भारदह, गीता र दशैं

Share:
  
- कल्पना वान्तवा
सप्तरीको एउटा दशैं गीता झाले चित्त दुखाउँदा झन्डै बेमज्जाको हुन पुगेको थियो।

भानु भट्टराई
बडो रोमाञ्चित हुन्छु, यो सम्झेर कि कञ्चनपुरको हाईस्कूलमा मैले माध्यमिक तहको शिक्षा पाएँ।

सप्तरीको मेरो फत्तेपुरबाट १३ किलोमिटर पश्चिममा छ– कञ्चनपुर। गाउँमा निमावि मात्र भएकाले हामी एक हूल भुरा आठ कक्षाबाट कञ्चनपुर धाएका थियौं। प्रत्येक दिन सार्वजनिक बसबाट स्कूल आउ–जाउ गर्थ्यौं। कहिलेकाहीं बस नपाउँदा चिरबिर गर्दै एघार नम्बरी दिन्थ्यौं।

त्यो स्कूले जीवन सम्झ्ँदा काल्पनिकै सही, पारिजातको उपन्यास परिभाषित आँखाहरू को पृष्ठभूमिमा सोही स्कूल रहेको कारण पनि रोमाञ्च चुलिन्छ। उपन्यासका पात्र राजेन्द्र अधिकारी गणित र विज्ञान शिक्षक भएर त्यो स्कूलमा जान्छन् र मावि तहकी विद्यार्थी रैथाने थारूकी छोरी बसन्तियासँग प्रेममा पर्छन्। अचम्म लाग्छ, दार्जीलिङमा जन्मेहुर्केर पक्का काठमाडौंवासी बनेकी पारिजातको कल्पनामा कहाँबाट लुसुक्क पस्यो होला त्यो पूर्वी सीमान्त गाउँ कञ्चनपुर!

अचेल मेरो स्मृतिमा चलखेल गरिरहेको सप्तकोशीवारिको त्यो कञ्चनपुरसँग वर्तमानको जल्दोबल्दो भारदह गाँसिएको छ र भारदहसँग गाँसिएका छन्– मेरा चखिला स्मृति–सन्दर्भहरू।

सडक वारपार केही घर, तीनकुने बसपार्क, बीचमा सुक्खा पोखरी अनि बीच छातीमा तेर्सिएको पूर्व–पश्चिम राजमार्ग। आँखाले भ्याउञ्जेलसम्म जताततै धानखेत र खेतका बीचबीचमा झुरुप्प स–साना बस्तीहरू। चोकबाट केही पर ठुटुबाबु, नुनुबाबु र अरू के–के बाबुहरूका पक्की मकानहरू। एउटा पेट्रोल पम्प, पूर्वपट्टि कोशी किनारमा कंकालनी माईको मन्दिर, मन्दिरनजिकै दक्षिणतर्फ उदितनारायण झाको बाक्लो गाउँ। उदितको गाउँबाट कुनौली पुग्ने कोशी बाँधमाथि बनाइएको उबड्खाबड् सडक। जम्माजम्मी यत्ति हो– मेरो सम्झ्नामा रहेको सुदूर अतीतको भारदह!

पहिलो भारदह–यात्राको धमिलो दृश्य मानसपटलमा आउँछ। एक साल महाअष्टमीको बिहान आमाको भाकल बुझाउन उहाँ, म सानी र दाजु बोको घिस्याउँदै कंकालनी मन्दिर गएका थियौं। पछि आठ कक्षामा हुँदा एक दिन टिफिनपछिको कक्षा हापेर स्काउटको युनिफर्ममै हामी साथीहरू फोटो खिचाउन भारदह पुगेका थियौं। त्यति वेलासम्म हाम्रो गाउँ र कञ्चनपुरमा पनि फोटो स्टुडियो खुलिसकेको थिएन।

धरान, विराटनगर जाँदा–आउँदा भारदहमा निकै बेर रोकिन्थ्यो बस, मेल दिनलाई। बस अडुन्जेल छेउछाउका दोकानमा पसेर तात्तातो आलुचप र तेलमा फुराएको सुकेको खुर्सानीसँग मजाले मुरै खाइन्थ्यो। बडो नामी थियो, भारदहको आलुचप, खुर्सानी र मुरैको कम्बिनेसन– जलखाई।

