१-१४ कात्तिक २०७२ | 18-31 October 2015

भूकम्प प्रतिरोधी घर

Share:
  
दशैंतिहारपछि गति लिने आशा गरिएको राष्ट्रिय पुनःनिर्माण अभियानको पहिलो शर्त भूकम्पप्रतिरोधी संरचना हुनेछ।

दशैंको मुखमा नयाँ सरकार गठन भएसँगै भारतको नाकाबन्दी खुल्ने संकेत देखिएको छ। तर, नाकाबन्दीको अत्यास खेपेको नेपाली जनजीवन सहज हुन तिहारसम्म पर्खनुपर्ने देखिन्छ। संभवतः त्यसपछि शुरू हुनेछ महाभूकम्पबाट भएको क्षतिको पुनःनिर्माण।

पुनःनिर्माणको अर्थ त्यस ठाउँमा अर्को संरचना ठड्याउनु मात्र होइन, त्यसलाई सुरक्षित र भूकम्पप्रतिरोधी बनाउनु हो। विज्ञहरूले नेपालमा कुनै पनि वेला फेरि ठूलो भूकम्प जान सक्ने बताइरहेका छन् त्यसैले पनि अबका निर्माणको पहिलो शर्त भूकम्पप्रतिरोधी संरचना हुनुपर्छ।

घर निर्माणमा माटोको अवस्था, जग, पीलर, बीम, छत र भित्तामा विशेष ध्यान दिनुपर्छ। १२ वैशाखको महाभूकम्पमा धेरै घरका छतहरू दुरुस्तै भए पनि पीलर भाँचिंदा र भित्ता भत्कँदा ठूलो जनधनको क्षति भएको बिर्सिहाल्नुहुँदैन।

भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का उपनिर्देशक डा. रमेश गुरागाईं छत ढलान गर्दा भोज ख्वाउने चलन भए पनि पीलर र बीम बनाउँदा भने मोटो डण्डी राखे पुगिहाल्छ भन्ने मान्यता गलत भएको बताउँछन्। “त्यसैले पनि अधिकांश घरका बीम र पीलर कमजोर छन्”, गुरागाईं भन्छन्।

विज्ञका अनुसार, बीमका सबै डण्डी पीलरभित्रबाटै राख्नुपर्छ। बीमको तल्लो तहको डण्डी गाँस्दा पीलर छेउबाट दुई फिट छाडेर मात्र गाँस्नुपर्छ भने माथिल्लो तहको डण्डी गाँस्दा बीमको लम्बाइको बीचको एकतिहाइ भागमा मात्र गाँस्नुपर्छ। तर, बीमको लम्बाइको बीचको एकचौथाइ भागसम्म डण्डीमा गँसोट राख्नुहुँदैन।

डण्डी गाँस्दा डण्डीको मोटाइको ६० गुणा जति खप्ट्याएर राख्नुपर्छ। जस्तो पाँच लाइन (१६ एमएम) का दुई डण्डी गाँस्दा दुवैलाई एकअर्कोमा १६138६ का दरले ९६ सेन्टिमिटर खप्ट्याउनु पर्छ। चार लाइन (१२ एमएम) को डन्डी गाँस्दा १२138६ को दरले ७२ सेन्टिमिटर खप्ट्याउनु पर्छ। त्योभन्दा कम गाँसियो भने ५ एमएमको डण्डीले तीन एमएम बराबरको काम गर्छ। राम्रोसँग नगाँस्ने हो भने जति मोटो डण्डी राखे पनि निर्माण कमजोर हुन्छ। डन्डी जहाँसम्म गाँसिएको छ, उक्त भागको चार–चार इञ्चमा रिङ राख्नुपर्छ।

पीलर–बीम बाँधिने रिङको टुप्पोलाई पीलर र बीमभित्र पर्ने गरी मोड्नुपर्छ। बीमका डण्डीका टुप्पो 'एल' आकार बनाई पीलरमा घुसार्नुपर्छ। घरको भित्री र बाहिरी गारोलाई पीलरसँग जोड्न झयालको माथि र तल पीलरबाट डण्डी निकाली गारोमा सिल र लिन्टेल बीम बनाउनुपर्छ।

अहिले कतिपय घरमा कोठाको बीचमा पीलर नदेखियोस् भनेर पीलरलाई सकभर कुनातिर पार्ने चलन पनि छ। तर, यसो गर्दा संरचना कमजोर हुने गुरागाईंको तर्क छ। उनका अनुसार पीलरहरू जहाँ परे पनि समान दूरीमा एउटै लाइनमा हुनुपर्छ।

पीलर बनाउँदा डण्डी बाँधेर फर्मा कसेपछि माथिबाट मसला खन्याउने चलन छ, यसो गर्दा गिट्टीजस्तो गह्रुँगो बस्तु थिग्रने र बालुवा, सिमेन्ट चाहिं माथि नै रहन्छ। गुरागाईंका अनुसार पीलरलाई ४ फिटसम्म एक पटक र अर्को पटक थप उँचाइ दिनु उपयुक्त हुन्छ।

ढलानका लागि मसला घोल्न मिक्स्चरको प्रयोग गरिए पनि पीलर बीममा राख्ने र प्लास्टर गर्ने मसला हातैले मिसाउने गरिन्छ, त्यसो गर्दा मिश्रण बढी गिलो हुन्छ, त्यसप्रति वेलैमा ध्यान दिनुपर्छ।

जगमा बनाइने हात्तीपाइलेलाई पनि त्यसको घाँटीबाट टाइबीमले गाँस्नुपर्छ। प्लिन्थ लेभलमा टाइबीम बाँधिए पनि हात्तीपाइलेमा टाइबीम बाँध्न भने धेरैले कञ्जुस्याइँ गरेको देखिन्छ। ब्रिज सिमेन्टका इन्जिनियर रवि रौनियार त्यसो गर्दा संरचना कमजोर हुने बताउँछन्। बीमको चौडाइ पीलरको भन्दा तीन इन्च कम राख्नु राम्रो मानिन्छ।

कतिपयले 'बनाउँदा बनाउँदै डिजाइन परिवर्तन भयो' भन्ने गरेका छन्। तर, आकर्षक डिजाइनको लोभमा घर कमजोर हुने जोखिम रहेको विज्ञको भनाइ छ।

घर बनाउने प्रत्येक चरणमा विशेषज्ञको प्रत्यक्ष निगरानी र निर्माण आचारसंहिता अक्षरशः पालना गर्नुपर्छ।

सञ्जीव शर्मा

comments powered by Disqus

रमझम