१-१४ कात्तिक २०७२ | 18-31 October 2015

चलाख डिम्ब

Share:
  
- मनीषा गौचन

“मम्मी, यी...म भोलि चक्लेट किन्छु ल?” चार वर्षको अंकित दौड्दै आयो। उसको हातमा पाँच रुपैयाँको नोट थियो। मैले त्यो नोट लिएँ। पाँच रुपैयाँको नोटको रङमा मैले मेरी आमाको रगत देखें। एकछिन छामिरहें। त्यसभित्र आमाको छटपटी महसूस गरें। अनि मुठी कसें। नोट कुच्चियो।

“मम्मी, मेरो पैसा...” अंकित रुन थाल्यो। मैले उसलाई जुरुक्क बोकेर गालामा म्वाईं खाएँ। उसलाई भुईंमा राख्नासाथ ऊ मेरो हातको नोट लिएर कोठातिर दौड्यो।

रञ्जना लिभिङ रुममा थिई, म त्यतै गएँ।

रञ्जना मेरो मिल्ने साथी। म उसलाई रञ्जु भन्छु। कहिलेकाहीं जिस्क्याएर रेञ्चु पनि भन्छु। ऊ भन्छे, “खै रेञ्चु भएर के गर्नु, तेरो मनको गहिराइ अझै थाहा पाउन सकेको हैन...।”

“तैंले जति अरू कसले पो नापेको छ र, मेरो मनको गहिराइ?” म भन्छु।

साँझ्मा केही रमाइलो गर्ने गरी ऊ आएकी थिई। हाम्रा अगाडि केही परिकारहरू थिए र एउटा वाइनको वोतल पनि ठिङ्ग उभिएको थियो। अंकित फेरि दौड्दै आयो। र मेरो काखमा खेल्न थाल्यो। उसको अनुहारमा रञ्जनाका आँखाहरू डुल्न थाले। शायद ऊ खोज्दै थिई, अंकितको बाबुको रङ।

रञ्जनाले अंकितलाई तीन वर्षदेखि देख्दै आएकी छे। हाम्रो मित्रता शुरू भएको पनि त्यति नै भयो। कामको सिलसिलामा भेटिएकी रञ्जनासँग चाँडै नै तँ र म को सम्बोधन शुरू भो। यस्तो सुरुआत उसैले गरी। मसँग सबै कुरा खोल्थी, तर म अलि फरक थिएँ। उसलाई अंकितको बाबुबारे सोध्न पहिल्यै बन्देज लगाएकी थिएँ।

धेरै दिनपछिको भेट, हामी वाइनसँगै आफ्नो गन्थनमा झुम्न थाल्यौं। अंकित मेरो काखमा लडीबुडी गर्दागर्दै निदाएछ।

वाइनको बोतल रित्तियो, हाम्रो मन रित्तिएको थिएन। हामी मस्त नीदमा रहेको अंकितलाई लिएर बेडरुममा आयौं। अंकितको आँखा गाला सबैतिर माया गरी बेडमा सुताएँ र रञ्जनाको छेउमा गएँ, म। ऊ बेडको छेउमा बसेर मेरो क्रियाकलाप नियालिरहेकी थिई। अनायासै मेरो हात उसको कपालमा खेल्न थाल्यो। उसको केस फुल्न थालेछ। “बूढी भैछेस्...।”

“भरखर तीनको लाइन क्रस गरियो। केटाहरू पाँचको लाइनमा पनि नवयुवक हुँ भन्दै मार्च पास गर्छन्...।” ऊ हाँसी।

हाँस्दा उसका हँसिला आँखाहरू झ्न् सुन्दर देखिए।

“तँ अझै राम्री छेस्, मेरी आमा जस्तै...” मेरो कम्प्लीमेन्ट।

“भनेपछि म अझै बिक्छु...।”

यो बिक्ने भन्ने शब्द मलाई सस्तो लाग्छ। अनायासै मेरो गला भरिएर आयो, भित्तातिर फर्किएँ। रञ्जनाले मलाई सुमसुम्याई। उसको स्पर्शले पगाल्यो मलाई। पग्लिएको मनले आँखा भरिंदै गयो। उसले मलाई अँगाल्दै भनी, “सरी जुनी, मैले तेरो कुरा बुझन सकिनँ...।”

हो, निकै मिल्ने साथी भएर पनि म एउटा नबुझिने चित्र थिएँ उसको लागि। आज बुझिने भएर उभिन मन लाग्यो।

“कोही किन बिक्छन्? त्यसका कारणहरू धेरै हुन्छन्। कोही विना कारण बिक्छन र नसोचेको घाटा व्यहोर्छन्।”