म नौ कक्षामा हुँदाको दशैं असोज अन्तिमतिर परेको थियो। मध्य भदौको शनिबार बिहान नौ बजेतिर पाँच केटीहरूको हाम्रो टोली भात खाईवरी सोझ्ियो गाउँमास्तिरको जुरपानी जंगलतिर। हाम्रो घरबाट अलि पर्तिर रहेको मीत आमाको घरबाट शम्भुदाजुलाई साथ लैजानु भन्ने आमाको आदेश थियो। “ए, जाँदै गर है, केटी हो! म तिमेरुलाई रेन्जर अफिसतिरै भेटिहाल्छु”, हामी पुग्दा ओसरामै बसेर भात खाँदै गरेका दाजुले भन्नुभयो।

खोलैखोला हिंडेर निकैभित्र पुगेपछि कमेरो पाइने अजङ्गका पहराहरू देखिए। छिपछिपे पानीले रसाएर कोट्याउन सजिलो भएको ठाउँमा खुर्पीले खन्दै कमेरो निकालेर ढक्कीमा थुपार्‍यौं। अनि, दाइले समाएका पोठी माछा र गँगटाहरू पोलेर खायौं। तात्तातो खान्की पछि तिर्खाले आँत खरो हुँदा सालको चिल्लो पातको दुनाले जुरपानीको मुहान उघाएर खायौं।
“भैया, ऊ बाबाजीवाला अखडा देखैके बहुत मन करै छेले!” खानपानपछि पहरोमास्तिर देखाउँदै कनियाँ कराई।

“जौं न त!” सबैको स्वर मिल्यो।

हामी अमि्रसो, थाकल र खरको घारी पन्छाउँदै नाकठाडो उकालो छिचोलेर पहरोको टुप्पामा पुग्यौं। टारजस्तो ठाउँमा कुन जुगको बाबाजीको कुटीको भग्नावशेष छरपस्ट थिए।

“गे छौंडी सब, ओते देख केहन पाकल् केला!” कनियाँ फेरि कराई।

हेरेको त साँच्चै वन केराको घारीमा एउटा बोटमा एक काईंयो पहेंलै भएको रहेछ। स्वादिलो केरा खाँदै हामी निकैबेर सुस्तायौं। मन प्रफुल्ल भरिएको थियो।

“पहिले त यहाँ गतिलै फूलबारी थियो, मान्छेहरूले बाँकी नराखेर पो!” दाइले भन्नुभयो, “लु, झ्रौं। फेरि मीतआमाले किन ढिला ल्याइस् बैनीहरूलाई भनेर मेरो सातो खानुहुन्छ। खर, बाबियो, थाकल जे–जे हातमा आउँछ त्यै–त्यै समात्दै ओर्ल केटी हो! खर्ल्याम्खुर्लुम् एकैबाइग जम्प मार्ने होइन नि!”

र्झ्दार्झ्दै सन्जु कराई, “ओई! केटी हो! ऊ पर हेर त!”

सबैले दक्षिण पूर्वतिर हेर्‍यौं। मेरी बास्सै! त्यहाँबाट त ब्यारेज सहित सप्तकोशीको विहंगम दृश्य देखिंदो रहेछ।

“आहा, हामी पर्सि जाने त्यै ठाउँमा हो है?” लक्ष्मी फुरुङ्ग परी।

हाम्रो गाउँको ब्यांकमा क्यासियर रहनुभएका विराटनगरका रामसुन्दर श्रेष्ठ गणित, विज्ञान, अङ्ग्रेजी, योग, दर्शन, आयुर्वेददेखि साहित्य र खेलकुदसम्मका ज्ञाता हुनुहुन्थ्यो, अभिनेता शिव श्रेष्ठका दाजु। उहाँसँगै ट्युसन पढ्थ्यौं हामी। आदरणीय उनै रामदाइको काममा हामी पाँच केटी सोमबार भारदह जानेवाला थियौं– काठमाडौंबाट शिव श्रेष्ठले उदितनारायण झालाई लेखिपठाएको चिठी पुर्‍याउन। गायक उदित हीरो बनेको पहिलो फिल्म 'कुसुमे रुमाल' ले शहरमा तहल्का मच्चाइरहँदा हामी सप्तरिया फुर्कन थालेको ६ महीनाभन्दा बढी भइसकेको थियो।

