१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

'अकेले चलो'

Share:
  
- राधेश्याम अधिकारी
करीब पाँच दशक लामो कानून व्यवसायकालभर एकलव्य निष्ठामा रहेका गणेशराज शर्माले आफ्नो समयका राजनीतिक र सामाजिक मुद्दालाई पनि प्रभावित पारिरहे।

हिमाल आर्काइभ
७९ वर्षको उमेरमा १० कात्तिकमा निधन हुनुभन्दा दुई–तीन वर्षअघिबाट गणेशराज शर्मालाई डिमेन्सिया रोगले निष्त्रि्कय बनाएको थियो। सक्रिय गणेशराजको बैठक कोठालाई उनका अभिन्न मित्र कुसुम श्रेष्ठले 'शाकाहारी क्लब' भन्ने नाम दिएका थिए, एक या दुई कप चिया मात्र पाइने हुनाले। त्यहाँ प्रायः कुसुमजी, दमननाथ ढुंगाना, शंकर घिमिरे, पुष्करनाथ उपाध्याय, होमनाथ दाहाल, गेहेन्द्रदेव पाठक, कुवेर शर्मा आदिको जमघट हुन्थ्यो। त्यो बैठकमा मैले कहिल्यै व्यक्तिगत कुराकानी भएको सुनिनँ। राष्ट्रिय–अन्तर्राष्ट्रिय परिघटनामाथि तातो छलफल हुने गणेशराजको बैठक कोठाको चर्को वादविवाद अन्त्यमा निष्कर्षमुखी संवादमा परिणत हुन्थ्यो।

पुस २०३३ साल

मैले गते बिर्सें, तर त्यो पुस २०३३ सालको पहिलो हप्ता थियो। त्यहाँ उपस्थितहरू अरू दिनभन्दा चनाखो मुद्रामा थिए। गणेशराजजीले एउटा टेप रेकर्डर ल्याएर बजाए। टेपमा बी.पी. कोइरालाको मसिनो स्वर सुनियो। निर्वासनबाट फर्कनुअघि बीपीले देशवासीका नाममा जारी गरेको राष्ट्रिय मेलमिलाप नीतिको व्याख्या–वक्तव्य थियो, त्यो। मैले सास रोकेर सुनें। वक्तव्य सकिएपछि केहीबेर सन्नाटा छायो र बी.पी. स्वदेश फर्कनु बुद्धिमानी हो, हैन भन्नेबारे लामो छलफल शुरू भयो। त्यस दिन मलाई लाग्यो– नेपाल अब पुरानै ढर्रामा रहने छैन।

नेपाल फर्कने अठोट लिएपछि बी.पी.ले भारत निर्वासनमा रहेका मित्रहरूसँग त परामर्श लिए नै, त्यसका अतिरिक्त नेपालका उपयुक्त ठानेका पात्रहरूसँग पनि सल्लाह लिएका थिए। तीमध्ये गणेशराजजी एक थिए। उनी बी.पी. नेपाल फर्कनुपर्ने कुराको पक्षपाती थिए। बी.पी. फर्केपछि नेपालको राजनीतिले कस्तो स्वरुप लियो भन्ने उल्लेख यहाँ आवश्यक भएन। कति चाहिं जरूरी छ भने, बी.पी. नेपाल फर्केपछि उनीमाथि चलाइएको राजकाज मुद्दाको वकीलको नाताले होस् वा राजनीतिक सल्लाहकारको हैसियतले; बी.पी. बाँचुञ्जेल काठमाडौंमा रहँदा प्रत्येक बिहान एक्लै भेट्ने (शैलजा आचार्यलाई छोडेर) गणेशराजजी नै भए। गणेशराजजी बी.पी.का अन्तरंग सल्लाहकार थिए।

बी.पी.को देहावसान पछि पनि गणेशराजजीको बैठकमा साँझको राजनीतिक बहस जारी रह्यो। २०४२ सालसम्म आइपुग्दा नेपाली कांग्रेसले सत्याग्रहको बाटो रोज्यो, तर गणेशराजजी कांग्रेसले बाटो बिराउन थाल्यो भनेर चिन्तित थिए। ठूलो उथल–पुथल बेगर वैध उपायद्वारा नै प्रजातन्त्र प्राप्त गर्न सकिन्छ भन्ने उनको सोच थियो। त्यसका लागि प्रजातन्त्रवादीहरूले निराश भएर हैन, संगठित भएर आफूलाई तयार पार्नुपर्छ भन्ने उनको राय थियो। आफ्नै खुट्टामा उभिएर लिएको प्रजातन्त्र मात्र टिकाउ हुन्छ भन्ने उनको प्रष्ट अभिमत थियो। बी.पी.ले गरेको राजासँगको सहकार्यको प्रयत्न भत्किन दिनुहुँदैन भन्ने उनको स्पष्ट दृष्टिकोण थियो।

