बकबक

Share:
  
- नयनराज पाण्डे

कति बोल्छ यो मान्छे? कसरी यसलाई चूप लगाउने होला?

कतिपटक सम्झायौं पनि उसलाई– “ए भैया, यसरी बकबक नगर। हाम्रो दिमाग खराब हुन्छ।”

ऊ हाम्रो कुरो सुनेर ङिच्च हाँसिदिन्थ्यो। कति सेतो थियो उसको दाँत। हामीभन्दा अलिक कालो रोगनको थियो ऊ। ओठमाथि हल्का जुँगा र निक्खर कालो कपाल। कपालमा चमेलीको बास्नादार तेल पनि लगाउँथ्यो। उसका आँखामा युगौंदेखि पूरा नभएका गुनासाहरू स्थायी रूपमा टाँसिएका थिए। पसिनाले कटकटिएको दश ठाउँमा फाटेको कमिज र कसैबाट जडौरी पाएको प्राचीन पाइन्ट। टायरको चप्पल। बाह्रै मास घाँटीमा बेरिने रातो गम्छा। उसको हुलिया यस्तै थियो।

तर उसले बोल्न छाडेन। भए नभएको कथा सुनाउँथ्यो। एकदिन भन्यो, “हाम्रो गाउँमा दशगजा छेउमा नीमको विशाल रूख छ। त्यसको जरा फैलिएर दशगजापारि भारतसम्म पुगेको छ।”

रूखबारे अनेक कुरा सुनायो उसले– गाउँलेहरू त्यो नीमको छहारीमा बसेर कक्कड खाँदैनन्। त्यसो गरे रूखभित्रको भूत रिसाउँछ र गाउँमा पानी पर्दैन, अनिकाल पर्छ। लोहारहरूले त्यो रूखको सय गज वरिपरि बसेर फलामको काम गर्नुहुँदैन। चिडिमारहरूले यो रूखमा बसेका चराहरू समात्नुहुँदैन। कहारहरूले रूखलाई दाहिने पारेर डोली या मियाना बोकेर हिंड्नुहुँदैन। कुसवन्धियाहरूले यो रूखमुनि बसेर सिलौटो र लोहोरो बनाउनुहुँदैन। मगन्ताहरूले यो रूखमुनि बसेर बावियोको कुचो बनाउनु र सनपाटको डोरी बाट्नुहुँदैन।

हामी उसका कुराहरूलाई गम्भीरतापूर्वक लिन्नथ्यौं। लिएर साध्ये पनि थिएन। रूखको कुरा भने हामीलाई रोचक लागेको थियो। हाम्रो अनुहारमा देखिएको जिज्ञाशाको भाव उसले बुझिहाल्यो र थप उत्साहित भयो।

“त्यो रूखमा बसेको भूत एकदम रिसाहा छ। त्यसैले गर्दा हाम्रो गाउँमा बाढ आउँछ। खेतीपाती नष्ट हुन्छ। हामीलाई बडा कष्ट दिएको छ त्यो भूतले।” “त्यसलाई पूजा गरेर खुशी पार्न सकिन्न?” हामीमध्ये कसैले सोधेको थियो। उसले झ्न् गफाडीको जवाफ दियो।

“सकिन्छ, तर त्यसको लागि अनुष्ठान गर्नुपर्छ। अनुष्ठानको लागि यो भूतलाई सबै घरले दश–दश मन चामलको भात पकाउनु पर्छ। अनि बालुवाको सिन्काले गाँसेको इमलीको पातको दश हात चौडा टपरामा त्यो भात पस्केर चढाउनुपर्छ। अनि मात्र भूत अघाउँछ र उसको रीस शान्त हुन्छ। तर, हामी गरीब गाउँलेले कहाँबाट ल्याउने दश मन चामल? अनि कसरी बनाउने बालुवाको सिन्का र कसरी गाँस्ने झ्िंगाका पखेटाजत्रा इमलीका पातको टपरा? त्यसैले त्यो भूत हामीसित सधैं रिसाइरहन्छ। हामीलाई बडा कष्ट छ हजुर। केही उपाय गर्नु पर्‍यो।”

हामीलाई यस्तो याचना ठट्टा जस्तै लाग्थ्यो र एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यौं। चुनाव प्रचारको क्रममा एकदिन हामी उसको गाउँमा जाँदा उसले त्यो रूख देखायो। वास्तवमै अजंगको नीम थियो त्यो। त्यसको जरा नेपालबाट दशगजापारि इण्डियासम्म फैलिएको भन्ने कुरामा विश्वास गर्न सकिन्थ्यो। “यो जवाहरलाल चाचाले रोपेको हो”, उसले भन्यो, “त्यसैले यसलाई चाचा रूख पनि भन्छन्।”

