१-१५ साउन २०६९ | 16-30 July 2012

उद्यमीका आर्थिक टिप्स

Share:
  
b1
उद्यमीका आर्थिक टिप्स 
उद्यमीका आँखामा अर्थतन्त्र 
लेखक : विनोद चौधरी 
प्रकाशक : सिजी फाउन्डेसन 
मूल्य : रु.१००,
पृष्ठ : २१६+ 

 

सकारात्मक सोच र प्रयत्नबाट देशमा आर्थिक परिवर्तन ल्याउन सकिनेमा विश्वस्त छन्, उद्योगपति विनोद चौधरी। युवा नेपालीले भित्र्याउने रेमिटेन्ससँगै मुलुकभित्र बढ्दो आन्तरिक तथा बाह्य पर्यटकीय गतिविधि र गाउँ–गाउँमा शुरू भएका विभिन्न आर्थिक क्रियाकलापबाट उनी उत्साहित छन्। उनको हिसाबमा अब केही व्यवस्थापकीय कार्यहरू मात्र बाँकी छन्, जसले सुस्त व्यवस्थापकहरूलाई विस्थापित गरेर समृद्धिको अभिलाषा पूरा गर्न सकोस्। 

एक सफल उद्योगी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको अध्यक्षको हैसियतमा सार्वजनिक चौधरीका अभिव्यक्ति, अन्तरवार्ता र लेख रचना समेटिएर हालै प्रकाशित उद्यमीका आँखामा अर्थतन्त्र नामक पुस्तक नेपालको अवसर र संभावनाहरूको सँगालो नै बनेको छ। पुस्तकमा एउटै व्यवसायमा लगानी गरे पनि सरकारी असफल र निजी क्षेत्र सफल हुनुमा मुख्यतः व्यवस्थापन पक्ष नै कारक रहेको उल्लेख छ। सरकारी उद्योगहरू दिनदिनै धरासायी हुनुमा राज्यको अकर्मण्यता जिम्मेवार रहेको चौधरीको ठम्याइ छ। सरकारले निजी क्षेत्रलाई आर्थिक समृद्धिको सहयात्री नठानी प्रतिस्पर्धीको व्यवहार गरेको गुनासो पनि पुस्तकमा छ। 

आफू सभासद् रहेका बेला संसद्मा प्रवेश भएका आर्थिक नीतिहरूलाई तुहाउन भएका खेलबारे पनि उनले लेखेका छन्। लगानी बोर्ड सम्बन्धी विधेयक पारित हुनै नदिन लागिपरेको समूहले पारित भइसकेपछि पनि त्यसलाई निस्तेज पार्न प्रयास गरेको प्रसङ्ग घतलाग्दो छ। 

मुलुकको अर्थतन्त्र सुदृढ बनाउने हरेक कदमलाई राष्ट्रवादको आडमा रोक्ने काम भएको र त्यसबाट नेपाल र नेपालीलाई ठूलो हानि पुगेको चौधरीको निष्कर्ष छ। लेखकले आर्थिक कूटनीतिका लागि राखिएका नेपाली वाणिज्य दूतहरूको भूमिकादेखि विश्व आर्थिक संकटसम्मको विषयमा कलम चलाएका छन्। यद्यपि आफ्ना स–साना समस्या सुल्झाउन पनि सरकारकै मुख ताक्ने लगायतका निजी क्षेत्रको कमजोरीबारे भने चार खण्डको किताबमा केही उल्लेख छैन।


प्रभात भट्टराई 



नेपाली भाषीलाई सजिलो 

b2
अमेरिकामा बसोबास 
लेखक/सम्पादकः राजेश कोइराला/डग हल 
प्रकाशकः ज्ञान ज्योति केन्द्र, (अमेरिका) 
मूल्यः १४ डलर,
पृष्ठः २२४+४ 

अमेरिकाले अप्रिल २०१२ सम्ममा ५३ हजार ३३२ जना नेपाली मूलका भुटानी शरणार्थीलाई आफ्नो भूमिमा पुनर्वास गराएको छ। अन्य प्रयोजन र प्रक्रियाबाट अमेरिका पुग्ने नेपालीको संख्या पनि निरन्तर बढिरहेको छ। तीमध्ये शिक्षितहरूलाई अमेरिकामा घुलमिल हुन, त्यहाँको संस्कृति र तौरतरिका बुझन गाह्रो नभए पनि अल्पशिक्षित र निरक्षरहरूलाई निकै समस्या पर्छ। यही कुरालाई ध्यानमा राखेर म्यानचेस्टरको न्यु ह्याम्पसायरस्थित पत्रकार राजेश कोइराला र समाजसेवी डग हलले अमेरिकामा बसोबास नामको सहयोगी पुस्तक निकालेका छन्। 