“कुरा त स्पष्ट पार्!” उसले भनी।

मैले शुरू गरें, कसैसँग कहिल्यै नभनिएको कथा,

“पश्चिम नेपालको सिमपानी गाउँमा जन्मिएकी इन्द्रावती सुन्दर थिइन्। उनका आँखाहरू बोल्थे तर उनी बोल्न, सुन्न सक्दिन थिइन्। जन्मजात बहिरी थिइन् उनी। इन्द्रावती पन्ध्र वर्ष जतिकी हुँदा गाउँकै एकजनाले उनलाई पाँच रुपैयाँ दियो। त्यो किन पाइन्, उनलाई थाहा थिएन, तर त्यो वेला पाँच रुपैयाँ हातमा पर्नु खुशीको कुरा थियो। रमाउँदै घरतिर लाग्दा त्यो मान्छेले इन्द्रावतीलाई खेततिर तान्यो र उनीमाथि जबर्जस्ती भयो। उनको कुमारीत्व खेतको माटोमा बग्यो। त्यो बाहिरी दृश्य थियो, भित्र उनको डिम्बले त्यो पाँच रुपैयाँ दिने मान्छेको करोडौं शुक्रकीटलाई आकर्षित गर्‍यो। तीमध्ये एउटा शुक्रकीट सबैलाई उछिनेर त्यो डिम्बको मोहजालमा फस्यो अनि शुरू भयो इन्द्रावतीको दुर्दशा। जति लुकाउन चाहे पनि लुक्न सकेन त्यो शुक्रकीट र डिम्बको संयोजन। इन्द्रावतीमाथि पूरै समाज खनियो 'कसको' भन्दै। अन्त्यमा उनले त्यही पाँच रुपैयाँ दिने मान्छेलाई देखाइन्। त्यसै दिनदेखि बेपत्ता भयो त्यो मान्छे।” “त्यसपछि?”

“त्यसपछि समाजको नजरमा नांगिदै इन्द्रावतीले एउटा नांगो मान्छे जन्माइन्।” “अनि कहाँ गइन् इन्द्रावती?”

“कहीं गइनन्, समाजले जे भने पनि उनले त्यो नांगो मान्छेको जीउ छोपिदिइन्। दूधले पेट भरिदिइन्। कसैको घरमा काम गरेर त्यो मान्छेलाई बाँच्न दिइन्।” “अनि त्यो नांगो मान्छे नि?”

“ऊ तेरो सामुन्ने छ” म मुस्काएँ। ऊ आश्चर्यमा परी।

“त्यो नांगो मान्छे मै थिएँ रञ्जु। मेरी आमालाई पाँच रुपैयाँ दिएर मलाई समेत दुखाएर भाग्ने मान्छे कहाँ छ, म जान्दिनँ, तर मैले पनि आमालाई खूब दुखाएँ। मेरो बुबा खै? यो प्रश्न उनको घाउ कोट्याउने सियो नै थियो। म हरेक दिन यही सियो बोकेर उनको वरिपरि घुमिरहन्थें। एकदिन आमाले बाध्य भएर एक–एक घटना बताइन् अनि भक्कानिंदै रोइन्। त्यसैदिन थाहा भो मेरी आमा पाँच रुपैयाँको रातो नोटसँग किन झ्स्किन्थिन् भनेर। यो यथार्थ खुलेको केही दिनपछि मेरी आमालाई मुटुको व्यथाले लग्यो। मुटु किन दुख्यो त्यो चाहिं मैले बुझिनँ।” मैले रञ्जनालाई आश्चर्यबाट निकाल्न खोजें। उसको दुखाइ आँखाहरूमा छचल्किंदै थियो।

“त्यो डिम्बलाई त्यही शुक्रकीट किन मन पर्‍यो, जबकि करोडौं शुक्रकीट थिए त्यहाँ? तर अर्कै शुक्रकीट परेको भए पनि मेरै जस्तो जीवन भोग्नुपर्थ्यो त्यसले। म जस्तै नाजायज हुनुपर्थ्यो। 'बाउको ठेगान नभएको' भन्ने नागरिकता बोकेर यो देशको नागरिक हुनुको अपमान झेल्नुपर्थ्यो।”

कुनै दिन एक जना साथीले मेरो नागरिकताको फोटोकपी देखाउँदै सोधेको थियो, “ओइ यो के लेखेको?”

“यो देशमा आमाको महत्व कहाँ छ हँ?” मैले उसको हातबाट फोटोकपी खोसेर उसैलाई सोधेकी थिएँ। एक्कासी म आवेगमा आएँ। मैले केही कठोर भएर भनें, “तर, मेरो छोराको नागरिकतामा उसको आमाको नाम हुनेछ, रञ्जु।”

मेरो पीडामा दुखेकी रञ्जनाले भनी, “अब त आमाकै नामबाट पनि नागरिकता निस्कन्छ, जुनी।”

“हो, त्यसैले म खुशी छु”, मेरो आँखाबाट आँसु झ्रे।

“हैन, पुरुषहरू क्षणभरको आनन्दको लागि किन यति ठूला कदम उठाउँछन् हँ?” उसले दिक्क मानी।

“किनकि त्यो कदमको भार महिलाले खेप्छे। उनीहरूले पेट बोकेर बदनाम हुनुपर्ने भए यस्तो हुने थिएन।”

“यहाँ पुरुष पनि बराबरी बद्नाम छन्। महिलालाई पेट बोकाएर ऊ कसरी अलग हुन सक्छ। उसले पनि पेट बोकेसरह हो। सफा मनले स्वीकारे बाउ हो, नत्र कलंक।”

