मनको हिउँद र नयाँ पुस्ताको ऊर्जा

Share:
  
- डा. सरोज धिताल
अरूका अजेण्डा बोकेर बाँच्न तिम्रो पुस्तालाई सुहाउँदैन । अक्षम प्रमाणित भइसकेको अघिल्लो पुस्तालाई सरापेर समय खर्चिनुको पनि कुनै औचित्य छैन ।

प्रिय छोरी,

हिउँदको चिसोले छोड्न लाग्यो । यसपालिको चिसोले कतिको ज्यान लियो, कतिलाई बिरामी पार्‍यो कुन्नि ! मानिसको मनभित्रको हिउँद चाहिं अझै चिसो छ, अझ् धारिलो र भयावह छ । यसले हरेक पुस्ताका मानिसलाई उत्तिकै प्रभाव पारिरहेको, तर्साइरहेको छ । हरेक दिनका घटनाहरूले केही न केही डर देखाइरहेकै छन् ।
 
यो चिसोमा जहिले पनि मलाई एउटा साथीको सम्झ्ना हुन्छ । नेपाललाई असाध्यै माया गर्ने त्यो अमेरिकी मित्र मभन्दा निकै जेठो हो । आफैं बिरामी भएर पनि यो देशका निम्ति धेरै काम गरेको त्यो असल डाक्टरबारे कुनै दिन विस्तारमा तिमीसँग कुरा गरौंला । अहिले जाडोको सन्दर्भमा मैले सम्झेको चाहिं किनभने ऊ मैले हेर्दा हेर्दै बूढो भयो । जति जति बूढो भयो, त्यति नै जाडोसँग तर्सिन थाल्यो । जाडोमा कुनै बेला ढोका बन्द गर्न बिर्सिइएछ भने ऊ चित्त दुखाउँदै भन्थ्यो, “मेरो शरीरले अब पहिले जस्तो ताप सृजना गर्न सक्दैन, बढी जाडो लाग्छ । म बूढो भएँ ।”
 
अहिलेको देशको परिस्थितिले सृजना गरेको कठोर जाडोलाई जित्न पनि ताप चाहिएको छ । अघिल्ला पुस्ताका बूढो भइसकेका मानिसहरूबाट यथेष्ट तातो निस्कन गाह्रो हुन्छ । स्वाभाविक रूपमा युवा पुस्ताको काँधमा फेरि भारी थपिएको छ । तिम्रो पुस्ताले बोक्ने यो भारी कम होस् भनेर हामी पनि अलिकति सघाइदिन सक्छौं कि भनी चाहना र प्रयत्न मात्र गर्न सक्छ, अघिल्लो पुस्ताले । साँच्चै नै चाहने हो भने मानिस नमरुन्जेलसम्म पनि कुनै न कुनै किसिमले हुर्किरहन सक्छ रे ! मलाई पनि त्यो चाहना छ छोरी, मर्नुभन्दा एकक्षण अघिसम्म पनि म सत्य बोध गरिरहन सकूँ, हुर्किइरहन सकूँ र पुस्तान्तरलाई कम गर्ने काममा लागिरहन सकूँ ।
p54
 
तस्वीरः बिलाश राई

मानिसको मनोवैज्ञानिक हुर्काइबारे मनोविज्ञहरूले गरेका कति कुरा रमाइला मात्र हैन निकै महत्वपूर्ण पनि छन् । नवजात शिशुलाई आफ्नो र बाँकी संसार बीच कुनै किसिमको पृथकता बोध नै हुँदैन रे ! भोक लाग्दा वा असजिलो हुँदा ऊ रोइदिन्छ । रुनासाथ आमाले स्तनपान गराउँछिन् वा लुगा फेरिदिन्छिन् । विस्तारै उसले बुझन थाल्छ– आफू बाहिर केही छ जोसँग संवाद गर्नुपर्ने रहेछ । दुई वर्ष पुग्दा नपुग्दै उसको ‘म’ र ‘अन्य’ बीचको पृथकता यति स्पष्ट हुन्छ, ‘म’ वा ‘अहं’ यति बलियो हुन्छ कि संसार नै उसैका लागि उसैको वरिपरि नाच्नुपर्ने ठान्न थाल्छ ऊ । दुई वर्षको बच्चा सिंगै परिवारको शासक जस्तो हुन्छ नि, हैन ?

