१-१४ कात्तिक २०७२ | 18-31 October 2015

त्यो आठ रुपियाँ

Share:
  
- वसन्त थापा
धरानमा अंकल आन्टी त के आराथुन बस समेत नआई पुगेको समयमा बाँझगरा पुग्दा हामीलाई कुनै दूरदराजमा पुगे झैं लागेको थियो।

सबै कुरा छाडेर एकोहोरो जाँच जाँच भनिरहेकोमा एसएलसीको जाँच आयो र गयो पनि। जाँच मानौं जाँतो थियो छातीमा बसेको जो हटेको थियो छातीबाट र जीउ हलुङ्गो भएको थियो। विद्यार्थी म न मेधावी थिएँ न लद्दु। औसत दर्जाको थिएँ म, क्लासको पढाइमा भन्दा 'अतिरिक्त क्रियाकलाप' मा बढी रुचि भएको।

जाँचको नतीजा भविष्यको गर्भमा थियो। तत्कालका लागि भने म एकप्रकारले बेकार भएको थिएँ। हातबाट खेलो हराएको थियो र बोझ विनाको जोप्क्यो बनेको थिएँ म। अब के गर्ने? यसै मटरगस्ती गरेर दिन बिताउने?

मेरा बा हुनुहुन्थ्यो फक्कड तालको। फक्कड भन्नाले गाँजासाँजा तानिहिंड्ने, फकिरहरूको संगत गर्ने, सांसारिक कर्मबाट विरत भन्ने भान पर्ला, तर होइन। विराटनगरको बबिन मीलको मजदूर भएर सात सालमा बडाहाकिमको निवासमा हमला गर्ने क्रान्तिकारी दस्तामा सामेल भएदेखि नै उहाँ राजनीतिमा लिप्त हुनुभएको थियो, त्यो पनि समाजलाई बदल्ने खालको राजनीतिमा। उहाँको मिसन यातायात क्षेत्रका मजदूरहरूको बृहत्तर हित रक्षा र कल्याण थियो।

अचेलको भाषामा भन्ने हो भने उहाँको हैसियत ट्रेड युनियन लीडरको थियो। गुप्तवास, गिरफ्तारी, मामाघर बास उहाँको नियमित क्रियाकलापभित्र पर्थे। घरमा पनि मानिसहरू आइरहने। चुरोट, बिंडी, पेपर जे पायो त्यही तान्यो, फिका चिया खायो र लम्बेतान गफ गर्‍यो। अरू समयमा हिन्दीमा छापिएका लेनिन, मार्क्स र राहुन सांकृत्यायनका किताबमा घोत्लियो। घरमा चामल कसरी आइरहेछ, तिहुन कसरी पाकिरहेछ त्यसबाट बेखबर। समाज बदल्ने राजनीतिमा लागेको मानिसको घरको अवस्था बदलिन सकेको थिएन।

धन्न आमाले सागसब्जी, नून, बेसार, जिरा–धनियाँ, सिद्रा, अन्डा, सुपारी, नरिवल, मिश्री सबै थोक अलिअलि राखेर दुकान चलाउनुभएको थियो। साइडमा 'खाजा' पनि बिक्री हुन्थ्यो र अर्को कुटिर उद्योग थियो– पेपर उत्पादनको। पेपर भनेको कागजको सानो सोलीमा सुगन्धित बाम मोलेर बनाइएको सुर्तीको कक्कड हाली तयार पारिने एकप्रकारको चुरोट थियो। त्यस पेपरको सीमित उत्पादन हुन्थ्यो हाम्रो घरबाट र बिक्री हुन्थ्यो हाम्रो टुटपूँजिया दुकानबाट। कुनै यत्नले चलेको थियो हाम्रो परिवारको जहाज, जसमा सवार थियौं– बा–आमा, कान्छा काका र हामी पाँच सन्तान।

सन्तानमा म जेठो भइखाएकोलाई घरको खस्ता हालबारे पूरा जानकारी थियो र मैले केही गर्नुपर्छ भन्ने कर्तव्य बोध पनि भइसकेको थियो। मैले घरबाहिर गएर श्रम गर्न पनि थालिसकेको थिएँ। मैले मेरो एसएलसी जाँचको फारम आफ्नै कमाइको पैसाले भरेको थिएँ, एउटा जुनियर पियनको रूपमा जागिर खाएर।

