१-१४ कात्तिक २०७२ | 18-31 October 2015

ठूलो कान्छी

Share:
  
- उपेन्द्र सुब्बा

ठूलो कान्छी बिजुवानी उत्रिने भयो। माइला यम्बाले निम्तो गरेका प्रायः सबै गाउँले भेला भए। आँगनको बीचमा याग्राङसिङ रोपिएको थियो। भित्तापट्टि बिजुवा, भद्रभलाद्मी र मान्यजनहरूलाई तोङ्बाको स्वागतसहित बस्ने डेरा तयार थियो। मुख्य बिजुवाले थानमा उभिने अनुमति मागेपछि पञ्च भलाद्मीहरूले शुभकामनासहित अनुमति दिए। ठूलो कान्छी बिजुवानी पहिरनमा घरभित्रबाट निस्किइन्।

याग्राङसिङको दायाँ–बायाँ चेप्टो ढुंगामा कोइला राखेर तितेपातीको धूप बालियो। मुख्य बिजुवाले चाहिने सामग्री केही छुट्यो कि भनेर थानलाई नियालेर हेर्‍यो। याग्राङसिङ बनाउन दुइटा मलबाँसको लिंगो गाडिएको थियो। लिंगोलाई जोरजोरै भाटाले फेददेखि टुप्पासम्म नौ तला बनाएर बाँधिएको थियो। दोस्रो तलामा च्याब्रुङ बाँधिएको थियो। त्यसमाथिको तलामा घुङरिङ, अमि्रसो, काउलो, फच्याङ बाँधिएको थियो। त्यो भन्दामाथि दुई पुङ जाँड, सुँगुरको मासु, लसुन र अदुवा भएको एउटा थुन्चे राखिएको थियो। याग्राङसिङको सबभन्दा माथिल्लो तलामा सेतो कपडामा एक माना चामल पोको पारेर बाँधिएको थियो। सबै थोक पुगेको पाएपछि बिजुवा थानमा उभियो। ठूलो कान्छी पनि पञ्च भलाद्मीसँग आशीर्वाद मागेर अप्ठेरो मान्दै थानमा उभिइन्। बिजुवाले च्याब्रुङको च्याङपट्टि विस्तारै गजो प्रहार गर्न थाल्यो। ठूलो कान्छीले पनि च्याब्रुङको धुमपट्टि बजाउन थालिन्।

विस्तारै काम्न थालेको बिजुवाले मुन्धुम शुरू गर्‍यो– “ए हे ए... आकाशमा जून उदायो, ताराहरू उदाए। घामसँग बहने हावा हरायो। जूनसँग बहने हावा आयो। पृथ्वी निदायो। पृथ्वी तलमा पानीमुनि माछाहरू ब्यँझिए। जंगलका बाघ, भालु, मलसाप्राहरू ब्यँुझ्िए, लाटोकोसेरो चरा ब्यँझियो। मयूर, मैना, डाँफे, मुनाल निदाए। गाई, भैंसी, बाख्रा, कुखुरा, भेंडा, सुँगुर सबै निदाए। मान्छेहरू निदाए। अब देउता र प्रेतात्माहरूको जाग्ने वेला भयो। बिजुवा, फेदाङबा, धामी–झाँक्रीहरूको चलखेल गर्ने वेला भयो नि...।”

बिजुवाले यति मुन्धुम फलाक्दा ठूलो कान्छी काम्ने कोशिश गर्दै थिइन्। बिजुवाले कमाउने गुरु–पुकार गर्न थालेपछि आफैं काम्न थालिन्। बिजुवाले मुन्धुम भन्दै गयो– “ए हे ए... उहिले सावा येहाङहरूलाई चाल्नीमा राखेर छुट्याउँदा तिमी चाल्नीको बीचमा अड्केकी नियारा लिङपङहाङमा मलाई कमाउने गुरुमा तिमी हौ। तिमी विभिन्न पेटबोली बुझने, थरीथरीका भाषा बोल्न सक्ने, धेरै स्वरुप फेर्न सक्ने हौ...” भन्दै लगेर बिजुवाले यौनको कुरा थाल्यो। गुरुमाको यौनाङ्गको वर्णन गर्‍यो। आफ्नो पनि वर्णन गर्दै सम्भोगको आग्रह गर्‍यो।

