मधेशको जुवाइँ

Share:
  
- कमलमणि दीक्षित
मैले देखेजानेको पुरानो नेपालमा काठमाण्डू खाल्डो बाहिरकाहरू काँठे, पाखे या मदिसे थिए!

तस्वीर सौजन्यः दिनेश पौडेल
सिसौटका राजगुरु खलक।
म मधेशको जुवाइँ हुँ। उस वेलाको रौतहट, हालको सर्लाही जिल्ला हो मेरो ससुराली। गाउँ चाहिं सिसौट। मनुस्मारा खोलाको किनारैमा थियो ससुराहरूको 'हबेली'। मेरा ससुराली खलक पहाडी पौडेलहरू हुन् तर थिए पूरै मधेशी! आइमाई र केटाकेटीबाहेक अरूहरू त गोप्य र विशेष कुराहरू एकआपसमा मैथिलीमै गर्थे। ससुराली जान रक्सौलमा रेल चढेर पूर्व लाग्ने अनि ६–७ ओटा स्टेसन छाडी त्यतिवेलाको मुजफ्फरपुर जिल्ला र हाल सीतामढी जिल्लामा पर्ने ढेङ्ग स्टेसनमा रेलबाट ओर्लिनुपर्थ्यो। त्यताबाट उत्तराभिमुख भई लुईंलुईं! चार माइल जति भारतीय भूमि अनि त्यत्ति नै नेपाली सरहदमा हिंडेपछि बल्ल पुगिन्थ्यो मेरो ससुराली गाउँ, घर छाडेको पूरै तीन दिनपछि।

२००४ सालमा जन्ती जाँदा हामीले पैदल हिंड्नु परेको थिएन। ढेङ्ग स्टेसनबाट आठ माइल बाटो हामीहरू रोबरवाफका साथ हात्ती र 'टायर गाडा' मा चढेर पुगेका थियौं। ती हात्ती र गाडाहरू ससुरालीतिरबाट आएका थिए हामीलाई लिन। म 'गुरुजी' हरूका मात्र जुवाइँ थिइनँ, पूरै सिसौट गाउँ र आसपासका अरू दुई–तीन गाउँको 'जवाइँसाहब' थिएँ। त्यसै हुँदा हामीलाई लिन आएको एउटा हात्ती गुरुज्यूहरूको हुँदो हो, अरू छिमेकी जमीनदारहरूका थिए। 'नेपालबाट आएको बरियात' का अगाडि मधेशको इज्जत राख्न वरिपरिका जमीनदारहरूले पठाएका!

मैले यहाँ 'गुरुजी' र 'गुरुज्यू' भन्ने शब्द प्रयोग गरेको अकारण होइन। मेरा ससुरालीहरू पौडेल हुन् तापनि आफ्नो नामको पछाडि 'शर्मा' लेख्थे आफूलाई ब्राह्मण जनाउन। ब्राह्मणहरूलाई त्यहाँ ठूलो सम्मान गर्दा रहेछन् राजपुत र यादवहरूले। हुन पनि त्यस जमानामा त्यहाँ धेरै मान्छे नै थिएनन्। त्यसमा पनि पहाडिया बाहुन परिवार त हाम्रै ससुराली खलक मात्र थियो कि क्या। र, उनीहरू नेपालको ब्राह्मण गुरु घरानाका भएकाले उनीहरूको अझ् बढी मानमनितो थियो।
त्यो पौडेल परिवार त्यहाँ पुगेको पनि लामै इतिहास रहेछ। नेपालको इतिहासमा भीमसेन थापाको पतनपछि रणजंग पाँडेको हालीमुहाली रह्यो सत्तामा केही समय। उनी पनि चाँडै नै गए। अनि केही छोटो समयका लागि रङ्गनाथ गुरुज्यू (पौडेल) 'मुख्तियार' पदमा आसीन भए। त्यसपछि लगत्तै 'कोतपर्व' भयो।

रौतहट (हाल सर्लाही), सिसौटस्थित, राजगुरु देउडी (दरबार)
त्यसमा धेरै भारदार, राजनीतिक नेताहरू मारिए। नमारिनेहरू भागेर 'मुग्लान' पसे, जसमा रङ्गनाथ गुरुज्यूको परिवार पनि थियो। उनीहरू काशी पुगेको केही समयपछि नै रङ्गनाथको देहावसान भयो अनि उनका भाइको परिवार नेपालै फर्कियो। तर खास नेपाल अर्थात् काठमाण्डू उक्लिने हिम्मत नगरी उनीहरू तराईतिरै बसे। सीमानाको कडरबनाबाट भित्र पसेर सकेसम्म टाढा, कसैले फेला पार्न नसक्ने ठाउँ खोजे उनीहरूले। चुरेको तल, चारकोसे झाडीको मुखैमा। झ्ण्डै एक सय वर्ष बसे उनीहरू त्यहाँ 'गुप्तवास'। दुई तीन पुस्ता गुमनाम बसेपछि अलिअलि हातखुट्टा फैलाउन थालेको रहेछ त्यो 'गुर्ज्यू' को परिवारले। त्यसै वेला मेरो विवाह भएछ।