१९ खण्डको पुस्तक प्रकाशनमा सनत आचार्य, तारा आचार्य, होम क्षेत्री र संस्थागत रूपमा लुथरन सोसल सर्भिसेज् तथा न्यू ह्याम्पसायर च्यारिटेबल फाउण्डेसनको विशेष सहयोग रहेको छ। किताबको नेपाली खण्ड न्यू ह्याम्पसायरबाट 'अक्षरिका' न्यूजलेटर प्रकाशित गरिरहेका पत्रकार कोइरालाले लेखेका हुन् भने अंग्रेजी खण्ड डग हलले। शरणार्थी पुनर्स्थापनामा संलग्न संघ–संस्थाहरूले आफूले पनि बुझने भाषामा लेखिएको सामग्री बाँड्न बढी तत्पर हुने र अंग्रेजी भाषा सिक्दै गरेका नेपालीभाषी पाठकका लागि शैक्षिक सामग्री समेत हुने हिसाबले पुस्तकमा अंग्रेजी खण्ड पनि राखिएको लेखक–सम्पादक कोइरालाले खुलाएका छन्। किताब लेख्नुअघि सतन, राजेश र डगले न्यू ह्याम्पसायर र नर्थ क्यारोलाइना पुगेका भुटानी शरणार्थीहरूसँग छलफल गरेका तथा छलफलका सहभागीले अमेरिकामा बसोबास गर्न के कस्ता विषय जान्नुपर्छ र किताबमा के कस्ता कुरा लेखिनुपर्छ भनेर ६०० भन्दा बढी सुझाव दिएका थिए। 

अमेरिकामा बसोबास गर्न गइसकेका वा जान लागेका, खासगरी अंग्रेजी कमजोर भएका, नेपालीभाषीलाई उपयोगी हुने किताब सित्तैंमा पढ्न, सार्न वा प्रिन्ट गर्न मिल्ने 
गरी इन्टरनेटको साझा डोमेनमा पनि राखिएको छ।


 

 
श्यामश्वेत जीवनका कथा 

b3
सेतो धरती 
लेखकः अमर न्यौपाने 
प्रकाशकः फाइनप्रिन्ट आइएनसी 
मूल्यः रु.३५०,
पृष्ठः ३७३+१० 

पानीका घाम उपन्यासका लागि २०६६ सालको पद्मश्री साहित्य सम्मान विजेता अमर न्यौपाने नेपाली आख्यानमा निकै ठूलो सम्भावना बोकेका प्रतिभा हुन्। दोस्रो उपन्यास सेतो धरती मार्फत उनी अझ् ठूलो आत्मविश्वासका साथ फेरि प्रकट भएका छन्। मरुभूमि जस्तो निरस तथा अनुत्पादक बिम्व बोकेको सेतो धरती शैली, दर्शन, प्रस्तुति तथा विषयवस्तुको दृष्टिले अब्बल दर्जाको कृति बनेको छ। महाभूकम्प आएको वि.सं. १९९० मा कास्कीको सेरोफेरोमा जन्मिएकी ताराको २०६८ सालसम्मको जीवनवृत्तलाई भित्री तहदेखि खोतलिएको छ, सेतो धरती मा। सात वर्षमा बिहे र ९ वर्षकै उमेरमा विधवा भएकी ताराको बालमनोविज्ञान र यौवनावस्थाको अनुभूतिदेखि अस्ताचलसम्मको विशिष्ट अन्वेषणले विशेष बनाएको छ, उपन्यासलाई। 


तत्कालीन परिवेशमा नारी, विशेष गरी विधवालाई हेर्ने सामाजिक दृष्टिकोणलाई यो उपन्यासले सशक्त ढंगबाट उजागर गरेको छ। सामाजिक नियम तथा मान्यताहरू जे भए पनि हरेक मान्छेको आदिम मनोवृत्ति एकै प्रकारको हुन्छ भन्ने सत्यलाई उपन्यासकारले जीवनवादी दार्शनिक कोणबाट सरस प्रस्तुत गरेका छन्। स्थानीय भाषा प्रयुक्त संवादले उपन्यासलाई जीवन्त त बनाएको छ नै, सँगसँगै समकालीन संस्कृति, परम्परा तथा रहनसहनको अभिलेखीकरण पनि भएको छ। यस अर्थमा सेतो धरती उपन्यास भावी पुस्तालाई समाज विज्ञान बुझने धेरै उपहार पनि भएको छ। 