धरान नगर पञ्चायतले नगरभरिका प्राथमिक विद्यालयहरूको वार्षिक परीक्षा सञ्चालन गर्थ्यो उसवेला। विद्यार्थीले उत्तर लेख्ने कापी र अरू मसलन्द समेत हरेक विद्यालयलाई नगरपञ्चायतले नै उपलब्ध गराउँथ्यो। शिक्षक दरबन्दी तोक्ने र नियुक्ति गर्ने जिम्मा पनि नगरपञ्चायतले नै लिएको थियो शायद। वार्षिक परीक्षाको तयारीका लागि उत्तर कापीका पानाहरू पट्याउने, चाङ लगाउने, प्वाल पार्ने, निश्चित संख्यामा तिनको बिटा बनाउने र विद्यार्थी संख्या बमोजिम प्याकेट बनाएर स्कूल–स्कूलमा पठाउने काम नगर पञ्चायतले गर्थ्यो। कामको चाप बढेकाले सीमित समयका लागि काम ज्यालादारीमा गर्ने मानिस चाहिएको थियो नगरपञ्चायतको शिक्षा विभागलाई। त्यस कामका लागि छानिनेमा म पनि थिएँ। म छानिने कारण अवश्य पनि मेरा बालाई चिन्नेहरूको भनसुन थियो होला। नत्र त म पहिले कुनै काम नगरेको भर्खर पन्ध्र वर्ष टेकेको केटो थिएँ। आजको सन्दर्भमा म बालश्रमिक थिएँ।

पाँच वा ६ हप्ता काम गरे हुँला त्यहाँ, तर खूबै खटेर। घरमा हरेक किसिमको काम गर्ने बानी परेको मलाई परिश्रममा परहेज थिएन। हाकीमहरू मेरो मिहिनेतबाट रिझिएका थिए। म फुच्चेलाई यताउति छुकछुक गर्ने छूट पनि दिएका थिए। त्यही भएर मैले रेमिङ्गटन टाइपराइटरमा आफ्नो नाम र ठेगाना टाइप गर्न पनि सिकें। पियन भनेर घन्टीको भरमा पानी र चिया लैजानुपर्ने वा अफिसरको ढोका छेउमा उभिनुपर्ने काम त मेरो थिएन। तर दैनिक ज्याला भने पियन सरहकै थियो। जे होस्, मैले ज्यालादारी काम गरेर थापेको ज्याला एसएलसीको परीक्षा फारम भर्नलाई ठिक्क भयो। मैले त्यसरी रकम उपार्जन नगरेको भए मेरा बाले कसरी मेरो फारम भर्ने चाँजो मिलाउनुहुन्थ्यो कुन्नि?

यसप्रकार आफ्नै बलबुताले केही आर्जन गरिसकेको अनुभव मसित थियो र केही कमाउ काम गर्न पाए हुन्थ्यो भन्ने भावना जागेको थियो। तर, भर्खर एसएलसी परीक्षा दिएको विद्यार्थीले गर्न सक्ने काम के हुन सक्थ्यो?

बा आफैं मोरङ मोटर सिन्डिकेटको त्यान्द्रामा झुन्डिनुभएको थियो, जसका लागि उहाँ हर रोज माथ्लो छाता चोकमा रहेको घरबाट बजारअड्डा जानुहुन्थ्यो। त्यहाँ धरान–विराटनगर चल्ने गाडीहरूको बस स्टप थियो। पैंतीस–चालीस वटा गाडी थिए होलान् त्यहाँ चल्ने, सबै वेग्ला–वेग्लै आकारप्रकार, मोडल र ब्रान्डका। सेवरलेट, फोर्ड, जीएमसी, डज, मोरिस अनेक नाम र मार्काका गाडीहरू थिए, तर सबैले मौलिक स्वरूप गुमाइसकेका। ड्राइभर सीट, सेकेन्ड सीट र जनरल सीट भएका ठूला बस पनि चल्थे त्यहाँ। खाँदाखाँद गरेर बलैले ६–७ जना मात्र उठाउने कार पनि थिए। ती सबै खाले सवारी साधनका मालिकहरू सङ्गठित भएर शुरू गरेका थिए मोरङ मोटर सिन्डिकेट। तिनमा साहुसित गाडी ठेक्कामा लिएर चलाउने चालकहरू थिए।