“जवाहरलाल नेहरू? स्वतन्त्र भारतको पहिलो प्राइमिनिष्टर चाचा नेहरू?” हामी छक्क पर्‍यौं। हामीमध्ये कसैले यो प्रश्न गर्‍यो।

“कोहीकोही बूढा भन्छन्– उहिले दशगजापारिको गाउँमा जवाहरलाल भन्ने मान्छे बस्थ्यो। सबैले उसलाई चाचा भन्थे। नेहरू जन्मेकै दिन ऊ जन्मेको र नेहरू मरेकै दिनमा ऊ मरेको रे”, उसले भन्यो।

हामी हाँस्यौं मज्जाले, “गफुरले गफ दियो।”

हो, उसको नाम गफुर थियो।

संसदीय चुनावको मौसम थियो र सुशीलदा हाम्रा उम्मेदवार थिए। चुनाव प्रचारमा हामी विद्यार्थीसँगै गफुर पनि कस्सेर लागेको थियो। सँगै हिंड्न थालेकै दिनबाट उसले हाम्रो भेजा फ्राई गर्न थाल्यो। एकदिन कुनै मैलोधैलो गाउँलेलाई ल्यायो र भन्न थाल्यो, “सर लोग, यसपटक सुशीलदाले चुनाव जित्नुभयो भने यो गरीब मान्छीको काम गरिदिनुपर्छ। तपाईंहरूले यसको सिफारिश गरिदिनुपर्छ।” काम अनौठो थियो।

“यसले पोहोरसाल शादी गरेको हो, तर आजसम्म मेहरारुलाई टच गरेको छैन। कहीं बच्चावच्चा नभैजाओस् भनेर डराउँछ। गरीब छ हजुर, बच्चा पाएर कसरी पाल्छ? त्यसैले यसलाई डेली एउटा कण्डम चाहियो। यो गरीबले किनेर कण्डम लगाउन सक्दैन हजुर।”

एउटा गाउँमा सुशीलदाले आफ्नो पार्टीलाई भोट दिंदा हुने तमाम फाइदाहरू बताउने भाषण सकेपछि हामीले गफुरको माग सुनाइदियौं। उहाँले सुन्नुभयो, हाँस्नुभयो र भन्नुभयो, “गफुरको बकबक।”

हामी चुनाव प्रचारमा जहाँ जान्थ्यौं, गफुर त्यहाँ पुगेकै हुन्थ्यो। उसित एउटा न एउटा व्यक्ति अवश्य हुन्थ्यो, जसको दुःखको कथा ऊ सुशीलदालाई सुनाउन चाहन्थ्यो। सुशीलदालाई भन्न नपाए हामीलाई सुनाउँथ्यो। एकदिन एउटालाई लिएर आयो र हामीसित चिनायो, “सर, यो गरीब किङरिया हो। किङरी बजाएर गुजारा गर्छ।”

किङरियासित सारंगी जस्तै एउटा पुरानो बाजा थियो। त्यही रहेछ किङरी।

किङरियाले हामीलाई गीत सुनाउने भयो। उसले किङरीको जीब्या मिलायो।

किङरीको खुडी र डाँडीमा लोवान दलेर चिल्लो बनायो। अनि किङरी रेट्दै आफ्नो गाउँ र गाउँलेका दुःखका गीत सुनाउन थाल्यो। त्यो गीत उसले सुशीलदालाई सुनाउन आफैं बनाएको रहेछ। तर, सुशीलदालाई त्यसको गीत सुन्ने फुर्सद कहाँ? हामीले सुन्यौं र मजा लियौं।

गीत सकिएपछि गफुरले किङरियाको समस्या सुनायो, “यसको बाजा पुरानो भयो हजुर। कहिलेकाहीं सूरमा बज्दैन। बडा परेशानी भएको छ यसलाई। बेसूरको बाजा कहिलेसम्म बजाइरहने? त्यसैले सुशीलबाबुले चुनाव जितेपछि नयाँ बाजा किनिदिनुुपर्छ। चार–पाँच सयमा पाइन्छ साब्।”

गफुरले यस्ता अनेकअनेक मान्छे लिएर आउँथ्यो र सुनाउँथ्यो तिनका अनौठा–उदेकलाग्दा समस्या। ऊ तिनका समाधान चाहन्थ्यो सुशीलदाबाट। सुशीलदा उसका कुरा पत्याउँदैनथे।

