मेटामोर्फोसिस

Share:
  
- राजेन्द्र पराजुली

आठ कक्षामा पढ्दा विज्ञान शिक्षकले पढाएको 'झुसिलकीराको जीवनचक्र' पाठले राम उपाध्यायलाई अचम्ममा पारिदिएको थियो।

“अङ्ग्रेजीमा यसलाई मेटामोर्फोसिस भन्छन्”, शिक्षकले भनेका थिए, “एग, लार्भा, प्युपा र एडल्ट गरी चार चरणमा यसका चक्र पूरा हुन्छन्।”

रामलाई 'मेटामोर्फोसिस' शुद्ध उच्चारण गर्न पूरा एक वर्ष लागेको थियो। अरू चक्र तथा चरणबारे उसले कुनै ध्यानै दिनसकेको थिएन। त्यसवेला ऊ शिक्षकले जे पढाउँछन् त्यही सुन्थ्यो, प्रतिप्रश्न गर्न सक्दैनथ्यो। कसरी एउटा झुसिलकीरा पुतली बन्छ? घस्रेर हिंड्ने त्यस्तो कुरुप जीवको कायाकल्प भएर सुन्दर र स्वतन्त्र पुतली बन्छ भन्ने कुरा उसले कसैगरी पत्याएन।

रंगीविरंगी पुतली उसलाई खूब मन पर्थ्यो। उडेर जताततै जान पाउने त्यसको स्वतन्त्रताले उसलाई औधी छुन्थ्यो। जीउभरि झुस भएको त्यो जीव कसरी परिवर्तन भएर पुतली बन्ला, कहिलेकाहीं ऊ घोत्लिने गर्थ्यो। त्यही क्रममा एक दिन उसले बारीबाट एउटा झुसिलकीरा ल्याएर काँचको भाँडोमा राख्यो।

त्यसयताको पाँच–सात दिन बिहान उठ्दासाथ र बेलुकी सुत्नेवेलामा झुसिलकीरा हेर्ने क्रम चल्यो, तर त्यो झुसिलकीरा नै रहिरह्यो, पुतली भएन। त्यसले कुनै चरण पूरा गरेन। आठौं दिनमा बिर्को बन्द भाँडोबाट झुसिलकीरा निकालेर हेर्दा कताकता त्यसको अनुहारमा पुतली देख्यो, रामले। तर, त्यो न पुतली थियो न जीवित। रामलाई असाध्यै रीस उठ्यो। विज्ञान शिक्षकसँग त बढी नै रीस उठ्यो। मास्टरलाई जथाभावी गाली गर्‍यो एक्लै। अन्त्यमा उसले त्यो ओइलाएको जीवलाई भुईंमा फ्याँकेर खुट्टाले कच्याककुचुक पारिदियो। र, भन्यो, “अब अर्को जुनीमा होलास् पुतली, सिमाटोक्ने झुसी!”

रामले आफ्ना गतिविधि बताइसकेपछि एक जना मिल्ने साथीले 'सरले भनेपछि किन दिमाग खराब पार्नु!' भनेको थियो, तर पनि उसको चित्त शान्त हुनसकेको थिएन। अन्त्यमा उसले निष्कर्ष निकाल्यो– मास्टरले गलत पढाए। यो निष्कर्षले उसको मनलाई शान्ति दियो। आफ्नो मतमा उसले कहिल्यै पुनर्विचार गरेन।
पढाइमा ठ्याम्मै रुचि थिएन रामलाई। त्यसमाथि विज्ञान र अङ्ग्रेजी भनेपछि वाक्क लाग्थ्यो। जति पढे पनि दिमागमा घुस्दैनथ्यो विज्ञान। झुसिलकीराको रूपान्तरण त उसले राम्ररी सुन्न पनि चाहेन। अङ्ग्रेजी नजानेर केही फरक पर्दैन भन्ने सोचाइ थियो उसको। अङ्ग्रेजीका शिक्षक पाठ कण्ठ पार्न लाउँथे, तर उसको दिमागमा कहिल्यै बसेन। हिसाबमा बीजगणित र अङ्कगणित केही आउँथ्यो।

