१-१४ कात्तिक २०७२ | 18-31 October 2015

पर्व सज्जा

Share:
  
पर्वका वेला बजारका फेसनेवल सामानभन्दा पुराना चिजबिजकै सक्दो सदुपयोग गरी घर सजाउन सकिन्छ।

दशैं ठूलाबडासँग आशीर्वाद थाप्ने पर्व हो। तर, यो पर्वले योभन्दा कैयौं गुणा महङ्खव बोकेको छ। मेलमिलाप, भाइचारा, सद्भाव, सहिष्णुता यो पर्वका विशेषता हुन्। त्यही सन्दर्भमा दशैं सरसफाइ, श्रृगार र रमाइलोको पर्व पनि हो।

दशैंमा घर–आँगन रंगाउनेदेखि सफाइ र नयाँ कपडा हाल्ने चलन छ। दशैंका वेला सबैले आ–आफ्नो आवास र टोल–समाज नै सफा गर्न ध्यान दिन्छन्। दशैंमा धेरै पाहुना आऊ–जाऊ गरिरहने भएकाले पनि घर सफा र सुन्दर राख्नुपर्ने कपन, काठमाडौंकी कल्पना दाहाल कोइराला (३५) बताउँछिन्। “मैले त घरलाई सफा पारिसकें”, उनी भन्छिन्, “अब कोठा सजाउन मात्रै बाँकी छ।”

दशैं–तिहार उल्लास र उमंगको चाड मानिएकाले घर पनि रंगीचंगी पाराले सजाउँदा वेग्लै रौनक छाउँछ। इन्टेरियर डिजाइनर कल्पना भट्टचन भन्छिन्, “दशैंतिहारमा घर सजाउँदा रातो र सुन्तला रङलाई प्राथमिकता दिनुपर्छ।” उनको भनाइमा पर्दा, सोफा र कुसनका खोल, तन्ना वा कार्पेट फेर्दा पनि रङबारे होश पुर्‍याउनुपर्छ। यी रङले दशैं आएको महसूस गराउने र मूड फ्रेस बनाउन सघाउने उनको भनाइ छ। घरको आन्तरिक सजावटका लागि बजारका 'फेन्सी' सामान किन्नुभन्दा पुरानै सामान चिटिक्क पार्नु किफायती हुने कल्पनाको अनुभव छ।

के गर्ने?

हामीमध्ये धेरैले कसौंडी, खड्कुँलो, तामाका अम्खोरालगायत भाँडाकुँडा स्टोर रुममा वा खाटमुनि थन्क्याउँछौं। चाडबाडका वेला तिनलाई घर–सजावट सामग्रीका रूपमा सदुपयोग गर्न सकिन्छ। खड्कुँलोमा पानी भरेर त्यसमा दुई–चार थुँगा सयपत्री वा गोदावरी फूल हालेर मूल ढोकाको छेउमा राखेमा पाहुनाले गतिलो स्वागत पाएको महसूस गर्न सक्छन्। कसौंडी र तामाका भाँडालाई टिलिक्क टल्काएर सो–केसमा राख्दा कोठाको रूप नै वेग्लै देखिन्छ। अम्खोरालाई फूलदानीको रूपमा प्रयोग गरे झनै सुन्दर देखिन्छ।

सयपत्री फूलका गमलालाई रङ्ग्याएर कोठाको एक कुनामा राख्नुका साथै गेटछेउ र बार्दलीमा पनि ढकमक्क फूल राख्दा घर आकर्षक देखिन्छ। कृत्रिम सयपत्री फूलका गुच्छालाई पनि बार्दलीमा सजाउन सकिन्छ। “सयपत्री र गोदावरी फूलले दशैं–तिहारको झझल्को दिने र मन फुरुङ्ग बनाउने भएकाले यिनको सक्दो प्रयोग गर्नुपर्छ”, इन्टेरियर डिजाइनर भट्टचन भन्छिन्। कोठाका फर्निचरलाई रङ–रोगन गरी 'रि–एरेञ्ज' गरेमा कोठा फरक देखिन्छ।

पूजा–कोठाको श्रृंगारका लागि पनि फूलको प्रयोग गर्नुपर्छ। त्यहाँ रङ र फूलको सहायताले स्वस्तिक, ॐ लगायतका शुभ संकेतका चिह्न बनाउन सकिन्छ। झ्याल र ढोकामा रंगीन कपडा, कागज वा फूल झुन्ड्याउँदा आकर्षक देखिन्छ। तर, यसरी सजावटमा मग्न हुँदा घरका केटाकेटी र बूढापाकाको ख्याल गर्नुपर्छ। सजावटका सामग्री हिंड्दा अप्ठेरो हुने, ठोक्किने वा दुर्घटना निम्त्याउने तरीकाले राख्नु हुँदैन।

घरलाई साँझ र रातमा पनि पर्व लागेको देखाउन शून्य वाटका बत्ती जडान गर्न सकिन्छ। तिहारमा त झिलीमिली चाहिन्छ नै। दशैं, छठजस्ता पर्वमा पनि दियो, मैन र विद्युतीय बत्ती बाल्न सकिन्छ। यसले वातावरण नै उल्लासमय बन्छ। कागजको लाल्टिन कोठामा झुन्ड्याउनुका साथै भित्तामा अड्याइएका चित्रकला र तस्वीरलाई चमक दिन 'फोकस लाइट' को प्रयोग गर्न सकिन्छ। त्रिकोण आकारमा काटिएका रंगीचंगी कागजलाई लामो डोरीमा टाँसेर बगैंचा वा छतमा टाँग्दा चाड–पर्वको सुगन्ध चारैतिर फैलिन्छ।

सजना बराल

comments powered by Disqus

रमझम