अघिल्लो साँझ् ठूला मीतदाजु ईश्वर खड्काले तीनपानेको रमरममा आमालाई बिच्काउने प्रयास गर्नुभएछ, “को हो त्यो उदित नारान्? एउटा सिनेमा, बाँसजस्तो ठिङ्ग उभे'र गाना गाइलियो, आ भैहाल्यो हीरो? बुर्बक् कहीं का! हाम्ले चिनेको छैन उस्लाई? अनराको भाइ त हो ऊ। दाजु बसमा चेकिङ् गर्छ, आ भाइ बसैमा गाना सुनाउँदै हिंड्थ्यो। मेरै गाडीमा कति पटक गाएको छ उसले।”

खासमा, ठूल्दाजु आफू हीरो अथवा गायक नभएर बसको गुरुजी हुन परेको दिग्दारी ओकल्नु हुँदैथियो।

रतन्धो भएर साँझ् परेपछि आँखा नदेख्ने उदितका ठूल्दाइ दिगम्बर झा सप्तरी–कोशी लाइनका बस स्टाफ र यात्रुमाझ् अनरा झा 'निकनेम' बाट 'फेमस' थिए। उनको कुरा काट्ने हिम्मत कन्नापछाडि मात्रै चल्थ्यो। अघिल्तिर भेटिंदा जस्तै कन्शेसन खोज्ने विद्यार्थी पनि छुल्छुल्। भीमकाय ज्यान र पहिल्यै निलेर पेटमा पुर्‍याएको एमप्लिफायरबाट निस्केजस्तो धोद्रेस्वरको सामञ्जस्यले टिकटविनाका यात्रुलाई थर्थरी पार्थ्यो। यी हाम्रै मीत दाजुले पनि खलासीलाई 'देख रे बौवा! अनरा झा बस मे कते से चढ्ते याद रखियो!' भन्दै कन्डक्टरलाई ऊ बसमा चढेपछि सबै यात्रुको हातमा टिकट थमाइहाल्नु भनिरहनुहुन्थ्यो!

धन्न आमाले प्यारो मीतछोरा इशुरको कुरा खानु भएन। हाम्रो टोली तोकिएको सोमबार भारदह गएर उदितलाई सादर प्रणाम गरेर, चिठी सुम्पेर, दहीचिउरा खाएर अनि पछाडिपट्टि 'विद् लव...!' लेखेको उदितको तस्वीर समेत हात पारेर रमाउँदै घर फर्क्यौं। त्यो दशैं उदित–भेटका कारण पनि अविस्मरणीय बन्ने भयो भन्ने लागेको थियो।

तर, भोलिपल्ट बिहान स्कूलभन्दा अघि गीताको घरमा पस्नासाथ अँध्यारिंदै उसले सोधी, “यौ कल्पना! आफू–आफू मात्र गयौ, उदितलाई भेट्न?”

“तिमीलाई बताएर पनि के फाइदा थियो र?” उसैका बुबा भेलु झा डाक्टरले क्लिनिकका निम्ति भारदहबाट मगाएका सामान बुझाएर बस स्ट्याण्डतिर कुद्नुअघि नरमाइलो मान्दै मैले भने। पढाइ छुटाएर बिहे गर्दिन लागेको परिवारले उसलाई हामीसँग जान दिने कुरै थिएन। दिनैभर मलाई स्कूलमा गीताको सम्झ्ना आइरह्यो। हिंड्न थालेदेखिको प्यारी सखीको नियतिमा चूपचाप मन कुँडाउनुबाहेक म केही गर्न सक्दिनथें। साना छउन्जेल हामी एकअर्काको घरमा खेल्न, बस्न, खान, सुत्न र जतासुकै घुम्न स्वतन्त्र थियौं। उसका चाचा बलराम सर गाउँको निमाविमा शिक्षक हुनुहुन्थ्यो। उहाँले परिवारका स्कूलेसहित मलाई पनि ट्युसन पढाउनुहुन्थ्यो। पछि म रामदाइसँग पढ्न थालें, गीता बलराम सरसँगै पढी रही।

