१-१४ कात्तिक २०७२ | 18-31 October 2015

शताब्दी यात्रा

Share:
  
उमेरमा शतक टेकेका टंकप्रसाद र अदितिदेवी समयका साक्षी मात्र होइनन्, सम्बन्धका सेतु पनि हुन्।

सानुबाबु तिमिल्सिना
धादिङ सलाङका टंकप्रसाद सिलवाल (१०१) र अदितिदेवी (९६) को सहयात्रा ८९औं वर्षमा चलिरहेको छ। १९८३ सालमा मागी विवाह गरेका उनीहरू अझै पनि मजाले हिंड्डुल गर्छन्। आँखामा धमिलो छाएको छैन, कानमा समस्या छैन। माया बढ्दो छ।

विवाह गर्दा टंकप्रसाद १२ वर्षका थिए। उनलाई अझै सम्झना छ, लबेदा सुरुवाल, ढाका टोपीमा सजिएर ताम्दान (डोली) मा चढेको र दुई दिन लगाएर बिहे गरेको। “असार १६ गते २०० जन्तीको ताँती लिएर बन्दूक पड्काउँदै बेहुली लिन चैनपुर गइयो”, हँसिलो अनुहारका उनी भन्छन्, “तर, केटी कस्ती छन्, थाहै थिएन। बिहेमा गाउँभरिकालाई जन्तेबाख्रो ख्वाइयो।” अदितिदेवीलाई भने अतीतको त्यति सम्झना छैन। माइतीपट्टिबाट आफ्नो पुस्तामा आफू र एउटी बहिनी मात्र जीवित रहेको बताउँछिन्।

सम्पन्न परिवारमा जन्मे पनि गाउँमा विद्यालय नभएकाले टंकप्रसादले पढ्न पाएनन्। तर, उनले कुराले कुरा र कामले काम सिके। घर–व्यवहार राम्रै चलाए। सन्तान पढाएँ। गाउँमा उनको मान र शान पहिल्यैदेखि छ।

६०/७० वटा गाईबस्तु, ५० भन्दा बढी बाख्रा, भकारीभरि धान–मकै हुने उ वेलाको वर्णन गरेर टंकप्रसाद थाक्दैनन्। “खड्कुँलामा दूध तताउँथ्यौं”, उनी भन्छन्, “अहिले आधा माना दूधले छाक टार्नुपर्छ।” न्याय–निसाफ गाउँमै पञ्च–भलाद्मीले मिलाइदिन्थे।

“विस्तारै गाउँमा मोटर ल्याउने सुरसार भयो”, उनी भन्छन्, “तर, मोटरसँगै गाउँमा चोरी र जालसाजी पनि आए।” उनलाई मोटर चढ्न त्यति मनपर्दैन। “सात दिनसम्म हिंडेर काठमाडौं पुगिन्थ्यो”, उनी भन्छन्, “यताबाट चामल, घ्यू, मासलगायत खानेकुरा लिएर जान्थ्यौं भने उताबाट नून र लुगाफाटो ल्याउँथ्यौं।

अस्पताल काठमाडौंमा मात्र थियो। टंकप्रसाद भन्छन्, “र, पनि मान्छे बाँचेकै थिए।” घामको छायाँ हेरेर समय अड्कल गर्ने त्योवेला कोलाहलको नामसम्म थिएन। “काठमाडौंको टुँडिखेलमा पड्काएको तोपको आवाज गाउँसम्म सुनिन्थ्यो”, उनी सुनाउँछन्।

सिलवाल दम्पतीका पाँच छोरा र पाँच छोरीमध्ये अहिले दुई छोरा र दुई छोरी मात्रै जीवित छन्। दम्पती कान्छा छोरा–बुहारीसँग बसेका छन्। पनाति खेलाउन पाएका छन्।

चौरासी गर्नुअघिसम्म पनि उनी कपडा पसल चलाउँथे। तर, अहिले जानेका कुरा सुनाउने र सिकाउनेतिर सक्रिय छन्। उनलाई हेर्दा लाग्छ, उमेर भन्नु अंकको खेल होइन, स्वस्थ मन हो। आजीवन क्रियाशीलता हो।

सानुबाबु तिमिल्सिना, धादिङ

comments powered by Disqus

रमझम