१-१४ कात्तिक २०७२ | 18-31 October 2015

विजयको लागि समझदारी

Share:
  
- जीवन क्षेत्री
कलेज गएर राजीनामा दिनुभन्दा केही समयअघि आएको बुबाको फोनले साइत बिग्रेजस्तो भए पनि अन्ततः विजयकै समझदारी भयो।

“मैले भनेको मान्दैनस्, जे मन लाग्छ त्यही गर्...”, यति भन्दै बुबाले फोन काट्नुभयो। जागिर छाड्ने र नछाड् भन्ने दुई मिनेटजतिको तनावपूर्ण वार्तालापमा दुवै जना आ–आफ्नो अडानमा टसमस भएनौं।बिहानबिहानै परिणाम जे आयो, त्यो मन अमिल्याउन काफी थियो। सामान्यतः बुबाले भनेको कुरा काट्ने चलन नभएको परिवारमा सरासर अनुचित भएको थियो।

मैले दुई हप्ता जति लगाएर श्रीमतीजीलाई मनाएपछि बुबालाई अनुमतिको लागि 'ब्याड न्यूज' सुनाएको थिएँ। दुई दिनअघिको साँझ् यही कुरा भन्दा उहाँले धेरै गलफत्ती नगरी 'अब जान्नेसुन्ने तिमीहरू नै हौ, तँलाई जे गर्दा राम्रो हुन्छ त्यो गर, म के भनौं' भन्नुभएको थियो। सँगसँगै, 'साँझ्का कुराहरू विस्मरण हुन थालेकोले बिहान फेरि भनेस्' पनि भन्नुभएको थियो। तर, कारणवश मैले अर्को बिहान फोन गर्न सकेको थिइनँ।तेस्रो बिहान उहाँ आफैंले फोन गरेर कुरा हुनासाथ भन्नुभएको थियो, “त्यस्तो राम्रो घरपायक जागिर छाड्नु पर्दैन।”

बुबाको अस्त्र

मलाई बाआमाले डाक्टर बनाउन भनेर हुर्काउनुभएको थिएन। कक्षा बाह्रको परीक्षापछि कोचिङका लागि काठमाडौं आउनुअघि म आफैंलाई लाग्थ्यो– वास्तवमा म त मेजर नेपाली लिएर मानविकी पढ्नुपर्ने मान्छे पो हुँ। तर, मानविकी पढेर पछुताउनुभएका दाइले मलाई राम्रो निजी कलेजमा प्लस टु पढाएर डाक्टरीतिर छिराउने योजना बनाउनुभएको थियो। ७५ प्रतिशत अंकका साथ बाग्लुङबाट एसएलसी गरेको म कक्षा बाह्रमा ८३ प्रतिशत ल्याएर चितवन जिल्ला प्रथम हुँदा दाइको योजनालाई बल पुगेको थियो।नभन्दै, पहिलो प्रयासमै एमबीबीएसका लागि छात्रवृत्तिमा नाम निस्केपछि जीवन आफूले नदेखेको सपनातिर डोरियो र दुर्गम गाउँमा बाआमालाई समेत बधाई दिनेहरू देखा परेपछि उहाँहरूलाई पनि छोराले ठूलो काम गरेको पक्का भयो। उहाँहरूलाई लाग्यो– अनकन्टार गाउँमा जन्मेको निरक्षर आमाबुबाको छोराले डाक्टर बनेर नाम राख्ने भयो।

त्यसयता एमबीबीएस र एमडी सक्न मलाई लागेका ११ वर्षमा धेरै कुरा बदलिइसकेका थिए। हामी गाउँ छाडेर चितवन झ्रेका थियौं। कुनै वेला हातमुख जोड्न १४ घण्टा श्रम गर्ने दाइको आर्थिक स्थितिले काँचुली फेरिसकेको थियो। चार महीना ढिलो गरेर मासिक तीन हजार तलब दिने स्कूलदेखि शुरू भएको उहाँको जागिर यात्रा युएनडीपीको प्रतिष्ठित कार्यक्रमसम्म पुगिसकेको थियो। भाइ आफैं व्यवसाय गरेर धानिने भइसकेको थियो। यता सञ्चारमाध्यममा चाहिं डाक्टरले लापरवाही गरेका र कुटाइ खाएका समाचार आइरहन्थे। साख खस्किंदै गएको डाक्टरी पेशामा बेरोजगारीको समस्या शुरू भइसकेको थियो।

त्यसैले, मैले एमडी पढुन्जेल यसले कहाँ जागिर खाला भनेर खासगरी बुबा चिन्तित हुनुपरेको रहेछ। एमडी गरेेको छोराले खाली बस्नुपर्ला वा जस्तोतस्तो जागिरका लागि देशको अर्को कुनातिर लाग्नु पर्ला कि भन्ने उहाँको चिन्ता मनासिब नै थियो। तर, मैले पढाइ सकिनासाथ घर नजिकै राम्रो तलबसहितको जागिर पाउँदा बुबाको ठूलो चिन्ता दूर भयो। त्यो पृष्ठभूमिमा भरपर्दो वैकल्पिक व्यवस्थाविना मैले जागिर छाड्न लागेको बुझ्ेपछि बुबा रन्थनिनु भएछ। अनि सरल ढंगबाट मैले नमान्ने भएपछि उहाँले अस्त्र चलाउनुभयो– छोरा, तँलाई हामीले कति दुःख र खर्च गरेर पढायौं, जुन तैंले अझै उठाएको छैनस्। त्यस्तो जागिर छाड्ने भन्ने त कुरै नगर्।

जागिर नखाने कारण

गृहनगर चितवनमा जागिर खाएको १३ महीनामा पढ्दा लागेको र घर बनाउँदाको थप ऋणको हिसाबकिताब बल्ल शून्यतिर झ्रेको थियो, तर बचततिर प्रवेश गर्न बाँकी थियो। अब चाहिं बचत गरौं भन्ने वेलामा जागिर छाड्नुपर्दा म आफैंलाई पनि असहज लागिरहेको थियो।आफू कुनै महात्मा वा त्यागी नभएको र अरू मानिसमा झैं धनप्रतिको लौकिक मोह पनि छँदैथियो। त्यसबाहेक, जीवनको कुनै चरणमा सरकारी जागिर खाँदा गरेको कुकर्मबारे पनि लेख्न बाँकी नै छ।

र पनि, मलाई जिन्दगी भनेको कमाइ र बचतको योग हो भन्ने लाग्दैन। प्राथमिकताकै हिसाबले हेर्दा पनि मेरो सूचीमा धन त्यति माथि पर्दैन। त्यसमाथि, जागिर छाडे पनि सडकमै पुगेर जीविकाका लागि अर्काको भर पर्नुपर्ने स्थिति थिएन। त्यो अवस्था नहोउन्जेल आर्थिक मामिलामा चिन्ता गर्नुहुँदैन भन्ने मेरो मान्यता रहिआएको छ। त्यसैले म जागिर छाड्ने निर्णयप्रति दृढ थिएँ।जागिर छाड्नु पर्नाको कारण चाहिं, म एउटा मेडिकल कलेजमा थिएँ। चिकित्सा र मेडिकल शिक्षा सुधारका लागि चलिरहेको लडाइँ सारभूत रूपमा राज्य र यसका नियामक निकायसित भए पनि यसको पछिल्लो चरणमा निजी मेडिकल कलेजले लिने शुल्क र विद्यार्थी संख्या सम्बन्धी मुद्दा पेचिलो बन्दै गएको थियो। माथेमा कार्यदलको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा त निजी मेडिकल कलेज, डेन्टल कलेज एसोसिएसन र हामी सुधार अभियन्ताहरू पक्ष–विपक्ष भएर बहस गर्नुपर्ने अवस्था आएको थियो।

