मैले जे देखें

Share:
  
- हरिवंश आचार्य
कलाकार हरिवंश आचार्य गएको पुसमा सुदूरपश्चिम पहाडका कन्दरादेखि पूर्वी तराईको देहातसम्म पुगे । मनोरञ्जनात्मक कार्यक्रम लिएर देशयात्रामा निस्कने उनी यस पटक एन्टेना फाउण्डेशन नेपालको टेलिभिजन कार्यक्रम ‘मैले जे भोगें’ को अन्तर्वार्ताकारको भूमिकामा थिए । गरीबी र पीडामा डुबेका बालबालिकाको भोगाइ अनि तिनको विकराल भविष्यबारे कार्यक्रम उत्पादन गर्ने क्रममा उनले नेपालको वास्तविकतालाई नजिकबाट नियाले । आमनागरिकले भोगिरहेका समस्या र सम्भावनाबारे उनको आलेखः
p40
 
विद्यार्थीलाई सजाय नदिने भीमपोखरा, बाग्लुङको
बालमैत्री विद्यालयका शिक्षकहरूसँग।
सौजन्यः एण्टेना फाउण्डेशन नेपाल

देशका सबै जिल्ला पुग्ने मन भए पनि हाम्रा कार्यक्रम प्रायः सुगम जिल्लामै हुने र टीमसहित जानुपर्ने भएकाले मौका जुराउनै गाह्रो थियो । तराईका प्रायः सबै जिल्ला घुमे पनि पश्चिम पहाड मेरो लागि ‘अनकण्टार’ नै थियो । यसपटक भने अछाम, डडेल्धुरा, डोटी र दैलेखसम्म पुग्ने अनि तराईका पनि भित्री गाउँहरूसम्म जाने मौका मिल्यो । पहिलेका यात्रा रमाइला विषयवस्तुमा हुन्थे; रमाइलोमा पसिन्थ्यो, रमाइलो नै गरिन्थ्यो । यसपालिको यात्रा भने सबै हिसाबले फरक थियो । हामी समस्यै समस्याका विषयवस्तुमा पस्यौं, रुवाउने कथाभित्र छिर्‍यौं र आम नेपालीले भोगिरहेको यथार्थ बोध गर्‍यौं । 

क्रन्दन छ गाउँमा
सुदूरपश्चिम पहाडमा त कल्पनै गर्न नसकिने गरीबी रहेछ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण सुदूरपश्चिमवासीले भोग्नु परेको दुःख देख्दा मनै रोयो । नेपालको राजनीतिले सुदूरपश्चिमलाई सूर्य अस्ताउने ठाउँमै सीमित गरेको स्पष्टै बुझ्न्थ्यिो । त्यसलाई हामीले टीभी क्यामरामा खिच्यौं । पीरव्यथा पोख्दा केही दिन्छन् कि भन्ने आशा जहाँ पनि देखियो । तपाईंका समस्या टीभीमा देखाएर सरकारलाई घचघच्याउँछौं भन्ने खोक्रो आश्वासन दिनुपर्दा असाध्य पीडा भयो । 
 
अभाव र गरीबी अन्यत्र पनि नभएको होइन, तर सुदूरपश्चिमको समस्या धेरै भयावह छ । जन्मँदै गुजाराका निम्ति भारत जाने सपना देख्नुपर्ने अवस्था अन्यत्र शायदै होला । आफ्नो राजनीति चम्काउन भारत विरोधी राष्ट्रवाद ल्याउने नेताहरूले सुदूरपश्चिमका नेपालीलाई भारतमा आश्रित नभएरै जिउन सक्ने अवस्था बनाउनुपर्छ भनेर कहिले सोच्लान् ? आफ्ना नागरिकलाई स्वावलम्बी बनाउन सक्नु पो राष्ट्रवाद ! गरिखाने काम भइदिएको भए सुदूरपश्चिमवासी सबैले छोराछोरी पढाउँथे, शिक्षित हुन्थे, अनि छाउपडी जस्ता कुरीति हटेर जान्थे ।
 
त्यहाँ कुपोषण अचाक्ली छ, भोकसँगै रोगले गाँजेको छ । औषधि उपचार गर्ने पैसा छैन । बिरामी पर्दा भगवानले हेरिदिन्छन् कि भन्ने आशा छ धेरैमा । उनीहरूका दुईथरी भगवान छन्– मन्दिरको मूर्ति र देश चलाउने नेता । दोस्रो खाले भगवानहरू कहिलेकाहीं जिल्लामा झुल्किन्छन्, तर केही गर्दैनन् । दुवैथरी भगवानले नहेरेको जनताको गुनासो छ । द्वन्द्वमा बाबुआमा गुमाएका बालबालिका यही क्षेत्रमा धेरै छन् । त्यसै त यस्तो बिजोग, त्यसमाथि टुहुरा बालबालिका । कल्पना गर्न नसकिने नियति भोगिरहेका बालबालिकाका कथा–व्यथा सुन्दा मन थाम्नै सकिंदैन । 
 
तराईमा अलि पढालेखा र मिडियामा पहुँच भएका कतिपयले ‘मधेश आन्दोलनमा तपाईंहरूको नैतिक समर्थन थियो’ भनेर सम्मानभाव प्रकट गरे, तर दूरदराजका छाप्रोमा बस्नेहरूले मह जोडीलाई नचिन्ने रहेछन् । तराईमा विकास निर्माण ठप्प छ, अवसर केही छैन । पारिपट्टि बिहारमा भएको विकास र त्यसबाट सिर्जित अवसर देखेर लालायित हुने मान्छेहरू यता त्यस्तो हुने छेकछन्दै नहुँदा विल्कुलै निराश देखिए । सुदूरपश्चिमका जस्तै तराईका देहातका नागरिकप्रति राज्यको चासो÷चिन्ता कत्ति पनि देखिएन । धेरैजसो मानिस जीविकाको लागि दुई तीन कट्ठा जमिनमा कुटो–कोदालो गरिरहेका छन्, नुनतेलका लागि ज्यालादारीका काम खोज्नै पर्ने । उनीहरूको जिन्दगी यसैगरी बितिरहेको छ । बत्ती छैन, पानी छैन, रोजगारी छैन । यो सब देख्दा चिच्याउन मन लाग्छ– राज्य कहाँ छ ?
 
राजविराजमा एक जना स्थानीय पत्रकारले पहाडे समुदायका कोही मर्दा लाश उठाउन १०–१२ जना मान्छे पाउन मुश्किल हुन थालेको सुनाए । मधेश आन्दोलनपछि पहाडे समुदायका मानिसहरू काठमाडौं, हेटौंडा, विराटनगर र कोही राजमार्ग उत्तरतिर पलायन भएछन् । अन्यत्र जाने उपाय नभएकाहरू मात्र त्यहीं बसेका छन् । यो अवस्थाले मुलुकको राजनीति अन्तै डोरिन थालेको डरलाग्दो संकेत गरेको छ । राजविराजमा पहाडे मूलका मान्छे पाउन गाह्रो भए पनि बजारमा सबै साइनबोर्ड नेपाली भाषामा छन् । प्रशासनले जबर्जस्ती राख्न लगाएको हो कि जस्तो लागेर सोध्यौं पनि । तर नेपालीमा पहिलादेखि लेखिरहेको, हिन्दीमा लेख्न नचाहेको र मैथलीमा लेख्न अलिकति गाह्रो भएकाले यस्तो भएको रहेछ । कुरा गर्दा कतिपयले पहाडी मूलका छिमेकीहरू फर्किदिए हुन्थ्यो, नेताहरूले गर्दा गल्ती भयो पनि भने ।
 
दूरदराजका नेपालीले सरकार भएको अनुभूति गर्न पाएका छैनन् । हुनेखानेलाई समस्या पर्दा प्रशासन बोलिदिन्छ, सामान्य मान्छेका लागि गुहार माग्ने ठाउँ छैन । औषधि निःशुल्क पाइन्छ भनेर स्वास्थ्य चौकी जाँदा सकिएको जवाफ पाउँछन् । जनतालाई निःशुल्क बाँड्नुपर्ने औषधि अन्तै लगेर बेचिंदो रहेछ । स्थानीय निकायमा जनप्रतिनिधि भइदिएको भए यस्तो बेथिति कम हुन्थ्यो होला । तर, जनप्रतिनिधि छैनन्, सरकारले खटाएको सचिव गाविसमा बस्दैनन् । 
 
सम्भावनाका किरण
p40a
 
बर्दियाकी एक मुक्त कमैयासँग अन्तर्वार्ता लिंदै।

अभिनय गर्दा हामी नक्कली पात्र भएर उभिन्थ्यौं र आँशु निकाल्न कहिलेकाहीं आँखामा ग्लिसरिन हाल्थ्यौं । वास्तविक पात्रहरू कतिसम्म पीडामा रहेछन् भने– दुइटा प्रश्न सोध्नासाथ रुन थाल्ने । नेपालीहरू यति धेरै पीडामा बाँचिरहेका छन् । तर, यो पीडाका बीचमा पनि साहस र आशाको उज्यालो छ । मिडियाको पहुँच पुगेका ठाउँका मान्छेमा चेतना बढेको छ । विदेश जान लागेका बाबुलाई छोराछोरीले ‘पैसा लिएर आउन नसके पनि एचआईभी लिएर नआउनुस्’ भन्न थालेका छन् । एनजीओहरूको सहयोगमा गाउँगाउँमा स्थानीय भाषाका सडक नाटकहरूले राम्रो प्रभाव देखाइरहेको पाइयो । जनकपुर लगायतका तराई क्षेत्रका जनता ‘हाम्रो भाषा मैथली, भोजपुरी हो, नेताहरूले हिन्दी बोल्न लगाएर हुन्छ ?’ भन्दै आ–आफ्नो भाषा संरक्षणमा लागेका छन् । 

संसार घुम्दा मैले बुझेको के हो भने हाम्रो जस्तो सम्भावना कमै छ अरू देशमा । राजनीतिक अस्थिरताले मात्र नेपालमा विकास नभएको हो । हामीसँग सगरमाथा, लुम्बिनी मात्र हैन, अपार प्राकृतिक स्रोतहरू छन् । हाम्रो देशको भूवनोट आफैंमा ठूलो सम्भावना हो । छिमेकमा चीन र भारत जस्ता विशाल बजार छन्, नेपालमा कारखाना चले पुग्छ । हाम्रा छिमेकीले गरेको उन्नतिको प्रतिफल स्वरुप अहिले हामीले लत्ताकपडा र अन्य सरसामान सस्तोमा पाएका छौं । तर, छिमेकीको उन्नति र आफ्नो बेहाल देख्दा कतिपय युवामा निराशा बढेको छ । हाम्रा तन्नेरीहरूमा मान्छे भएर बाँच्न त अमेरिका, जापान, क्यानाडा पो जानुपर्ने रहेछ भन्ने भावना पलाएको छ । तर, कुरा त्यसो होइन । राजनीतिक स्थिरता कायम भएको केही समयमा नै हामी आफ्नो स्रोत र सम्भावना परिचालन गरेर समृद्धिमा पुग्न सक्छौं ।
 
अहिलेलाई राजनीतिक कारणबाट जनताले भोगिरहेको आर्थिक बिजोग नेताहरूले बुझनुपर्छ । नेताहरू देशका लागि नगरी नहुने पेशामा हुनुहुन्छ । तर, उहाँहरूले यस्तो छवि बनाउनुभएको छ कि राजनीति भनेकै डकैती हो भन्ने भइसक्यो । त्यसकारण, नेताहरूलाई मेरो सविनय अनुरोध छ– भोलिको पुस्तालाई राजनीतिमा आउनै अप्ठ्यारो पार्ने काम नगरिदिनुस् ।
 
 
comments powered by Disqus

रमझम