१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

मैयाँ आमा

Share:
  
राजनीतिको धर्म नै समाजसेवा हो भने मैयाँदेवी श्रेष्ठ (८७) असल र सफल राजनीतिज्ञ हुन्।

२००३ सालमा नारायणगढ आएका नेपाली कांग्रेस पार्टीका तीन शीर्षस्थ बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई मैयाँदेवीको घरमा बसे। त्यही वेला १८ वर्षीया उनलाई बीपीले 'आज कांग्रेस बन्नुपर्छ' भन्दै पत्तीले बूढीऔंला चिरिदिए। र, बगेको रगतले 'मेरो भन्ने छैन, म भन्ने छैन, दिन भन्ने छैन, रात भन्ने छैन' लेख्न लगाए। अनि, मैयाँदेवी विधिवत् रूपमा कांग्रेसकी सदस्य भइन्।

नारायणगढमा बीपी चार दिन मात्र बसे। तर राणाशासन, मुलुकको राजनीति र कांग्रेसको संघर्ष बुझन मैयाँदेवीलाई त्यति समय पर्याप्त भयो। उनी राजनीतिक कामले काठमाडौं गइरहिन्। बीपी उनलाई भाषण कला सिकाउँथे।

यिनै मैयाँदेवी अहिले समाजसेवाकी पर्याय बनेकी छन्। अध्यात्म उनको जीवनको उत्तरार्द्धको आश्रयस्थल बनेको छ। तनहुँस्थित देवघाटमा ध्यान र भर्जनकीर्तनमा लीन भेटिन्छिन्। उनलाई सबैले श्रद्धाले 'मैयाँदेवी आमा' भन्छन्।

जन्मजात विद्रोही

जसै मैयाँदेवी जन्मिइन्, परिवारमा ठूलो रडाको मच्चियो। “मलाई त पाउने बित्तिकै आमाले सिस्नाको झयाङमा फ्याँकिदिनुभएको रहेछ”, उ वेला आमाले भनेको वाक्य मैयाँदेवीलाई ताजै छ। बुबाले छोरी पाए अर्को बिहे गर्छु भनेपछि आमाले त्यसो गरेकी रहिछन्। उनी हजुरआमा र जेठी आमाको मायामा हुर्किइन्। डेढ वर्षमा उनले बुबा गुमाइन्।

सम्पन्न परिवारकी उनमा सानैदेखि पढ्नुपर्छ भन्ने चेत थियो। नेपाल र भारतमा गरी उनले मेटि्रक पास गरिन्। आई.ए. पढ्दापढ्दै जेठी आमा बितेपछि घर फर्किइन्। त्यही वेला हो, बीपीसँग मैयाँदेवीको भेट भएको।

कांग्रेस संगठन विस्तारकै क्रममा उनी नेपाल, भारत धेरै ठाउँ पुगिन्। घोडा चढ्न सिपालु उनी लामो कपालमा चिट्ठीपत्र लुकाएर आदानप्रदान गर्ने काममा पनि खटिइन्।

२०१५ सालको आमनिर्वाचनमा पार्टीबाट टिकट नपाएपछि मैयाँदेवी पार्टीसँग असन्तुष्ट बनिन् र स्वतन्त्र उम्मेदवार बन्ने निर्णय गरिन्। तर, त्यसो गर्दा पार्टी कमजोर हुन्छ भन्दै बीपीले नै उनलाई पत्र लेखे। त्यसपछि उनले उम्मेदवारी फिर्ता लिइन्।

राजनीतिमा मात्र होइन, घरभित्रै पनि उनी विद्रोही बनिन्। “आमाले अंशजति छोरालाई मात्र दिने भनेपछि बुबाको भाग मलाई चाहिन्छ भनेर लडें”, उनी भन्छिन्। चार भागमा एक भाग अंश लिइछाडिन्। उनको अंशमा नारायणगढको तीन विगाहा, देवघाटको दुई विगाहा र भरतपुरमा २५ विगाहा खेत पर्‍यो।

तिरो आन्दोलन, राप्ती दुन विकास विभाग, भूमि वितरण समितिमा उनको प्रतिनिधित्व उल्लेख्य थियो। २०४२ सालको सत्याग्रहमा सहभागी उनी २०४४ सालमा बीपी स्मृति दिवसमा सहभागी हुँदा हिरासतमा पनि परिन्। २०४६ को जनआन्दोलनमा दिलोज्यानले सक्रिय उनी २०४८ को आमनिर्वाचनमा गोरखा–२ बाट निर्वाचित भइन्। उनी २०५२ सालमा कांग्रेस केन्द्रीय संगठन विभाग सदस्य बनिन्।

सेवा नै राजनीति

धेरैलाई लाग्न सक्छ, राजनीतिक असफलताले मैयाँदेवीलाई पनि भगवानको शरणमा पुर्‍यायो। तर, सत्य वेग्लै छ। २०४८ मा आमनिर्वाचन लड्नुअघि नै उनी देवघाटको वशिष्ठ गुफामा तीन वर्ष पाँच महीना ध्यानमा बसेकी थिइन्। प्रस्तावहरू नआएका होइनन्, तर विवाहको सोच उनलाई कहिल्यै आएन। राजनीति र आर्थिक दुवै दृष्टिले सबल भएकाले कसैको भर पर्नु पनि परेन।

अबको उनको राजनीति भनेकै सेवा हो। गएको भदौमा ८ करोड मूल्य बराबरको आफ्नो घरजग्गा मैयाँदेवी ट्रष्ट नेपालका नाममा पास गरिदिइन्। ट्रष्ट सञ्चालनमा रु.२ करोड पनि उनैले दिइन्। भरतपुरको मैयाँदेवी कलेज उनैको देन हो। उनले तन–मन–धन नखन्याएको क्षेत्र छैन भने हुन्छ।

त्यसो त कांग्रेसजनमाझ् पनि मैयाँदेवी सधैं दानकी देवीका रूपमा परिचित छिन्। उनले चितवनस्थित कांग्रेसको जिल्ला र वडा भवन मात्र होइन; केन्द्रीय कार्यालय निर्माणार्थ करोडौं सहयोग गरेकी छन्। समस्या लिएर भेट्ने सबैलाई उनले खालीहात फर्काएकी छैनन्। “भारतले नाकाबन्दी गर्दा दाइलाई भनेर काठमाडौंमा दाल, चामल मगाएर थुप्रैलाई दिएँ”, अहिलेको नाकाबन्दीको प्रसंग कोट्याउँदै उनले भनिन्।

“सत्कार्य गर्नाले अंशले नै दान, धर्म, कर्म गर्न पुग्यो”, ट्रष्टका महासचिव टंकनाथ पौडेलको गैंडाकोटस्थित घरमा बसिरहेकी मैयाँदेवी भन्छिन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम