१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

मजलिसको आँखा– २४ रुख्सत

Share:
  
- क.दी.
बगदाद, दिल्लीहुँदै नेपाली भाषामा घुस्न आइपुगेको अरबी 'रुख्सत' र 'मजलिस' शब्दलाई बिदा गरेर हामीले 'बिदाइ' र 'सभा' छानिसकेका छौं।

'मजलिस' को चौबीसौं आँखामा 'रुख्सत' जस्तो यो दृश्य किन देखा परुर्‍यो भन्ने खुलदुल मेटाऊँ पैले। कारण के भने हाम्रो 'मजलिसको आँखा' को यो बिदाइ अंक हो। एक वर्षसम्म आकाश पाताल देखाइरहें मैले पाठकलाई; कुनै देखेका, कुनै भोगेका र कुनै त सुनेकै भरका कुरा समेत लेखेर। अब त पुग्यो जस्तो लाग्यो। दृश्य सम्पदा सकिएर होइन, सकिंदैनन् ती कहिल्यै पनि।

भर नेपालको त कुरै छाडौं, यही काठमाण्डू खाल्डोकै वरिपरि पनि दृश्य सम्पदाको पौल छ। अफुरन्त भण्डार छ यहाँ अनगिन्ती आँखालाई खुराक पुग्ने। मेरा आँखाले यी अलिकता देखे। अब अरूका आँखाले हेरुन् र बताउन्– कहाँ के छ र कहाँबाट के विलुप्त हुँदैछन्। मलाई सजिलो थियो। मदन पुरस्कार पुस्तकालय (मपुपु) को 'अर्काइभ' मा गनिनसक्नु फोटो छन्। यसो आँखा डुलायो, दृश्यहरू तँछाडमछाड गरेर अगाडि आउँछन्। कुन छान्नु कुन छाड्नु जस्तो हुन्छ। इच्छा हुनेलाई त्यो 'अर्काइभ' मा छिर्न मनाही छैन। हेरूँ कोही हिम्मत गर्छन् कि त्यता पस्ने!

फेरिएको 'स्काइलाइन' झन्डै शताब्दी पुरानो पाटन सुन्धाराको बायाँ तस्वीर कसले खिचेको हो थाहा भएन। इन्जिनीयर नारायणगोविन्द हलवाईले ११ असोज २०७२ मा खिचेको तलको तस्वीरले भने शहर पूरै फेरिएको देखाउँछ।

मपुपु–को अर्काइभमा नपसे पनि, मपुपु–मा संकलित पुस्तकहरू नै चहारेर पनि, नेपालका दृश्य सम्पदाका बारेमा कलम चलाउन सकिंदोरहेछ भन्ने रहरलाग्दो एउटा उदाहरण प्रस्तुत गर्नुभएको छ नेपाल इन्जिनीयर्स एसोसिएसनका पूर्व अध्यक्ष, लगनखेल निवासी नारायणगोविन्द हलवाईले। मपुपु–मा पुरानो पाटन शहरको बयान भएको एउटा किताब छ भनेर मैले एक दिन रोटरी क्लबमा 'कीर्तिपताका' भन्ने पुस्तकको चर्चा गरेको थिएँ। हलवाईजीलाई चाख लागेछ र पुस्तकालयबाट त्यसको 'डिजिटाइज कपी' लिएर पढ्नु भएछ। उहाँले त त्यसभित्र 'खजाना' नै भेट्टाउनुभयो रे! तीन सय वर्षअघिको पाटन शहरका २६ ओटा टोलको नालीबेली दिइएको छ त्यसमा संक्षेपमा। तर, एउटा टोललाई एउटै मात्र श्लोकमा सीमित पारिएकाले ती वर्णनहरू कुनै कुनै त सूत्र रूपका पनि भएको अनुभव भएछ हलवाईजीलाई। आफू इन्जिनीयर भएकाले आफ्नो शहरमा तीन सय वर्षमा के–कस्तो परिवर्तन भएछ भनेर दाँजी हेर्न मन लाग्यो रे उहाँलाई। गत एक वर्षदेखि उहाँ यसै काममा लाग्नुभएको छ।