जागिरले मलाई 'कन्फिलक्ट अफ इन्ट्रेस्ट' को अवस्थामा पारिदियो। जागिरमा रहेरै एउटा हद काटेर बहस र अभियानमा लाग्नु असम्भव थियो। कलेजले प्रकट रूपमा केही भनेको थिएन, तर अभियानमा मेरो स्वच्छन्द सहभागितालाई उसले पचाउन सक्ने अवस्था पनि थिएन।त्यसले मेरो व्यावसायिक जीवनलाई एउटा दोबाटोमा उभ्याएको थियो– मनले खाएको कुरा विस्तारै वा एउटा सीमासम्म गर्दै जागिर बचाऊ वा अभियानमा सशक्त रूपमा होमिन जागिर छाड। त्यो अवस्थामा जागिरदातालाई अप्ठेरोमा पार्नुभन्दा समयमै जिम्मेवारीमुक्त होऊँ भनेर मैले राजीनामाको निर्णय गरेको थिएँ।

राजीनामाको बाध्यता

बुबाको फोन आउँदासम्म उहाँलाई मनाउन सक्छु भन्ने थियो, तर त्यसो हुन सकेन। हामीलाई भविष्य दिनकै लागि १९७१ को भारत–पाकिस्तान युद्धमा सहभागी हुने बाउ, हजूरआमाको सेवाका लागि सेनाबाट छिट्टै निवृत्त भएर फेरि अनकण्टार खोलामा दशकभर एक्लै व्यापार गरेर हामीलाई शिक्षा–दीक्षा दिने बाउ। हुर्केका छोराहरूलाई उच्च शिक्षाका लागि शहर पठाएर आफैंले हलो कोदालो सम्हाल्ने अनि चाडवाडमा पाहुना झ्ैं आउने छोराछोरीलाई मीठोमसिनो ख्वाउने बाउ। डाक्टर भइसकेको छोराले जागिर पाउँदैन कि भनेर भगवान्सित प्रार्थना गर्ने बाउ।

फोन वार्तालापपछि राजीनामा दिन कलेज नजाउन्जेलका केही घण्टा यी सबै यथार्थ आँखा वरिपरि फनफनी घुमिरहे। सन्तानको उन्नतिमै आफ्नो खुशी भेट्ने बाबुआमाको चित्त दुखाउनु अपराधै हुन जान्थ्यो।तर, समीकरणको अर्को पाटो भन्थ्यो– विगत त जस्तो भए पनि विगतै हो। त्योसित भविष्य जोडिएको भए पनि समयसँगै प्राथमिकताहरू बदलिएका थिए। हिजो परिवारको आर्थिक सुरक्षा महत्वपूर्ण थियो, तर अब अवस्था त्यस्तो थिएन। एउटा जागिर छाडे पनि म निरपेक्ष बेरोजगार बन्दै थिइनँ, तर चिकित्सा शिक्षाको डिग्री लिने नयाँ पुस्ताका हजारौं जना एकसाथ बेरोजगार बन्ने स्थिति सिर्जना हुँदैथियो।

त्यसबाहेक, करीब दश हजार विद्यार्थी डाक्टरी सपना बोकेर मेडिकल शिक्षाको कोर्समा प्रवेश गरिसकेका थिए, तर यो क्षेत्रमा भइरहेको भद्रगोलले तिनले लिने डिग्री नै खोटो हुने अवस्था सिर्जना भइरहेको थियो। अभिभावकको पचासौं लाख पैसा स्तरीय शिक्षाका लागि नभई मेडिकल काउन्सिल र विश्वविद्यालयका पदाधिकारीदेखि न्यायाधीशसम्मलाई घूस ख्वाउन प्रयोग हुने भयावह यथार्थ प्रकट हुँदैथियो। मेरो भविष्य हेरेर म पछि हट्ने अनि डा. गोविन्द केसी जस्ता एकाध अभियन्ताका कुरा राज्यले नसुन्ने हो भने दश हजार विद्यार्थीको भविष्य अन्धकार हुने मात्र नभई तिनले जीवनकालमा उपचार गर्ने दशौं लाख मानिसको स्वास्थ्य खतरामा पर्ने स्थिति थियो।