“तर्क त दिने भइछेस्” मैले जिस्काएँ।

“हेर, लोग्नेमान्छेको कमजोरी भनेको हाम्रो शरीर रहेछ। हाम्रो कमजोरी उनीहरूको व्यक्तित्व। त्यही व्यक्तित्वमा हामी आकर्षित हुन्छौं अनि सबथोक हुन्छ। त्यो सबथोक हुनुको आनन्दमा हामी नयाँ संसार बसाउने सपना देख्छौं। तँलाई थाहै छ, मेरा त ती सपना सबै खेर गए। यी पुरुष, खानेकुरा चाखे झैं हाम्रो शरीर चाख्दै हिंड्दा रहेछन्। अब हामीले पनि किन 'यूज एण्ड थ्रो' नगर्ने?”

“यहाँ पुरुषहरू पनि 'यूज्ड' भइरहेका छन्। तिनको सम्पत्ति र रहरमा टेकेर धेरै महिला माथि पुगेका छन्।”

“मलाई माथि पुग्नु छैन। बस्, मानसिक–शारीरिक रूपले सन्तुष्ट हुन चाहन्छु। त्यसको लागि अहिले मसँग चौथो पुरुष छ।”

“यूज गरिरहेछस्।” मैले टुंग्याइदिएँ उसको कुरा।

“साँच्चै, लोग्नेमान्छेहरू शिकार खोजेर कहिल्यै नथाक्ने शिकारी हुन्। सामाजिक सञ्जालमा पनि तिनीहरू शिकार खेल्न मन पराउँछन्, हेर्छेस् मेसेजहरू?” उसले मोबाइल मेरो सामुन्ने ल्याई।

“हेर्दिनँ...”, मैले उसको हात हटाएँ।

“अब हामीले पनि तिनीहरूलाई शिकार बनाउनुपर्छ। नजरको गुलेलीमा प्रेमको ढुगा राखेर हानौं त, आफैं गुलेली खोज्न आउँछन्...”, उसले गुलेली ताने झैं गरी शरीरको हाउभाउ देखाई।

“तेरो प्रेमको ढुंगाले असल पुरुषलाई नलागोस्, जोसँग मैले संगत गरेकी छु।”
“असल पुरुषको संगत गरें भन्छेस्, अनि यो अंकित? कि तेरो पनि बलात्कार भो?”

उसको प्रश्नले मेरो मुटुमा शूल बनायो।

“मेरो हैन, यो अंकित जन्माउने महिलाको बलात्कार भएको हुनसक्छ। बलात्कार नभएर समझ्दारीमा पनि हुनसक्छ। तर, गल्ती त्यही भो जहाँ एक परिपक्व डिम्बसँग शुक्रकीटको भेट भयो र अञ्जान भविष्य बोकेर टुसायो एउटा जीवन ती महिलाको कोखमा। अनि जब मान्छेको रूप लिएर यो संसार हेर्न ओर्ल्यो तब फ्याँकियो कन्टेनरमा। त्यही फ्याँकिएको नवजात शिशु हो अंकित, जसलाई मैले आफ्नो काखमा ल्याएँ अनि आँखा चिम्लेर उसको आमा हुने प्रण गरें।”
रञ्जना स्तब्ध भई।

“सरी जुनी, मैले तेरो चित्त दुखाएँ...” उसले न्यानो हात मेरो गोडामा राख्दै भनी। मैले त्यो हातमाथि आफ्नो हात राख्दै भनें, “दुखेर नै खुल्दोरहेछ मन। मेरी आमालाई मेरो प्रश्नले नदुखाएको भए म अझै पनि जवाफ खोजिरहेकी हुन्थें। अंकित पनि त्यही प्रश्नको सियो लिएर मेरो वरिपरि घुम्नेछ कुनै दिन, जसको लागि म तयार छु। म उसलाई राम्रो शिक्षा दिनेछु, पुरुषभन्दा बढी असल पुरुष हुन सिकाउने छु।”

अनि हाँस्तै थपें, “यो पनि भन्नेछु, आफ्नो शुक्रकीटलाई जथाभावी नछोड, महिलाभित्रको डिम्ब खतरनाक हुन्छ भनेर। अनि... तँ पनि धेरै गुलेली नखेला। तँभित्रकै डिम्बले तँलाई झुक्याउला।”

त्यही वेला अंकित रोयो। म आत्तिंदै उसको नजिक गएँ। ऊ त सपनामा रोएको रहेछ, एकछिनमै शान्त भयो। मैले उसको सिरानीनिर रहेको त्यही पाँच रुपियाँको नोट हातमा लिएँ। एकाएक मेरो मस्तिष्कमा आमाको रगताम्य आकृति सलबलाउन थाल्यो। त्यहाँ शुक्रकीटहरू डिम्ब नजिक पुग्न दौडधूप गर्दै थिए। एउटा डिम्ब आतुर थियो ती दौडेका शुक्रकीटहरूमध्ये एउटालाई आफूभित्र समाहित गर्न। म त्यो संयोजन हेर्न सक्दिनँ। म एकाएक आँखा चिम्लन पुग्छु।

comments powered by Disqus

रमझम