मैले आफूलाई 'मधेशको जुवाइँ' प्रमाणित गर्न 'द्रविड प्राणायाम' नै गरेजस्तो देखियो होला, तर त्यसो होइन। गर्नु पर्दैन पनि। किनभने, त्यो बाहेक म अरू पनि हुँ मधेशको, मावलीतिरबाट। गोरखाको छोप्राकबाट भीमसेन थापाको 'नेपाल' मा बेपार गर्न झ्रेका झ्ण्डैझ्ण्डै निरक्षर मेरा मावलीपट्टिका (घिमिरे) पुर्खा तारतम्यले झ्ारफुक गर्दागर्दै वैद्य र ज्योतिषी समेत हुनपुगेछन्, अनि जोशी कहलाउन थालेछन्। उनीहरू पहाडिया बाहुन र बेपारी दुवै थिए। त्यसैले होला जङ्गबहादुरका प्रियपात्र सुब्बा सिद्धिनर्सिङ राजभण्डारीले 'नयाँ मुलुक' मा 'रस्ती रसाउन बस्ती बसाउन' प्रमाङ्गी पाएपछि त्यहाँ आवाद गराउन भनी यताबाट लगेका २०० जति परिवारमा यी जोशीहरू समेत परेछन्। जोशी पुर्खाले त्यहाँ अर्थात् ऐलेको नेपालगञ्जमा घरबारीटोला भन्ने एउटा टोल छिमेकै बनाएछन् ८–१० घरहरूको। र, त्यहीं बेपार गर्न थालेछन्। उनीहरू सरकारी काम पर्दा मात्र 'नेपाल' आउँथे रे! त्यसका लागि यहाँ पनि बस्ने एउटा डेरा मिलाएछन्, डुगम्बहिलमा। काठमाण्डूमा उनीहरूले आफ्नै घर त पछि मात्र बनाएका हुन् रे। सदाशिव आ.दी. को परिवारमा माहिली छोरी राधाको बिहे भएपछि त्यहीं सम्धीको घरनिरै डिल्लीबजारमा घरबार जोरेका रहेछन्। भए पनि, उनीहरू 'नयाँ मुलुकका जोशीहरू' कै नामले चिनिए, धेरै पछिसम्म। अब मैले आफूलाई 'मधेशीको नाति' प्रमाणित गर्न योभन्दा बढी बोल्नु नपर्ला!

मुख्तियार (प्रधानमन्त्री) रंगनाथ पौडेल ।
मैले यहाँ सबैतिर 'मधेशी' लेख्दै आए पनि वास्तवमा उहिले हामीहरू 'मदिसे' भन्थ्यौं। तराईतिरका सबै, भारतीय, मुसलमान र मारवाडीलाई समेत 'मदिसे' नै भनिन्थ्यो। तिनताका त्यो विशेषण होइन नाम या संज्ञा थियो अनि अपमानजनक पनि थिएन। कतिसम्म भने मेरो आमालाई र मदनमणिको आमालाई समेत 'ठूलोघर' मा कहिलेकाहीं 'मदिसे' भनिन्थ्यो रे! (मदनमणिजीको आमा बनारसकी हुनुहुन्थ्यो।) त्यसैले होला, मेरो बिहे भएर आएपछि आमाले आफ्ना सासूहरूकहाँ दुलहीलाई ढोगाउन लैजाँदा उहाँका दौंतरी जस्ता सासूहरूले ठट्टा गर्नुभएछ– “नान्दुलहीले आफू मदिसे भएकीले बुहारी पनि मदिसे नै ल्याइछन्!”

यति सबै लेखेर भन्न खोजेको के मात्र हो भने अचेल जस्तो मधेशी र पहाडियाको विभेद थिएन मैले भोगेको र देखेजानेको पुरानो नेपालमा। त्यस बखत काठमाण्डू खाल्डो मात्र नेपाल थियो। साँगा र लेले, थानकोट र मुड्खु पनि नेपाल थिएन क्यारे! त्यहाँका मान्छेहरू पनि शहर जानुपर्दा 'नेपाल जाने' भन्थे। मैले आफैं भोगेको कुरो हो यो। त्यस वेला यो खाल्डो बाहिरकाहरू या त काँठका थिए या पहाडका अथवा मधेशका। काँठे, पाखे या मदिसे!

comments powered by Disqus

रमझम