माफ गर

Share:
  
- विमला तुम्खेवा

आमाले भनेको

सयौं भाकल गरेपछि

तागेरा निङ्वा भुमाङलाई रात–दिन मागेपछि

बिहे भएको सत्र वर्षपछि

म जन्मिएकी रे।

म,

जन्मिंदा बाउले खुशीले तीनतले घर

झिसमिसेदेखि बिहान लगाएर लिपेको रे

आमाले चाहिं झन्डैले मेरो पूरै नाभी काटेको रे

बुबाले हर्षले गाँडसहितको कुखुराको मासु पकाएर दिएको रे

म, जन्मिंदाको यस्तै–यस्तै किस्सा, कहानी छ

यसो विचारेर ल्याउँदा

झन्डैले त्यसैवेला मरेकी म।

मेरो नाम हर्कमाया, पिपिला, कृष्णकुमारी, जीतमाया

नामकै राम्रज्ञी

छोरी जीतमाया भनेर आमाले बोलाउँदा

मैले आमालाई भनेकी थिएँ

आमा,

म, संसार जितेर देखाउँछु

सारा खुशी तिम्रै पोल्टामा ल्याइदिन्छु

यसो भन्दै आमाको पटुकीमा घुसि्रंदा निस्किएको गन्ध अहिले पनि नाकमै छ।

तर,

समयकाल बित्दै जाँदा थाहा भयो

मलाई राखिदिएका ती नामहरू मेरो आफ्नो थिएन

जब, मेरो बिहेको कुरा छिनियो

घरछेउको सप्तमी बजार

गुराँसको बोट र हिमाल

घरदेखि अलि माथि अमृतबाजेको नाममा बनाएको फलैंचा

आमाले दिनहुँ दिने भाती जाँड

केही पनि आफ्नो लागेन

सप्पै–सप्पै अँध्यारो मात्र देखें

कि मेरो जिन्दगी नै यस्तै हो भावीले लेखेको छालाले छेकेको कसैले नदेखेको।

त्यति धेरै भाकल गरेर जन्मिएकी

म छोरी

हर्कमाया, पिपिला, कृष्णकुमारी, जीतमाया

यसरी हुर्किएकी रिकुटेनीकी एक्ली छोरी

मेरी आमा र बाउको मायाको संसार

दरबारकी राजकुमारी जस्तै खुशी–खुशी हुर्किएँ

आमाले भनेको मेरो नेप्टो नाकमा

हिमाल हाँसेजस्तै उज्यालो झल्किन्छ रे।

सानोमा आमालाई बाचा गरेकी थिएँ–

संसारभरिको खुशी तिम्रै पोल्टामा ल्याइदिन्छु

बल्ल थाहा भयो

बाँचीखान नदिंदोरहेछ

यो समाजले, यो राज्यले

माफ गर आमा

तिमीसँग गरेको बाचा पूरा गर्न सकिनँ यो जुनीमा।

comments powered by Disqus

रमझम