ट्राउटको अर्थशास्त्र

Share:
  
- जीवनप्रसाद राई
पहाडको क्षमता र किसानको जाँगर बुझेर लिइने व्यावहारिक नीतिले नेपाल रेन्वो ट्राउट निर्यात गर्ने मुलुक बन्न सक्छ ।
p51
 
कास्कीको भुर्जुङस्थित गण्डकी रेन्वो ट्राउट फार्ममा
ट्राउट माछा।

नेपालको कृषि र यसको व्यावसायिक सम्भावना नियाल्दै जिल्ला भ्रमण गर्ने क्रममा हालै पर्यटकीय नगरी पोखरा पुग्दा त्यहाँबाट २५ किलोमिटर उत्तर–पूर्वको भुर्जुङमा थालिएको ट्राउट माछा पालनको चर्चा सुनेर उतै लागियो । नभन्दै, त्यहाँ भारतीय सेनाका पेन्सनर अमृत गुरुङले पल्टन पछि जापानमा समेत नौ वर्ष काम गरेर कमाएको करीब डेढ करोड रुपैयाँ लगानी गरेर २०६३ मा गण्डकी रेन्वो ट्राउट फार्म खोलेका रहेछन् । यो फार्मलाई एउटा व्यक्तिको सोखसँग भन्दा मुलुकको अर्थतन्त्रको सम्भावनासँग जोड्नु उपयुक्त हुन्छ ।

नेपालमा ट्राउट माछाको उच्च सम्भावना भएकोले गुरुङ लगायतका किसानहरूको प्रयासलाई मुलुककै कृषि अर्थतन्त्र मजबुत बनाउने कामको थालनीको रूपमा लिनुपर्छ । गण्डकी ट्राउट फार्मले अहिले वार्षिक १५ टन माछा उत्पादन गरिरहेको छ । आगामी वर्षदेखि यसलाई ५० टनको हाराहारीमा पुर्‍याउने गरी काम गरिरहेका गुरुङले म्याग्दी, बाग्लुङ लगायतका जिल्लाका इच्छुक किसानहरूलाई तालिम पनि दिइरहेका छन् । असल सिको नै भन्नुपर्छ, कास्कीमा माछापुच्छ्रे, क्षेत्रद्वीप, गोगरिन र सर्दीखोला नामका ठूला ट्राउट फार्महरू खुलिसकेका रहेछन् । 
 
उत्पादन र बजार
p51b
 
 

नेपालमा ट्राउट माछा व्यवसाय नुवाकोटबाट शुरू भएको हो, जुन अहिले ललितपुर, दोलखा, रसुवा, कास्की, म्याग्दी, बाग्लुङ आदि जिल्लामा विस्तार भएको छ । पर्याप्त पानी भएका नेपालका सबै पहाडी जिल्लामा ट्राउट माछा उत्पादनको सम्भावना छ । जापानी प्रजातिको रेन्वोसँगै ब्राउन ट्राउट पनि राम्ररी उत्पादन गर्न सकिन्छ । ट्राउट खेतीले जिल्लाको पर्यटनलाई प्रत्यक्ष रूपमा सघाउँछ ।

संसारभर रुचाइएको ट्राउट माछा २० डिग्री सेल्सियस भन्दा कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ । ट्राउटको भुरा उत्पादनको लागि त अझ् ६–१० डिग्री सेल्सियसबीच तापक्रम भएको पानी चाहिन्छ । कम्तीमा ६ महीनादेखि मात्र उत्पादन लिन सकिने यो माछा दाना खुवाएर पाल्नुपर्ने भएकोले लागत धेरै देखिए पनि यसको बजार असीमित छ । थोरै त्यो पनि कमलो हुने ट्राउट सलादसँग काँचै पनि स्वादिलो–पोषिलो हुने हुनाले यो माछा पारखीहरूमा बढी लोकप्रिय छ ।
 
गण्डकी ट्राउट फार्मले अहिले प्रतिकिलो रु.११०० मा पनि माग धान्न सकिरहेको छैन । भुर्जुङ खोला आसपासमा उत्पादन भइरहेको वार्षिक करीब १०० टन ट्राउट पोखरा शहरलाई नै पुगेको छैन । नुवाकोट र रसुवाका ट्राउट काठमाडौंलाई ‘अचारलाई छोप’ जस्तो मात्र छ । नेपालमा उत्पादन भइरहेको ट्राउटले कुल मागको ३० प्रतिशत मात्र धानिरहेको अमृत गुरुङको अनुमान छ । समग्र पहाडी भेगको क्षमता बराबर उत्पादन गर्ने हो भने नेपाली ट्राउटले दक्षिण एशियाको विशाल बजार पाउँछ, अभाव भनेको केवल उत्पादन हो ।
p51a
 
ट्राउट माछा २० डिग्री सेल्सियस भन्दा
कम तापक्रम हुने सङ्लो पानीमा मात्र हुन्छ।
ट्राउटका भुरा उत्पादनको लागि चाहिने तापक्रम
भने ६–१० डिग्री सेल्सियस मात्र।

जहाँसम्म लगानीको कुरा छ, ट्राउट उत्पादन गर्न नियमित बग्ने एक इन्च पानी बराबर रु.३ लाख लगानी गर्नुपर्छ । अर्थात्, सानो लगानीको ट्राउट उत्पादन महँगो सोख मात्र हुन जान्छ । नेपाल सरकारले इच्छाशक्ति र ज्ञान भएकाहरूलाई ट्राउट पालनका लागि लगानी वातावरण तयार पारिदिने हो भने अर्थतन्त्रमा प्रभाव देखाउने गरिकै उत्पादन हुने कुरामा शंका छैन । रेन्वो ट्राउट फार्म खोल्दा खास गरेर पूर्वाधारमा बढी लगानी गर्नुपर्ने भए पनि दीर्घकालीन मुनाफा निश्चित हुन्छ ।

 

comments powered by Disqus

रमझम