१-१४ कात्तिक २०७२ | 18-31 October 2015

अन्तरनिर्भर आर्थिक सम्बन्ध

Share:
  
- रामु सापकोटा
जतिसुकै राजनीतिक असन्तुष्टि देखिए पनि तराई–पहाड सम्बन्ध 'ढुंगाको भर माटो, माटोको भर ढुंगा' भनिए जस्तै हो।

तस्वीरहरुः गोपेन राई
कालीमाटीस्थित तरकारी बजारमा भित्रिंदै तराईबाट आएको मालगाडी।
कृषि मन्त्रालयको तथ्यांक अनुसार मुलुकको १५ लाख हेक्टर खेतीयोग्य जमीनबाट वर्षेनि करीब ५० लाख टन धान उत्पादन हुन्छ। जसमध्ये तराईका २० जिल्लाबाट मात्र झ्न्डै ४० लाख टन उब्जन्छ। स्वाभाविक हो, पहाड र हिमालवासीले वर्षभरि अघाउँजी भात खान तराईकै बाटो कुर्नुपर्छ। पहाडी डाँडामा सडक विस्तारसँगै बढेको 'भाते संस्कृति' ले धानमा तराईप्रतिको निर्भरता उकालिंदो छ। “सडकको विस्तारसँगै मकै खाने पहाडेलाई चामलको बानी लागेको छ”, कृषि अर्थविज्ञ तुलसी गौतम भन्छन्, “पहाडमा खेती गर्नेहरू घटिरहेकाले अन्य उत्पादनमा पनि तराईमै भर पर्नु परेको छ।”

त्यसो त पहाडको तुलनामा सडक, विद्युत्, खानेपानी, सिंचाइ जस्ता विकासका आधारभूत पूर्वाधार तराईमै बढी छन्। ठूला नहर र कृषिमा आधारित उद्योगधन्दा पनि तराईमै छन्। “सरकारले तराईलाई नै प्राथमिकतामा राखी पहिल्यैदेखि पूर्वाधारको विकास गरेको छ”, गौतम भन्छन्।

तराईको धान, पहाडको जडीबुटी

मन्त्रालयले सन् २०१३–२०१४ मा गरेको अध्ययन अनुसार उक्त अवधिमा तराईमा धानबाहेक १३ हजार १५२ टन मकै, १२ लाख ७ हजार ९६६ टन गहुँ र १ लाख ४५ हजार ७५० टन तेल उत्पादन भएको छ। उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका तराईबाट चामल, गहुँ, दाल र खानेतेललगायतका खाद्यान्न ठूलो परिमाणमा पहाड पुग्ने बताउँछन्। यसबाहेक पहाडमा खाइने करीब ८० प्रतिशत फलफूलको स्रोत पनि तराई नै हो।

मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयले गरेको अध्ययनले तराईका जिल्ला कृषि उत्पादनका आधारमा हिमाली र पहाडी जिल्लाभन्दा अगाडि छन्। धनुषा, बारा र पर्सा जिल्लामध्ये बाराले वार्षिक रु.१९ अर्बभन्दा बढीको कृषि उत्पादन गरेकोे अध्ययनले देखाएको छ।

१ वैशाखदेखि ३१ भदौसम्म कालीमाटी भित्रिएको ८५ हजार ९६५ टन फलफूल तथा तरकारीमध्ये ६ हजार ७१० टन तराईबाटै आएको बजार समितिका योजना अधिकृत रमेश डंगोल बताउँछन्। उनका अनुसार तराईका सर्लाही, पर्सा, सुनसरीलगायतका जिल्लाबाट परवल, घिरौंला, लौकालगायतका हरियो तरकारी काठमाडांै आउने गरेको छ। तराईमा जारी आन्दोलनका कारण यस्ता तरकारी अभाव हुन थालेको उनको भनाइ छ।

अन्नका लागि पहाड तराईको भर परेजस्तै हरियो तरकारी, फलफूल र जडीबुटीका लागि तराईले पहाडमै आश्रित हुनुपर्छ। यसलाई तराईले भात खुवाएर लगाएको गुन पहाडले तरकारी र जडीबुटी पठाएर तिरेको पनि भनिन्छ। मुलुककोे कृषि अर्थतन्त्रमा तराई र पहाडले एक आपसमा सेतुको रूपमा काम गरेको विज्ञहरू बताउँछन्।

प्रा.डा. भोगेन्द्र झा यसका साक्षी हुन्। तीन दशकअघिसम्म जनकपुरको कदमचोकदेखि भानुचोकसम्म 'पहाडिया गाछी' नामको बगैंचा थियो, जहाँ पहाडेहरू तराईवासीलाई जडीबुटी बेच्थे। यही बहानामा रामजानकी मन्दिर दर्शन पनि गर्थे। त्यसैको सामु 'तिरहुतिया गाछी' भन्ने बगैंचा थियो, जहाँ मधेशीहरू नून, खुर्सानी, लत्ताकपडा लगायतका सामग्री पहाडेलाई बेच्थे। “तर, शहरीकरणसँगै विस्तारै यो परम्परा हराउँदै गयो, नयाँ पुस्ताका लागि त यो किम्वदन्ती नै बन्यो”, जनकपुरस्थित रामसागर रामस्वरुप बहुमुखी क्याम्पसका अर्थशास्त्रका सेवानिवृत्त प्राध्यापक झा भन्छन्।

कृषि मन्त्रालयका कृषि अर्थ विज्ञ कमलप्रसाद आचार्य पहाडको तरकारी धनकुटाको हिलेहुँदै तराई र्झ्ने बताउँछन्। दाङ, सल्यान र प्यूठानको तरकारी नेपालगञ्ज हुँदै भारतको लखनऊसम्म पुग्छ।