ठूलो कान्छी काम्दा काम्दै बुङ्ङै ढलिन्। वरिपरि बसेकाहरू जर्‍याकजुरुक उठे। उभिएकाहरू कान्छीलाई उठाउन अग्रसर भए। तर, उनीहरूलाई रोकेर बिजुवाले थानमा राखेको फुर्कावाल घुङ्रिङ झ्िकेर ठूलो कान्छीको छेपारीमा सिर्कना हान्यो। तीन सिर्कनामा ठूलो कान्छी चलमलाइन्। उनी होसमा फर्किन्जेल बिजुवाले विश्राम लियो।

माइला यम्बाको छोरी–छोरी ६ बहिनी थिए। तीमध्ये चारजनाको बिहेवारी भइसकेको थियो। ठूलो कान्छीको लागि पनि केटा नआएका होइनन्, तर माइला यम्बाले मागेको सुनौली तिर्न सक्ने हैसियतका परेनन्। त्यसो त ठूलो कान्छी भर्खर बीस लाग्दै थिइन् भने सानो कान्छी अठार। दिदीबहिनी सँगसँगै तरुनी भए, सँगसँगै हाट भरे, सँगसँगै धान नाचे, तर सँगै बिहे भएन। सानो कान्छीको बिहे चुरिवालसँग भएको थियो।

चुरिवाललाई सुसुवा कान्छा पनि भन्थे। ऊ चुरा बेच्न जहाँ पनि पुग्थ्यो। हाटबजार र मेलामा उसले हात नछोएका तरुनी कमै थिए। कसको हात नरम, कुनको खस्रोे, को अल्छी, को जाँगरिली उसलाई सब मालुम थियो। ठूलो कान्छी र सानो कान्छीले सुसुवा कान्छालाई साप्सु मेलामा चिनेका हुन्। दिदीबहिनीले दिउँसो उसैकोमा चुरा किनेर लाए अनि रातभर उसैसँग धान नाचेर घर फर्किए।

सुसुवा कान्छा अनुहारले नराम्रो थिएन। ठूलो कान्छीलाई त पहिलो चोटि उसको स्वर सुन्दा साँचोवाल च्याब्रुङ बजेजस्तो लागेको थियो। साप्सु पछि पुषे मेला, त्रिसाली मेला, बसाँगु मेलामा भेट भयो। त्यहाँ पनि दिदीबहिनीले चुरिवालसँग धान नाचे। बसाँगु पछि फुङसिङ मेलामा भेट्ने सल्लाह भयो।

दिदीबहिनीले सुसुवा कान्छाकै लागि भनेर तीनपाने बनाए, चिराक्के चामलको चाम्म्रे पकाए। घरबाट निस्किने वेला चाहिं दिदीबहिनीबीच सानो झ्गडा भयो। नाकमा लाउने ढुङ्ग्री, बुलाकी र कानको चेप्टे सुन आ–आफ्नै थियो, तर दुवैको पेवाले किनेको शिरबन्दी र कण्ठा एउटै मात्र थियो। मेला–बजार जाँदा शिरबन्दी र कण्ठा बाँडेर लाउने गरेका थिए, तर फुङसिङ मेलामा दिदीले मात्र लगाउने मन गरेपछि बहिनीको चित्त दुखेको थियो।

दिदीबहिनी नबोली–नबोली मेला पुगे। शिरबन्दी, कण्ठा, ढुङ्ग्री, बुलाकी र कानमा चेप्टे सुन लाएकी ठूलो कान्छी अघि–अघि थिइन्। सानो कान्छी झोला बोकेर दिदीलाई पछ्याउँदै थिइन्। उनीहरू घुम्दै चुरा दोकानमा पुग्दा सुसुवा कान्छा इत्रिदै केटीहरूलाई चुरा लगाइदिंदै थियो।