तर, राजनीतिको बहुआयाम हुँदोरहेछ। २०४६ साल आइपुग्दासम्म यसको स्वरुप बदलिसकेको थियो। जनआन्दोलनको क्रममा पहिलो पटक कांग्रेस–कम्युनिष्ट एकता भएको थियो, जुन बी.पी.ले जस्तै विपत्का दिनमा पनि स्वीकारेका थिएनन्। जनआन्दोलन भएर नेपाल नयाँ युगमा प्रवेश गर्दा मुलुकमा धेरै खुशी भए। मैले दुःखी हुनेमा एक जना गणेशराजजीलाई देखें। त्यतिवेला उनी एक्लो बृहस्पति भए।

गणेशराजका कृति

गणेशराजजीका फुटकर लेखहरू धेरै छन्, तर सिंगो पुस्तक छैन। उनी भन्थे, “बीपीका कृतिहरू प्रकाशन गरेपछि म आफ्नो वेलाको नेपालको राजनीतिक इतिहासको आफ्नो तहबाट व्याख्या गर्नेछु, त्यो मेरो 'ड्रिम प्रोजेक्ट' हो।” उनको सक्रियतामा बीपीका कृतिहरू प्रकाशित भएको सबैलाई थाहा छ। गणेशराजजीले अंग्रेजीमा लेखिएको मातृकाप्रसाद कोइरालाको पुस्तक पनि सम्पादन गरेर प्रकाशित गराए। यी सब काम र आफ्नो व्यावसायिक व्यस्तताका बीच उनले आफ्नै पुस्तक लेख्ने इच्छा भने पूरा गर्न सकेनन्।

पछिल्ला दिनहरूमा वेला–वेला भेट्दा उनी भन्थे, “आँखाले दुःख दियो, पुस्तक पढ्न नसक्ने भएँ, पत्रिकाहरूको पनि हेडलाइन मात्रै पढ्छु अचेल।” मैले थाहा पाएसम्म उनी दैनिक डायरी लेख्थे। आफैंले पुस्तक लेखेको भए उनले डायरीका टिपोटहरूलाई कसरी व्यक्त गर्थे, त्यो अब केवल अड्कलको विषय भयो। तर, ती डायरीभित्रका विषयहरू प्रकाशन गर्ने, नगर्ने; गरे कहिले गर्ने भन्ने विषय गणेशराजजीकी धर्मपत्नी निर्मला र छोरी मृदुलाको काँधमा सरेको छ।

बीपी र मातृकाप्रसादका कृति प्रकाशित गरेर उनीहरू र मुलुकलाई पनि ठूलो गुन लगाएका गणेशराजजीले आफ्नै चाहना पूरा गर्न नसकेको तीतो यथार्थ भने विचारणीय हुन आउँछ।

व्यावसायिक निष्ठा

बनारसमा विद्यार्थी रहँदा गणेशराजजीको रुझान वामपन्थमा थियो। त्यसवेलाका उनका मित्रहरू कमल कोइराला, भरतमोहन अधिकारी आदि वामपन्थी राजनीतिमै सक्रिय रहे। गणेशराजजीको भने विद्यार्थी जीवनमै वामपन्थप्रतिको मोहभंग र उदार प्रजातन्त्रप्रति लगाव बढ्दै गयो।

बनारसको पढाइ सकेर जन्मथलो बारामा शिक्षक हुने उनको इच्छा तत्कालीन राजनीतिक परिवेशका कारण पूरा भएन। उनले रुचाएको अर्को पेशा पत्रकारिता अँगाल्न पनि नेपालमा संभव देखेनन् र कानूनमा पनि स्नातक भएकोले वकालत रोजे। यो पेशा रोजेकोमा उनले कहिल्यै पछुतो पनि मानेनन्। उनी सहकर्मीहरूलाई भन्थे, “वकालतले जीवनयापनमा मद्दत त गर्छ नै, यसले धेरै फराकिलो स्वतन्त्रता र प्राज्ञिक बहसको क्षेत्र पनि दिन्छ।”

