१-१४ कात्तिक २०७२ | 18-31 October 2015

पञ्चम दा'का नेपाली भाइहरू

Share:
  
- शेखर खरेल
समयक्रमसँगै बलिउड संगीत अनेकौं सुरमा गुञ्जिएको छ। तर, त्यो सुरमा थुप्रै नेपाली संगीतकर्मीले सास भरेका छन्।

आरडी बर्मन, किशोर कुमार र मनोहरि सिंह।
मङ्गोल चेहराका कारण झ्ट्ट देख्नेहरू राहुलदेव (आरडी) बर्मनलाई नेपाली भन्थे। पूर्वोत्तर त्रिपुरा राजखलकका उनी बम्बईको भीडमा रूप र गुण दुवैका कारण अलग बाँचे र आफ्नै मानक बनाए। हुन त विख्यात संगीतकार सचिनदेव (एसडी) बर्मनका छोरा राहुललाई सबैभन्दा ठूलो चुनौती भनेकै बाबुको छायाँबाट निस्कनु थियो। तर, एसडी जीवित छँदै आरडीले प्रसिद्धिको शिखर चुमे। एसडी बाचुञ्जेल यो गर्व बाँडिरहन्थे।

प्रेमपूर्वक 'पञ्चम' अर्थात् सारेगमको पाँचौं सुरबाट सम्बोधित राहुलदेवमा हुन त कुनै नेपाली वंशाणु थिएन। तर, किशोरवयदेखि जीवनपर्यन्त उनी नेपालीहरूकै सान्निध्यमा रहे।

मात्र १९ वर्षको हुँदा आरडीलाई 'छोटे नबाब' (सन् १९६१) को निम्ति संगीत भर्ने अवसर जुरेको थियो। यसै चलचित्रको 'मतवाली आँखोंवाले' त्यतिवेलै रेडियो सिलोनको 'विनाका गीतमाला' को पाँचौं नम्बरमा पर्न सफल भएको थियो। र, संयोगवश यसै चलचित्रबाट उनको संगीतका अर्का अद्भुत प्रतिभासँगको सहयात्रा शुरू हुन पुगेको थियो, जो उनको बुबाको समूहमा वाद्यवादन गर्दै आएका थिए। उनी थिए, मनोहरि सिंह।

कलकत्ता हुगली तीनसुरा घर भएका नेपालका मनोहरि सिंह आरडीले संगीतको भेउ पाउँदै गर्दा स्याक्सोफोन र क्लारिनेटवादकका रूपमा ख्याति कमाइसकेका थिए। १९५८ मा बंगालका प्रसिद्ध संगीतकार सलील चौधरीका साथ बम्बई आएका सिंहले चौधरी र एसडी बर्मनको समूहमा काम थालेका थिए। विमल रोयको 'मधुमति' (१९५८) का बाँसुरीवादक उनको अर्को परिचय थियो। एसडीकै संगीतको 'गाइड' (१९६५) को 'तेरे मेरे सपने अब एक रङ्ग हैं' मा सिंहको आल्टो स्याक्सले मोहम्मद रफीको रेशमी आवाज मायावी बनाइदिएको थियो, त्यही चलचित्रको 'दिन ढल जाए हाय रात ना जाए' को दोस्रो अन्तराको मनोहर स्याक्सोफोनको धुनले संगीत पारखीहरूमा मोहनी नै लगाएको थियो। उनले एसडीले संगीत भरेका 'तीन देविया', (१९६५) 'ज्वेल थीफ' (१९६७) आदि चलचित्रमा पनि काम गरिसकेका थिए।

मनोहरि सिंह।

आरडीको मनोहरिसँगको साझेदारी स्वाभाविक थियो। आरडीका दाहिने हात उनी समयक्रममा मुख्य अरेन्जर पनि बने। मिर्गौला रोगका कारण १३ जुलाई २०११ मा दिवंगत भएका सिंहले पञ्चमलाई उनको अन्तिम चलचित्र '१९४२ अ लभ स्टोरी' (१९९४) सम्मै साथ दिए। अझ् ४ जनवरी १९९४ मा पञ्चमको निधन भएपछि अपूरै रहेको यस चलचित्रको व्याकग्राउण्ड स्कोर पनि सिंहले नै दिएका थिए।

वृत्तचित्र निर्माणका लागि यस पंक्तिकारले सिंहलाई २०१० मा शान्ताक्रुजस्थित निवासमा भेट्दा पञ्चमबारे उनले सुनाए, “ऊ एउटा पूर्ण कलाकार थियो। अहिले ऊसँग काम गरेका ती गानाहरू सुन्छु, कसरी काम गरें जस्तो लाग्छ। त्यो सब भगवान्को आशीर्वाद थियो।”