ज्यामिति त झ्नै बुझदैनथ्यो ऊ। तर, जहिल्यै जसोतसो उत्तीर्णाङ्क आइहाल्थ्यो।
इतिहास सबभन्दा मन पर्ने विषय थियो। त्यसपछि नेपाली र स्वास्थ्य मन पर्थ्यो। इतिहासमा पनि राणाशासनबारे शिक्षकले पढाउँदा ऊ खूब ध्यान दिएर सुन्थ्यो। राजनीतिक उतारचढाव, सत्तामा जान खेलिएका खेल, महाराजा–महारानीका कथा रुचिकर लाग्थे उसलाई। कोतपर्व, भण्डारखाल पर्व दोहोर्‍याई–तेहेर्‍याई पढ्थ्यो। बाउका निम्ति पढिदिएको भन्थ्यो मिल्ने साथीहरूसँग ऊ। वाग्मतीमा पौडिनु र जङ्गलमा चरा मारेर पोलिखानु उसका प्रिय दैनिकी थिए। सानातिना बदमासी पनि उसका प्रिय कर्म थिए। तास धेरैबेर खेल्दैनथ्यो ऊ। सय दिन खेल्दा उनान्सय दिन हार्थ्यो। आमाले उसलाई मागेजति पैसा दिन्थिन्। त्यसैले पनि उसका अघिपछि लाग्ने केटा निकै थिए।

रामका प्रधानपन्च बाबुको गाउँमा ठूलो रवाफ थियो, तर छोराका कारण दुःखी थिए। उनी राम पनि उपप्रधानपञ्चको छोरो जस्तै मेधावी होस् भन्ने चाहन्थे। उपप्रधानले छोराको कुरा निकाल्दा प्रधानलाई भाउन्न हुन्थ्यो। उनले आफ्नो छोरालाई जहिल्यै हेडमास्टरलाई भनेर पास गराउनु परेको थियो। हेडमास्टरले 'लौ है प्रधानजी, मैले सक्ने भनेको ९ कक्षासम्म मात्रै हो, छोरालाई राम्ररी पढ् भन्नुपर्‍यो' भनेर रामकै अगाडि भनिसकेका थिए। एसएलसीको टेष्ट परीक्षा आँगनमै आएको थियो।

टेष्ट परीक्षामा 'झुसिलकीरा कसरी पुतलीमा बदलिन्छ' भनेर प्रश्न सोधिएको थियो। त्यसको उत्तरमा रामले 'यो असम्भव छ, कुनै पनि हालतमा यो हुन सक्दैन' भनी उत्तरपुस्तिकामा लेखिदिएको थियो। नभन्दै, टेष्टमा ऊ दुईपटक फेल भयो। त्यसपछि उसलाई परीक्षा र झुसिलकीरा भन्नु उस्तैउस्तै लाग्न थालेको थियो। “बिझाउने कीरा हो, यो परीक्षा”, ऊ साथीहरूसँग भन्थ्यो। साथीहरू गलल्ल हाँस्थे।

उप–प्रधानपन्चको छोराले भने विशिष्ट श्रेणीमा एसएलसीमा पास गरेको थियो। निराश प्रधानपञ्चले जसरी भए पनि टेष्टचाहिं पास गराउनु पर्‍यो भन्ने सोचेर हेडमास्टरलाई अनुरोध गर्दा उही ९ कक्षासम्मको उत्तर पाएको थियो। हेडमास्टरले त्यसमा थपेको थियो, “मलाई यो अनैतिक काम गर्न नलगाउनुस्, प्रधानपञ्च महोदय!”