अर्काथरीमा गाडी मालिक नै ड्राइभर हुनेहरू थिए। ड्राइभर राखेर विशुद्ध व्यापार गर्ने गाडी धनी साहुहरू अर्काथरीमा पर्थे। सिन्डिकेटको काम चक्र प्रणालीमा पालैपालो पेसेञ्जर भरेर गाडी विराटनगर पठाउनुथियो। उताबाट फर्केर आएकालाई पालो बाँधेर राख्नुथियो। एउटा गाडीको पालो दुई दिनमा एक पटक आउँथ्यो, कहिलेकाहीं त तीन दिनसम्म पनि लाग्थ्यो।
ड्राइभर, खलासी, कन्डक्टर, मिस्त्री, पेसेञ्जर आदिका कारण बजारअड्डामा साँच्चिकै चहलपहल हुन्थ्यो। बाँकी धरान बजार सुषुप्त र गतिहीन लाग्थ्यो। बजारअड्डाले भानुचोक भन्ने नाम धारण गरिनसकेको र आराथुन नामको नयाँ बस कम्पनीको आगमन भइनसकेको परिवेश थियो त्यो।

त्यस माहोलमा बाका दोस्तीको वृत्त निकै ठूलो थियो। तर केही थिए बाका जिगरीहरू, तिनमा पर्दथे पूर्णमान मानन्धर, छविलाल लम्साल, प्रेमकुमार श्रेष्ठ, तीर्थबहादुर र जगदीश नेपाली। पछिल्ला बाहेक सबैजना साबिकका लालझ्न्डावाल र अहिले सिन्डिकेट सञ्चालनमा गोलबन्द थिए। साथै उसवेलाको वर्गीय संगठन भनिने नेपाल मजदूर संगठनमा पनि लागेका थिए।

बाका दामलका जोसिला हँसिला छविलाल पहिल्यैदेखि मजदूरका अगुवा भनेर चिनिएका थिए। पूर्ण मानन्धर वास्तवमा गाडी मिस्त्री थिए र एउटा ग्यारेज चलाउँथे। नक्कली दाँत मुखमा खेलाइरहने उनको जिब्राले काठमान्डूको लवज छाड्न सकिरहेको थिएन। ठूलो दारका तीर्थबहादुरको स्वर ज्यान जस्तै ठूलो थियो। छोटो पारेर काटिएको कपालको पछिल्तिर टुप्पीको मुठो उनको पहिचानको विशिष्ट भाग थियो। कृष्ण वर्णका प्रेमकुमार अल्पभाषी थिए। अगाडिका माथिल्ला दुई वटा चपरे दाँत केही उछिट्टिएकाले छ्वाँके छ्वाँके देखिन्थे। खिरिलो जुँगा राख्थे। उनी सदैव दायाँ–बायाँ खल्ती भएको लामो कमिज र सुरुवाल लगाउँथे, विशेषगरी सेतो कपडाको।

पूर्णमान र तीर्थबहादुर बाभन्दा सिनियर थिए त्यसैले बाको नाममा कुनै प्रत्यय नराखी बोलाउँथे। छविलाल उमेरले समकक्षी र प्रेमकुमार केही कान्छा थिए। आफूभन्दा ठूलालाई सानाले दाइ–दिदी बाहेक काका–काकी, मामा–माइजू, ठूलोबा, ठूलीआमा, फुपू, छ्यामा यथोचित साइनो लगाएर बोल्ने चलन थियो। मीतबा, मीतआमा र तदजन्य साइनो पनि जोडिन्थ्यो। हाम्रो शब्दावलीमा 'अङ्कल' र 'आन्टी' को प्रवेश भइसकेको थिएन।

त्यसैले प्रेमकुमार मेरा लागि प्रेमकाका थिए। प्रेमकाका आफैं गाडी हाँक्दैनथे, तर उनको गाडी सिन्डिकेट प्रणालीमा सामेल थियो। लेखनदासको अर्को व्यवसाय पनि थियो, उनको। मानिसहरू सानातिना निवेदनदेखि कपाली तमसुक, फार्से राजीनामा र लेखापढी सम्बन्धी यावत् कामका लागि प्रेमकाकाको घर पुग्थे। उनी पनि घरको बार्दलीमा घुँडा धसेर पहाडे कागतमा कालो मसीले माग बमोजिम केही न केही लेखिरहेका हुन्थे।

बाले मलाई पनि प्रेमकाकाको टाँसो लगाइदिनुभयो, सहायक नौसिन्दाका रूपमा। असलमा प्रेमकाकालाई कुनै सहायकको जरूरत देखिन्नथ्यो, तर जिगरी दोस्तको आग्रह टार्न नसकेको हुनुपर्छ। म अनचाहा सहायक बनेर त्यसै पेसुवा लाग्न पुगें। पहाडे कागतबाहेक सेतो जिस्ता कागत पनि निवेदन लेख्नमा उपयोग हुन्थ्यो। तिनमा लेख्नुअघि सिरान र फडकेमा ठाउँ छाडेर पहिले तोड भाँच्नुपर्थ्यो। प्रेमकाकाको देखासिकी र वेलाबखतको अल्पतम निर्देशन अनुसार मैले त्यो काम सिकें।