“लुङा हजूर, हाम्लाई पनि चुरा लाई दिनुहोस् न”, पहिला नाडी अगाडि सार्ने सानो कान्छी भइन्। चुरिवालले यसो टाउको उठाएर हेर्दा सुनले छपक्क भएर उभिएकी ठूलो कान्छीलाई साँच्चै राम्री देख्यो।

“भै हाल्छ नि लुङा हजूर, कुन रङको लाई दिउँक?” ठूलो कान्छीलाई नै हेर्दै चुरिवालले सोध्यो, तर उनी अर्कोतिर फर्किइन्।

“दुःखीलाई त दुःखैको रङले सुहाउँछ होला नि...”, सानो कान्छीले भनिन्। तर, उनको वाक्य राम्ररी पूरा नहुँदै ठूलो कान्छीले हातमा तानेर त्यहाँबाट लगिन्।

“के भो दिदी, किन रिसाको?” मेलाको बीचमा सानो कान्छीले सोधिन्।

“त्यस्ता चुरिवालसँग के कुरा गरिबसेको च्याँठी!”

दिदीको चाला देखेर छक्क परेकी सानो कान्छीले त्यही चुरिवालको लागि भनेर पकाएको चाम्म्रे र कटुवा रक्सी राखेको झोला हेरिन् र चूपचाप दिदीलाई पछ्याइन्।

साँझ्सँगै रौनक बढेको मेलामा खुट्टा राख्ने ठाउँ थिएन। जताततै ठेलमठेल थियो। हूलमा हेलिंदाहेलिंदै दिदीबहिनी छुट्टिए। दिदीलाई खोज्दै, मेला घुम्दै गरेकी कान्छीको चुरिवालसँग भेट भयो।

“यो थाङ्नेको छोरा माग्ने जस्तोले लुङा हजुरनीसँग हाँस्न बोल्न त नसुहाउने हो, तर यो लोभी मन मान्दैन”, चुरिवालले बाटो छेकेर जम्ले हात पार्‍यो, “रिसानी माफ रहोस्, मेरो हजुरनीसँग एकैछिन धान नाँचौं कि भनेर बिन्ती गरे!”

“पाहुना हजूर, हाँसखेल गर्ने त हाम्रो पनि रहर छ”, सानो कान्छीले भनिन्, “तर, दिदी पो हरायो।”

“यस्तो बहाना किन गरिरहनु पर्छ र, मेरो हजुरनीले यो अनुहारमा थुकी राखेर जाने हैसियत राख्नु हुन्छ।”

चुरिवालको यो 'डायलग' ले कान्छीलाई कायल पार्‍यो। दिदीले पनि खोज्दै होलिन्, घुम्दै यो बाटो आउँदा भेट होला भन्ने सोचेर कान्छीले हात दिइन्, तर चुरिवालले पालम शुरु नगर्दै ठूलो कान्छी टुप्लुक आइपुगिन्।

“यो त याँ पो र'छ। म चैं खोज्दाको हत्तु, थुक्क मर च्याँठी!”

ठूलो कान्छी थुकी राखेर फनक्कै फर्किइन्, बहिनीलाई सफाइको मौकै नदिई। यता, चुरिवालले पालम शुरु गरिहाल्यो, कान्छीले छोडेर हिंड्न मिलेन। गाउँदै, नाच्दै जाँदा दुई दुई चरण पालम सकियो। त्यतिन्जेलमा मिर्मिर उज्यालो पनि भयो। ठूलो कान्छी फेरि आइपुगिन्।

“तँ घर जाँदैनस्?”

“आउ न दिदी, पाहुनासँग एकैछिन नाँचेर जौं।”

“तइँ नाच, रण्डी बेश्ये थु!” सानो कान्छीले बोकेको खाजाको झोला खोसेर ठूलो कान्छी फटाफट् हिंडिन्।

ठूलो कान्छी एक्लै आएको देखेर आँगनमा खरेटो लाउँदै गरेकी आमाले सोधिन्, “बहिनी खोई?”