र पनि प्रधानपञ्च छोरालाई टेष्ट पास गराउन चाहन्थे। उनले राम्रै हिमचिम भएका एक जना राष्ट्रिय पञ्चायत सदस्यलाई आफ्नो दुःख सुनाएपछि रामले एसएलसी दिन पाउने भयो। तर, फेरि उही झुसिलकीराको जीवनचक्रवाला प्रश्न आयो। रामले पनि उही टेष्टवाला उत्तर लेखिदियो।

एसएलसी सकिएलगत्तै देशमा बहुदल ल्याउने आन्दोलन तेज हुन थाल्यो। बाउले रामलाई दिव्योपदेश दिए– “अरू जेसुकै गरे पनि बहुदलवादीचाहिं नभएस्। तैंले पढिनस् र मलाई दुःखी बनाइस्। तँलाई पढाएर डाक्टर, इन्जिनियर वा पाइलट बनाउँला भन्ने मेरो सपना थियो। समाजमा इज्जतसाथ बाँचुँला भन्ने थियो, तर मेरो सपना चकनाचूर पारिहालिस्। अहिले बहुदल चाहियो भनेर शहरतिर आन्दोलन चलिराख्या छ, त्यसमा चाहिं कुनै पनि हालतमा नलागेस्। हाम्रा राजाले आर्जेको यो देश मौसुफकै आज्ञामुताविक चल्नुपर्छ। मौसुफलाई बहुदल मन पर्दैन। त्यसैले मलाई पनि त्यो मन पर्दैन।”

उनी यो वाक्य गायत्री मन्त्रजस्तै दोहोर्‍याइरहन्थे छोराका सामु र गाउँका युवा–किशोरका अगाडि। रामलाई बाउको कुरा घत परेकै थियो, तर शहर गएर आन्दोलन हेर्ने इच्छा पनि जाग्यो। एक दिन आठ–दश साथी बोकेर ऊ आन्दोलन हेर्न कलङ्की हुँदै रत्नपार्कतिर लाग्यो। रत्नपार्कमा भीड देखेर शुरूमा त ऊ तर्स्यो। उसले एकै पटक यति धेरै मान्छे कहिल्यै देखेको थिएन। उसका साथीहरू पनि छक्क परे।

त्यहाँ एक जना राजाका विरुद्ध भाषण गरिरहेको थियो। निरङ्कुश राजालाई नहटाएसम्म यो देशका युवा र समग्र देशवासीको उन्नति नहुने भाषण थियो। भाषण गर्नेले तानाशाही लादेको राजाले जनता र देशको विकासमा लगाउनुपर्ने पैसा आफ्नो ढुकुटीमा जम्मा गरेको छ भन्ने पनि बतायो। रामले आफ्नो बाउ सम्झयो। बाउ भन्थे– 'राजा भनेका साक्षात् विष्णु भगवान्का अवतार हुन्। उनको विरोध गर्नु भनेको भगवान्को विरोध गर्नु हो, पाप गर्नु हो।'

उसलाई भाउन्न होलाजस्तो भयो। त्यो भाषण गर्ने मान्छे बडो आकर्षक थियो। उसको वाक्कला चामत्कारिक थियो। रामले राजालाई फोटोमा मात्र देखेको थियो। उसका बाउले राजा, राजाका बाबु, हजुरबाबु र जिजुबुबासम्मको फोटो बैठक कोठामा सजाएर राखेका थिए। राजा निकै राम्रा लाग्थे रामलाई। राजाले लगाएको लुगा, हँसिलो मुहार साँच्चै खुलेको देखिन्थ्यो। तर आज राजाभन्दा पनि बहुदलवादी भाषणकर्ता सुन्दर लाग्यो उसलाई।

रामको टोलीले केहीबेर त्यो भाषण सुने। साथीहरूको मस्तिष्कमा कस्तो असर पार्‍यो कुन्नि, राम भने रनभुल्लमा पर्‍यो। त्यो मान्छेले जति बोले पनि सुनिरहुँ लाग्यो उसलाई।

केही दिन आन्दोलनमा गएपछि उसलाई पनि राजाको विरोध गर्न मन लाग्यो, तर बाउको वाणी सम्झेर ऊ चूपै लाग्यो। भीडमा उसलाई आफू मात्रै राजा समर्थकजस्तो लाग्थ्यो। एक दिन उसको दिमागमा अचानक प्रश्न उठ्यो– के मेरो जीवन पनि झुसिलकीराबाट पुतली हुन लागेको हो? विज्ञान शिक्षकले पढाएको ठीकै थियो त?