मेरा बुबा र काका भेलु झा डाक्टरबीच पनि ठूलो दोस्ताना थियो। फुर्सद भयो कि हाम्रो भरुवा बन्दूक बोकेर दुवै जना नजिकैको जंगल पसिहाल्ने अनि साँझ् दुधियाको रमरममा।
मलाई गीताकी आमा, चाची र भाउजूहरू गाउँभरिकै राम्रा लाग्थे। तिनका पातलो अग्लो कदकाठी, चुच्चो नाकनक्शा, बाक्ला परेलासहितका ठूला आँखावाला अनुहार अति सुन्दर लाग्थ्यो। घरमा होस् वा बाहिरफेर निस्कँदा, झा परिवारका महिलाका टाउकामा घुम्टो टुट्दैनथ्यो। घामको मुख देख्न नपाउँदा र दिनैपिच्छे नरिवलको तेल सोस्न पाएकाले होला पाका महिलाका पनि केश प्राकृतिक रूपमै कालो र सुन्दर हुन्थ्यो। यदाकदा गीताकी आमालाई म भन्थें पनि, “काकी यौ! अहाँ सब के कपाल केहन बढिया छै, काजल जखा करिया, लरम लरम आ अतैक लम्बा। हमरा कपाल देखियो केहन छै, सुखल झाडु जैसन!”

“अहाँ सब कपाल में तेल नै लगाई छियै, यही खातिर एहन भ जाईछ। हेने आऊ दैया! हम लगा दैछिए अहाँ के कपाल में तेल, एते आऊ, बैठु।” काकीले उत्निखेरै मेरो टाउकामा तेल लाउँदै हल्का मालिस गरिदिनुहुन्थ्यो। हुन त, मेरी आमाले पनि तेल लाएर कपाल बाटीदिनुहुन्थ्यो, तर नुहाएका वेला मात्रै।

हामी किशोर वयमा पुग्दा गीताको कान्छो दाजु श्याम भारतको कुनै शहरमा कलेज पढ्दै थिए। तिनताका मेरी आमाले श्याम दाइलाई भेट्दा जहिल्यै जिस्काउनुहुन्थ्यो, “की बात श्यामबाबु? सानोमा त 'काकी! हमरा के कल्पना से शादी कराईदिऊ!' भनेर हत्ते हाल्थ्यौ, अब के भन्छौ?”

हामी त्यसै रातापिरा हुन्थ्यौं। आमाहरू हाँस्नुहुन्थ्यो।

खासमा गीताकी बैनी रीता समवयी भए पनि मेरो दोस्ती गीतासँग प्रगाढ थियो। म चार कक्षामा हुँदा एक पटक दशैंको मुखैमा अम्बाको रूखबाट लडेर गीताको दाहिने खुट्टा पिटिक्कै भाँचियो। उसलाई राजविराज लगेर गोडामा प्लास्टर लाईवरी पर्सिपल्ट घर ल्याएपछि म धेरै दिनसम्म हरदम उसैको छेउमा बसिरहें। अघिल्ला सालहरूको दशैंमा हामी ठाउँ–ठाउँमा बनाइँदै गरेका दुर्गा मूर्ति हेर्न, पीङ खेल्न र टेलरमा सिलाउन दिएको जामाको ताकेता गरेर बिताउँथ्यौं, तर यस पटक बसेर बात मार्दै बित्यो।

गीताको गोडाको प्लास्टर गाउँमा त्यसै पनि 'प्रमुख समाचार' बनेको थियो। औंला मात्र देखिने गरी सम्मडम्म सेतो सिमेन्टीको मोटो खोल पहिरेको थियो, उसको गोडाले। उपचारका नाउँमा 'शिवाजल–गोटी' र आँखा पाक्दा लाउने 'सुईको पानी' मात्र सुनेका हामीलाई गीताको खुट्टाको प्लास्टरले उदेकै पारेको थियो। रामकिशोर चौधरी, शम्भु सेन्चुरी, ज्ञानु खड्का, मदन देव, अनिता अग्रवाल, डम्बर भुजेल र अरू पनि थुप्रै स्कूलका र कबड्डी खेल्दाका साथीहरू हेर्न आए अनि छक्क पर्दै चुकचुकाए।

टीकाको अघिल्लो दिन आमा मलाई लिन गीताको घर आउनुभो, तर म जान मानिनँ। गीता पनि रुन थाली। केही सीप नलागेर आमा हामी दुवैको दशैंको जामा छाडेर फर्किनुभो। दशमीका दिन काकीले तेल हालेर हामी दुवैको केश बाटिदिनुभयो। त्यसपछि म टीका थाप्न दौडेर करीब एक किलोमिटर परको घरमा गएँ। त्यसपछि टीका–जमरा र शाकाहारी खानेकुराहरू बोकेर आमाछोरी गीताको घरमा गयौं। गीतासँगै बसेर टीका लगाएपछि बल्ल दशैं रमाइलो लागेको थियो मलाई।

comments powered by Disqus

रमझम