“त्यो बेश्येको गोठालो हो म? गयो होला नि, चुरिवालसँग।”

“हैन, के पो भन्छ यो?” ठूलीको कुरा नबुझेकी आमा एकछिन उभिएर केही सोचिन् अनि फेरि खरेटो लगाउन थालिन्।

साँझ् गाउँका केही बूढापाकासँग सानो कान्छी घर आउँदा माइला यम्बा सिकुवामा थिए। आउनेहरू कोही पिंढीमा, कोही जाँतोमाथि टाक्राकटुक्रुक बसे। पिंढीको एकछेउमा बसेको चुरिवाललाई हेर्दै माइला यम्बाले सोधे, “नचिनेको मान्छे पनि छ, पाहुना कि चोर डाँका हो?”

सँगै आएको मानेले भन्यो, “तपाईं गाउँको धेरै खेतबारी भा'को मान्छे, एउटा हली चाहिन्छ भनेर कान्छीले खोजी ल्याएको...।”

“जाँठा माने, घरज्वाइँ ल्याको भनेर सीधा भन्न।” माइला यम्बाले बीचमै हप्कायो।

“हो दाजु हो, मैले त्यै भन्न खोजेको।” मानेले उठेर हात जोड्यो।

“लु हुन्छ”, माइला यम्बाले भन्यो, “आबो हली बस्न आँट गर्नेको आँट पनि त जाँच्न पाउँछ होला नि। जुन दिन यो मान्छेले जोतेर हरिस भचाउँछ, कि त हल्लुड चुँडाउँछ, त्यो दिन लगन हुन्छ।”

उठेर मानेलाई अह्राउँदै माइला यम्बाले थप्यो, “लु, आबो यो हलीलाई सुँगुरको खोरमाथि बस्ने–सुत्ने ठाउँ देखा।”

चलाख चुरिवालले भोलिपल्टै रूखको जरामा हलो अड्काएर गोरु चुड्दा–चुड्दा हरिस भाँच्यो। शर्त बमोजिम माइला यम्बाले सानो कान्छीको लगन गरिदिने भयो। दिदीको पालो मिचेकोमा एक बोतल रक्सी र पाँच रुपैयाँ रीत राखेर सानो कान्छी ढोग्न निहुरिंदै गर्दा लात्तीले हानेर ठूलो कान्छी हिंडिन्। त्यसरी दिदीबहिनीको बोलचालै बन्द भयो। दिदी घरभित्र हुँदा बहिनी बाहिर बस्थिन्। चुरिवालसँग त झ्न् बोल्ने कुरै भएन।

सानो कान्छी लोग्नेसँगै मेलापात, हाटबजार गर्न थालिन्। ठूलो कान्छीले बजार भर्न छाडिन्। कोरीबाटी पनि कमै गर्थिन्। प्रायःजसो घरमै बस्थिन्।

एकदिन घरको भैंसीले राँगो खोज्यो। ठूलो कान्छी गाग्रो बोकेर पानी लिन कुवा जाँदा चुरिवालले बाटैमा भैंसी बाँधेर रागो जुटाएको रहेछ। ठूली कान्छीलाई बाटो काटेर जान अप्ठेरो लाग्यो। त्यहींबाट फर्किउँ भने घरमा एक थोपो पानी थिएन। दोधारमै उनले चुरिवालको सुसेली सुनिन्। नहेरुँ भन्दा भन्दै पनि ठूलो कान्छीको आँखा त्यतै पुग्यो। चुरिवाल अलिमाथि ढुंगामा बसेको थियो। त्यही वेला राँगाले खुट्टो उचाल्यो। चुरिवाल करायो, “स्याबास!”