अनि विस्तारै उसले अरूसँग बाँडचुड गर्न, अरूलाई फकाउन, खुशी पार्न सिक्छ । तीन वर्षपछि कति रमाइला हुन्छन् बच्चाहरू ! किशोरावस्थामा पुग्दा नपुग्दै उसका निम्ति साथीहरू अत्यन्त महत्वपूर्ण भइसकेका हुन्छन् । जीवनमा सबभन्दा महत्वपूर्ण कुरा नै साथीभाइको टोली जस्तो लाग्छ । हुर्काइको यो क्रममा आफ्नो वरिपरिको अस्तित्वबारे, आफ्नै शरीर र मनबारे पनि नयाँ ज्ञान प्राप्त गरिरहेको हुन्छ मानिस । अरूका कुरा सुनेर, पढेर, देखेर आफ्ना धारणाहरूलाई परिमार्जित पनि गरिरहेको हुन्छ ऊ ।
 
यसरी आफ्ना धारणालाई, आफूले बुझेको सत्यलाई परिमार्जन गरिरहन कोही निकै पछिसम्म पनि सक्षम हुन्छन् । कोही चाहिं पहिल्यै थाक्छन् । कोही मानिस त दुईवर्षे बच्चाको त्यो मनस्थितिबाट– ‘अहं’ चुलीमा पुगेको र ‘म’, ‘मेरो’, ‘मलाई’ मात्रको सोचबाट कहिल्यै हुर्किनै सक्दैनन् रे ! समाजसितको सम्बन्धमा ती त्यहीं अड्किन्छन् । भनिन्छ, त्यस्तै मानिस नै तानाशाह हुन पुग्छन् । किशोरावस्थाको साथीसँगीको समूहलाई मात्रै महत्व दिने मनस्थितिबाट हुर्कन नसकेकाहरू चाहिं कालान्तरमा गुटपरस्त हुन पुग्छन्, जसलाई आफ्नो गुट, आफ्नो ‘धर्म’ सम्प्रदाय, परिवार आदि बाहेक अरूको हितको कुनै अर्थ हुँदैन । 
 
जो आफ्नो ‘अहं’को घेरालाई फराकिलो पार्दै अरूको हितसँग आफ्नो हित जोड्न सक्छन्, अरूसँग समानता फेला पार्न सक्छन्, संवाद गर्न सक्छन्– ती स्वस्थ हुन्छन्, तिनको मानसिक विकास अवरुद्ध हुँदैन । यस्ता मानिसहरू साँच्चैका असल गुरु, साँच्चैका अभिभावक वा असल नेता हुनसक्ने सम्भावना बढी हुन्छ । उनीहरू आफूले बुझेको ‘सत्य’को चित्रलाई परिमार्जित गर्न जहिल्यै तयार रहन्छन् । आफूले बुझेको भन्दा यथार्थ फरक छ भन्ने प्रमाण पाउने बित्तिकै पहिलाकै कुरामा झुण्डिरहनु आवश्यक ठान्दैनन् ती । न त अरूको विवेकहीन दबाबका कारण लहैलहैमा नै लाग्छन् ।
 
