१-१४ कात्तिक २०७२ | 18-31 October 2015

चित्रबाटै चिनारी

Share:
  
- सजना बराल
घर–आँगनको श्रृंगारका लागि कोरिंदै आएको मिथिला चित्रकलाले बजार मात्र पाएको छैन, मैथिलवासीकै पहिचान स्थापित गरेको छ।

तस्वीर सौजन्यः जनकपुर आर्ट एण्ड क्राफ्ट
आजको नेपाल र भारतको नक्शामा मिथिला राज्य भेटिंदैन। तर, इतिहासमा भारतको उत्तरी बिहारदेखि नेपालको तराईमा मिथिला राज्य थियो। जनकपुर राजधानी रहेको मिथिला बौद्धिक, सांस्कृतिक र कलाको दृष्टिले निकै अग्रणी र आधुनिक मानिन्थ्यो। र, आजसम्म मिथिला क्षेत्रले आफ्नो छवि गुमाइसकेको छैन।

चित्रकार एससी सुमन हिन्दू पौराणिक ग्रन्थहरूमा समेत उल्लिखित मिथिला र मिथिला संस्कृति चिनाइराख्न चित्रकलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउँछन्। उनी चित्रकलाकै कारण यही मिथिला अर्थात् जनकपुर र आसपासका भूभागले चिनारी नगुमाएको तर्क गर्छन्। मिथिला चित्रकलामा संलग्न सुमन भन्छन्, “मिथिला चित्रकलाले धनुषा, सिरहा, सप्तरीका साथै उत्तरी बिहारलाई समेत विश्वभर चिनाएको छ।”

नेपाली लोक कलाको हिस्सा मानिने मिथिला चित्रकलाको आफ्नै इतिहास र व्यावहारिक महत्व छ। विशेषतः मैथिल क्षेत्रका बासिन्दाले आफ्नो घर–आँगन, भित्तामा कोर्दै आएको यो चित्रकला पछिल्लो समय व्यावसायिक बन्दो छ।

परम्परागत मैथिल जनजीवन, रीतिरिवाज र पौराणिक घटनावलीलाई मिथिला चित्रकलामा प्रस्तुत गरिएको हुन्छ। यसका प्रतीकात्मक र आध्यात्मिक बिम्बहरू असाध्यै मनमोहक हुने चित्रकार सुमन बताउँछन्। उनी भन्छन्, “अहिले मिथिला चित्रकलामा नयाँ र वर्तमान परिवेश पनि प्रयोग गर्न थालिएको छ।”

नयाँ पुस्ता, नयाँ प्रयोग

एससी सुमनको मिथिला कला।
चाडपर्व वा विवाहलगायत उत्सवमा आँगन र भित्तामा कोरिने मिथिला चित्रकला अहिले लोक्ता (नेपाली कागज), कपडा र क्यान्भासमा पनि उतार्न थालिएको छ। “पहिले घर, गाउँकै सजावटमा चित्र बनाउने चलन थियो”, काठमाडौंको ठमेलस्थित मिथिला ऐन आर्ट ग्यालरीका संचालक एवं चित्रकार श्यामसुन्दर यादव भन्छन्, “अहिले प्रयोग बृहत् बन्दै गएको छ।”

आँगन र पर्खालमा बुट्टा कोर्ने काममा प्रायः महिला सरिक हुन्थे भने माटो र फलामका भाँडामा बुट्टा भर्ने काम पुरुषको भागमा पर्थ्यो। तर, यो श्रृंगारिक कलालाई लोक्ता वा क्यान्भासमा उतार्न थालेयता महिला–पुरुष दुवैको सहभागिता बराबरीजसो छ। यद्यपि, गाउँ–घरमा अझै पनि महिलाहरूले नै कोहबर, बाँस, लट्पटिया सुगा, विधि–विधाता आदि विषयमा चित्र कोर्ने गरेका छन्।

त्यसो त पछिल्लो समय मैथिल मूलबाहेकले पनि मिथिला चित्रकलामा रुचि देखाउन थालेका छन्। “मैथिल चित्रकलामाथि नयाँ पुस्ताले नयाँ–नयाँ प्रयोग गरिरहेका छन्”, मिथिला ऐन आर्टका यादव भन्छन्, “कतिले त आधुनिक कलालाई पनि मिथिलासँग संयोजन गरी नयाँ कला निर्माण गरिरहेका छन्।” यस्तो गर्नेमा वरिष्ठ चित्रकार जितबहादुर रायमाझ्ाीका छोरा प्रतीकलगायत छन्।