सम्बन्धका सेतु सिंह

अम्बर गुरुङका चेला रञ्जित गजमेर सन् ६० को दशकमा दार्जीलिङको संगम क्लबमा रहेर काम गरेका थिए। उनी दार्जीलिङको पहिलो रक ब्याण्ड 'दी हिलियन्स' का ड्रमर पनि रहे। १९६६ मा नेपाल झ्रेका गजमेर केही समय रेडियो नेपालको वाद्यवादक रहेका थिए। त्यही समय आरडी नेपालमा छायाङ्कित देव आनन्दको चलचित्र 'हरेराम हरेकृष्ण' (१९७१) मा नेपाली धुन राख्ने सोचमा थिए। एक दिन मनोहरिले उनलाई आरडीसम्म पुर्‍याए। उनले मादलका थरीथरीका ताल आरडीलाई सुनाए। गजमेरको प्रतिभाबाट प्रभावित आरडीले उनलाई तत्कालै 'हरेराम हरेकृष्ण' को नेपाली धुनमा सजिएको गीत 'कान्छा रे कान्छा रे गीत मेरा साथी' मा मादलमा ब्रेक दिए। यसै गीतका कारण रञ्जित बम्बई सांगीतिक वृत्तमा 'कान्छा' का उपनामले चिनिए। आरडीका 'अजनबी (१९७४)', 'शोले' (१९७५) आदि चलचित्रहरूमा मादल बजाएका गजमेर उनको अर्केष्ट्राको स्थायी सदस्य रहिरहे।

मनोहरिमार्फत नै सन् ७२ देखि ७७ सम्म पञ्चमको अर्केष्ट्रामा रहेर काम गरेका तबलावादक पण्डित होमनाथ उपाध्याय आफूले बम्बईमा विताएका ती स्वर्णिम वर्षहरू गर्वका साथ सम्झ्ना गरिरहेका हुन्छन्।

तन्नेरी जोशले भरिएका उपाध्याय चारबीसे हिउँद कटिसकेका उस्ताद अहमद जान 'थिरकुवा' सँग तबलाका जादूमयी जुक्ति सिक्न बम्बई पुगेका थिए। गुरुभेटी चढाउँदै तबला सिक्नु र महानगरको महँगीमा रसदपानी जुटाउनु उनलाई सजिलो थिएन। पण्डितजी कामको खोजीमा थिए। एक दिन सिंहकहाँ गएर उनले आफ्नो दुःखेसो बिसाए। पण्डितजीको जस्तै हालत नेपालबाट बम्बई पुगेका मदन परियारको पनि थियो। अर्को दिन मनोहरिले उपाध्याय र परियारलाई लिएर पञ्चमकहाँ पुगे। मदनले नेपाली भाखाका गीत गाए र तिनमा मादल र तबलामा उपाध्यायले साथ दिए। पहाडी भाखा र तालबाट मुग्ध पञ्चमले तत्कालै अह्राए, 'ल यिनीहरूलाई अर्केष्टामा राख।' यसरी उपाध्यायले पञ्चमको अर्केष्ट्रामा तबला र परियारले भायोलिन धुन थपिदिए।

होमनाथ उपाध्याय।

लुई ब्याङ्क्स।

पञ्चमको अर्केष्ट्राका स्थायी सदस्यहरू मनोहरि सिंह, रञ्जित गजमेरका अतिरिक्त गीतको प्रकृति र वाद्ययन्त्रको माग हेरिकन अन्य नेपालीहरू पनि थपिइरहेका हुन्थे। जस्तै, पियानोका लागि लुई ब्याङ्क्स अनिवार्य हुन्थे। ट्रम्पेट, टुबा, कोर्नेट, सुसाफोन जस्ता बाजा सम्मिलित ब्रास ब्याण्डका लागि ६–७ जनाको समूह चाहिन्थ्यो। अनि संयोगवश ब्रास ब्याण्ड संयोजन गर्ने मनोहरिलाई नेपालबाटै पुगेका कालु सिंह र श्यामराज समेतले सघाइरहेका हुन्थे। कालु सिंह भारतीय नेभीका जागिरे थिए भने श्यामराज नेपाली सेनामा ब्रास ब्याण्डको अनुभव सँगालेपछि बम्बई हान्निएका थिए।

