ईश्वरको सवारी

Share:
  
- चन्द्र रानोहोंछा

ठीक लयमा घुम्छ पृथ्वी

घडीको काँटा

ठीक लयमा चल्छ मुटुको धड्कन

श्वास–प्रश्वास

तर, बेठीक लयमा आइदिन्छ सम्झना

चलिदिन्छ बतास, विरह, बाँडुली ...

गाइने भाइ!

पहरा, पर्वत रुवाउँदै यसरी चौतारीमा

नरेट सारंगी

बेठीक लयमा खसिदिन्छ पीपलको पात

टुक्रिदिन्छ मुटु

फुटिदिन्छ चुरा ...

देखौं जति रंगीन सपना

दृश्य मात्रै हो सपनाभरको

खेलाऔं जति कुरा मनमा

जति जलौं वियोगमा

जति सँगालौं उमंग

या पोखौं ईर्ष्या, घृणा, माया ...

सारथि हो, मात्रै जीवनभरको

गरौं जति हतार

बाँचौं जति आपत्मा

जीवन, मात्रै हो बाटोभरको

बाटो, मात्रै हो आयुभरको

परन्तु–

ठीक समयमा पोखिन्छ साँझ

सुसाउँछ खोला

तर, बेठीक समयमा छाडिदिन्छ चराले गुँड

चुहिदिन्छ आँसु

आमा!

नदिनुहोस् मलाई आशीर्वाद दीर्घायुको

बेठीक समय हुन सक्छ मेरो मृत्यु

थोरै किन्न आफूलाई

आफैंलाई धेरै बेच्नुपर्ने

अर्कैको आँखाबाट हामीले

आफूलाई चिन्नुपर्ने

हाम्रो अनुहारको उज्यालो

कहाँ, कुन वेला खस्ला भनेर

हामीसितै दौडिरहेछ आकाश र घाम

जसलाई हृदय–दृष्टिले अँगाल्नुपर्ने

हाम्रो रक्ताम्य आवाजको थुंगा

कहीं कतै झुरिएला भनेर

हामीलाई नै पछ्याइरहेछ भोक र व्यथा

जसलाई सप्रेम कुदाउनुपर्ने

यसकारण कि–

ठीक साइतमा लाग्छ तिर्खा मूर्तिलाई

ठीक साइतमा चढाइन्छ रगत मन्दिरमा

तर, बेठीक साइतमा पड्किन्छ छातीमा बन्दूक

बहिनी!

सडकछेउ त्यसरी नबेच फूल, प्रसाद ...

बेठीक साइतमा हुन सक्छ यहाँबाट

ईश्वरको सवारी।

comments powered by Disqus

रमझम