१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

अमेरिका नै प्यारो

Share:
  
स्वदेशमा लोभलाग्दो ख्याति कमाएका थुप्रै नेपाली कलाकार अमेरिकामा श्रम गरिरहेका भेटिन्छन्।

अनुशील श्रेष्ठ र जाङ्बु शेर्पा अमेरिकामा

तस्वीरहरुः डम्बरकृष्ण श्रेष्ठ
अरुणिमा लम्साल आफू कार्यरत रेस्टुरेन्टमा।
'अमेरिकामा यति धेरै नेपाली कलाकार थुप्रिसके कि अब त नेपालमै कार्यक्रम गर्न पनि यतैबाट कलाकार झिकाउनुपर्ला जस्तो छ', नेपाली कलाकारको अमेरिका मोहले अहिलेकै जस्तो गति लिने हो भने गायक यम बरालको यो ठट्टा वास्तविकतामा परिणत हुन धेरै कुर्नु नपर्ने देखिन्छ।

बराल स्वयं न्यूयोर्कस्थित ज्याक्सन हाइटको चौतारी रेस्टुरेन्टमा गाइरहेका भेटिन्छन्। यही रेस्टुरेन्टमा विमल डाँगी, निशा सुनार, संगीता थापा मगर, मधुर गिरी, राम श्रेष्ठ आदि संगीतकर्मी दोहोरी घन्काइरहेका हुन्छन्। थोरै परको मालिङ्गो रेस्टुरेन्टमा सपनाश्री, जगदीश समाल, रोशन गुरुङ गुञ्जन्छन्। पप गायक दिपेशकिशोर भट्टराई पनि वेलावेला नेपाली कार्यक्रमहरूमा 'मलाई माफ गरिदेऊ' भनिरहेका सुनिन्छन्।

प्रतिभाशाली गायकका रुपमा चर्चा पाउन थालेका गायक हेमन्त राणा अमेरिकाबाट फर्किहाल्ने मूडमा छैनन्। अभिनेता दिलीप रायमाझी ६ महीनाअघि मात्रै परिवारसहित अमेरिका आइपुगेका छन्। चलचित्र हाइवे टु धम्पुस को छायांकनको क्रममा अमेरिका आएका अभिनेता राजबल्लभ कोइराला पनि मेरिल्याण्डको बाल्टीमोरमै भेटिन्छन्। चलचित्र निर्देशक शंकर घिमिरे र उनकी पत्नी ऋचा घिमिरे केही वर्षअघि नै अमेरिका छिरेका हुन्। अभिनेत्रीहरू अरुणिमा लम्साल, उषा पौडेल, पूजा चन्द, सारङ्गा श्रेष्ठ र अभिनेता मुकेश ढकाल परिवारसहित मेरिल्याण्ड शहरमा बस्छन्। “कहिलेकाहीं हराए जस्तो हुन्छ, तर नेपाली कलाकार धेरै भएकाले दुःख छैन”, एक भारतीय रेस्टुरेन्टमा काम गरिरहेकी अभिनेत्री लम्साल भन्छिन्।

सम्भवतः २० वर्षअघि लोकगायक प्रेमराज महतबाट आरम्भ भएको नेपाली कलाकारको अमेरिका पलायन पछिल्लो समय झनै बढेको छ। देशको गरीबी र बिग्रँदो राजनीतिक अवस्था सिर्जित थुप्रै समस्या परदेशिने कारक बनेका छन्। भ्रमण र विभिन्न कार्यक्रमका लागि अमेरिका पुग्ने धेरैको ध्याउन्न अमेरिकामै बस्ने देखिन्छ। ग्रीनकार्ड, डीभी र गैरकानूनी रुपमा बसिरहेका बाहेक 'एक्स्ट्रा अर्डिनरी भीसा'को आवेदन दिएर बस्नेहरू पनि थुप्रै छन्। यी सबै गरी कम्तीमा ६० जना नेपाली कलाकार यतिवेला अमेरिकामा सिर्जना होइन, श्रम गरिरहेका छन्।

