१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

न्यानो कोठा

Share:
  
जाडबोमा घर न्यानो बनाउन दिनको प्रकाशलाई सकेसम्म पस्न दिनुपर्छ।

काठमाडौं, बूढानीलकण्ठका दिवस र सुशीला खड्का (२६) दम्पतीले जाडोका लागि मखमलका बाक्ला तन्ना र सोफाको खोल किनेका छन्। सुशीलाका अनुसार जाडोमा कटनका तन्ना चिसो हुन्छ। “तिहारमा पर्दा पनि फेर्ने विचारमा छु”, उनी भन्छिन्, “जाडो सुहाउँदो बाक्लो पर्दा किन्नुपर्ला।”

तापक्रम ओरालो लाग्न थालेपछि थन्किएका ज्याकेट, स्वेटर, हाइनेक, सिरक आदि कपडा झिक्न शुरु गरिएको छ। जाडो छल्न कतिले घर वा कोठा न्यानो राख्ने उपाय खोज्न थालिसकेका छन्।

आर्थिक क्षमता हुनेले जाडोबाट बच्न घरमा एसी, हीटर जस्ता उपकरण जडान गर्न सक्छन्। यिनले कोठा न्यानो बनाउँछन्। इन्टेरियर डिजाइनर सविन स्थापित अहिले ग्याँस, मट्टीतेल आदिको अभाव भएकाले विद्युतीय सामग्रीलाई प्राथमिकता दिनुपर्ने बताउँछन्। त्यसो त इन्धन र विद्युत् अभाव चुलिंदै गए ब्रिकेट, दाउराको खपत् बढ्ने र यसले कोठा स्वतः न्यानो हुने उनको तर्क पनि छ।

यसो गरौं

दिउँसो सम्पूर्ण कोठाका पर्दा वा झ्याल खोलेर प्रकाश छिर्न दिनुपर्छ। साँझ्ा हुनासाथ झ्याल–ढोका थुनेमा उक्त प्राकृतिक तापले कोठा न्यानो बनाउने इन्टेरियर डिजाइनर स्थापित बताउँछन्। “एसी वा हीटरको कृत्रिम तापभन्दा सूर्यको ताप अधिक राम्रो हुन्छ”, उनी भन्छन्, “त्यसैले दक्षिणतर्फ फर्केको घर उपयुक्त हुन्छ।” यसका लागि कोठाको दक्षिणतर्फ ठूल्ठूला झ्याल राख्न उनी सुझाउँछन्।

फ्लोरिङ सम्बन्धी सेवा दिंदै आएको ललितपुर, झम्सिखेलस्थित साइन क्लिनिङकी कार्यकारी अधिकृत बीना श्रेष्ठ जाडोयाममा काठको फ्लोरिङ उत्तम हुने बताउँछिन्। उनका अनुसार घरमा मार्बल बिछ्याएको छ भने त्यसमाथि कार्पेट वा गलैंचा राख्दा कोठा न्यानो हुन्छ। “हाम्रा झ्याल–ढोका काठको हुने भएकाले हावा सजिलै भित्र छिर्छ”, उनी थप्छिन्, “यस्तो हुन नदिन झ्याल–ढोका वा भित्तामा इन्सुलेशन गर्नुपर्छ।”

घरलाई विभिन्न तरीकाले इन्सुलेट (कोठाको तापक्रम सन्तुलन) गर्न सकिन्छ। हालसम्म नेपालमा अवलम्बन नगरिएको 'वाल पेपर इन्सुलेशन' विधि अपनाउन लागेकी बीना यो प्रभावकारी देखिए बजारमा लैजाने सुरमा छिन्। “यसपालि आफ्नै घरमा वाल पेपर इन्सुलेशन गर्छु”, उनी भन्छिन्, “चित्त–बुझ्दो भएमा यसको प्रचार गर्नुपर्ला।”

भित्ताको रङ, फर्निचर र प्रकाशको मात्राले समेत कोठालाई न्यानोपन दिने इन्टेरियर डिजाइनर स्थापित बताउँछन्। उनी भन्छन्, “भित्तामा गाढा रङ लगाउँदा र फर्निचर सुहाउँदो किसिमले मिलाउँदा पनि न्यानो अनुभूति हुन्छ।”

न्यानोका लागि सिरक–डसना, ब्ल्यांकेट वा अन्य लुगाफाटालाई वेला–वेला घाममा सुकाउनुपर्छ। नियमित प्रयोग नगरिने कोठा पूरै बन्द गर्नुपर्छ, जसबाट त्यताबाट आउने चिसो हावा अन्य कोठामा पस्न नसकोस्। जस्तापाताको छानोमाथि प्लास्टिक ओछ्याइदिएमा शीतको चिसोबाट जोगिन सकिन्छ।

विद्युतीय जग, पानी तताउने रड, एसी, गिजर, ओभन आदिको अत्यधिक प्रयोगका कारण जाडो महीनामा विद्युत्को बिल धेरै उठ्ने भएकाले यसतर्फ पनि होश पुर्‍याउनुपर्छ। “हामीकहाँ जाडो महीनामा पनि घाम लाग्ने भएकाले सौर्य ऊर्जाको सक्दो प्रयोग गर्नुपर्छ”, स्थापित भन्छन्।

सजना बराल

comments powered by Disqus

रमझम