१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

मान्छे पातलिएको शहर

Share:
  
- मिलन बगाले
महाभूकम्पले घरसँगै भत्काएका मनमा नयाँ संविधानले उत्साह ल्याउला कि भन्ने आशामा भारतीय नाकाबन्दीले चिसोपानी खन्याइदियो।

भुईंचालोको ६ महीनामा थोपरिएको भारतीय नाकाबन्दीबीच आएको दशैं यसै खल्लो, त्यसै खल्लो भयो। करीब नौ हजार परिवार त शोकमै थिए, ७ लाख परिवारको मनमा पनि उज्यालो थिएन। पुनःनिर्माण योजना नै नआई प्राधिकरण थला परेकोले टहरोको कष्टकर बास लम्बिने पीर गहिरिएको छ। यो बसाइ सरकारी आलटालले पुस–माघसम्म लम्बिने आशंका बढाएको छ।

एकपछि अर्को आपत् आइलाग्दा शोकलाई शक्तिमा बदल्ने नेपाली खुबी यसपालि अलिकति विचलित भयो। पेट्रोलियम अभावमा धेरै मानिस दशैं मान्न राजधानीबाट घर जान पाएनन्। यतै बसेकाहरूले पनि रित्तिंदो सिलिन्डर उचाल्दै खान्कीखुराकी पकाएर चाड टारे। गत वर्ष करीब २७ लाखले उपत्यका छाडेकोमा यसपालि १० लाख पनि नबाहिरिएको खबर संचारमाध्यमहरूमा आए। र पनि, दशैंमा काठमाडौं सुनसान नै देखियो। मैले काठमाडौं पसेको १४ वर्षमा पहिलोपटक यो दृश्य देखें।

१० लाख मान्छे घटेको काठमाडौं र भक्तपुरका प्रमुख सडकहरू नियाल्न निस्कँदा मलाई पूरा शहर रित्तो लाग्यो। निर्जनप्रायः आकाशे पुलहरूमा हिंड्दा मलाई शाहीकालीन कर्फ्यूको याद आयो, जसका गृहमन्त्री कमल थापा थिए। अहिले गणतन्त्रमा तिनै थापा उप–प्रधानमन्त्री छन्। नयाँ शासन व्यवस्थामा पुराना पात्रहरूको तरक्की–तर्कना छाडेर मैले सोचें– दशैंमा बाहिरिएका १० लाख मान्छे 'अब फर्किन्न' भन्दै जिल्लैतिर बसे भने कस्तो बन्ला काठमाडौं? यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक गतिविधि कस्तो होला? भाडा खान बनाइएका ठूल्ठूला घर, व्यापारिक मल, सिनेमा हल, मान्छे खाँदेर हिंड्ने माइक्रोबस, टोलैपिच्छेका स्कूल, घरैपिच्छेका सटरमा थापिएका दोकानको हालत के होला?

दशैंको मेसोमा मान्छेहरू बाहिरिन थाल्दा केही वर्षदेखि मेरो मगजमा एउटा तर्कना आउने गर्थ्यो– संविधान बनेर संघीयता कार्यान्वयन भएपछि कति लाख मान्छेले काठमाडौं छोड्लान्? संघीय राज्यमा अवसरका ढोका पक्कै उघि्रन्छन्। प्रदेशहरूमा राज्यपाल, सभामुख, मुख्यमन्त्री, प्रान्तीय मन्त्री, प्रदेश सभा सदस्य र लोकसेवादेखि योजना आयोगसम्मका अवसरहरू खुल्छन्। ठूल्ठूला अस्पताल, विश्वविद्यालयदेखि समाचार गृहहरूसम्मको विकास हुन्छ। घरछेउमै यति धेरै अवसर आएपछि सानोतिनो जागीर खोज्न कुम्लोकुटुरो बोकेर को पस्छ काठमाडौं? मन्त्री, अफिसर, प्राध्यापक, उद्योगी–व्यवसायी आदि प्रदेशमै बन्न सकिने भएपछि को पस्न चाहला परिचय नै खाइदिने काठमाडौंको भीडमा?

मान्छे जहिल्यै अवसरको खोजीमा हिंड्छ। अवसर–उज्यालो किरणको केही हिस्सा थानकोटबाट बाहिरिने लक्षण देखियो भने धेरै मान्छेहरूले आफ्नै थातथलो छेउछाउमा पखेटा फट्फटाउने रहर गर्ने छन्– होटल उतै खोल्नेछन्, घर बनाएर भाडा उतै लगाउने छन्, पढ्न उतै बस्ने छन् र जागीरको मेसो पनि उतै मिलाउने छन्। त्यो अवस्थामा काठमाडौंमा चाहिं को बस्छ त? काठमाडौं शहरहरूको हेडसर हो। नगरहरूको महानगर हो। राजधानीको मह140व सर्लक्कै कहाँ घट्छ र? भारतमा २९ प्रदेश भए पनि नयाँदिल्लीको मह140व घटेको छैन। टोकियो, बेइजिङ, क्वालालम्पुर आदिको कुरा पनि त्यही हो। काठमाडौंमा बस्ती पातलिएला, भीड छाँटिएला तर, अवसरको अन्तिम ढोका यही हुनेछ। राष्ट्रपति, प्रधानमन्त्री बन्न र पशुपति दर्शन गर्न यहीं आउनुपर्छ। सफा, व्यवस्थित र सुन्दर बनेर बस्यो भने प्रान्तहरूबाट घुम्न आउने मुख्य शहर यही बन्नेछ।

मान्छे पातलिएसँगै फेरिएको परिस्थितिमा अभ्यस्त हुने अभ्यास राजधानीले पक्कै गर्ला। पर्यटकीय आवश्यकता अनुसारका पूर्वाधार बन्लान्। यहाँका भौतिक संरचनामा व्यापक फेरबदल होला। वहालमा बस्ने मान्छे थोरै भएपछि घरबेटीहरूले ढाँचा न ढर्राका तलाहरू भत्काएर चिटिक्कका घर बनाउलान्। जग्गाको कारोबार घटेपछि फराकिला घरघडेरीको किनबेच होला। सडक, बजार सबै चिटिक्ककै बन्लान्।

काठमाडौं फर्कने कुरो सम्झ्नासाथ दशैंमा घर गएका मान्छेहरूको मन गह्रौं हुन्छ नै। सकिन लागेका ग्याँस सिलिण्डर, तेलको लागि लाइनमा बसेका सार्वजनिक सवारी साधन र कोचाकोच माइक्रोबस सम्झ्ँदा सबैलाई अत्यास लाग्छ। उता छिमेकी देशले भने नाकाबन्दी खोल्ने लक्षणै देखाएको छैन। उत्तरतिरबाट पुग्दो तेल र ग्याँस आउने कुरो त्यति धेरै पत्यारलाग्दो छैन। र पनि, काठमाडौं नफर्की सुखै छैन। काठमाडौं नपस्ने इच्छाले दशैं सकिएर तिहार लाग्दा नलाग्दै हार खाइसक्छ। संघीयता कार्यान्वयन नभएसम्म मान्छेहरूले आफ्ना प्रान्त गुल्जार बनाउन पाउने छैनन्। काठमाडौंकेन्द्रित अवसर–उज्यालो देशभर छर्नेहरूको जय होस्।

comments powered by Disqus

रमझम