१-१४ कात्तिक २०७२ | 18-31 October 2015

तस्वीरमा दशैं–तिहार

Share:
  
दशैं, तिहारमा टीकाटालो, भेटघाट र खानपिनसँगै तस्वीर पनि अनिवार्य बन्दैछ। अलिकति तरीका पुर्‍याएर खिच्ने हो भने यसले पर्वमा वेग्लै रौनक थप्छ।

तस्वीर पहिले पनि नखिचिने होइन, नेगेटिभ लोडेड एनालगबाट खिचिएका तस्वीर तुलनात्मक रूपमा खर्चिला थिए, र ती तस्वीर अल्बममा बस्थे। डिजिटल र मोबाइल फोनमै जडित क्यामेराले तस्वीर खिच्नु अहिले हातहातको खेल भएको छ र अल्बम बनेको छ, सामाजिक सञ्जाल। आज खिचिने तस्वीर भोलिका इतिहास हुन् र सामाजिक संजाल ती तस्वीरका लाइब्रेरी।

चाडपर्वको संस्कार दर्शाउने गरी संग्रहयोग्य तस्वीर खिच्ने सबैको इच्छा हुन्छ। तर, तस्वीर मस्तिष्कले होइन, प्रविधिले खिच्ने हो, त्यसकारण सबैमा यो सीप नहुन सक्छ। यहाँ केही साधारण उपाय दिइएको छ, जसले हामीलाई मोबाइलको क्यामेरा प्रयोग गरी राम्रो, गुणस्तरीय, सिर्जनशील तस्वीर खिच्न मद्दत गर्छ।

**क्यामेराको गुणस्तर **

तस्वीर खिच्नुअघि मोबाइलको क्यामेराको गुणस्तर जाँच्नुपर्छ। क्यामेराको सेन्सर, फ्ल्यास, गतिशील वस्तुको तस्वीर खिच्न मिल्ने प्रविधिबारे (इमेज स्टेब्लाइजर) थाहा पाउनैपर्छ। दशैं–तिहारको टीकाटालो र भेटघाट धेरैजसो घरभित्रै हुनेभएकाले क्यामेरामै भएको प्रकाश नै पर्याप्त हुने वा अतिरिक्त प्रकाशको व्यवस्था गर्नुपर्ने भन्नेतर्फ ध्यान दिनुपर्छ। टीकाटालो र पर्वका रमाइलोका वेला तस्वीरमा कैद गर्न खोजेको व्यक्ति र तस्वीर खिच्ने व्यक्ति समेत चलिरहेका हुन्छन्। त्यस्तो अवस्थामा मोबाइल क्यामेरामा 'इमेज स्टेब्लाइजर' छ भने तस्वीर भनेजस्तो राम्रो आउँछ।

मल्टिपल सट

खिचिएकामध्ये उत्कृष्ट तस्वीर छान्न एकैपटक दुई–तीन पटक तस्वीर खिच्नु राम्रो मानिन्छ।

जुमको प्रयोग नगर्ने

मोबाइलको क्यामेरामा जुमको व्यवस्था त हुन्छ तर त्यसको जथाभावी प्रयोगले तस्वीरको गुणस्तरमा प्रभाव पार्छ। अलिक परको वस्तुलाई तस्वीरमा उतार्नु छ भने सकेसम्म जुमको प्रयोग नगरी नजिकै गएर खिच्नु सबैभन्दा राम्रो विकल्प हो।

लेन्सको सफाइ

खिचिसकेको तस्वीरमा दाग देखिनु आम समस्या मानिन्छ। तस्वीर खिच्नुअघि लेन्स सफा गर्ने हो भने धेरै हदसम्म यो समस्याबाट छुटकारा मिल्छ। हलुका पातलो सुक्खा कपडाले लेन्स सफा गर्नुपर्छ।