सदा जाग्रत अवस्थामा रहन प्रयत्न गर्ने यस्ता मानिसहरू परिवर्तनशील संसारसँग सुन्दर संयोजनमा गतिशील हुँदै अघि बढ्न तयार हुन्छन् । ती कुनै हालतमा यथास्थितिवादी हुन सक्दैनन् । त्यसैले जोखिम मोलेर ती विद्रोह गर्छन् । तिनको विद्रोहमा जीवनप्रेम हुन्छ, सौन्दर्यबोध हुन्छ, तर विध्वंस हुँदैन । उनीहरू सत्यप्रति समर्पित हुन्छन्, आफूले बनाएको ‘सत्य’को चित्रप्रति हैन । सत्य र आफ्नो आस्था एउटै कुरा हैन । कसैको पनि ‘आस्था’ भनेको निश्चित कालखण्डमा सत्यबारे उसले बुझेको, ग्रहण गरेको वा उसले आफैंले कोरेको सत्यको चित्र मात्र हो । सत्य त क्षितिजको त्यो दिग्दर्शक प्रकाशपुञ्ज हो जसले लगातार दिशाबोध गराइरहेको हुन्छ, अगाडि बढ्न आह्वान गरिरहेको हुन्छ । त्यो प्रकाशतिरको यात्रामा रहने मान्छे हरेक पाइलापछि रोमाञ्चित, आह्लादित हुन्छ र भन्छ– ‘ओहो सत्य त मैले बुझेको भन्दा महान रहेछ, सुन्दर रहेछ ।’ यसरी ऊ लगातार सत्यको दिशामा हिंडिरहन्छ ।
 
कहिल्यै नटुङ्गेला जस्तो देशको यो लामो अँध्यारो हिउँदमा प्रकाश र ताप जन्माउन त्यस्तै मानिसहरूको खाँचो छ । त्यो ऊर्जा, त्यो इच्छाशक्ति, त्यो लगन र त्यो उत्तरदायित्वबोध भएको नेतृत्व जन्माउन हाम्रो पुस्ताले सकेनछ जस्तो लाग्दैछ अचेल मलाई ।
 
नयाँ विचारहरू त्यही युगको यथार्थ र आवश्यकता अनुरुप जन्मिएका हुन्छन् । अति सुन्दर र तर्कसंगत लाग्ने तत्कालीन विचारहरू समयानुकूल परिष्कृत भएनन् भने कालान्तरमा तिनमा ढुसी लागे जस्तो हुनु अस्वाभाविक हैन । महान व्यक्तिहरूलाई सम्मान गर्नुको अर्थ संसार अर्कै युगमा प्रवेश गरिसक्दा पनि, सामाजिक परिवेश पूर्णतया बदलिइसक्दा पनि, तिनले बोलेका शब्दहरूको अक्षरशः पालना गर्न खोज्ने निरर्थक प्रयास वा बहानाबाजी गर्नु कदापि हैन । यसो गर्दा त ती महान गुरुहरूको अवमूल्यन र अपमान पो हुन्छ । अहिले, यति बेला, गुरुहरूको यस्तै अपमान भइरहेको छ । र, यो अपमानसँगै जीवनमुखी समाज परिवर्तन अवरुद्ध भइरहेको छ । हेर  न ! तिमीभन्दा पछिका पुस्तालाई समेत ढुसी परिसकेका सोचहरूको बन्दी बनाएर सडकमा घचेटिदिने, निरर्थक तोडफोड र खुकुरी हानाहान गराउने पापकर्मले निरन्तरता पाइरहेको छ । तिम्रो पुस्ता वा अलि अगाडिका आन्दोलनकारीहरूको संस्मरणमा म देख्छु– कसरी उनीहरूको मनको आँगनमा सपनाका बिरुवा रोपिए, कसरी ती झयाङ्गिए, अनि एक दिन घरै मिच्ने गरी अजङ्गका भएका ती रूखहरू ढालिए ।
 
छोरी, अब अरूका अजेण्डा बोकेर बाँच्न तिम्रो पुस्तालाई सुहाउँदैन । अक्षम प्रमाणित भइसकेको अघिल्लो पुस्तालाई सरापेर समय खर्चिनुको पनि कुनै औचित्य छैन । यो वैचारिक हिउँदलाई चिरेर अगाडि बढ्न तिम्रो पुस्ता सक्षम छ । किनकि त्यो ऊर्जा, इच्छाशक्ति र लगन, त्यो उत्तरदायित्वबोध भएको नेतृत्व जन्माउन तिमीहरूकै पुस्ताले सक्छ । हामीलाई पनि उचाल्न सक्ने भारी दिन भने नबिर्सनु ।
 
सधैंभरिको मेरो शुभकामना ।
 
बुबा

 

comments powered by Disqus

रमझम