१-१४ कात्तिक २०७२ | 18-31 October 2015

घरभित्र एउटा घर

Share:
  
- विप्लव ढकाल

हाम्रो घर एउटै छ!

यो घरको सुनको छानो एउटै छ

हरियो आँगन एउटै छ, रङ्गीन फूलबारी एउटै छ

तर बाबा र मामुले हेर्ने ऐनाहरू छुट्टै छन्!

बाबा र मामु सुत्ने ओछ्यानहरू छुट्टै छन्!

हाम्रो घरभित्र पस्ने

चाँदीको ढोका पनि एउटै छ!

त्यही ढोकाबाट साँझमा बाबा घरभित्र पस्दा

मामु सधैं घरबाहिर निस्किनुहुन्छ!

मामुले भर्‍याङ उक्लिंदै गर्दा

बाबा त्यही भर्‍याङका सिंढीहरू ओर्लिनुहुन्छ!

'अब यो पुतली नखेल छोरी,

योभन्दा राम्रा पुतलीहरू त म किनिदिन्छु'

भन्नुहुन्छ मामु!

'अब यो नाना नलगाऊ नानू,

योभन्दा सुन्दर नानाहरू त म किनिदिन्छु'

भन्नुहुन्छ बाबा!!

तर मलाई थाहा छैन―

मेरो बाबा कसरी मान्छे खाने शैतान हो

र किन उहाँसँग कतै पनि नहिंड्नू भन्नुहुन्छ मामु?

मलाई केही पनि थाहा छैन―

मेरी मामु कसरी रगत खाने किचकन्नी हो

र किन उहाँसँग कहिल्यै नबोल्नू भन्नुहुन्छ बाबा?

मलाई त सधैं मेरी मामु― मामु जस्तै लाग्छ!

मलाई मेरो बाबा पनि― बाबा जस्तै लाग्छ!

मलाई उहाँहरू दुवै जनाको उत्तिकै माया लाग्छ

त्यसैले म यो भर्‍याङको बीचमा

सधैं एक्लै उभिइरहन्छु!

कि यही ढोकाको सँघारमा बसेर

पुतलीको आँखामा हेरिरहन्छु!

हाम्रो घरभित्र एउटा घर छ!

यो घरमा― मामुले किनेका पुतलीका जामाहरू

एउटा अँध्यारो कुनामा फालिएका छन्!

यो घरमा― बाबाले किनिदिएका पुतलीहरू

अर्को अँध्यारो कुनामा लुकेर रोइरहेका छन्!

म पनि त पुतलीका आँखामा हेर्दै

एक्लै एक्लै रोइरहेकी छु!

हामीले रोएको आँसुको दहमा

घरको छायाँ नै उल्टो छ निरा!

हिमालको शिर नै उल्टो छ,

आकाशको पैताला उल्टो छ!

के बाबाले किनिदिएको पुतलीलाई

मामुले किनिदिएको जामा लगाइदिन मिल्दैन?

comments powered by Disqus

रमझम