१-१४ कात्तिक २०७२ | 18-31 October 2015

जमरा संस्कृति

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ

nepalitummy.blogspot.com
नेपालीको जीवनपद्धति खेती र बालीसँग गाँसिएको छ। हाम्रा चाड, पर्व, संस्कार र संस्कृतिसँग अन्न, फलफूल, सागपात, तेलहन, गेडागुडी, दूध, घिउ, मौरीलगायत वन्यजन्तु, पशुपक्षी, जडीबुटी आदि जोडिन आउँछन्।

यो सन्दर्भमा दशैंसँग, त्यसमा पनि खासगरी नेपाली हिन्दू धर्मावलम्बीहरूको परम्परासँग विशेष रूपमा गाँसिन पुग्ने जौ र जमरा एक मौलिक सांस्कृतिक धरोहरको रूपमा स्थापित छ। तसर्थ हामी जमरा उमार्न विशेष प्रयत्न गर्दछौं। विजयादशमीको हर्षोल्लासको मुख्य प्रतीक नै निधारमा रातो टीका र कपाल वा कानमा सुनौलो जमराको मुठा शोभायमान हुनु हो। गलाभरि जमराको माला सम्भ्रान्त परिवारको सूचक पनि हो।

दशैंको पहिलो दिन घटस्थापनाको बिहानी हामी आ–आफ्ना दशैं कोठामा जमरा रोप्दछौं। जमरा रोप्नु भनेको जौलाई शुद्ध बालुवा र थोरै माटोको मिश्रणमा जौको विजन छर्नु हो। परिवारको आवश्यकता अनुसार कति जौ छर्ने भन्ने कुरा निर्धारण गरिन्छ। हाम्रो घरमा भने माटोको ठूलो नयाँ भेगटमा बालुवाले भरेर त्यसको बीचमा माटोको कलश स्थापना गरी एक दिन अगाडि पानीमा भिजाएको जौका गेडा बाक्लो गरी छर्छौ।

दशौं दिनसम्म जमरालाई भेगटले नै छोपेर घामको प्रकाश पर्न दिइन्न। प्रत्येक बिहानी पानी दिएर त्यही जमराका सामीप्यमा बसेर देवीको पूजा आराधना गरिन्छ। साँझ पनि पानी दिनुपर्छ। एक दुई दिनभित्रै जौका गेडाहरू अंकुराउन थाल्छन्। पहिलो प्रस्फुटनमा जराहरू पलाउन थाल्छन्। जौका जराले जमीन लिएपछि त्यसमा विस्तारै पातहरू पलाउँदै आउँछ। प्रकाशले नभेटेका पातहरू पहेंला हुन्छन्। सातौं दिनमा फूलपातीको लागि पहेंला बेर्नाहरू तयार हुन्छन्।

विजया दशमीसम्ममा जमराले पूर्ण रूप लिइसक्छ। पूर्णेसम्म जमरालाई दशैं कोठामा नै राखिन्छ। त्यसबीचमा आवश्यकता अनुसार तिनलाई टिपेर टीका थाप्न आउने जहान परिवार, नातागोता, मित्र बन्धुमा भवानीदेवीको प्रसाद स्वरुप जमरा दिएर शुभकामना, आशीर्वाद, माया र प्रेम आदानप्रदान गरिन्छ।

त्यसो त पहेंलो बेर्ना उमार्न जौ बाहेक अरू अन्न पनि छर्न सकिन्छ। तर जौ नै किन भन्ने प्रश्न पनि बारम्बार हाम्रो मनमा उब्जिन्छ। जंगली जीवन त्यागेर कृषि जीवन अपनाउन थालेपछि मानिसले सबभन्दा पहिले खेती किसानी गरेको अन्न नै जौ थियो। त्यस अर्थमा मानव विकासको इतिहासमा जेठो अन्न ठहरिन आउँछ, जौ। वैज्ञानिक उत्खनन् तथा अनुसन्धानमा आजभन्दा पाँच हजार वर्ष पुराना जौका अवशेषहरू मिश्र देशमा भेटिएका छन्। हाम्रै छिमेकी चीनमा जौको इतिहास हजार वर्ष पुरानो छ। नेपालको इतिहासले जौ र जमराको परम्परालाई यकिन साथ किटान गर्न नसके पनि सबभन्दा जेठो अन्न यही हो भन्नेमा शंका छैन।

हिन्दू धर्मावलम्बीहरूको त्यस्तो कुनै पूजाआजा वा संस्कार नहोला जहाँ जौ, तिल र कुशको संकल्पविना कार्य सम्पन्न होउन्। पितृकार्यमा पिण्डदान होस् वा गौदान त्यहाँ पुरोहितहरू जौ, तिल र कुशको उपस्थिति खोजिहाल्छन्। तीनधाम यात्राको क्रममा काशीको गंगा किनारमा काठमाडौंबाट गएका यात्रीहरूका साथ पितृ श्राद्ध गर्न मैले पलेंटी के कसेको थिएँ, भारतीय पण्डितज्यू 'तछो– हामो...' भन्दै आइपुगिहाल्नुभयो। नेवारीमा जौलाई तःछो र तिललाई हामो भनिन्छ। श्राद्ध गराउने पण्डितबाट जौ र तिलको त्यो अपरिहार्यता मेरो स्मृतिमा सधैं आलो रहन पुग्यो।