मेरो प्रशिक्षण पर्यवेक्षणमूलक थियो– हेरेरै सबै थोक सिक्नु र बुझनुपर्ने। प्रेमकाका कम मुख खोल्ने मानिस भएकोले उनीबाट वाग्धारामा आधारित प्रशिक्षणको अपेक्षा गर्नु व्यावहारिक थिएन। मेरा अक्षर त्यति नराम्रा थिएनन्, जुन प्रेमकाकाले नोटिसमा लिएका थिए। कुनै काम आए मलाई लेख्न दिने उनबाट आश्वासन प्राप्त भएको थियो। बबुरोलाई केही काम त दिनुपर्छ भन्ने पनि प्रेमकाकालाई लाग्यो होला, एकदिन त्यो मौका आयो।

मैले नमूना बमोजिम एउटा निवेदन लेख्नु थियो, सन्धिसर्पन या यस्तै केही विषयको। नमूनामा मैले फेर्नुपर्ने थियो केवल सम्बन्धित व्यक्तिको नाम, थर, उमेर र वतन। बाँकी सक्कल बमोजिमको नक्कल उतार्दा काम चलिहाल्थ्यो। लेखिसकेपछि थाहा भयो त्यस निवेदनलाई बाँझ्गरा गाउँ पञ्चायत कार्यालयमा लगेर दर्ता गराउनुपर्ने रहेछ मैले। बाँझ्गरा जानको गाह्रोले प्रेमकाकाले मलाई त्यो जिम्मा दिएका हुन् कि भन्ने पनि मलाई लाग्यो। तर मेरा लागि काम काम थियो र म बाँझ्गरा जान तयार भएँ।

सानैदेखिको मेरो यार थियो गोविन्द बोहोरा, जसले पछि बोहोरा थर त्यागेर 'विकल' उपनाम अँगाल्यो र कविका रूपमा ख्याति पनि कमायो। विकल बनिनसकेको उसैलाई साथ लिएर म प्रेमकाकाको घर भएको बजारअड्डाबाट लागें बाँझ्गरा गाउँ पञ्चायतको कार्यालयतर्फ देसीलाइन, भौडी, खोल्सापारी हुँदै। हामी दुवै त्यसअघि कहिल्यै बाँझ्गराको विस्तृत फाँटमा पुगेका थिएनौं। दूरदराज ठाउँमा पुगे झैं लागेको थियो गापं कार्यालय पुग्दा।

उसवेलाको ठेट धराने शैलीमा काठका फलेक र तखताले बनेको दुईतले घरमा थियो कार्यालय। चारकोसे झाडी नजिकै भएकोले काठको पौल थियो उसवेला धरानमा। घरको खाँबा वा थामदेखि निदाल, दलिन, भर्‍याङ, भित्ता र कतै त माथ्लो तलाको भुईं समेत काठले बनेका हुन्थे। छानामा सक्नेले जस्तापाता नसक्नेले मट्टीतेलको टीन र अलकत्राको ड्रमको पाता लगाउँथे।

गापं कार्यालय घरको माथ्लो तलामा रहेछ। मैले दर्ताका लागि निवेदन तेर्स्याएँ टेबुलपछाडि कुर्सीमा बसिरहेको कार्यालय सचिव सामुन्ने। उसले गम्भीरतापूर्वक निवेदन हेरेपछि सच्याएर ल्याउनु भन्यो। एक ठाउँमा त्रुटि फेला पारेको थियो उसले जसलाई काटेर सच्याउन पनि सकिन्थ्यो मेरो हिसाबले। तर उसले अर्को निवेदन लेखेर ल्याए मात्र दर्ता हुन्छ भनेर अड्डी कस्यो।