बबरमहल, काठमाडौंको सिद्धार्थ आर्ट ग्यालरीकी संचालक एवं क्युरेटर संगीता थापाका अनुसार मिथिला चित्रकलाले काठमाडौं आएर थप प्रसिद्धि कमाएको हो। उनी भन्छिन्, “विभिन्न समुदायका कलाकारले यसमा रुचि देखाइरहेका छन्, देश–विदेशमा पनि यसको माग बढिरहेको छ।” यस्तो हुनुमा मिथिला चित्रकलाको मौलिकता नै कारक रहेको उनको बुझाइ छ।

दुई दशकदेखि चित्र कोर्दै आएकी जनकपुर, श्यामचोककी मदनकला कर्णलाई भने मिथिला चित्रकलाको फरक शैली र यसका विभिन्न मोटिफ (थिम) का कारण यो सर्वप्रिय बनिरहेको लाग्छ। जनकपुर हस्तकला केन्द्रकी संस्थापक मदनकलाले चित्रकला व्यवसायमार्फत १९ जना महिलालाई रोजगारी दिएकी छन्। ललितपुरको कुपन्डोलमा रहेको उनको केन्द्रमा देश–विदेशबाट मिथिला चित्रकलाका लागि माग आउँछ। “अमेरिकामा पनि केन्द्रको शाखा खोलेकी छु”, हाल जनकपुरमै रहेकी उनी भन्छिन्, “रु.१ हजारदेखि रु.८० हजारसम्मका चित्र बेचेकी छु।”

मिथिला, थांका र पौभा जस्ता सांस्कृतिक कलाको प्रवर्द्धनका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसै वर्ष लोक कला विभाग स्थापना गरेको छ। विभागका प्रमुख एससी सुमन ओझेलमा परेका लोक कला र कलाकारको पहिचानका लागि लागिपरेको बताउँछन्। “कति मिथिला कलाकार र कलाकृति गुमनाम छन्”, उनी भन्छन्, “तिनको पहिचानका लागि अनुसन्धानमूलक कार्यक्रम थाल्ने योजना बनाएका छौं।”

बुझाउन बाँकी

मिथिला चित्रकलाको बजार बढेसँगै कलाकारले पनि 'एक्सपोजर' पाइरहेका छन्। देश–विदेशमा मिथिला चित्रकला प्रदर्शनी हुन थालेको छ। आउँदो २७ अक्टोबरदेखि बंगलादेशमा शुरु हुने दुईहप्ते 'टे्रडिशनल आर्ट टे्रनियल' मा नेपालका तर्फबाट श्यामसुन्दर यादवलगायतले भाग लिंदैछन्।

मिथिला लोक कलाको बजार बढे पनि नेपालमा यसले उचित स्थान नपाएको कलाकारको गुनासो छ। “प्रचार–प्रसारको कमीले होला, ठाउँ पाएकै छैनौं”, गाउँगाउँमा मिथिला चित्रकला सिकाउँदै हिंडेकी मदनकला भन्छिन्, “महत्व नै बुझाउन नसकेका पो हौं कि जस्तो लागिरहेको छ।” मिथिला चित्रकलाको महत्व बुझाउनसके देहातका थुप्रै महिला आत्मनिर्भर हुनसक्ने उनको अनुभव छ।

चित्रकार सुमनलाई भने महिलालाई सामूहिक रुपमा काम लगाएर मुनाफा कमाउने तर कृतिमा कलाकारको नामसमेत नराखिदिने संघ–संस्थाप्रति आक्रोश छ। भन्छन्, “यो सरासर शोषण हो।”

राजधानीमा मिथिला वा अन्य लोक कलाको संरक्षणका लागि कुनै संग्रहालय वा ग्यालरी नभएको भन्दै नौ वर्षअघि मिथिला ऐन आर्ट खोलेका श्यामसुन्दर मिथिला चित्रकलाबारे स्नातकोत्तर तह संचालन हुनुपर्ने बताउँछन्। “परम्परागत कलाअन्तर्गत थांका र पौभाबारे पढाइन्छ तर मिथिला चित्रकला पढ्न पाइँदैन”, उनी भन्छन्। त्यसो त मिथिला चित्रकलाको व्यावसायिक प्रवर्द्धन भइरहे तापनि व्यावहारिक रूपमा यसको अभ्यास घटिरहेकोमा पनि उनी दुःखी छन्। मिथिला क्षेत्रका घरहरूको रूप फेरिएपछि त्यहाँ चित्र बनाउने चलन लोप हुन थालेको उनको चिन्ता छ। “सिमेन्ट वा टेराकोटा टायल प्रयोग गरिएका घरका भित्ता र भुईंमा कसरी चित्र बनाउन सकिन्छ भनेर प्रयोग गरिरहेका छौं”, श्यामसुन्दर भन्छन्।

comments powered by Disqus

रमझम