अब अलिकति 'कीर्तिपताका' को इतिहास पल्टाऊँ। कृष्णमन्दिर निर्माण गर्ने राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लका पालामा लेखिएको त्यो पुस्तक रहेछ अन्वेषक योगी नरहरिनाथको संग्रहमा गोरखनाथपीठमा। कोही कुनु शर्मा भन्ने मान्छेले लेखेका रहेछन् त्यो। र सानै भए पनि त्यो पुस्तक एउटा महतपूर्ण ऐतिहासिक दस्तावेज हो भन्ने लागेर योगीजीले त्यसलाई सार्वजनिक गर्ने निधो गरेछन्। त्यस्ता पुराना कुरामा चासो राख्ने ठहर्‍याएर उनले जगदम्बा प्रकाशनमा आएर मसँग सम्पर्क राखे २०१७ सालमा। 'यो अत्यन्त ऐतिहासिक ग्रन्थ हो' इत्यादि भनेर त्यसलाई प्रकाशित गरिदिन अनुरोध गरे। खालि संस्कृतका श्लोक छापेर ऐले कल्ले बुझछ? भनेर मैले उनलाई त्यसको नेपाली अनुवाद गरेर ल्याउन सुझाएँ। योगीजीले संस्कृत र नेपाली दुवै सँगसँगै छाप्ने भनेपछि त्यसै बमोजिम गरिएको थियो, अठारसालमा। समय फड्केर एकैचोटि ७० सालमा पुग्छौं हामी 'कीर्तिपताका' को कथा खोज्दै।

माथि भनिए झैं नारायणगोविन्दजीले कुनु शर्माका 'टोल' हरू पछ्याउँदै जाँदा अनेक नयाँ कुरा फेला पार्नुभएछ। पहिले आफ्नै लागि भनेर खोज्दै हेर्दै हुनुहुन्थ्यो उहाँ, अब उहाँलाई योगीजीलाई जस्तै लाग्न थालेछ– यी कुरा त सार्वजनिक गर्नुपर्छ। अनि किताबै लेखी तयार पार्ने उत्साह जागेछ। एक वर्षभन्दा बढी श्रम अर्पिसक्नुभएको छ हलवाईजीले त्यसमा। पुस्तक अब प्रेसमा जाने तरखरमा छ भन्ने बुझिन्छ। ऐले सार्वजनिक नभैसकेकाले यो नयाँ 'कीर्तिपताका' बारेमा धेरै क्यै भन्न मिल्दैन तर लेखकको अनुमति लिएर त्यसको प्राक्कथनमा उहाँले लेखेका केही वाक्य उद्धृत गर्दैछुः 'यस पुस्तकको मुख्य उद्देश्य राजा श्रीनिवास मल्लको राज्यकालमा ललितपुरमा रहेका भौतिक संरचनाहरूमध्ये ऐलेसम्म आइपुग्दा के कति साबूत छन्, कति नष्ट भए र के कति थपिए भनी विवेचना गर्नु हो। त्यसो गर्दा ललितपुरको हालको अवस्थाबारे पनि केही बुझिन्छ। ललितपुर शहरबारे गरिएका विभिन्न अध्ययनहरूका सार पनि यसमा दिने प्रयास गरिएको छ। परस्पर विरोधी सूचना पनि प्रस्तुत गरिएको छ तर तिनको सत्यतथ्यबारे थप अध्ययन गरिएको छैन। यस ऐतिहासिक विवरणमा ललितपुर नगरको सांस्कृतिक र भौतिक संरचनाहरू मात्र समेटिएका छन्। राजनीतिक, सामाजिक, आर्थिक र प्रशासकीय व्यवस्थाबारे यसमा टिप्पणी गरिएको छैन। यस सँगालोमा पाटनका विषयमा जान्न इच्छुक सर्वसाधारणका साथै विशेष गरेर विद्यार्थी, पर्यटक, व्यवसायी र 'प्लानर्स' हरूलाई चाख लाग्ला या उनीहरूलाई यो उपयोगी होला भन्ने विश्वास गरिएको छ।'

comments powered by Disqus

रमझम