तथ्यांक अनुसार मुलुकमा ४ लाख हेक्टर जमीनमा तरकारी खेती हुन्छ। जसमध्ये पहाडको करीब २ लाख हेक्टर जमीनमा २४० लाख टन तरकारी उब्जनी हुन्छ। पहाडमा उत्पादित तरकारीको ५० प्रतिशत तराईमै खपत हुन्छ।

वनस्पति विभागले एकवर्षअघि सुदूरपश्चिमका नौ जिल्लामा गरेको जडीबुटी सम्भाव्यतासम्बन्धी अध्ययनले २८ प्रजातिका जडीबुटी र सुगन्धित तेलको उत्पादन तथा कारोबार भएको देखाएको छ। तीमध्ये २५ प्रजातिका जडीबुटी कच्चा पदार्थको रूपमा तराई र भारतमा समेत निकासी हुन्छन्। सन् २०१३/१४ को पहिलो दश महीनाको तथ्यांक अनुसार सुदूरपश्चिमका कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बैतडी, बझाङलगायतका जिल्लाहरूबाट ९३० टन जडीबुटीको निर्यात गरिएको थियो, जसमध्ये ९२३ टन जडीबुटी भारत र बाँकी चीनतर्फ निर्यात गरिएको अध्ययनले देखाएको छ। वन पैदावार अन्तर्गत काठ, दाउरा, ढुंगा, गिट्टी, बालुवा, खयर, खोटो तथा जडीबुटीमा यार्सागुम्बा, जटामसी, चिराइतो, कुरिलो र टिमुरको ठूलो परिमाण तराई र्झ्ने गरेको छ। अदुवा र अलैंची पनि धनकुटा, पाँचथरलगायतका पहाडी भेगबाटै तराई र्झ्छ। पूर्व अर्थ सचिव रामेश्वर खनाल भन्छन्, “तराईका जडीबुटी उद्योगहरूको स्रोत नै पहाड हो।”

कालीमाटीस्थित तरकारी बजार ।
रसायनशास्त्री डा. सीताराम अधिकारी आयुर्वेदिक, युनानी, होमियोप्याथी र एलोपेथिक औषधि उत्पादनमा जडीबुटी नभई नहुने बताउँछन्। नेपाल हर्बस् तथा हर्बल उत्पादक संघका अनुसार आयुर्वेदिक तथा एलोपेथिक औषधिमा करीब १९०० प्रजातिका जडीबुटी प्रयोग गरिन्छ। पहाडी तथा हिमाली क्षेत्रका झ्न्डै ५० प्रतिशत जनसंख्या जडीबुटीजन्य वस्तुको बिक्रीबाटै निर्वाह गरिरहेको संघको भनाइ छ। यसक्षेत्रमा जटामसी, चिराइतो, टिमुर, रिट्ठाको उत्पादन बढी हुन्छ।

“तराईका हर्बल तथा जडीबुटी उद्योग चल्नका लागि पहाडबाट कच्चा पदार्थ नआई हुँदैन”, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडिया भन्छन्।
चितवनमा धान छाडेर केराखेती, धादिङमा लिची, पूर्वी तराईमा आँप, केरा र बगरमा परवल, खरबुजाको खेती थालिएको छ। दोलखा र सिन्धुपाल्चोकमा किवी फलको खेती विस्तार हुँदैछ। कास्की, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा रेन्वो ट्राउट माछा उत्पादन गर्ने क्रम बढ्दो छ। घाँस र स्याउला मात्र हुने पहाडका खोल्साखाल्सी अलैंची रोप्ने पूर्वी पहाडको चलन पश्चिमतिर फैलँदैछ।

अनेक अन्तरनिर्भरता

पहाड–तराईको आर्थिक अन्तरनिर्भरताका अनेक उदाहरण छन्। उद्योग वाणिज्य महासंघ अध्यक्ष पशुपति मुरारका पहाडको जलविद्युत् आयोजनामा उत्पादित बिजुलीले नै तराईमा उज्यालो भएको बताउँछन्। बाग्लुङको कुखुराको ठूलो बजार भैरहवा भएको बताउँदै पूर्व अर्थ सचिव खनाल भन्छन्, “तराईका सिमेन्ट उद्योगले अर्घाखाँचीबाट चुनढुंगा लैजान्छन्।”

प्रा.डा. झ्ा अदुवा, टिमुरलगायत थुप्रै मसलाजन्य सामग्री र अन्य थुप्रै उत्पादन पहाडबाटै आइरहेको छ। “तेजपात अहिले पनि औषधिको रूपमा पहाडबाटै भित्रिन्छ। गर्मीमा हेटौंडाबाटै आएको काउली र बन्दागोभी खान्छौं।”

कृषि अर्थ विज्ञ गौतम हिमाल, पहाड र तराईमा समन्वयात्मक योजना कार्यान्वयन गरे आर्थिक समृद्धिका साथै आपसी सम्बन्ध पनि बलियो हुने बताउँछन्। उनी भन्छन्, “तराई–पहाड सम्बन्धलाई छुट्याएर हेर्नै मिल्दैन।” मुरारका पछिल्लो समय तराई–पहाड द्वन्द्व देखिए आर्थिक अन्तरसम्बन्धले यसलाई समाधान गर्नेमा विश्वस्त छन्। “सधैंभरि यस्तो गुनासोलाई असन्तुष्टले पनि थेग्न सक्दैनन्”, उनी भन्छन्। प्रा.डा. झा अहिलेको राजनीतिक नेतृत्वले जनस्तरको व्यावहारिक सत्य बुझन नसकेको तर्क गर्छन्। उनी भन्छन्, “अर्थतन्त्रको अविच्छिन्न सम्बन्धको प्रवाह बुझे समस्या नै हुँदैन।”

comments powered by Disqus

रमझम