सकारात्मक जीवन दर्शन यस उपन्यासको सबभन्दा महत्वपूर्ण विशेषता हो। ताराले विधवा हुँदा, सतीप्रथाको कथा सुन्दा, आफन्तबाट तिरष्कृत हुँदा वा जीवनका असंख्य दुःखपीडा र कुरुप झै लाग्ने जीवन बाँच्दा पनि हमेशा आफूलाई भाग्यमानी नै ठान्दै सामाजिक परिवेशलाई सकारात्मक रूपमा ग्रहण गर्छे। उपन्यासका अन्य पात्रहरू पवित्रा, जमुना, गोविन्द आदिको उपस्थिति र जीवनवृत्ति पनि निकै लयात्मक लाग्छन्। उपन्यासकारले मानिसको जीवनलाई प्रकृति, पर्यावरण, चेतन/अचेतन आकांक्षा आदिको अनेक रोचक विम्बहरूमार्फत केस्राकेस्रा केलाइएका छन्। एउटा मान्छेको बाल्यावस्था, यौवनावस्था, प्रौढावस्था र वृद्धावस्थासम्मको यात्रालाई उपन्यासले कतै सचेतन त कतै मानसिक अवचेतनको पुट दिंदै छर्लङ्ग पारेको छ। 

केन्द्रीय चरित्र तारासँगै अन्य पात्रहरूको उपस्थिति निकै सशक्त छन्। जीवनका गोरेटोहरूमा आ–आफ्नो जिन्दगी आफ्नै पाराले भोगेका उनीहरू अन्ततः जिन्दगी भोगेर देवघाटमा आश्रय लिन आइपुग्छन्, कोही निरुपाय भएर, कोही जोडीसँगको वियोग सहन नसकेर त कोही आफ्ना सन्तानबाट तिरष्कृत भएर। यसरी देवघाट सबैले जीवनको उत्तरार्द्ध विसर्जन गर्ने चौतारोभएको छ। उपन्यासकारले सम्पन्न, विपन्न सबैको गन्तव्य अन्तिममा एउटै हुने सन्देश दिन चाहेका छन्। विषयको प्रभावशाली उठान र बैठान भएको उपन्यासका प्रत्येक खण्ड पाठकलाई नयाँ झ्ट्का दिएर अर्का खण्डमा जोडिन पुग्छन्। 

उपन्यासमा पौराणिक मिथकको सुन्दर प्रयोग छ। पात्रहरूसँग स्थलगत साक्षात्कार गरेर तयार पारेको हुनाले उपन्यास वास्तविक जीवनकथा जस्तो लाग्छ। यसक्रममा सांसारिक सुख–सुविधाबाट टाढा रहेर ईश्वरमा समर्पित हुन चाहने भनिएका योगी र स्वामीहरूको पाखण्ड पनि छताछुल्ल हुन्छ, ठाउँठाउँमा। एउटी बालविधवाको आकांक्षा र मनोदशा केलाउने जोखिमपूर्ण काम गर्दा नारीप्रतिको सम्मानमा लेखकले पालना गरेको सचेतता प्रशंसायोग्य छ। 

उपन्यासमा भाषिक अशुद्धि र अन्य कमजोरीहरू पनि छन्। अनपढ तारासँग दर्शनका अपत्यारिला प्रसङ्गहरू जोडिएका छन्। कतिपय प्रसङ्गहरू पाठकको धैर्य गुमाउने गरी वर्णनात्मक र पटके रूपमा आएका छन्। पुस्तक प्रकाशनअघिको सम्पादन कर्मलाई महत्व नदिंदा पुस्तक अस्वस्थकर रूपमा मोटाएको छ। यद्यपि, यो उपन्यास हाम्रो अघिल्लो पुस्ताले भोगेको समाजको जीवन्त दस्तावेज बनेको कुरामा भने कुनै शंका छैन। उपन्यासले हरेक पाठकमा, त्यसमा पनि विशेष गरी महिलामा 'धन्न! त्यो समयमा जन्मिनछु' भनेर उच्छवास उत्पन्न गराउँछ।


जीवा लामिछाने 



प्राप्त कृति 

b4
पूँजी (भाग १, २ र ३) 
लेखकः कार्ल मार्क्स 
अनुवादः युवराज पन्थी 
प्रकाशकः प्रभात प्रकाशन 
मूल्यः रु.२,००० 
b5
सपनामा मार्क्स 
कथासंग्रह 
लेखकः राजेन्द्र पराजुली 
प्रकाशकः साझा प्रकाशन 
मूल्यः रु.१९५, पृष्ठः १२८+८  
b6
युद्धमा हराएको प्रेम 
लेखकः काङमाङ नरेश राई 
अप्जसे कान्छा 
प्रकाशकः नेपाली प्रतिभा प्रतिष्ठान 
मूल्यः रु.१००, पृष्ठः ११९+  
b8
...अर्थात् हामी 
निबन्धसंग्रह 
लेखकः रमण घिमिरे 
प्रकाशकः सांग्रिला बुक्स 
मूल्यः रु.१५०, पृष्ठः १०९+८ 
b7
कुसुम 
कथासंग्रह 
लेखकः तोया गुरुङ 
प्रकाशकः रत्न पुस्तक भण्डार 
मूल्यः रु.१४०, पृष्ठः ६८+८

 

comments powered by Disqus

रमझम