फोकस

फोकस भनेको तस्वीरको सबैभन्दा प्रष्ट देखिने भाग हो। धेरैजसो मोबाइल क्यामेरामा 'टचफोकस' को व्यवस्था गरिएको हुन्छ। तस्वीर खिच्दा स्त्रि्कनको जुन भागमा छोयो स्वचालित रूपमा त्यहीं फोकस हुने प्रविधि नै टचफोकस हो। यसको प्रयोगबाट खिच्न खोजिएको वस्तुलाई फोकस गरी अन्यलाई अस्पष्ट (ब्लर) बनाउन सकिन्छ। खिचिएको तस्वीरलाई सफ्टवेयरको माध्यमबाट पनि ब्लर बनाउन सकिन्छ। तर, पहिल्यै फोकस मिलाउँदा तस्वीर स्तरीय हुन्छ।

क्यामेरा नहल्लाउने

कम प्रकाश भएको ठाउँमा तस्वीर लिंदा प्रकाशलाई सेन्सरमा पुग्न समय लाग्ने भएकाले क्यामेरा स्थिर बनाउनुपर्छ। नत्र तस्वीर ब्लर आउँछ।

पृष्ठभूमि

खिच्न लागेको तस्वीरको पृष्ठभूमिमा के छ भनी हामी खासै ख्याल गर्दैनौं, जसले तस्वीरमा नचाहिंदा चीज घुस्छन्। यसले पूरै तस्वीरको महत्व कम गर्ने मात्र होइन, हेर्नेको ध्यानसमेत अन्तै पुर्‍याउँछ।

फरक कोण

तस्वीरका अनेक कोण हुन्छन्। र, यसको अर्थ पनि फरक हुन्छ। साधारणतया कुनै पनि व्यक्ति वा वस्तुको आँखाको उचाइबाट खिचिएको तस्वीर राम्रो मानिन्छ। साथै कुनै अग्रभूमि (फोरग्राउण्ड) वस्तुहरूको संयोजन (सजेसन) लिएर तस्वीर खिच्दा भिन्नै आनन्द प्रदान गर्छ। जस्तै टेबुलमा राखिएको जमराको सजेसन लिएर टेबुलपछाडिको टीकाटालोको तस्वीर लिएमा तस्वीर झनै सुन्दर देखिन्छ।

सम्पादन

तस्वीरमा सम्पादन आवश्यक पर्छ तर चाहिनेभन्दा बढी सम्पादन गर्नुहुन्न। मोबाइल फोनमै भएका सम्पादनका केही एपको सहयोगले रंगको गाढापन, उज्यालोपना, क्रप गर्ने र फोकस मिलाउनेसम्मलाई ठीक मानिन्छ।

संग्रह

तस्वीर जोगाउनु इतिहास जोगाउनु बराबर मानिन्छ। तस्वीर संग्रह गर्ने पनि केही उपाय छन्। संग्रह गर्दा तस्वीरको वास्तविक (ओरिजनल) फाइल नै अपलोड गर्नु उत्तम हुन्छ। छानिएका तस्वीर जस्ताको तस्तै राखेमा पुनःप्रयोग गर्न सजिलो हुन्छ। तस्वीरको नाम राख्दा कहिले, कुन अवसरमा खिचिएको हो भन्ने कुरा छोटकरीमा लेखेमा पछि खोज्दा चाँडै भेटिन्छ। कम्प्युटरमा जस्तै केही क्लाउड ड्राइभमा समेत तस्वीर संग्रह गर्न सकिन्छ, जसले कम्प्युटर नबोकेका ठाउँमा पनि ती तस्वीर हेर्न सक्छौं।

अपलोड

खिचेका तस्वीर सामाजिक सञ्जालमा अपलोड गर्नु स्वाभाविक बनेको छ। तर अपलोड गर्दा पनि ध्यान पुर्‍याउनुपर्छ। मोबाइल डाटाको सहायताले अपलोड गर्ने हो भने तस्वीरको साइज सानो बनाउनुपर्छ। नत्र धेरै डाटाका कारण खर्चिलो हुन्छ। एकपटकमा बढीमा १५–२० तस्वीर अपलोड गर्दा हेर्नेलाई पनि सजिलो हुन्छ। क्याप्सनमा आवश्यक जानकारी राखे आफू र हेर्नेहरूलाई पनि तस्वीरबारे थाहा पाउन सजिलो हुन्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम