाथ पहाडी भूगोलको बसोबास, दैनिकी र रीति–थिति आउँछ। कतिपय सन्दर्भमा पहाडले एउटा मनोविज्ञानको पनि प्रतिनिधित्व गर्छ। त्यो मनोविज्ञानसँगै नेपालको राज्य संरचना, राष्ट्रिय सुरक्षा र राष्ट्रियता बारेको बुझाइ आउँछ।

पहाडी समुदाय भनेको नेपालीहरूको त्यो समूह हो, जसको बसोबास समतल वा पहाड जहाँ भए पनि बृहत्तर रूपमा उनीहरूको सांस्कृतिक निरन्तरता पहाडी भूगोलजन्य हुन्छ। यही कारण हो, तराईमा बसेका पहाडी समुदायले यहाँको जीवनशैलीमा घुलमिल भइसके तापनि फागु एक दिन पहिला मनाउँछन्। ससुराले ज्वाईंलाई ढोग्छन्। यस्ता पक्षहरूले तराईका बासिन्दाहरूबीचको सामुदायिक भिन्नता देखाउँछ।

नेपाली सन्दर्भमा राज्यसँगको सम्बन्धलाई कुनै भूगोल विशेषले परिभाषित गर्न खोज्दा त्यसले राज्यमा पारम्परिक वर्चस्वमा रहेका समुदायसँगको सम्बन्धलाई पनि जोड्न पुग्छ। मधेशले काठमाण्डूसँग सम्मान, स्वतन्त्रता एवं समृद्धिका सवालमा बराबरीको कुरा गर्दा स्वाभाविक रूपमा पहाडी समुदायसँग आफ्नो अवस्था दाँज्न पुग्छ। त्यसैगरी, पहाडी भूगोलका बासिन्दाले काठमाण्डूसँगको सम्बन्धको कुरा गर्दा मधेशले पाएको सहजताको सहजै भेउ पाइराखेको हुन्छ।

मधेशले आफ्नो अधिकार खोजीको क्रममा राज्यलाई 'पहाडे' विशेषण दिइराख्दा कतिपय दुर्गम पहाडी क्षेत्रका बासिन्दाको स्वाभाविक जिज्ञासा हुन्छ– हामीले मधेशको हिस्सा कहाँ खोस्यौं? कतिपय राजनीतिक सन्दर्भमा मधेशीका लागि काठमाण्डू दूर छ। त्यसैगरी देशभित्रै आर्थिक अवसर नभेटिरहेको पहाडी समुदायको ठूलो हिस्साका लागि रोजगारीको दृष्टिकोणले काठमाण्डू हैन बरु दिल्ली र दोहा नजिक छ।

यो सन्दर्भले के देखाउँछ भने यस देशमा सामाजिक सशक्तीकरण, न्याय र सद्भावको कुरा गर्दा पहाड–मधेश सम्बन्धबारे प्रशस्त बहस हुनैपर्छ। यस्तो बहसबाट जति टाढिन खोज्यो त्यतिकै नै जटिलताहरू देखा पर्दै जान्छन्। राष्ट्रियता, राष्ट्रिय सुरक्षा, राज्यको बनोट र राष्ट्रिय पहिचान जस्ता सवालमा साझा दृष्टिकोण निर्माण गर्न पनि भूगोलजन्य पृष्ठभूमिका आधारमा देखा पर्ने फरक मनोविज्ञानबारे संवाद र बहस गर्नैपर्छ। जस्तो, अहिले जारी मधेश आन्दोलनको क्रममा बारा जिल्लाको दक्षिणी क्षेत्र सिम्रौनगढ र उत्तरमा राजमार्गछेउको सिमराबीचको सोचाइमा किन भिन्नता छ? निश्चित रूपमा यसमा ठाउँ–विशेषमा विद्यमान जनसांख्यिक बनोटले प्रभाव पारिराखेको छ। आन्दोलनले सिम्रौनगढलाई दुई महीनादेखि ठप्प प्रायः बनाएको छ भने सिमरा खुला छ।

नेपाली समाजको विविधता प्रकटीकरणमा भिन्नताहरू प्रस्तुत गरिन्छ। यसरी भिन्नताको कारण आफ्नो पारम्परिक पहिचानप्रति गौरवबोध गर्नु हो। यो अवस्थालाई अहिले संविधान निर्माणको कालखण्डले महत्वपूर्ण उत्प्रेरणा दिइराखेको छ। आ–आफ्नो पहिचानका आधारमा अधिकार दाबी गर्नु विल्कुलै स्वाभाविक हो, तर बिर्सन के थालियो भने विविधता भनेको पृथकताको जग वा आधार होइन।

विविधतालाई जोड्ने अनेकन् तन्तुहरू छन्। अहिलेको बढ्दो सञ्चार, यातायात सुविधा, आर्थिक अवसर, अन्तरनिर्भरता, बसाइँसराइ जस्ता पक्षहरूले विविध पहिचानका समुदायहरूबीच अनेकन् तन्तु र मूर्त–अमूर्त सूत्रहरू बढाएका छन्, जसले नेपाली समाजलाई अझ् बाँध्दै लगेको छ। यसरी सामुदायिक विविधता नेपाली समाजको अमूल्य सम्पत्ति हुन आएको छ। अहिलेको आवश्यकता भनेको त्यस्ता जोड्ने तन्तुहरूलाई मुखरित गर्नु हो।

दलहरूको कार्यभार

पहाडी र मधेशी समुदायबीचको भिन्नताबारेको विमर्श भनेको आफैंमा पहाड–मधेश सहयोग, समन्वय, समझ्दारी र सहयात्राको खोजी हो। पहाड–मधेश सम्बन्ध त्यसै पनि, राजा महाराजाहरूले बनाएर दिएको नभई आर्थिक–सामाजिक आवश्यकतासँग जोडिएर जनस्तरबाट निर्मित हो। विडम्बना के छ भने, नेपाली भूगोलका बासिन्दामाझ् कसरी जनस्तरको सम्बन्ध विकसित भयो? यसले कसरी स्वीकार्यता पाउँदै गयो? कसरी अन्तरनिर्भरताका आधारहरू खडा गर्‍यो? भन्ने विषयमा हाम्रा इतिहासकारहरूले कलम चलाएका छैनन्।

हामी नेपालको राजनीतिक मानचित्र फेर्न सक्दैनौं र यो सरहदभित्रका विभिन्न समुदाय भिन्न हुन पनि सक्दैनौं। यो अवस्थामा देश संघीय संरचनामा जाँदैछ। यही विषयलाई लिएर मधेशमा आन्दोलन भइराखेको छ। भौगोलिक सीमांकन जे जस्तो भए पनि प्रदेशहरूबीचको सम्बन्ध घनिष्ट हुनैपर्छ। समतल प्रदेशको सीमांकन भए पनि पहाडसँगको सम्बन्ध–समन्वयलाई जीवन्तता दिनैपर्छ। मधेशको अधिकार र पहाडसँगको सम्बन्धको चर्चा गर्दा कतिपय चरमपन्थीहरू वर्चस्ववादी समुदायको मात्र हित चिताएको आक्षेप लगाउँछन्। तर, हाम्रो सामाजिक–आर्थिक यथार्थ के हो भने, मधेश छुट्टिएर अलग गणतन्त्र भयो भने पनि पहाडसँग समन्वय नगरी धरै छैन।

तराईमा पनि पहाडी समुदायको बाक्लो बसोबास छ र उनीहरूलाई कसैले विस्थापित गर्न सक्दैन। विगतमा त्यस्ता कुत्सित प्रयत्नहरू नभएका होइनन्, तर त्यसको दुष्परिणाम स्वयं मधेशले भोग्नुपरेको छ। मधेशमा पहाडी समुदायप्रति एउटै प्रकारको व्यवहार पाइँदैन। सघन मधेशी बसोबास भएको क्षेत्रमा पुस्तौंदेखि बसिआएका पहाडी समुदायले आफूलाई आम मधेशी चिन्तन नजिक ठान्छन्। मधेशी जीवनशैलीलाई आत्मसात् गरेका कारण यो वर्गले पहाडी क्षेत्रमा उपहास समेत भोग्नुपर्छ।

आफ्नो भूमिका र उपयोगिताका कारणले मधेशीहरू पनि पहाडी क्षेत्रमा भिजेका छन्, मजाले रमेका छन्। यद्यपि, राजनीतिक तवरमा पहाडी समुदायको स्वीकार्यता मधेशमा जुन स्तरमा छ, मधेशीहरूको हकमा पहाडमा त्यो हुनसकिरहेको छैन। नयाँ नेपालको लागि यो एउटा हाँक र खास गरेर ठूला दलहरूका लागि मधेशमा साख जोगाउन गर्नुपर्ने कार्यभार पनि हो।

एकोहोरिएको बहस

पहाडी र मधेशी समुदायबीच जति खुला संवादमार्फत बहुआयामिक संभावनाहरूको खोजी गरिन्छ, त्यति नै नेपालमा बसाउन खोजिएको पद्धति र राष्ट्रियता दिगो हुन्छ। यो सवालमा सरकार, राजनीतिक दल, सामाजिक संस्था, व्यक्ति सबै प्रोत्साहित हुनुपर्छ। पहाड–मधेश सूचनाको कमी र नियोजित सूचनाहरूको प्रसार दुवैले एक खालको पूर्वाग्रह बढाएको छ।

नेपालमा मधेशको विशिष्ट योगदान छ। पहाडी र मधेशी समुदायको सहयात्रा विना नेपाल उँभो लाग्दैन, तर अहिलेको बहस एकोहोरो भएको छ। मधेशी अधिकारकर्मीहरू केवल आफूलाई हेरेर बोल्छन् भने पहाडी बुद्धिजीवीहरू पूरा देशलाई सामुन्ने राखेर विश्लेषण गर्दैनन्। परिणाम, उनीहरूको विश्लेषणले नेपाली पहिचानहरूको सहयात्रालाई सहजता होइन, जटिलताको रूपमा प्रस्तुत गर्छ। त्यसरी त कतै पनि सन्तुलित सम्बन्ध निर्माण हुनै सक्दैन।

comments powered by Disqus

रमझम