१५-२१ कात्तिक २०७२ | 1-7 November 2015

समयका तस्वीर

Share:
  

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय फोटो महोत्सव आयोजना हुने भएको छ। ललितपुरमा १७–२३ कात्तिकसम्म हुने महोत्सवमा १८ फोटो प्रिन्ट प्रदर्शनी, २० कलाकार वार्ता, ६ वटा स्लाइड शो र ६ वटै कार्यशाला रहने आयोजक फोटो सर्कलले जनाएको छ।

फोटाको माध्यमबाट नेपाली समाजको विगतको अभिलेख निर्माण गर्ने भन्दै महोत्सवलाई 'समय' थिममा प्रस्तुत गर्न लागिएको छ। “पहिचानको पुनःनिर्माणका लागि संवाद चाहिन्छ र त्यस्ता संवादलाई सहजीकरण गर्न कला र संस्कृति शक्तिशाली माध्यम हुन् भन्ने लागेर महोत्सव आयोजना गरेका हौं”, महोत्सवकी सह–निर्देशक नयनतारा गुरुङ कक्षपति भन्छिन्। “नेपालीका लागि अहिले एकजुट हुने समय हो यो”, महोत्सवमा सहभागी अष्ट्रेलियाली फोटोग्राफर फिलिप ब्लेन्किन्सप भन्छन्, “यस्तो समयमा महोत्सव हुनुलाई सकारात्मक मान्नुपर्छ।” नेपालमा पछिल्लो १५ वर्षमा आएको राजनीतिक परिवर्तनबारेको उनको प्रदर्शनी पाटनको मंगलबजारस्थित पुरानो अदालत भवनमा राखिएको छ।

किशोर शर्मा

प्रशित स्थापित

विश्वव्यापी खुला आह्वानबाट फोटो सर्कलले डिजिटल स्लाइड शोका लागि ५४५ वटा फोटो प्राप्त गरेको थियो। तीमध्ये ३१ देशलाई प्रतिनिधित्व गर्ने ८० फोटो प्रदर्शनीका लागि छनोट गरिएको छ। रात्रिकालीन डिजिटल स्लाइड शोका लागि नागबहाल र कोंतीबहाल चोक तथा मंगहिटी र च्यासलका सार्वजनिक ढुंगेधाराहरू रोजिएका छन्। महोत्सवमा देखाइने फोटोहरूले नेपालको समसामयिक इतिहासलाई सूत्रबद्ध गर्ने प्रयत्न गरेको सह–निर्देशक कक्षपति बताउँछिन्।

फोटो प्रदर्शनीमा विकास रौनियार, फिलिप ब्लेन्किन्सप, केविन बुब्रिस्की, किशोर शर्मा, प्रशित स्थापित, फ्रेडरिक लेक्लु, जुजुभाई धाख्वा, तुओमो मिन्निएन् आदिले भाग लिएका छन्। दर्शक पर्खेर बस्नुको सट्टा सार्वजनिक स्थलमा नै प्रदर्शनी गर्दा महोत्सव आफैं दर्शककहाँ पुग्ने आयोजकको विश्वास छ।

केभिन बुब्रिस्की

तुओमो मिन्निएन्

महोत्सवमा फ्रेन्च बेल्जियन फोटोग्राफर फ्रेडरिक लेक्लुको दैनिकीबारे फोटोग्राफी सम्बन्धी 'फोटोग्राफिङ द एभि्रडे' बङ्गलोरकी मौखिक इतिहासविद् इन्दिरा चौधरीको स्वरानुवादः श्रवण र लेखनबारे अध्ययन सम्बन्धी 'ट्रान्सलेटिङ द भोइसः एक्सप्लोरेशन इन लिस्निङ एण्ड राइटिङ' तथा डेनिस अखबार पोलिटिकेन का पुरस्कार विजेता फोटो थोमस बोरबर्गकोे 'भिजुअल थिंकिङ इन द एडिटोरिएल प्रोसेस' आदि कार्यशाला पनि हुनेछन्।
फोटो सर्कलका अनुसार पाँचदिने महोत्सवमा स्थानीय र विदेशी कलाकारहरूसँग वार्तालाप तथा फोटोग्राफर, क्युरेटर, मानवशास्त्री, इतिहासविद् तथा समसामयिक फोटोग्राफी, दृश्यमाध्यम र शब्दमाध्यम, फोटो पुस्तक निर्माण, दक्षिण एशियामा फोटोग्राफीको इतिहास जस्ता विषयमा संवाद पनि हुनेछन्। '

सजना बराल

comments powered by Disqus

रमझम