एकदिन झ्न् अनौठो समस्या लिएर आयो गफुर। ऊसँग एउटा लाचार र गरीब गाउँले थियो। उसको अनुहारमा पनि स्थायी पीडा टाँसिएको जस्तो देखिन्थ्यो। गफुरले सुनायो, “ए हजुर, सुशीलबाबुले चुनाव जित्नुभयो भने यसको समस्या दूर गरिदिनुपर्छ। नत्र यो मान्छेको दानापानी बन्द भैहाल्छ। भोकै मर्छ, यो गरीब।' दिनभरको चुनाव प्रचारमा थाकेका हामीलाई टाइमपास गर्नु थियो। हामीले त्यो मान्छेको समस्या सुन्यौं। यसपटक गफुर चूप लाग्यो र त्यही गरीब गाउँले बोल्न थाल्यो, “म गाउँको चौराहामा एउटा दुकान भाडामा लिएर समोसा बेच्छु हजुर। एक महीना अगाडि दशगजापारिको एउटा दुकानदार आयो र मेरै दुकानको बगलमा मिठाई दुकान खोल्यो। हाम्रो दुइटै दुकानको घर मालिक एउटै हो। दशगजापारिबाट आएको दुकानदारले मिठाईसँगै समोसा पनि बनाउँछ। तर, अस्ति उसले मलाई समोसा नबेच भन्दै धम्की दियो। मेरो कारणले उसको समोसा बिक्री भएन रे! मेरो घरमालिक पनि उसैको पक्षमा लागेको छ।”

उसले आफूसँगै केही समोसा पनि ल्याएको रहेछ। हामी सबैलाई एक–एक वटा खान पनि दियो। समोसा साँच्चिकै स्वादिलो थियो। हामीले समोसा खाइसकेपछि उसले याचना गर्‍यो, “सुशीलबाबुले मलाई मद्दत गरिदिनु पर्‍यो। मैले समोसा बनाउन पाउनु पर्‍यो।”

सुशीलदाका अगाडि ठेक्का पाउनु पर्‍यो, जागिर पाउनु पर्‍यो, भन्सारमा सरुवा पाउनु पर्‍यो, इन्स्पेक्टरको जाँचमा पास गराइदिनु पर्‍यो, पुलिसले समातेको जडीबुटी छुटाइदिनु पर्‍यो, भ्रष्टाचार मुद्दाबाट जोगाइदिनु पर्‍यो आदित्यादि कामका लागि आउने थुप्रै देखेका थियौं हामीले। तर, त्यो मान्छे समोसा बनाउन पाउने माग गरिरहेको थियो। हामीले उसलाई उडायौं, खूब हाँस्यौं। गफुरले अमिलो अनुहार बनायो।

“ठीक छ, तपाईंहरू भनिदिनुहुन्न भने भोलि बिहान म आफैं सुशीलबाबुलाई भेट्छु। उहाँसितै माग्छु किङरियालाई बाजा किन्ने पैसा। म आफैं उहाँसित माग्छु कलुवाको लागि कण्डम किन्ने पैसा। अनि चिन्कूले विना रोकटोक समोसा बेच्न पाउनु पर्छ भनेर मै भन्छु। मलाई पनि बोल्न आउँछ। म आफैं अब सुशीलबाबुसित झ्गडा गर्छु।”

सुशीलदालाई गफुर गफाडी हो भन्ने थाहा छ। यसले बकबक गर्छ भन्ने थाहा छ। सुशीलदा चुनाव प्रचारको अभियानमा हुनुहुन्छ। अनावश्यक मान्छेसित भेट गराएर, बकबक सुनाएर सुशीलदाको मूड खराब गरिदिनु हुन्न हामीले। त्यसैले हामीले गफुरलाई सुशीलदाको अगाडि पर्न नदिने उपाय गर्नुपर्छ।

हामीले भाङ खोज्यौं। त्यसको लड्डु बनायौं र राति पनि बकबक गरिरहेको गफुरलाई ख्वाइदियौं। भाङ लाग्यो उसलाई। ऊ निदायो। बिहान सुशीलदा गाउँमा आउँदा गफुर सुतिरहेकै थियो। बकबक गर्न पाएन उसले।

लगभग दुई दशकपछि। सुशीलदा प्रधानमन्त्री हुनुभयो। हामी एकदिन बालुवाटार जाँदा उहाँ टाउकोमा हात राखेर बस्नुभएको थियो। उहाँको टाउको असाध्यै दुखिरहेको रहेछ। हामीले सोध्यौं, “के भो सुशीलदा?”

सुशीलदाले निधारमा भिक्स दल्दै भन्नुभयो, “गफुर आएको थियो। खूब बकबक गर्‍यो। भन्यो– अब उसको कुरो सुन्नै पर्छ।”

हामी जिल्ल पर्‍यौं। हामीमध्ये नै कसैले भन्यो, “अब लड्डु खाएर निदाउँदैन गफुर।”

गफुर ब्यूँझिएछ।

comments powered by Disqus

रमझम