१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

अनर्थशास्त्र

Share:
  
- महेश थापा
अर्थोकमा पिछडा भए'नि अर्थ्याउने विद्यामा हामी नेपालीलाई सितिमिति कसैले नभ्याउने हुँदा कसैलाई गुरु थापेर समयको सत्यानाश गर्ने टन्टा सर्वथा व्यर्थ छ।

भानु भट्टराई
'अर्थशास्त्र' शब्दसँगको पहिलो जम्काभेटमा मलाई लागेथ्यो– यो फगत अर्थ्याउने शास्त्र हो। तर, यो त धनको विज्ञान पो भएको कसैले बताउँदा म शिवनाम धारी मन थाम्न नसकी नन्दी झैं ढलक–ढलक ढल्किंदै यसको पछि लागेथें। शुरूमा त झ्न् बुझयो, झ्न् कठिन भएर दोजात्रै भयो।

हुन पनि, जिम्मुवाल अड्डामा ढसमसिएका घागडानहरूले आवधिक योजना र वार्षिक बजेटमा किटेका आर्थिक वृद्धि एवं विकासका धुवाँधार लक्ष्यहरू समयक्रममा लम्पसार पर्न थाल्छन्। पाता कस्ने भनिएको मुद्रास्फीति र बेरोजगारी दर भने सालिन्दा गोमन सर्प माफिक डरमर्दो फणा फिजाएर मर्छ। फुकाउन खोजेको जिनिस सुक्नु र बैठाउन खोजिएको चिज बेपत्तासँग उठ्नुको फन्डाले चाहिं मलाई यो अर्थ न बर्थको शास्त्र हो जस्तो लाग्न थाल्यो। अर्थात्, खरीझैं घोट्दा पनि अर्थशास्त्रको कखरा मेरो बोधो खोपडीमा घुसेन।

अघि पीपलको फेदमा बसेर माड्सा'बले मोलुवा खैनीको धूलो उडाउँदै जर्ती अर्थशास्त्र (ह्रास कट्टी) पढाउँदा उति ध्यान दिइएको थिएन। गुरुवरको बुझाउने प्रयत्नहरूसँगै त्यसको उपयोगिता ऋणात्मक हुँदा हामी पछिल्लो ढोकाबाट लुसुक्क कक्षा 'बंक' गर्दिन्थ्यौं। 'अन्य कुराहरू यथावत् रहेमा' भन्ने प्रतिबन्धात्मक वाक्यांशमा लोभिएर अर्थशास्त्रसँग पारपाचुके मात्र गरिएन। जटिल विषय भए पनि एकबाजी प्रमाणपत्र हत्याउन पाए सडक छाप ज्योतिषी माफिक अन्टसन्ट भविष्यवाणी गरेर धन्दा चलाउने सुविधा अरू विधामा शायदै मिल्थ्यो!

खुला बजारमा माग र पूर्तिको रेखा बीच सम्मिलन भएपछि मूल्य निर्धारण हुने कुरा बेस्कन घोकियो। गोज्याङहरूको हूलमा ठालु पल्टिन त्यही कुरा बेपत्ता खोकियो पनि। सन्तुलनको विन्दु फेला पर्नुअघि मूल्यमा आउने उहापोहले निम्त्याउने माग र आपूर्तिको असन्तुलन दर्शाउन माकुरीको जालो जस्तो रेखाचित्र कोर्न घुँडाको छाला खुइल्याइयो। तर, यता बजारमा माग र पूर्तिको धक्कामुक्कीले नभई साहुजीको 'मूड' ले मूल्य निर्धारण हुँदोरहेछ। बजारमा मूल्य त साहुजीको मूडमा राम बसेको छ कि हराम चढेको छ भन्ने कुराले निर्धारण गर्दोरहेछ।

गुरुवरहरूले कुनै वस्तुको मूल्य बढ्दा मान्छेहरू त्यसलाई प्रतिस्थापन गर्ने वस्तुतिर लहसिने मागको छड्के लोच सम्बन्धी मन्त्र बताएका थिए। त्यसक्रममा चियाको मूल्य बढे कफीको माग बढ्ने उदाहरण ठेल्थे, गुरुहरू। तर, अहिले पेट्रोलको हाहाकार भई मूल्य चुलिएको वेला न भटभटेलाई साइकलले प्रतिस्थापन गर्‍यो न त तेलखटराको सट्टा बिजुलीगाडी चलाउने चाँजो मिलाउने जाँगर देखियो। बरु देखियो दुई किलोमिटर परको ससुरालीमा टीका थाप्न पैदल वा साइकलमा जानुको साटो चार किमी लामो पेट्रोलको लाइनमा रातभरि धर्ना कसेको। यो फुर्तीको समाजशास्त्रसँग अर्थशास्त्रीय सिद्धान्तको मिलान कसरी हुन्छ भनी कसले बताइदिने?

हाम्रो जस्तो धिकिर–धिकिर अर्थतन्त्र भएको देशको बजार करिबन अल्पाधिकार हुने मेरो बुङ्गो हिसाब छ। बजारको प्रकृति पूर्ण/अपूर्ण प्रतिस्पर्धात्मक वा अल्पाधिकार जे–जस्तो भए'नि सिन्डिकेटको जादूले तुरुन्त एकाधिकारको चोला फेर्ने सत्य बिर्सेर एकोहोरो कोरा सिद्धान्त फलाक्नुको अर्थ भने कतै गोचर भएर मर्दैन। कदाचित् भाउ घटिहाले सटराँ ताल्चा ठोक्ने र भाउ उर्लेको वेला डकैतीमा उत्रने सुनचाँदी व्यापारीहरूको सिको सप्रेको बिरलाकोटी बजारको व्याख्या गर्न एडम स्मिथको पनि पिताम् नचल्ला!

विकास योजना र लक्ष्यहरू ओसिएको पटाका झैं फुस्स भइरहँदा हामी मान्छे निर्यात र धनियाँको पत्तादेखि दाँत कोट्याउने सिन्कोसम्म आयात गरिरहेका छौं। यस्तो कठैबरी अर्थतन्त्र निर्माणमा अहोरात्र डट्ने अर्थशास्त्र/शास्त्रीहरूको सम्झ्ना मात्रले दिमाग खराब गराउँछ। यता हाम्रा नेतागण कुनै वस्तुको उपभोग बढ्दै गएर एउटा विन्दुमा पुगेपछि त्यसको उपयोगिता क्रमशः घट्ने अर्थशास्त्र विपरीत ज्यामितीय हिसाबले पदलोलुप भएर गएको मोतिया विन्दु छिप्पिएको आँखाबाट पनि छिप्न सकेको छैन। नेताज्यूहरूको चाला हेर्दा लाग्छ, तुलसीको मठमा सुताएर गंगाजल पिलाउँदा पनि यिनले थप एक बाजी कुर्सीमा नबसी वैकुण्ठ यात्रा गर्न नसक्ने अड्डी कस्ने छन्।

विछट्टको नयाँ नेपालमा अर्थशास्त्रको कुनै नियमको दाल गल्दैन। अन्य कुराहरू यथावत् रहँदा पनि छिमेकी साँढले घोर्‍याइँ देखाउनासाथ हाम्रो अर्थशास्त्र हड्बडाएर अर्थहीन बन्ने हुँदा हाम्रा अगाडि यो जे भए'नि दुनियाँको लागि केवल अनर्थशास्त्र हो।

comments powered by Disqus

रमझम