तिलौराकोटको समाचार !

Share:
  
- आनन्द पी राई
p64
 
लुम्बिनीको 'सेन्ट्रल क्यानल'मा स्टिमर यात्रा।
तस्वीर: आनन्द पी राई

शाक्यमुनि बुद्धप्रति बौद्धमार्गी मात्र होइन, संसारका अरू धर्मावलम्बीहरू पनि नतमस्तक हुन्छन् । उनको छविले नास्तिकलाई समेत शान्तिको अनुभूति गराउँछ । यस्ता विश्व धरोहरको जन्मस्थल लुम्बिनी पुग्न चाहने मानिस विश्वमा करोडौं छन् । यही कुरालाई मनन गरेर सरकारले डेढ करोड रुपैयाँ खर्चेर चलाएको लुम्बिनी भ्रमण वर्ष–२०१२ को समापन २ माघमा प्रधानमन्त्री बाबुराम भट्टराईले गरे ।

समारोहस्थलमा बाँडिएको बुटवलबाट प्रकाशित एउटा दैनिकको समाचार यस्तो थियो– ‘१५ दिन ढिलो गरी शुरू भएको लुम्बिनी भ्रमण वर्ष २०१२ त्यत्ति नै दिनपछि आज समापन हुँदैछ । ...उद्घाटन राष्ट्राध्यक्षले गर्नुभयो भने समापन कामचलाउ प्रधानमन्त्रीले गर्दै हुनुहुन्छ । भ्रमण वर्ष समापनका लागि लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति मन्त्री एवं माओवादी नेता गोपाल किराती सोमबार साँझ् लुम्बिनी आइपुग्नुभएको छ ।’ मञ्चमा भने प्रधानमन्त्री भट्टराईसँग पोहोर जेठमै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका पोष्टबहादुर बोगटी विराजमान थिए । यो समाचारबारे लुम्बिनी विकास कोषका एक पदाधिकारीको प्रतिक्रिया यस्तो थियो, “मिडियाले जहिल्यै यसै गर्छ ।” 
 
यसले एकातिर ‘अलिकति निर्देशित, अलिकति सिर्जित’ शैलीमा चल्ने हालका कोष पदाधिकारीहरूले लुम्बिनीको विकासमा मिडिया परिचालन गर्न र आफ्नै कामहरू बुझउन समेत नसकेको देखाउँछ भने अर्कातिर मिडिया पनि लुम्बिनीबाट टाढिएको देखाउँछ । यसरी आफ्नो सम्पदाप्रतिको सरोकारबाट टाढिंदा भारतको ‘पब्लिसिटी स्टन्ट’ मा फँस्ने खतरा देखिएको छ । जस्तो, भ्रमण वर्ष समापनको अवसरमा त्यहीं भएको बौद्ध सम्मेलनमा प्रोफेसर रविन कनिंघाम लगायतका ‘अथरिटी’ विद्वानहरूले बौद्ध धरोहरहरूबारे प्रस्तुत गरेका कार्यपत्रहरू समाचारका विषय बनेनन्, त्यही अवधिमा बुद्धमाया होटलमा आयोजित प्रदर्शनीमा उत्तरप्रदेश पर्यटन बोर्डले राखेको शुद्धोधनको दरबार अलिगढवामा थियो भन्ने प्रचारले महŒव पायो । यस्तो प्रायोजित दाबीलाई हामीले कतिञ्जेल हेडलाइन बनाइरहने ?
 
सिद्धार्थ गौतम नेपालको लुम्बिनीमा जन्मे, १९ वर्षे राजसी जीवनपछि कपिलवस्तुको तिलौराकोट दरबारबाट महानिभिषक्रमण गरेर भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे । त्यसपछिको समयमा उनी संभवतः दुई पटक पिता शुद्धोधनलाई भेट्न तिलौराकोट आए । दरबारमा नबस्ने हुनाले बुद्धको बिसौनी हुन्थ्यो– आज नेपालको सीमामा पर्ने भारत, उत्तरप्रदेशस्थित पिपरहवाको अलिगढवा र गनवरिया । बुद्धको महापरिनिर्वाणपछि यी ठाउँमा शाक्यहरूले बिहार (दरबार हैन) बनाए, जसको उत्खनन सन् १९७१–७६ मा भयो । बौद्ध साहित्य र पुरातŒवविद्हरूले सप्रमाण भनेका कुरा यिनै हुन् । 
 
खासमा, नेपालले आफ्नो चामल नबिकाउँदा भारतले पीठो बिकाउन खोजेको मात्र हो । यसका लागि उसले अलिगढवा र गनवरिया (जेतवन विहार) मा लगानी पनि गरेको देखिन्छ । तर, नेपालले आफूतिरको विश्व सम्पदामा न लगानी गरेको छ न त सही प्रचार । रामग्राम, देवदह आदि सम्पदाको संरक्षण, सम्बद्र्धन र योजनाबद्ध विकास तथा तिलौराकोटको थप उत्खननको त कुरै छाडौं लुम्बिनीलाई नै दानपात्र बनाइएको छ, सधैं अरूले दाम हालिदिनुपर्ने । लुम्बिनी विकास परियोजना, विकास समिति हुँदै विकास कोषसम्म आइपुग्दा लुम्बिनीमा भइरहेको सरकारी लगानीले त्यही देखाउँछ ।
 
सन् १९७० मा लुम्बिनी विकास परियोजना बन्दा यसका लागि चाहिने रु.६ करोड दाताहरूबाटै जुटाउने ध्येय राखिएकोमा लुम्बिनी भ्रमण वर्ष– २०१२ को प्रमुख उद्देश्य पनि ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको प्रमुख तीर्थस्थलको रूपमा विकास गर्ने र यसका लागि राष्ट्रिय–अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्ने’ रह्यो । प्रोफेसर केन्जो टाँगेको लुम्बिनी गुरुयोजनालाई संयुक्त राष्ट्रसंघले स्वीकृत गरेको चार दशकमा वार्षिक सरकारी लगानी जम्मा रु.११ करोड छ । कोष भने रु.७ अर्बको योजना बोकेर बस्न बाध्य छ ।
 
र पनि, सकारात्मक दृष्टिले हेर्दा लुम्बिनीमा धेरै काम भएको देखिन्छ । गुरुयोजना अनुसारका तलाउ र उद्यानहरू धमाधम बनिरहेका छन् । अघिल्लो वर्षको तुलनामा सन् २०१२ मा लुम्बिनी आउने देशी–विदेशी तिर्थालुको संख्या ह्वात्तै बढेको छ । यसमा पनि नेपालीको संख्या त तीन लाख नौ हजार ५७० बाट पाँच लाख ३९ हजार २१० पुगेको रहेछ । यसले भ्रमण वर्षको अवधिमा देशभित्र र बाहिर भएको प्रचार–प्रसारले काम गरेको भन्न र आउँदो समयमा थप परिणाम देखिने आशा गर्न सकिन्छ । यसका लागि कोष बढी पारदर्शी र मिडियामैत्री हुँदा राम्रो !
comments powered by Disqus

रमझम