सपनाश्री

दिलीप रायमाझी

'पलायन होइन अवसर'

परदेशमा अवसर खोज्नुलाई पलायन भन्न नहुने गायक बरालको तर्क छ। चार वर्षअघिदेखि अमेरिका–नेपाल आऊ–जाऊ गरिरहेका उनी भन्छन्, “यहाँ आएर पनि म संगीतकर्ममै छु, त्यसैले यो पलायन हैन।” गायिका सपनाश्रीलाई पनि कसैले पलायन भनेको मन पर्दैन। भन्छिन्, “म गायनबाट पलायन भएकी होइन। पलायन भनेको त सबैथोक छाडेर आउनु हो।” गायक रोशन गुरुङ पनि पलायनभन्दा अवसरको खोजी भन्नु सही हुने बताउँछन्।
लोकगायक महत बाल्टीमोरमा कलाकार/ व्यवसायीका रुपमा जमेका छन्। उनको नेपाल हाउस रेस्टुरेन्टले नेपाली संगीतसँगै पर्यटन प्रवर्द्धन समेत गरिरहेको उनको दाबी छ। 'विश्वकै कलाकार हुनुपर्छ' भन्ने उनी नयाँ पुस्ताका कलाकारका लागि आफूहरूले नै बाटो खोलिदिएकोमा गर्व गर्छन्। उनी भन्छन्, “देशमा पिंढीमै बसेर गाइरहनुपर्छ भन्ने छैन। म यहाँ पनि नेपाली कला–संगीतमै समर्पित छु।” प्रत्येक वर्षजसो अल्बम निकाल्दै आएका उनी नेपाल सरकारको अवैतनिक दूतका रुपमा समेत सक्रिय थिए।

गायिका ममता दिपविम पनि अमेरिका आएको नौ वर्ष लाग्दैछ। यी वर्षहरूमा उनले अल्बम निकाल्न सकेकी छैनन्। ब्याण्डसहित अमेरिका भासिएका मंगोलियन हर्टका गायक राजु लामा ग्रीनकार्ड हात लागेपछि भने सांगीतिक कार्यक्रममा पनि व्यस्त देखिन्छन्। चलचित्र निर्माता अमृत लामा, अभिनेता सुधांशु जोशी र विमलेश अधिकारी पनि अमेरिकामै छन्।
अमेरिका पस्ने पहिलो पुस्ताका कलाकारमध्येमै पर्छिन्, अभिनेत्री कृष्टि मैनाली। सहकर्मी सरोज खनाल र करिश्मा मानन्धर स्वदेश फर्के पनि उनी तत्काल अमेरिका छाड्ने सोचमा छैनन्। पप गायक हरिश माथेमा, सञ्जिव प्रधान र सरिश्मा अमात्य, नलिना चित्रकारले पनि अमेरिकामै केही न केही गरिरहेका भेटिन्छन्।

गीतकार ज्ञानेेन्द्र गदालले अहिले पनि नेपाली जीवनका गीत लेख्न छाडेका छैनन् तर उनी अहिले कोलोराडोमा छन्। संगीतकार दावा छिरिङ शेर्पा पनि अमेरिका आइपुगेका छन्। शास्त्रीय नृत्यमा पारङ्गत संगीता शर्मा पनि अहिले क्यालिफोर्नियामा बस्छिन्। डीभीमा अमेरिका आएका पपगायक मोहन भुसालको घर एटलान्टामा छ। हास्य कलाकार नारायण त्रिपाठी 'प्रेमचरो' लाई पनि नेपालमा खोजेर पाइँदैन। उनी पनि अमेरिकामै छन्। 'चपली हाइट' की नायिका विनिता बराल पनि कृषि सम्बन्धी अध्ययनका लागि भन्दै अमेरिका आइपुगेकी छिन्। अभिनेत्री सज्जा मैनाली पनि विवाहलगत्तै सिने क्षेत्रलाई माया मार्दैै चार वर्षअघि अमेरिका आएकी हुन्।

