१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

मधेश होइन तराई

Share:
  
- फणिराज नेपाल
तराई–मधेशबारे अरू त अरू नेपाली मिडियाकै बुझाइ गलत छ।

नेपाल एकीकरणपश्चात् एक समुच्च राष्ट्रको दक्षिणतर्फको चुरेमुनिको मैदानी इलाका घनघोर जंगल क्षेत्र थियो। त्यो अनकन्टार क्षेत्रमा औलो पचाउने तराईका मूलवासी थारूको मात्र आवादी थियो। पहाडी भू–भाग टुंगिनासाथ आउने दक्षिणतर्फको समथरलाई सामान्यतः तराई भनियो। फारसी भाषाको 'तराई' को व्युत्पत्ति खोज्दा ओसिलो, समथर भाग भन्ने बुझिन्छ। १८औं शताब्दीका गोर्खाली कागजपत्रले घना वनले ढाकिएको पूर्वी तराईका जिल्लालाई 'तरियानी' भनेको छ। डाँडाकाडाले घेरिएको मधेश तराईमा पाइँदैन। बरु त्यो क्षेत्र भारतको मैदानी इलाकाबाट घेरिएको छ।

तरी र तरियानी

ऐतिहासिक कालमा तराईलाई तरी पनि भनिन्थ्यो। सन् १९७५ मा प्रवर्द्धित संस्करणको व्यावहारिक हिन्दी–अंग्रेजी शब्दकोश अनुसार, पहाड वा उच्च ठाउँबाट वर्षाको पानी झ्रेर एकत्रित भई जम्ने समतल भाग 'तरी' हो। त्यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानको नेपाली संक्षिप्त शब्दकोश अनुसार, तराई भन्नाले पहाड फेदीको समतल जमीन हो। सन् १८११ मा प्रकाशित फ्रान्सिस बुखानन ह्यामिल्टनद्वारा लिखित पुस्तक 'एन एकाउन्ट अफ द किङ्गडम अफ नेपाल' मा 'जलवायुका आधारमा तरियानी अर्थात् तराईको उर्वर मैदान' भन्ने उल्लेख छ।

केन्द्रीय तथ्यांक विभागको जनसंख्या विवरण सारिणी नम्बर–४ को विभिन्न गणनामा पूर्वी तराई भनी पर्सादेखि बारा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, हनुमाननगर, विराटनगर र झ्ापासम्म; मध्यपश्चिममा पालही, माझ्खण्ड, खजहनी, स्युराज (हालको कपिलवस्तु, नवलपरासी, रूपन्देही) र सुदूरपश्चिममा बाँकेदेखि कञ्चनपुरसम्मको भू–भागको जनसंख्या विवरण उल्लेख छ। सारिणी अनुसार, नेपालको चुरेपछिको दक्षिणी भागलाई सं. १९६८ बाट तराई भनिएको हो।

पहाडहरूले घेरिएको समतल क्षेत्रमध्ये पूर्वी भित्री मधेश भनेर उदयपुर र चिसापानी तथा मध्य भित्री मधेश भनी चितवन उल्लेख छ सारिणीमा। सो क्षेत्रको जनसंख्या विवरणमा थारू र पहाडी समुदाय मात्र उल्लेख छ। पहाडले घेरिएको दुन वा स–साना समतल क्षेत्रलाई भित्री मधेश र घना जंगल तथा आवादीलाई तात्कालीन अवस्थामा तरियानी भनिएको हो, जुन कालक्रममा अपभ्रंश भई तराई भयो।

मध्यदेश र मधेश

संस्कृतको 'मध्यदेश' को संक्षिप्त रूप हो– मधेश। मनुस्मृति अनुसार, मध्यदेशको उत्तरमा हिमाचल पहाड, दक्षिणमा विन्ध्याचल पर्वत, पश्चिममा राजस्थान र पूर्वमा प्रयाग पर्छ। नेपाली संक्षिप्त शब्दकोशका अनुसार, हिमालयदेखि दक्षिण विन्ध्याचलदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेश मध्यदेश हो। इतिहासकार बाबुराम आचार्यले अम्बालादेखि प्रयागसम्मको समतल भूभागलाई मधेश भनेका छन्।

त्यस्तै, डा. बी.एन. तिवारी र महेन्द्र चतुर्वेदीद्वारा सम्पादित तथा १९७५ मा प्रवर्द्धित संस्करणको हिन्दी–अंग्रेजी शब्दकोशले विन्ध्याचल, कुरुक्षेत्र र अलाहावादबीचको मध्यक्षेत्र प्राचीन मध्यदेश हो। १९४७ मा भारत स्वतन्त्र भएपछि राष्ट्रिय संरचनामा आएको फेरबदलमा पञ्जाब, दिल्ली, राजस्थान, उत्तरप्रदेश, बिहार, बंगाल आदि राज्यमा पर्‍यो, प्राचीन मध्यदेश। शिक्षा र रोजगारीका लागि उहिल्यैबाट पहाडका मानिस काशी, आसाम, मेघालय (मध्यदेश) जाने चलन थियो। पहाडबाट नेपाली टोपी लगाएर र्झ्नेेहरूलाई पहाडिया र मध्यदेशबाट पहाड आउनेहरूलाई मधिशे भनिन्थ्यो।

इतिहासको यो पाटोमा अरू त अरू नेपाली मिडियाकै बुझाइ निकै कमजोर देखिन्छ। विभिन्न संचारमाध्यमले तराईलाई मधेश भनेर भ्रम सिर्जना गरिरहेका छन्।

आजको अन्तरसम्बन्ध

गैरसरकारी संस्था अवस्थाको मधेशी जनअधिकार फोरमको अध्यक्ष रहेको वेला उपेन्द्र यादवले आफ्नो किताबमा तराईबारे सटिक लेखेका छन्– 'तराईमा बस्ने सबै तराईवासी हुन्, तर तराईका सबै मधेशी होइनन्। मधेशी भनेको कुनै खास भाषा, संस्कृति, भेषभुषा, रहनसहन र परम्परा भएको समुदाय हो।'

हुन पनि, नेपालको तराईमा पहाडी र थारूसँगै मधेशीको बसोबास छ। उनीहरूबीच बढेको एकअर्काको संस्कृति स्वीकार्ने चलनलाई समावेशिताको नमूना मान्न सकिन्छ। मधेशी दलहरूले गरेका आन्दोलनले भने त्यहाँका ३९ प्रतिशत पहाडी समुदायलाई विश्वासमा लिएको छैन। जबकि, जनगणना २०६८ अनुसार, तराईमा ३८ प्रतिशत मधेशी, ३९ प्रतिशत पहाडी, १५ प्रतिशत थारू र मुसलमानसहित अन्य ९ प्रतिशत छन्।

संघीयता मधेशी पार्टीहरूको मूल मन्त्र भए पनि १२५ जातजाति भएको सानो देशमा अरू समुदायको भावनालाई बेवास्ता गर्दै आफ्नो जातको मात्र सुविधामा जोड दिनुले सकारात्मक परिणाम दिंदैन। कालो, गोरो, देशी, मधेशी हिजोका कुरा थिए। आज तराईमा व्यवसाय, व्यवहार, धर्म आदिले सबैलाई जोडिसकेको छ। दशैं, तिहार, छठ, माघी, फागु, तीज जस्ता पर्वहरूमा बढ्दो सांस्कृतिक सहभागिताले सौहार्दता बढाएको छ।

तराई–पहाडको उत्पादन र उपभोगतर्फको अन्तरनिर्भरता पनि त्यस्तै छ। तराईको उद्योगका लागि ऊर्जा र कच्चापदार्थ हिमाल–पहाडले आपूर्ति गरिरहेको छ भने तराईको खाद्यान्नले हिमाल–पहाडलाई ठूलो मद्दत गरेको छ।

comments powered by Disqus

रमझम