१-१४ कात्तिक २०७२ | 18-31 October 2015

गुलियो, नुनिलो र चिल्लो

Share:
  
- डा. अरुणा उप्रेती
ग्राहकको जिब्रो लोभ्याउन व्यापारीहरू झूटा अध्ययनका नाटक रच्छन्, विज्ञापनमार्फत लोभ्याउँछन्। र, हामीलाई रोगी बनाउँछन्।

लेखिका जेन म्याक्सवेलसगँ डा. उप्रेती
न्यूयोर्क टाइम्सको 'बेस्टसेलर' पुस्तक साल्ट, सुगर, फ्याट अर्थात् नून, चिनी, (बोसोजन्य पदार्थ) का लेखक एवं पत्रकार माइकल मोससँगको भेट मेरा लागि अविस्मरणीय छ।

वैशाख २०७१ को त्यो दिन म स्वास्थ्य सम्बन्धी कार्यक्रमको सिलसिलामा अमेरिका पुगेकी थिएँ, जहाँ उनै माइकलले पुस्तक लेख्दाका अनुभव साटेका थिए। आफ्नो कार्यपत्रमा पुलिट्जर पुरस्कार विजेतासमेत रहेका यी लेखकले कम्पनीहरूले कसरी खाना मीठो बनाउन चिनी, नून र चिल्लो पदार्थ हाल्छन् र थाहै नपाई अमेरिकीहरू शरीरमा तौल थप्दै जान्छन् भन्ने कुरालाई बडो रोचक ढंगले वर्णन गरे।

मोसको कार्यपत्रको प्रभावले मैले लगत्तै उक्त पुस्तक पढें। “अमेरिकी स्कूलमा सरकार स्वयंले पत्रु खाना र चिसो पेयपदार्थ बाँड्छ। यसले बच्चाहरूको शरीरको भार बढाउँदै गएको भन्ने कुरा सबैलाई थाहा छ, तैपनि रोक्न गाह्रो भइरहेको छ”, पुस्तकमा उनी लेख्छन्। मनोविज्ञान विशेषज्ञ हवार्ड मस्कोविज अमेरिकामा चलेको पेयपदार्थ 'डा. पेपर' उत्पादक कम्पनीका परामर्शदाता हुन्। उनी ती कम्पनीलाई कुन उत्पादनमा कति मात्रामा चिल्लो, चिनी र नून मिसाउँदा खाऊँ–खाऊँ लाग्छ भन्ने मात्र होइन विज्ञापनका नयाँ अवधारणा पनि बताउँछन्। तर, मोससँगको भेटमा उनै मस्कोविज यस्ता चिसो पेयपदार्थ आफूले नखाने गरेको बताउँछन्। “यसले स्वास्थ्यमा हानि गर्छ, दाँत पनि बिगार्छ”, मस्कोविज मोससँग भन्छन्, “म पाउरोटी पनि खासै खान्न।”

पुस्तकमा लेखकले विभिन्न कम्पनीहरूले तथाकथित अनुसन्धान गराई झ्ूटा प्रतिवेदनका आधारमा गुलियो खुवाउन प्रेरित गरेको बारे पनि लेखेका छन्। विज्ञापनको प्रभावमा नेपाली अशिक्षित मात्र होइन, शिक्षित अभिभावक पनि पर्दारहेछन् भन्ने ज्ञात भयो। नवजात शिशुले गुलियो मन पराउँछ भन्ने जस्ता झूटा प्रचारले बच्चा कुपोषित हुने, मोटोपन बढ्दै जाने र वयस्क हुँदासम्म रोग लागिसक्ने समस्या देखिन्छ। घरमै पकाएर खाने चलन अमेरिकामा हराउँदै जानु मोटोपन लगायत विभिन्न रोगका कारण भएको पनि लेखकको ठम्याइ छ।
गोलभेंडाको ससहरूमा प्रयोग गरिने चिनी र नून पनि घातक रहेको पुस्तकको निष्कर्ष छ। यस्तै पुस्तकले कसरी ताजा फलफूल र 'भिटामिन सी' हालेको भन्दै सुन्तलाको सिन्थेटिक पेय पदार्थलाई सुन्तलाको जुस बनाएर बेचिएको छ भन्नेतर्फ पनि उपभोक्ताको ध्यान खिच्ने प्रयास गरेको छ।

'घरकै खाना मीठो'

मैले अमेरिकामा सक्कली सुन्तला नै किनेर घरमा नै रस निकालेर पिएको देखें। कतै चाहिं सुन्तलालाई मेसिनमा पिधीं बनेको जुस सिसीमा राखेको पनि देखें। “तर यसरी बनाएको जुस दुई, तीन दिनभित्र खाइहाल्नु पर्छ, धेरै दिन फ्रिजमा राखे बिग्रन्छ”, मसँगको कुराकानीमा जेन म्याक्सवेलले भनिन्। 'ह्वेयर देयर इज नो डाक्टर' की लेखकमध्येकी एक जेन अहिले ७२ वर्ष पुगिन् तर उनमा प्रायः अमेरिकीलाई देखिने मोटोपन, मधुमेह जस्ता समस्या छैनन्। “म स्वस्थ हुनुको कारण बढी मात्रामा सलाद, सूप र फलफूल खाएर हो। तर दुःखको कुरा अमेरिकामा पत्रु खानाले बालबालिकादेखि वयस्कसम्म अस्वस्थ छन्”, उनले भनिन्।

घरमै पकाएको खानाको मोह जेनलाई पनि रहेछ। “तिम्रो घरमा पकाएको दाल, भात र साग सारै मीठो लागेको थियो, तर अमेरिकामा त धनीहरूले मात्र पकाएर खान्छन्”, उनले भनिन्। जेनको कुरा सुनेर म खुशी भएँ। तर, अर्कोतिर भने चसक्क भयो– हामी नेपाली चाहिं किन दाल, भात, रोटी, तरकारी बिर्संदै बाहिरका अनेकथोक खाइरहेका छौं?

नेपालमा मोटोपन प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिइसकेको छैन। तर रेस्टुरेन्ट वा घरमै पनि नून, चिनी र चिल्लो भरिएको जस्तो खानेकुरामा बानी लगाइरहेका छौं, समस्या नजिकै छ। आफू र आफ्ना सन्तति स्वस्थ रहून् भन्ने चाहना हो भने गुलियो, नुनिलो र चिल्लोमा लोभिने जिब्रोको स्वाद बदल्ने वेला भइसकेको छ।

comments powered by Disqus

रमझम