१६-२९ माघ २०६९ | 16-29-Magh-2069

राजवको नयाँ कथासंग्रह

Share:
  

कथाकार राजवको पाँचौं कथा संग्रह ‘कमरेड ड्राइभर’ प्रकाशित भएको छ । राजवका कथामा देश–विदेशका नेपाली समाज र राजनीतिका क्रूरतम यथार्थहरूलाई कलात्मक स्पर्शका साथ सजीव रूपमा उतारिएका हुन्छन् । कथालेखनमा विशेष गद्यशैली, दृष्टिकोण र कथ्य छनोट भएका राजवले पाठकलाई आफ्नै किसिमको संवेदित उचाइमा पुर्‍याउँछन् । सांग्रिला बुक्सबाट प्रकाशित राजवको ‘कमरेड ड्राइभर’मा समाज र राजनीतिका विसंगतिसँगै सबाल्र्टन जीवनका यथार्थहरू पर्गेलिएका १६ कथा समेटिएका छन् । 


झन् बिच्किए चलचित्रकर्मी  

p63a
 
करिश्मा मानन्धर र शुभद्रा अधिकारी।तस्वीर: ऋषिराम कट्टेल

नेपाल चलचित्र विकास बोर्डमा चलचित्रकर्मीकै नेतृत्व हुनुपर्ने लगायतका ९ बुँदे माग राख्दै आन्दोलन गरिरहेका कलाकारहरू सरकारले धर्मेन्द्र मरवैता (पप्पु) लाई बोर्ड अध्यक्षमा नियुक्त गरेपछि झ्नै बिच्किएका छन् । 

२५ पुसदेखि आन्दोलनरत १४ संघसंस्था आबद्ध संयुक्त संघर्ष समितिले अहिलेसम्म कालो पट्टी लगाएर सडकमा आउनेदेखि विकास बोर्डमा ताला लगाउने र रिले अनसनसम्मका कार्यक्रम गरिरहँदा संचारमन्त्री राजकिशोर यादवको सिफारिसमा मन्त्रिपरिषद्ले १२ माघमा पप्पुलाई नियुक्त गरेको हो । “हाम्रो माग विपरीत बोर्डमा फेरि पार्टी कार्यकर्ता भर्ति गरिएको छ”, संयुक्त संघर्ष समितिका अध्यक्ष नवल खड्का भन्छन्, “अब हामीसँग पप्पुजीलाई बोर्डमा पस्नै नदिने, देशभरका फिल्म हल ठप्प पार्ने, सुटिङहरू रोक्ने लगायतका सशक्त विरोध कार्यक्रमको विकल्प रहेन ।” 

मण्डलामा माइलाको, मनोदशा

p63c
 
तस्वीर: ऋषिराम कट्टेल

चिया पसलकी साहुनी र कामदार माइलाबीच हुने दैनिक सहकार्यको प्रभाव केलाइएको नाटक माइला डट कम अनामनगरस्थित मण्डल थिएटरमा जारी छ । माघ ६–२० सम्म मञ्चन हुने यो नाटकमा काम गर्ने क्रममा अधबैंसे साहुनीले गरेको दयामायालाई माइलाले प्रेमको रूपमा बुझन थाल्छ । यसरी जवान माइलाको यौन मनोदशा केलाइएको रोचक नाटकमा राजन खतिवडा र सिर्जना सुब्बाले (हे. तस्वीर) कुशल अभिनय गरेका छन् । यही कारण, दयाहाङ राईद्वारा लिखित÷निर्देशित माइला डट कम को १७औं प्रदर्शनले पनि राम्रै गरी दर्शक पाइरहेको छ । 


गफ मात्रै  !

p63b
 
 

आफ्नो ‘करिअर’को निर्णायक हुनपुगेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परेपछि नायिका प्रियंका कार्कीबाट तातिने आशा गरिएको नेपाली फिल्म बजार सेलाउन थालेको छ । मिस टिन २००५ रहेकी उनी ‘नेपाली फिल्ममा जम्नकै लागि’ श्रीमान्लाई अमेरिकामा छाडेर नेपाल फर्केकी थिइन् । तर, ‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी प्रियंकाको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । अब प्रियंकाले उत्तेजक तस्वीर र त्यस्तै गफको सहारा लिन्छिन् कि अभिनय तिखार्छिन्, उनको ‘करिअर’ त्यसैमा निर्भर देखिन्छ ।

 

 

 

comments powered by Disqus

रमझम