१-१४ कात्तिक २०७२ | 18-31 October 2015

ओलीका चुनौती

Share:
  
- गोपाल गडतौला, झापा
भूमिगतकालमा खड्गप्रसाद ओलीसँग संगत गर्नेहरू उनलाई पुराना सपना र दुःख सम्झेर काम गर्न सुझाउँछन्।

विक्रम राई
२४ असोज दिउँसो दमक–१७ का ज्ञानेन्द्र इङनाम (६७) घुर्‍यानको डिलमा सागका बिरुवा रोप्न खनी–खोस्री गर्दै थिए। त्यहीवेला उनले खड्गप्रसाद ओली (केपी) मुलुकको प्रधानमन्त्री भएको खबर सुने। र, एकपटक फेरि ४५ वर्षअघिको त्यो जाडो सम्झिए।

पुस २०२७ सालको एक दिन, भाइ मोतीको साथ लागेर एउटा ख्याउटे युवक उनको घर आइपुगेका थिए। पहाड तेह्रथुम, इवामा बस्दा ती युवा ज्ञानेन्द्रकै छिमेकी थिए। तर, के गर्छन् र किन आएका हुन् भन्नेबारे उनलाई थाहा थिएन। करीब ६ महीनासम्म बस्दा युवकले हलो जोते। गोठालो बने। दिउँसो मान्छेसँग खासै हिमचिम नगर्ने उनी राति भने गाउँ पस्थे। “उनी त गाउँलेलाई सामन्ती राजसंस्था हटाउने र प्रजातन्त्र ल्याउने कुरा गर्दा रहेछन्”, ज्ञानेन्द्र सम्झ्न्छन्, “रातिका एक–दुई कोठे बैठकमा म पनि सुन्न गएँ।”

२२ वर्षपछि २०४८ सालमा उनै युवक खड्गप्रसाद ओलीको रूपमा भोट माग्दै ज्ञानेन्द्रकै घर आए। र, सबैलाई भूमिगतकालमा आफूलाई शरण दिने ज्ञानेन्द्रलाई धन्यवाद दिए।

तिनै ओली आज प्रधानमन्त्री भएकोमा ज्ञानेन्द्र दंग छन्। गरीब किसानको भलोको सपना सुनाउने व्यक्ति नै सपना पूरा गर्ने ठाउँमा पुगेको बताउँदै ज्ञानेन्द्र भन्छन्, “मल–बीउ समयमै पाइयोस्, अनाजको भाउ राम्रो होस्।”

ज्ञानेन्द्रको घरबाट विदा भएपछि ओली राजघाट, मोरङका शिक्षक मुक्ति बराल (७७) को घरमा केही दिन बसी इटहरा–२, मोरङका गंगा डाँगी (हाल सांसद्) कहाँ पुगे। त्यहाँ पनि उनी रातिराति किसानका घरमा गएर बैठक गर्थे।

ज्ञानेन्द्र इङनाम।

तुलसीराम दाहाल।

सानो दुर्गा अधिकारी।

ओली चार वर्षको छँदै आमा मधुमाया बितेपछि पाँचथर, च्याङथापुमा रहेको मावली घरमा धेरै आउजाउ गर्नै पाएनन्। हाल लखनपुर–६ मा रहेका ओलीका साहिंला मामा प्रेमप्रसाद खरेल (७७) सँग २०४६ अघि जम्मा तीनपटक भेट भएको थियो। माइजू हिमादेवीले त भान्जा ओलीलाई २०४६ पछि मात्र चिनिन्। बाबु मोहनप्रसादले मधुमायाको निधनपछि दोस्रो बिहे गरे। इवाबाट झापाको शरणामती झ्रेको ओली परिवार अहिले पृथ्वीनगरमा बसिरहेको छ।

