युद्ध सङ्ग्रहालय

Share:
  
- सीमा आभास

यही घरको भित्तामा पहिलोचोटि लेखेकी थिई मुक्तिको नारा

सग्लो सूर्यले नुहाएको तेज ल्याउँछु भनेर कसेकी थिई मुट्ठी।

छोरो डोर्‍याँउदै फेरि फर्केर आएकी छे छोडेर गएको घरमा।

यो दश वर्षसम्म लगातार ऊ

समाचार बनी

घाइते बनी

योद्धा बनी

र, आमा पनि बनी।

युद्धभरि यौटै झोलामा बोकेकी थिई आफूलाई

आज पनि यसैमा बोकिरहेकी छे

छोरोसहित आफ्नो भोलि, आज र हिजो।

युद्धताका यसैमा हुन्थे

बन्द गर्नुपर्ने स्थान, समय र सूची

सफाया गर्ने दुस्मनका नाम र फोटा

युवाका गीत, गोर्कीकी आमा

माओ, मार्क्स, लेनिन र स्टालिनका तस्वीर

देशको अनुहार फेर्ने दस्तावेज र रातो किताब

युद्धले स्थापित राज्यको विधान र नक्शा

अनि थिए,

युद्ध जितेको सपनाका झण्डाहरू

एके फोर्टीसेभेन र अठार–महीने छोरो

छोराको दिसा पोको पारेका चकौटी, भोटा

सातुको पोको, दूध र पानीको बोतल।

पिठ्यूँमा छोरो बोकीबोकी

चट्याङले खजुरालाई बज्र हाने झै

ढालेकी थिई वैरीलाई

सलाम ठोकेकी थिई शहादत साथीसंगीलाई

र, माटो चिमोटेर धसेकी थिई विजय उल्लास।

उसको निधारमा विजय टल्किंदाटल्किंदै

फेरियो क्रान्तिको नारा

फेरियो एके फोर्टीसेभेनको आकार

फेरिए युद्ध मैदानहरू।

कमाण्डरले थन्क्याएको

साँघुरो सेल्टरमा खोज्छे

फराकिलो देशको चम्किलो नक्शा

देश खोज्दै हिंडेका नागरिकको हस्ताक्षर

योद्धाको हड्डी घोटेर चन्दन लगाउनेहरूको बाचा

सामूहिक चिहानका अज्ञात योद्धाहरूका हातको चक्र।

स्कूलको नीलो छानो देखेपछि झल्झली सम्झिन्छे

शिक्षकका गर्धनमा उद्याएका 'बुर्जुवा शिक्षा' विरोधी तरबार

कोलको निबुवा झै निचोरिन्छे हड्डी भित्रैसम्म

अनि, डढाउँछे जीउ नै पोल्ने क्रान्तिकारी पोशाक।

अनायास एक दिन आफ्नो झोलाभित्र भेटी तासको गड्डी।

तासका पत्तीमा थिए छुट्टाछुट्टै तस्वीरहरू

देशका, शहीदका, कामदारका, हत्केलाका,

सम्राटका खस्रा दाह्रीजुँगा दलिएर रगतपच्छे केटाकेटीका

जीउबाटै कपडा हराएका विचलित मान्छेहरूका।

तासको उल्टोपट्टि लतपतिएको थियो आलो रगत।

हतास फालिदिई तासको गड्डीसँगै झोला

समाती छोराको दाहिने हात।

पहिलेकै ठेगानामा फर्किएर

लिपी मठ

रोपी तुलसीका बिरुवा

चोरीऔंलाले लेखी ॐ।

खोजी

हिंड्ने वेलामा रछ्यानमा हुर्‍याएका

देउताका फोटा, प्रौढ शिक्षाका किताब

फिपी, बातीका मुठा, सलाईका बट्टा

घिउ झिक्ने कर्काली।

भूमिगत कार्यक्रमका तुल र ब्यानरको पर्दा बनाएकी छे झ्यालढोकामा

भात पकाउने गर्छे बम बनाउँदा उब्रेको कुकरमा

ह्याङ्गर बनाएकी छे एम्बुस थापेर बँचेको तार।

आँसु खसाल्दै ऊसँग संवाद गर्छ अचेल

अगाडि रिभल्वर र पिठ्यूँमा छोरो बोकेको

उसैको योद्धा तस्वीर।

उसैले पढेको वर्णमाला अगाडि राखेर

आफूलाई मन परेको हतियार खेलाए झै

छोराको हात समाएर घुमाउँछे सिसाकलम।

पोहोरसम्म प्रत्येक बिहान बन्दूक चलाए झै

आजभोलि

बिहानै पानी चढाउँछे तुलसीमठमा

नक्षत्र उभ्याएर आफ्नै पैंतालानेरी

थाप्छे आफ्ना अधिर अञ्जुलीमा

घामका तेजस्वी थोपाहरू

ढ्याक्क गाडेर त्रिशूल

जप्छे गायत्रीमन्त्र

ॐ भूर्भुवः स्वः...

comments powered by Disqus

रमझम