गणेशराजजी अत्यन्त मिहिनेती व्यक्ति थिए। त्यसैले, उनले वकालतको सुरुआती दिनमै डा. के.आई. सिंहको मुद्दा पाए, कृष्णप्रसाद भण्डारीबाट। त्यसमा उनले गरेको तयारी र बहसले नेपालको कानून व्यवसायमा ठूलो संभावना बोकेको व्यक्ति आएको सन्देश दियो। गणेशराजजीले पछि विभिन्न राजकाज मुद्दा (बीपीको पनि), संविधानप्रदत्त मौलिक हक प्रचलनका मुद्दा, सार्वजनिक हित सन्निहित पहिलो मुद्दा (भूगोल पार्क), टनकपुर सन्धि सम्बन्धी मुद्दा, संसद् विघटनका मुद्दाहरूमा उल्लेख्य योगदान दिए। यसले नेपालको संवैधानिक विकासमा ठूलो टेवा पुग्यो।

कानून व्यवसायमा दुई जना अभिन्न मित्रसँग गणेशराजजीको संगतलाई पनि सम्झ्ानुपर्छ। उनी र मोतिकाजी स्थापित एउटै फर्मबाट वकालत गर्थे। गणेशराजजी मुटुको बिरामी भएपछि दुवैले आ–आफ्ना घरबाट पेशा चलाए। यी दुई मित्रबीच सधैं एकनासको सम्मानभाव कायम रह्यो। कुनै पनि जटिल मुद्दा वा गणेशराजजीका लेखहरूमा कतै न कतै मोतिकाजीको प्रभाव परेको हुन्थ्यो। गणेशराजजीका त्यस्तै अर्का मित्र हुन्, कुसुम श्रेष्ठ। अनेक महत्वपूर्ण मुद्दाहरूमा यी दुईले सँगै काम गरे। गम्भीर स्वभावका गणेशराजजी र चञ्चल कुसुमजी बीचको मेल अनौठो रह्यो।

सादा जीवन 'अकेले चलो'

गणेशराजजीको जीवनमा कहिल्यै भड्किलोपन देखिएन। उनी तडक–भडकपूर्ण विवाह–बटुलोहरूमा भरसक सामेल हुँदैनथे। आफ्नी छोरीको विवाह पनि सादा हिसाबले गरेको म सम्झ्ान्छु। लगाउने पोशाक छनोटमा भने उनी ख्याल गर्थे। घरमा बस्दा पनि उचित पहिरनमा सचेत देखिन्थे।

उनको जीवनशैलीमा श्रीमती निर्मलाजीको योगदान बिर्सन मिल्ने कुरा होइन। निर्मलाजीले बाह्रै महीना अहोरात्र आइरहने आगन्तुकहरूप्रति सदैव सहृदयी भएर सहयोग नगरेको भए गणेशराजजीको बैठक केवल सपना हुनेथियो। छोराछोरीको स्याहार र शिक्षादीक्षाको जिम्मा पनि निर्मलाजीकै भागमा पर्‍यो। गणेशराजजीले जतिञ्जेल काम गरे, एक्लै गरे। आफ्नो उत्तराधिकारीको चिन्ता पनि लिएनन्।

उनको बैठकीमा नपुगेका समकालीन नेता कमै होलान्। गणेशराजजीले न्यायाधीशहरूसँग व्यक्तिगत हेलमेल गरेको जानकारी मलाई छैन, तर सबै न्यायाधीश उनलाई आदरभावले हेर्थे। निरन्तर पुस्तक पढ्ने उनी अरूलाई पनि पढ्न प्रेरित गरिरहन्थे। उनी नयाँ वकीलले काम नभए पनि बारमा जानुपर्ने र अधिकतम समय पुस्तकालयमा बिताउनुपर्ने सुझ्ााव दिन्थे। उनी भन्थे, “शुरूका दिनमा कम काम हुन्छ, त्यसैले बढी पढ्नुस्। पछि कामले थिच्छ, चाहेर पनि पढ्न पाइन्न।”

कानून व्यवसायका महारथी गणेशराज शर्मा एक्लै उभिन आँट गर्ने व्यक्ति थिए। आखिरमा अनन्त यात्रामा जाँदा सबैले एक्लै हुनुपर्ने नियति छँदैछ। आँटिला गणेशराजजीप्रति हार्दिक श्रद्धाञ्जली!

comments powered by Disqus

रमझम