ऊ शिक्षकप्रति केही नरम भयो मनमनै।

प्रहरीले हरेक दिन भीडलाई पटक–पटक तितरवितर पार्थ्यो। भीड पुनः एकत्रित हुन्थ्यो। लाग्थ्यो, भीड केहीबेर हराएर फर्केर आउने समुद्रको लहर हो। राम सोच्थ्यो– यति धेरै मान्छे राति कहाँ जाँदा हुन्? के यी सबै राजा र पंचायतविरोधी हुन्? नहुँदा हुन् त किन यो जुलूसमा सधैं भाषण सुन्न आउँथे! किन हो, त्यो भाषण गर्ने मान्छेसम्म प्रहरी पुग्नै सक्दैनथ्यो। भीड उसका वरिपरि बलियो पर्खाल बनेर उभिएको हुन्थ्यो।

आन्दोलनले गति लिंदै थियो। राम हरेक दिन आन्दोलन हेर्न शहर धाइरहेको थियो। केही दिनपछि साथीहरू शहर जान छाडे पनि ऊ गइरह्यो। साथीहरू पुरानै तालिकामा फर्केका थिए– बिहान उठ्नु, चिया खाएर पसलमा जानु, एक–दुई कप चिया थप्नु, घर फर्कनु, भातको थाल तान्नु, मीठो भएन भनेर कचकच गर्नु, भात खाएर एक निद्रा सुत्नु अनि उठेर उही पसलतिर जानु। दुई–चार घन्टा तास खेल्नु, अर्काको कुरा काट्नु। तास खेल्दै चाउचाउको खाजा खानु, साँझ् छिप्पिन आँटेपछि घर फर्कनु। रामको दैनिकीलाई भने आन्दोलनले बदलिसकेको थियो, जुन परिवारका कसैले चालै पाएनन्।

ऊ दैनिक करीब १५ किलोमिटरको दूरी नाप्न थाल्यो। बिहान आमाले पकाएको भात खाएर शहर जाने, आन्दोलनमा मिसिने, साँझ् ढिलो गरी घर फर्कने, उसैगरी आमाले पकाएको भात खाने अनि सुत्ने।

आन्दोलन उत्कर्षतिर जाँदैथियो। त्यस दिन राम बिहान दशै बजे रत्नपार्क पुग्यो। जोशिलो भाषण गर्ने उही मान्छे खुलामञ्चमा बोल्ने तयारीमा थियो। आन्दोलनकारीहरू माइक मिलाउँदै थिए। राम परैबाट आफ्नो हिरोलाई नियालिरहेको थियो। ऊ कसोकसो त्यही मान्छेको छेउमा पुग्यो। उसलाई थाहै भएन, कसरी भीड छिचोलेर त्यहाँ पुग्यो। त्यो मान्छेलाई एक पटक स्पर्श गर्न चाहन्थ्यो राम। हिरोले उसलाई देख्यो र दह्रो गरी हात मिलायो। रामले आफ्नो जीवनमा ठूलो रूपान्तरण महसूस गर्‍यो।

अचानक चारैतिरबाट गोली चल्न थाल्यो। भीड कोलाहल गर्दै तितरवितर भइरहेको थियो। रामले आँखा बन्द गर्‍यो। केही क्षणमा वातावरण शान्त भएजस्तो लागेर उसले आँखा उघार्दा उसको हिरो गायब भइसकेको थियो। खुलामञ्चको माइक अघिल्तिर ऊ एक्लै थियो। उसको हातले माइक समातिरहेको थियो। कुनवेला उसको हात माइक समाउन पुग्यो, उसैलाई पत्तो थिएन। उसले जिन्दगीको अन्तिम आवाज बन्दूकको सुन्यो। ढल्दै गर्दा अन्तिम वाक्य पनि बोल्यो, “अब म पनि झ्ुसिलकीराबाट पुतली हुन्छु– मेटामोर्फोसिस!”

comments powered by Disqus

रमझम