ठूलो कान्छीको आँखामा छ्याप्पै अँध्यारो भयो, थुचुक्क बसिन्। उनलाई यत्ति नै याद छ। त्यही वेला महारानी चढेको हुनुपर्छ। ठूलो कान्छी काम्न, घरको धुरी चढेर नाच्न र अनेक फलाग्न थालिन्। गाउँ–गाउँ डुल्दै अनेक भविष्यवाणी गर्न थालिन्। संयोगले एक दुई जोखना मिल्न गयो। कतिले ठूलो कान्छी बौलायो भने, तर फेदाङबाहरूले बिजुवानी निस्कन खोजेको जोखाना निकाले।

थानमा उभिएकी ठूलो कान्छीको वाक्य फुटेन। जबर्जस्ती काम्न खोजिन्, कामिएन। बिजुवाले घुङ्रिङको फुर्कावाल डन्ठीले स्वाँट लगायो। ठूलो कान्छी रुन थालिन्। बिजुवाले काँसे थाल बजाउँदै नाच्न सिकायो, उनले भाका टिपिनन्।

बिजुवा बौलाहा जस्तै भएर काम्दै थानमा उभियो। ठूलो कान्छी पनि आएर उभिइन्। “यो केटीको लागि बिजुवानीको चोत्लुङ नै छैन”, अन्त्यमा बिजुवाले जोखाना भन्यो “यसले त बिजुवानी उत्रन हैन, पोइ मात्र खोजेको हो है।”

मान्छेहरू गलल्ल हाँसे, ठूलो कान्छीलाई मर्नु भयो। बिजुवाले बद्नाम पार्‍यो। उनी घोसे मुन्टो लाएर कुद्दै घरभित्र पसिन्। उनी ग्वाँ ग्वाँ रोएको बाहिर पनि सुनियो। आमा र अरू पनि पसेर खूब सम्झाए, तर उनको हिक्हिक् रोकिएन। बाहिर बिजुवा अनुष्ठानको बिटै नमारी राति नै बिदा भएर गयो।

ठूलो कान्छीको शिर ढल्यो। त्यही रातदेखि बिमार पनि फेरियो। पहिले जस्तो कराउने, बौलाउने नभई खाना नरुच्ने भयो। ओछ्यान परेको एघारौं दिनको बिहान ठूलो कान्छीले आमालाई बहिनी र ज्वाइँलाई बोलाउनु भनिन्। आफ्नो लगनदेखि दिदीको छेउ नपरेकी सानो कान्छी झ्म्टेर ठूलो कान्छीको खुट्टा समाउन पुगिन्। दुवै रुन थाले। चुरिवाल पनि दिदीबहिनीको मिलन हेर्दै आँखाभरी आँशु पारेर दैलोनेर उभिइरह्यो।

बहिनीलाई गहनाको पोको दिंदै ठूलो कान्छीले भनिन्, “यो सप्पै तिम्रो, मलाई चैं माफ दे है!”

सानो कान्छीले पोको फिर्ता गर्दै दिदीको हातमा राखिदिइन्।

“राख न लाटी, अब यो मलाई काम लाग्दैन”, ठूलो कान्छीले भनिन्, “मेरो पहिरन फेरिंदैछ, गहना पनि अर्कै हुन्छ।”

कुरा नबुझेर सानो कान्छीले दिदीको मुखतिर हेरिन्। ठूलो कान्छी टाडा हेरेर मुस्कुराइरहेकी थिइन्। उनको सुक्खा आँखाको नानी घुमिरहेका थिए। सानो कान्छीले दिदीलाई अँगालो हालिन् र रुँदै कराइन्, “आमौ!”

आमा आइपुग्दा ठूलो कान्छीको शिर छातीतिर निहुरियो। बहिनीले दिदीलाई काखमा ढल्काइन्। ठूलो कान्छीको आँखाको नानी घुम्न रोकियो। सानो कान्छी आफूलाई दोष दिंदै, पछुताउँदै खूब रोइन्।

ठूलो कान्छी पहिरन फेरेर नयाँ गहनामा सजिएर, पालमको राजकुमार भेट्न अर्कै मेलामा गइन्। उनलाई शुभ–कामना।

comments powered by Disqus

रमझम