१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

कमाल गर्ने कन्तर

Share:
  
- जीवनप्रसाद राई
गाउँगाउँमा दिल लगाएर थरीथरीका खेती गरिरहेका किसानको काममा सरकारको आँखा पर्ने हो भने कृषिबाटै नेपाली समृद्धि संभव छ।

गएको १६ असारमा असिनपसिन भएर चितवन, फूलबारीका अगुवा किसान चन्द्र अधिकारी (५७) को आँगनमा पुग्दा काठमाडौं, मैतीदेवीका विवेक राईको सम्झ्ना आयो, जसले मलाई भाटभटेनी सुपरमार्केटमा धाउँदा स्टारफ्रूट नपाएको सुनाएका थिए। उनले खोजेको वेला नपाए पनि मैले त्यहीं किनेर खाएको थिएँ, स्टारफ्रूट। अधिकारीको आँगन वरिपरि त्यही गुणकारी ट्रपिकल फल लटरम्म फलेको र फुलिरहेको थियो, जसलाई उनले 'कन्तर' भने।

कन्तरलाई भिटामिन र मिनरलहरूको भण्डार मानिन्छ। त्यसमा पनि औषधीय गुणले यसलाई बढी गुणकारी बनाएको छ। हल्का अमिलोपन महसूस गराउने यसको गुलियोपन आफ्नै खालको हुन्छ। काट्दा ठ्याक्कै ताराको आकारमा आउने हुनाले यो फल संसारभर स्टारफ्रूटको नामले प्रसिद्ध छ। एशियाको ट्रफिकल क्षेत्रमा प्रशस्त फल्ने स्टारफ्रूट यूरोप–अमेरिका निर्यात हुन्छ। यसको आकारसँगै स्वादका कारण बालबालिकाले खूबै मन पराउने स्टारफ्रूटबाट उच्चकोटिको जुस, जाम, जेली, चकलेट, आइसक्रिम, वाइन बन्छ। त्यसको लागि व्यावसायिक खेती र प्रशोधन उद्योग चाहिन्छ।

नेपालमा यो फल भित्र्याउने संभवतः अधिकारी नै हुन्। अरूले यो रोपेको आफूलाई थाहा नभएको उनले बताए। तराई, भित्रीमधेश, खोंच र बेंसीहरूका घर–घरमा लगाउन सकिने यो फलको व्यावसायिक खेती नै सम्भव देखिन्छ, नेपालमा। वैज्ञानिक परीक्षणको अत्तोपत्तो नभए पनि यो फल कमलपित्त (जण्डिस) उपचारमा रामबाण सावित भएको अधिकारी बताउँछन्। कन्तर पाकेको वेला आफ्नो घरमा जण्डिसका बिरामीहरूको चहलपहल बढ्ने उनी बताउँछन्।

यो फल नेपालका लागि नयाँ भएकोले नै हो, जिज्ञासा राखेका कृषि विशेषज्ञहरूले यसको खेती प्रणालीबारे ठ्याक्कै बताउन सकेनन्। नेपाल सरकारको कृषि डायरी र कृषि बुलेटिनहरूमा पनि कहीं यसको उल्लेख पाइँदैन। चन्द्र अधिकारीलाई नै विशेषज्ञ मानेर उनको कुरा सुन्दा कन्तरको व्यावसायिक खेती गर्ने हो भने, एक बिघा जमीनमा ११० बोटसम्म लगाउन सकिन्छ। अधिकारीले सुन्दै जाँगर चल्ने कुरा के बताए भने, कन्तरको बिरुवा रोपेकै सालबाट फुल्न थाल्छ र फल्न थालेपछि वर्षमा तीन पटक फल्छ।

कृषि मजदूर पाउन मुश्किल भएको वेला किसानले कन्तर जस्तो बहुउपयोगी 'हाई भ्यालु कर्प' तिर लाग्नु उचित देखिन्छ। कन्तरको बिरुवा रोपेर हुर्काएपछि रेखदेखमा कुनै लागत पर्दैन।

२५ वर्षदेखि कृषि कर्ममा रहेका चन्द्र र श्रीमती मायादेवीको घरमा सानो आकारको तर गज्जबको होमस्टे व्यवस्था पनि छ। अधिकारी दम्पतीले आफ्नो चार बिघाको खेतीपातीलाई सानोतिनो कृषि विद्यालय बनाएका छन्। जिल्ला कृषि विकास कार्यालय चितवनसँग मिलेर ८३ जातका धानको परीक्षण खेती समेत गरिरहेका छन्।

अधिकारी दम्पतीको फार्ममा वनस्पतिमा सिप्लिगन, जास्टिसया, मिरक इपिल, रक्तचन्दन, गुरजु, राजी गिठा, भ्याकुर आदि छन् भने माछा र गड्यौलादेखि भ्यागुतासम्मको खेती छ। छोरीले कृषि विषय पढ्न नपाएकोमा थक्थक् मानिरहेका अधिकारी दम्पतीका छोरा राजकुमार भने कृषिमै विद्यावारिधि गरिरहेका छन्। र पनि, बाबुआमा पूरा खुशी हुनसकेका छैनन्। किन त? “नेपालमा कृषिको पढाइ कृषिकर्म होइन, जागीरमुखी भएको छ”, अधिकारी भन्छन्।

comments powered by Disqus

रमझम