यम बराल

प्रेमराजा महत

पुग्ने, फर्कने

गायक कर्ण दास पाँचवर्षे अमेरिका बसाइपछि स्वदेश फर्केका छन्। 'रिटायर्ड लाइफ' लाई स्वदेशमै बिताउने भन्दै कलाकार दम्पती सरोज–सूर्यमाला खनाल पनि नेपालमै छन्। अभिनेत्री गौरी मल्ल र कलाकार राजाराम पौडेल पनि ग्रीनकार्ड नपाएपछि नेपाल फर्केका छन्। आधाजसो कलाकारले भने अमेरिकाको स्थायी अनुमतिपत्र पाइसकेका छन्।
अमेरिकाबाट थुप्रै कलाकार तोकिएको समयमा नेपाल नफर्केको भन्दै अभिनेता राजेश हमाल, निखिल उप्रेती, गायक राजेशपायल राई र कुवेर राईलाई एकपटक काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा नदिएको चर्चा चलेको थियो। अभिनेत्री निरुता सिंह र गायिका पार्वती राईलाई पनि दूतावासले पत्याएन। तर, हमाल र गायक राईले भने पछिल्लो समय अमेरिकामा कार्यक्रम गरेर आइसकेका छन्। बिहे गरेर अमेरिका आए पनि अभिनेत्री प्रियंका कार्की भने श्रीमान्सँग पारपाचुके गरेर नेपालमै फिल्म क्षेत्रमा व्यस्त छिन्।

न्यूयोर्कको चौतारी रेस्टुरेन्टमा गीत गाउँदै संगीता थापा मगर र विमल डाँगी। (दायाँ) निशा सुनार र मधुर गिरी।

पछिल्लो समयमा एक कार्यक्रमका लागि आएकी नायिका नम्रता झा फर्केकी छैनन्। नायिका निशा अधिकारी पनि अमेरिका आवतजावत गरिरहेकी छिन् भने अर्की नायिका केकी अधिकारीले पनि अध्ययनका लागि अमेरिका जाने बताइसकेकी छिन्।

कार्यक्रमकै लागि अमेरिका आएका रामकृष्ण ढकाल, निमा रुम्बा जस्ता चर्चित कलाकारहरूले समेत अमेरिका बसोबासको मन बनाइसकेका छन्। पछिल्लो समयमा गाकयद्वय सत्यराज र स्वरुपराज आचार्यदेखि हास्यकलाकार जितु नेपाल, लोकगायिका शिला आले, निरु खड्कालगायतका कलाकार भने कार्यक्रमको सेरोफेरोमा अझ्ौ अमेरिकाकै विभिन्न राज्य घुमिरहेका छन्।

साथमा ङिमा पाखि्रन, न्यूयोर्क


अमेरिकामै घरजम

तस्वीरः सारङ्गाको फेसबूकबाट
नायिकाद्वय सारङ्गा श्रेष्ठ र पूजा चन्दको परिवार।

स्वदेशमा अविवाहित अभिनेत्री जल शाहको लगन अमेरिकामै जुर्‍यो। उनले नेपालीमूलका शरद रिमालसँग विवाह गरिन्। बाल्टीमोरमा बस्ने सारंगा श्रेष्ठको लगनगाँठो पनि अमेरिकामै कसिएको हो।

अध्ययनको फेरोमा अमेरिका आएकी अभिनेत्री रुपा उपाध्यायले पनि रसियन मूलका चिकित्सकसँग विवाह गरेकी छन्। चर्चित अभिनेता रमेश उप्रेतीले पनि अमेरिकामै विवाह गरेका हुन्। उप्रेती अहिले भने नेपालमै छन्।

comments powered by Disqus

रमझम