१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

गाह्रो छ नैनितालमा

Share:
  
- बच्चु विक
भारतको प्रसिद्ध पर्यटकीय शहर नैनिताललाई सुन्दर बनाइराख्ने नेपाली कामदारहरू महँगीको मारले गर्दा बचत गर्न सकिरहेका छैनन्।

“दक्षिण एशियाकै सुन्दर–शान्त पहाडी शहर नैनिताललाई स्याहार्ने अधिकांश नेपाली छन्”, नैनिताल झिल परिक्षेत्र विकास प्राधिकरणका सचिव श्रीष कुमार भन्छन्, “तर यहाँ कार्यरत नेपाली कामदारहरू शहरजस्तो सफा–सहज छैनन्। नाम्लो र थोत्रामैला पहिरनले भीडबीचमा पनि उनीहरूलाई अलग्गै देखाउँछ।” “नाम्लो नबोके काम पाइन्न”, जुम्बुखान–७ दैलेखका माइलो नेपाली (५७) भन्छन्, “काम नगर्दा पुग्ने भए यहाँ आउनै पर्दैनथ्यो।”

१३ वर्षबाट नैनितालमा रहेका उनी यो शहरसँग न खुशी छन् न त दुःखी। नैनितालको कमाइले दैलेखमा परिवार चलेकाले दुःखी नभएको र झिसमिसेदेखि ठूलो साँझ्सम्म दौडधूप गर्दा पनि दुःख नगएकोले खुशी हुन नसकेको उनले बताए। नेपाली मजदूर यूनियनका अध्यक्ष समेत रहेका बझाङका प्रेम सुनारका अनुसार, नैनितालका करीब ९ हजार नेपालीमध्ये सबैजसो दैनिक ज्यालादारी गर्छन्– भारी बोक्ने, बजार क्षेत्र सरसफाइ गर्ने, होटलमा भाँडा माझने, रिक्सा चलाउने आदि। यीमध्ये डुंगा चलाउने कामलाई मासिक तलब पाइने कारणले राम्रो मानिन्छ। सपरिवार नैनितालमा रहेका सुनार भन्छन्, “धेरैजसोले भारी नै बोक्ने हो।”

जुम्लाका कृष्ण शाहीलाई भने 'भीरबाट खसेको ढुंगालाई अडिने ठाउँ' भयो नैनिताल। तीन वर्षबाट यहाँ रहेका उनी बचतका हिसाबले तिहारमा पनि घर जानसक्ने अवस्थामा नरहे पनि उति असन्तुष्ट छैनन्। यहाँ कमाइ थोरै र खाईखर्च धेरै हुने अनुभव सँगालेका २३ वर्षीय शाही ६ वर्षअघि ८ कक्षामा पढ्दै गर्दा घरपरिवारलाई आर्थिक टेवा दिन नेपालगञ्ज झ्रेका थिए। त्यसपछि काठमाडौं पसेका उनी त्यहाँ पनि टिकेनन्। आफ्नो देशमा भारी बोक्ने, रिक्सा चलाउने काम गर्दा 'ए जुम्ली' भनेर बोलाउनेहरूले सारै दिक्क लगाएको तीतो शाहीले पोखे। “काम गर्न गाह्रो थिएन, तर होच्याएको मन परेन”, उनी भन्छन्, “यहाँ कसैसँग मतलब हुँदैन, कामसँग मात्र मतलब हुन्छ।”

महँगीमा कम कमाइ

नैनितालमा नेपालीले पाउने राम्रो रोजगारी मानिएको डुङ्गा चलाउने बाजुराका अर्जुन सिंह (३२) मासिक भारु ७ हजार तलब बुझछन्। त्यति रकमका लागि बिहान ९ देखि साँझ् ६ बजेसम्म खट्नुपर्ने उनले बताए। “तीन वर्ष भयो तलब बढेको छैन, बढाउ भन्दा काम छोडिदेऊ भन्छन्”, सिंह भन्छन्, “त्यसमाथि, नैनितालमा महँगी छ।”

नौ वर्षअघि नैनिताल आएका उनले डुङ्गा चलाउने काम पाएको पाँच वर्ष भयो। यहाँका अरू नेपाली कामदारले उनको कामलाई राम्रो भन्छन्, तर उनी सन्तुष्ट छैनन्। त्यसमाथि सधैं, समयमै तलब नपाउने समस्या छ। भारी बोक्नेहरूले त भने अनुसार पैसा पाउँदैनन्। पर्यटकसँग जिद्दी नगर्नु भन्ने प्रशासनको आदेशका कारण जति दियो त्यसमै चित्त बुझाउनुपर्ने बझाङका हरि रोकाया (४३) ले बताए। उनका अनुसार, नैनितालमा नेपाली भरियाहरूले दैनिक सरदर भारु ३०० कमाउँछन्, तर कोठा भाडा र खानेकुरा महङ्गो छ।

बच्चु विक, नैनितालमा

comments powered by Disqus

रमझम