तर, सबै राम्रा कुराको अन्त्य अवश्यम्भावी हुन्छ भनिए जस्तै पञ्चमको अर्केष्ट्रामा भायोलिनमा जम्दै गरेका मदन नेपालमा आमाको देहान्तपछि बम्बई फर्केनन्। १९७७ तिर साना लगानीका प्रोड्युसरहरूलाई धन्दा छाड्न दबाब दिन वाद्यवादकलाई उचालेर हडताल शुरू गरिएपछि पण्डित उपाध्याय पनि नेपाल फर्किए।

पार्क स्ट्रीटबाट पञ्चम स्टुडियो

'गडफादर अफ इन्डियन ज्याज' का उपनामले प्रसिद्ध लुई ब्याङ्क्स सन् ७० को प्रारम्भतिर काठमाडौं सोल्टी होटलको 'वेदर ब्याण्ड' छाडेर कलकत्ता हान्निएका थिए। 'लुई ब्याङ्क्स ब्रदरहूड' तिनताकको कलकत्ताको नामी ज्याज ब्यान्ड थियो। एक साँझ् ब्याङ्क्स पार्क स्ट्रीटको एउटा नाइट क्लबमा बजाइरहेका थिए। त्यसै वेला वेटरले उनलाई एकजना ग्राहकले भेट्न खोजिरहेको सन्देश दिए। शो सकेर उनी ती व्यक्तितर्फ बढे। क्लबका कुनामा चुरोट फुक्दै संगीत सुनिरहेका मोटा चश्मावाल ग्राहक अरू कोही नभएर आरडी नै थिए। उनले लुईलाई “मलाई तिम्रो पियानो बजाइ निकै राम्रो लाग्यो, बम्बे आएर मेरो फिल्ममा काम गर', भने।

आरडीसँगको पहिलो भेट सम्झ्ँदै बम्बई शान्ताक्रुजको स्टुडियोसमेत रहेको निवासमा लुईले दार्शनिक पारामा भने, “जीवनमा यस्ता कुराहरू पूर्व निर्धारित हुने रहेछन्। नभए किन त्यहाँ पञ्चम दा' आइपुग्नुपर्ने र मैले नै बजाएको वेलाको संयोग जुर्नुपर्ने त?”

आरडीको प्रस्ताव राम्रो भए पनि ब्यान्डले राम्रो गरिरहेकोले कलकत्ता छाड्नका लागि उनका पैतालाहरू अघि सरेनन्। तर, ठीक त्यही वेला अहिलेको नेपाल जस्तै कलकत्तामा लोडसेडिङ शुरू हुन थाल्यो। “हामीलाई राति नाइट क्लबमा बजाउनुपर्ने। पेशा नै संकटमा पर्न थाल्यो”, लुईले जीवनको मह140वपूर्ण 'टर्निङ प्वाइन्ट' को रहस्य खोले, “अनि मैले पंचम दा'को प्रस्ताव पनि सम्झ्ें र लोरेन (पत्नी) लाई भने कि, पक्कै पनि यो ईश्वरबाट राम्रो संकेत भएको हुनुपर्छ।”

सन् १९७७ मा लुई बम्बई आए र आरडीको 'मुक्ति' (१९७७) चलचित्रमा पियानो बजाए। 'मुक्ति' को मुकेशको स्वरको हृदयपर्शी गीत 'सुहानी चाँदनी राते' मा पियानोको भयानक कर्डल लुईका औंलाका टुप्पाहरूबाटै निस्केका हुन्।
“बम्बेमा स्थापित हुन मानिसले अनेकौं पापड पेल्नु पर्छ। तर, मेरो भाग्य भन्नुस् म बम्बेमा आएर रत्तिभर संघर्ष नगर्नेमा पर्छु”, ब्याङ्क्सले सुनाए। यसरी काठमाडौं डल्लुका डम्बरबहादुर बुढापिर्थी उर्फ लुई ब्याङ्क्स पनि आरडीका अर्केष्ट्राका स्थायी सदस्यका रूपमा काम गर्न पुगे।

भौतिक रूपले आरडी बर्मन र मनोहरि सिंह आज हामीमाझ् छैनन्। तर, प्रत्यक्ष भेट्ने वा सँगै काम गर्ने सौभाग्य पाएकाका सम्झ्नामा ती यशस्वी संगीत शिल्पीहरू जीवित छन्। तर, त्योभन्दा पनि आरडीले संगीत भरेका गीतहरू एउटा 'कल्ट' वा मानककै रूपमा स्थापित छ। आरडीले नेपालीप्रति स्नेह जाहेर गरेर जुन सम्पर्कको सेतु खडा गरेका छन्, त्यो उनको संगीत झैं अजम्बरी छ।

comments powered by Disqus

रमझम