मैले सोचेको थिएँ, निवेदन दर्ताको निस्सा लिएर प्रेमकाकाकहाँ जान्छु, पाउने पारिश्रमिक थाप्छु अनि सबभन्दा पहिले गोविन्द र म सिङ्गडा, घुघुनी र चिया खान्छौं। तर यहाँ यस कुलङ्गार सचिवले सिंगडा खाने मेरो निश्चित प्रायः योजनालाई सोम शर्माको सातुको हाँडी बनाइदिएको थियो। उल्टो खुट्टा बजारअड्डा पुगेर निवेदन पुनः उतार्नुपर्ने सङ्कट आइपरेको थियो मेरोसामु। कमिजको खल्तीमा कलम त भिरेको थिएँ तर जगेडा कागत बोकेको थिइनँ। यस्तो सङ्कट आइपर्ला भन्ने के थाहा! मैले लगाएको रातो मुख र मेरो हाउभाउबाट कार्यालय सचिवले मेरो परेशानी बुझयो। शायद उसमा किञ्चित सहानुभूति जाग्यो होला एउटा हतास लोब्रे ठिटोप्रति। उसले यो फुलिस्केपमा लेखे पनि हुन्छ भन्दै एउटा पाना दियो।

म असमञ्जसमा परें। यहीं बसेर लेख्दा फेरि गल्ती दोहोरियो भने? तर सोचें, भोलिपल्ट फेरि हिंडेर यतिका टाढा आइरहनु भन्दा बरू जति ढिलो भए पनि काम सकेरै जानु जाती। अनि निवेदन लेख्ने सुर कसें, तर लेख्ने कहाँ बसेर? भएको एउटा टेबुलमा त्यही सचिव काम गरिरहेको थियो। आगन्तुकका लागि एउटा हल्लिने बेञ्च रहेछ। भुईंमा आसन जमाउनु बाहेक अर्को उपाय थिएन मेरा लागि। म तखताको भित्तामा अडेस मारेर भुईंमा बसें। टाउकामा रूमाल त्यसरी बाँधे, जसरी कृतसंकल्प हिरोले हिन्दी फिल्ममा बाँध्छ।

भोकका साथै झोंक पनि उठिरहेकोले मेरो टाउको हल्का दुख्न थालेको थियो। मेरो अठोटप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै गोविन्द पनि मसितै आएर भुईंमा बस्यो। म प्रेमकाकाले झैं दाहिने घुँडा केही उचालेर त्यसमा कागज राखी लेख्न थालें। त्यति नै वेला चारैतिर अन्धमुष्ठी भएर हावाहुरीका साथ पानी पर्न थाल्यो। चैत महीनाको हुरी–बतास मानिस घर सबै उडाउला झैं गरेर हुँइकिरहेको थियो। तखताबीचको चेपबाट हावासँगै धूलोका कणहरू छिरिरहेका थिए। पानीले टीनको छाना छेड्ला झैं भइरहेको थियो। व्यावसायिक र औपचारिक दुवै हिसाबले जीवनको पहिलो निवेदन लेख्नलाई त्यो समय बिल्कुल अनुकूल थिएन, तर विवशतावश म लेखिरहेको थिएँ। कुनै सुरतले निवेदन लेखिसिध्याएर बुझाएँ। मेरा अक्षर साविक झैं थिएनन्, तर सचिवले खोजेको कुरा परेछ। उसले केही नभनी स्वीकार गर्‍यो।

त्यतिञ्जेलमा कार्यालय बन्द गर्ने समय पनि हुन हुन लागेको थियो। हामी कुनै दुष्कर अभियान सफलतासाथ सम्पन्न गरेर फर्केका अभियन्ता झैं हतारहतार लाग्यौं प्रेमकाकालाई भेटेर सुसमाचार दिन र आफ्नो ज्याला रकम प्राप्त गर्न। दुर्भाग्य, प्रेमकाका घरमा थिएनन्। दिनभरिको भोक र चिन्ताले टाक्सिएका हामी त्यहाँ उनलाई कुरेर बसिराख्ने परिस्थिति थिएन। घरको बाटो सोझयायौं।

भोलिपल्ट बिहान सबेरै गोविन्दलाई नगुहारी म एक्लै प्रेमकाकाको बार्दलीमा उपस्थिति जनाउन पुगें। उनी पनि मानौं मेरो आगमनका लागि तम्तयार थिए। मैले निवेदन दर्ता भएको रिपोर्ट गरें। प्रेमकाकाले केही नबोली दाहिने हात कमिजको दाहिने गोजीमा घुसारे अनि राजा महेन्द्रको मुहार छापिएको एउटा पाँचको र तीन वटा एक एकको नोट गरी जम्मा आठ रुपियाँ मेरो पसारिएको हत्केलामा राखिदिए।

आखिर त्यो रकम मेरो मिहिनेतको कमाइ थियो। त्यो घटना भएको पचास वर्षभन्दा बढी समय बितिसक्यो। तैपनि मैले अझ्ै बिर्सन सकेको छैन त्यो आठ रुपियाँ!

comments powered by Disqus

रमझम