तुलसीराम दाहाल (६६) ओलीका बाल्यकालमा साथी हुन्। उनी अहिले कन्काई नदी पश्चिम किनारमा देवी देउताका थान थपना बनाएर फूलपाती र मिठाई प्रसाद बेच्छन्। इवामा ओलीसँग पढेका दाहाल २१ फागुन २०२९ मा झापाबाट जेल सार्ने बहानामा इलामको सुखानीमा मारिएका कम्युनिष्ट योद्धामध्येका अगुवा रामनाथ दाहालका भतिजा हुन्। उवेला चारपानेस्थित रामनाथको घर झापाका कम्युनिष्टहरूको केन्द्र थियो। “उनले पुराना दुःखका दिन सम्झिएर के गर्दा जनतालाई सुख हुन्छ त्यसैमा ध्यान दिनुपर्छ”, तुलसीरामको सुझाव छ।

विद्रोहका ती दिन

धुलाबारी बजार पश्चिम टिमाई खोला किनारमा बसेका सानो दुर्गा अधिकारी (६४) ओलीका जेलका मित्र हुन्। “कतिखेर प्राण जाने हो भन्ने त्राहिमाम् थियो” पटकपटक गरी दश वर्षसम्म सँगै जेल बसेका अधिकारी भन्छन्, “भाग्यमा यी दिन पनि देख्नु रहेछ।”

२०२६–२०२७ मा झापामा साहू महाजन विरुद्धको सशस्त्र विद्रोह सल्किरहेको थियो। सानो दुर्गाको कार्यक्षेत्र इलाम र झापा भित्रै पर्दथ्यो। ४ कात्तिक २०३१ मा दक्षिण इलामको शान्तिपुरस्थित सेल्टरबाट उनी समातिए। साथी रामप्रसाद श्रेष्ठलाई भने प्रहरीले बाँसको भालाले घोचेर ज्यान लियो।

तस्वीरहरुः गोपाल गडतौला
ठूलो दुर्गा अधिकारी।

मुक्ति बराल

ओलीका मामा माइजु

२०२८ सालको झापा विद्रोहका सदस्य सानो दुर्गा झापा, वीरगञ्ज र काठमाडौंका जेल बसे। ओलीसँग झापामा भएको चिनजान जेलमा पुगेपछि आत्मीय बन्यो। १७ वर्षको कारावासपछि २०४६ साल पुसमा जेल मुक्त हुने ११ राजबन्दीमध्ये सानो दुर्गा पनि एक हुन्। जेलका साथी मुलुकको सर्वोच्च कार्यकारी भएको २४ असोज साँझ् उनले सुकुम्बासी बस्तीको आँगनमा दियो बाले।

सानोदुर्गाको चिनजानमा ओली मनमा दया भएका नेता हुन्। झापा आउँदा सञ्चोविसञ्चो सोध्ने ओलीले सानोदुर्गाका छोरीलाई नर्सिङ पढाउन सहयोग गरे। काठमाडौं जाँदा उनी ओलीनिवास बालकोटमै बस्छन्। बाटोखर्च नदिई पठाउँदैनन्। “मैले चिनेका ओली परहितकारी हुन्”, उनी भन्छन्।

दुवागढीका ठूलो दुर्गा अधिकारी (६९) सानो दुर्गाका दाजु हुन्। उनी पनि वर्गशत्रु मास्ने सशस्त्र झापा आन्दोलनमा सक्रिय भएबापत १० वर्ष जेल बसे। २०२७ कात्तिक दोस्रो साता मोरङको गोविन्दपुरबाट पक्राउ परेका उनी पनि ओलीका सहयात्री हुन्।

गएको १ वैशाखमा उनै ओलीले झापा विद्रोहका जीवित पात्रहरूलाई भक्तपुरको बालकोटस्थित घर बोलाई खानपिन र भलाकुसारी गरेका थिए, जसमा ठूलोदुर्गा पनि थिए। “पदमा पुगेपछि धेरै ठूला मान्छे बिग्रिएका छन्” उनी भन्छन्, “ओलीले यसपट्टि ध्यान दिनुपर्छ।”

comments powered by Disqus

रमझम