हामीले खाने अन्नका गेडाहरू वास्तवमा विजन हुन्। त्यसभित्र भ्रूण हुन्छ, ज्यान हुन्छ। त्यस ज्यानलाई हुर्काउन विजनभित्र खाद्य पदार्थ हुन्छ। जमरा उमार्दा त्यही खाद्य पदार्थको भरमा बेर्ना उमि्रन्छ। सूर्य प्रकाश नपाएको अवस्थामा बेर्नाले खाना बनाउन सक्दैन। भ्रूण अवस्थाको त्यस खाद्य पदार्थमा प्रकृतिले अनेकौं पौष्टिक एवं रोगनिरोधक तत्वहरू थपेर पठाएको हुन्छ। गाई–भैंसीको बिगौती झै जमराको सेवनबाट हामीलाई रोग निरोधक तत्व प्राप्त हुन्छ। आमाको दूधको पौष्टिक गुणलाई सम्झेर जमराको रस खान सकिन्छ।

जमरालाई हाम्रो आयुर्वेदले पनि रोग निरोधक मानेको छ। कुनै दिन वैज्ञानिक अनुसन्धानले त्यो प्रमाणित गर्ला तर हामीले त्यो दिन कुर्नुपर्छ भन्ने छैन। आफ्नो परम्परागत ज्ञानलाई प्रयोग गर्दै जमराको संस्कृतिलाई निरन्तरता दिनु हाम्रो कर्तव्य बन्दछ। आजभोलिको स्वास्थ्य चर्चामा क्यान्सर निरोधक एवं कोलेस्टोरेल नियन्त्रक तत्व भएका खाद्य पदार्थको सेवन गर्न चिकित्सकहरू जोड दिन्छन्। उनीहरु शरीरभित्रको रासायनिक प्रक्रियामा 'एन्टिअक्सिडेन्ट' खाद्य पदार्थ उपलब्ध गराउन सिफारिश गर्छन्। अक्सिजनको रासायनिक प्रक्रियाले गर्दा शुद्ध फलाम खिया लागेर बेकम्मा बने झै शरीरभित्र पनि अक्सिजनको रासायनिक प्रक्रियाले नकारात्मक प्रभाव पर्न जान्छ। जौका जमराको रसमा विटाक्यारोटिनलगायत अरू एन्टिअक्सिडेन्ट तत्व छन् भन्ने प्रमाणित हुँदैछ। वैज्ञानिक प्रमाणहरू भेटिंदै जाला, हामी परम्पराले युगौंयुगदेखि स्थापित गरेको संस्कार नछोडौं।

धान, गहुँ, मकै जस्तै तृण परिवारको बिरुवा हो, जौ। बाँस र घाँस समेतको यो परिवारलाई वनस्पतिशास्त्रले 'ग्रामिनी' भन्छ। जौको वानस्पतिक नाम भने होर्डियम भल्गेर हो। यस प्रजातिभित्र अनेकौं थरी जौ हाम्रै देशमा मौजूद छन्। जौका किसिम अनुसार तिनका बालामा लाग्ने झूस कमबेसी र लामो छोटो हुन्छ। बालामा जात अनुसार दुईदेखि ६ हारसम्म दाना लाग्छ।

हाम्रो हिमाली भेगमा खेती हुने उवा एक विशेष प्रकारको जौ हो, जसलाई अंग्रेजीमा 'नेकेड बार्ली' अर्थात् नग्न जौ भनिन्छ। झूस–भूस नभएको यो जौलाई हिमालयको विशेष सौगात मानिन्छ। समुद्र सतहबाट चार हजार मिटरको उँचाइमा फल्ने जौका दाना विश्व कीर्तिमानी अन्न पनि हो। हाम्रा लेकबेंसी, पहाड, मधेश र तराईमा अरू विभिन्न थरीका जौ पाइन्छन्। तिनीहरू २ देखि ६ हारका दाना लाग्ने बालामा झुल्दछन्। तिनका गेडामा खोस्टा हुन्छ, नग्न हुँदैनन्।

हामी यहाँ जौ र जमराका कुरा गरिरहँदा उता यूरोप, अमेरिका, रूस र क्यानाडातिर किसानहरू विभिन्न पेय पदार्थ विशेष गरेर उच्च कोटिका बियर र ह्वीस्की बनाउने जौ उत्पादनमा लाग्छन्। त्यतातिर बस्तुभाउलाई दिने दाना बनाउन पनि जौ अधिक प्रयोग हुन्छ। पाल्तु गाईबस्तुलाई पौष्टिक घाँस दिन पनि जौ रोप्ने चलन छ।

नेपालीको दशैं संस्कार र संस्कृतिमा जौ र जमराले विशिष्ट स्थान ओगटेको देखिन्छ। पहेंलो जमरालाई शिरमा सिउरेर भवानी दुर्गाको शक्ति सबै नेपालीलाई प्राप्त होस् र असुर शक्तिलाई पराजय गर्न दुर्गा भवानीले नेपालीको साथ दिउन्। सबैको मंगल होस्। सुख, समृद्धि र विजयस्वरुपा जमरा हाम्रो शिरमा शोभायमान रहून्। शुभकामना।

comments powered by Disqus

रमझम