जीवनको अन्योलमय दोबाटोमा मैले जहिल्यै निर्धक्क निर्णय लिएर परेको व्यहोरेको छु। निर्णय बदल्दै हिंड्दा के हुन्छ भन्ने मलाई छैन, तर लिइसकेको निर्णयमा डट्दा के हुन्छ भन्ने अनुभव मसँग प्रशस्त छ। त्यसो गर्दा जीवन कष्टकर भयो भने त्यसले मानिसलाई आगोको भुंग्रोमा फलाम खारिए झैं खार्छ। जीवनमा खुशी र कष्ट दुवै अन्तहीन छैनन्। कष्ट भोग्दासम्म मात्र अप्रीतिकर हुन्छ, त्यसपछि त्यसका लागि पछुताउनुपर्दैन। हण्डर र कष्टले सिकाउने पाठ अरू केहीले सिकाउन सक्दैन। मैले यो पढेर नभई परेरै जानेकाले यसमा विश्वस्त छु।त्यसैले, जति सोच्नु छ, निर्णयअघि नै सोच तर निर्णयपछि नडगमगाउ भन्ने मन्त्रलाई आत्मसात् गर्दै त्यसदिन कलेज गएर राजीनामा पत्र पेश गरें।

राजीनामा बुझाए पछि बुबासितको संवादविहीनतालाई तोडेर उहाँको चित्त बुझ्ाउनु अनिवार्य थियो। म आफ्नो नजरमा वयस्क भएँ, तर बुबाआमाका नजरमा बच्चै छु। म खाएर हिंडे पनि उहाँहरूलाई लाग्छ, भोकै पो हिंड्यो कि!म गन्तव्यमा पुगेर कति काम भ्याइसकेको हुन्छु, उहाँहरूलाई लाग्छ– कतै बाटोमा अलपत्र पर्‍यो कि!

छोरो डाक्टर भएपछि धमाधम पैसा कमाएर कार चढोस्, नयाँ घर ठड्याओस् भन्ने अपेक्षा उहाँहरूले कहिल्यै राख्नुभएन। अहिले पनि भन्नुहुन्छ– दुई पैसा कम कमियोस्, तर मानिसहरूसित अनावश्यक पैसा नलिनु, दुःखमा परेकालाई सम्भव भएसम्म सित्तैंमा उपचार गरिदिनु। अहिले उहाँहरूको चिन्ता छोराले कमाउँदैन भन्ने नभई यो पूरै बेरोजगार भएर यता न उता हुन्छ कि भन्ने थियो। त्यसैले, बुबालाई सम्झाउन सक्छु भन्नेमा म विश्वस्त थिएँ। राजीनामा दिएर काठमाडौं नगई म उहाँलाई भेट्न घर गएँ। आमाबाबुको क्षमाशीलता त उहाँहरूसित थियो नै, मेरो कदमबारे दिनभर सोचेर धेरै नरम भइसक्नुभएको रहेछ। अभियान र मेरो राजीनामाको आवश्यकताबारे उहाँलाई बुझ्ाउन दाइको उपस्थितिले अझ् सहज बनायो। साँझ्पख एक घण्टाको कुराकानीमा बुबाले परिवारबाहिर मेरो जिम्मेवारी र यत्रो आन्दोलनमा अरूले नभएर मैले नै जागिर छाड्नुपर्ने अवस्था किन आयो भन्ने सहजै बुझनुभयो।

अर्को दिन चंगा मन लिएर त्रिवि शिक्षण अस्पतालतिर गइरहेको वेला मलाई लागिरहेको थियो– ठूलो युद्धको विजय यस्तै साना समझ्दारीबाट शुरू हुन्छ।

comments powered by Disqus

रमझम