नेपाली गलैंचा प्रेम

Share:
  
२८ वर्षअघि नेपाल नआएकी भए आजकी सफल गलैंचा व्यवसायी स्टेफेनी ओडेगार्डको जीवन अर्कै हुनेथियो।

अमेरिकाको म्यानह्याटनस्थित न्यूयोर्क फेशन सेन्टरमा रहेको 'स्टेफेनी ओडेगार्ड कलेक्सन' नेपाली गलैंचा र हस्तकलाका सामानले सजिएको छ। कारण, २८ वर्षदेखि स्टेफेनी ओडेगार्ड (६६) नेपाली कलाको प्रेममा छिन्।

त्यसो त सन् १९७० दशकको अन्त्यबाटै स्टेफेनीले नेपाल, भारत, पाकिस्तानका शिल्पकार र व्यवसायीसँग मिलेर गलैंचा उत्पादनको काम थालेकी थिइन्। त्यतिवेलै उनलाई नेपाली गलैंचा कलाप्रति खास आकर्षण थियो।

सन् १९८७ मा विश्व ब्यांकको एक आयोजनाका लागि स्टेफेनी पहिलोपटक नेपाल आइपुगिन्। “एकवर्षे नेपाल बसाइमा मैले गलैंचाका उत्पादनबारे मनग्य जानकारी पाएँ”, म्यानह्याटनस्थित आफ्नै सेन्टरमा स्टेफेनीले हिमाल सँग भनिन् “त्यसपछि पिसकोर, विश्व ब्यांक, राष्ट्रसंघ सबै छाडेर हस्तकला क्षेत्रमा काम गर्ने निर्णय गरें।”

यिनै स्टेफेनीले नै हो, सन् १९९० देखि नेपाली गलैंचा अमेरिकी बजारमा पुर्‍याएको। सोही वर्ष न्यूयोर्कमा आफ्नो आउटलेट खोलेकी उनले त्यो वेला नेपालमै चार वटा गलैंचा कारखाना खोलेकी थिइन्, जहाँ १० हजारभन्दा बढी श्रमिक थिए। “नेपालमा बनेको गलैंचा अमेरिका भित्र्याउने म नै शायद पहिलो व्यक्ति हुँला”, उनी भन्छिन्।

स्टेफेनीकै कारण यतिवेला न्यूयोर्कलगायत विभिन्न अमेरिकी शहरमा नेपालमा उत्पादित गलैंचा र पस्मिना, कार्पेट, सल र अन्य उत्पादनहरू देख्न सकिन्छ। लस एन्जलसको जे. पाउल गेट्टी म्युजियम, न्यूयोर्कको रेस्टुरेन्ट डेनियलदेखि संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको कार्यालयमा समेत उनले पुर्‍याएका गलैंचा बिछ्याइएको छ। थुप्रै इन्टेरियर डिजाइनरले स्टेफेनीकै सामानबाट आफ्नो शो–रुम सजाएका छन्। 'ओडेगार्ड रेयर एण्ड कस्टम कार्पेट' संस्था समेत खोलेकी स्टेफेनी विकासोन्मुख देशका शिल्पकारसँग सहकार्य गर्दै नयाँ डिजाइनका गलैंचा, कार्पेट, वाल ह्यांगिङ्स, फर्निचर उत्पादन विश्व बजारमा पुर्‍याउन व्यस्त छिन्।

नेपाल, पाकिस्तान, भारत र तिब्बतमा रहेका अधिकांश गलैंचा कारखानामा थुप्रै बालश्रमिक देख्दा स्टेफेनीको मन चसक्क हुन्थ्यो। त्यसैले १९९० दशकको अन्त्यदेखि उनले कारखानाबाट बाल श्रम हटाउने अभियान शुरु गरिन्। यो अभियान जारी छ। गुडविभ फाउण्डेशनमार्फत स्टेफेनीले काठमाडौंका केही विद्यालयलाई सहयोग गर्दै आएकी छन्। महाभूकम्पलगत्तै राहत र पुनःनिर्माणमा पनि यो संस्थाले सघाएको थियो।

शब्द/तस्वीरः डम्बरकृष्ण श्रेष्ठ, न्यूयोर्कमा

comments powered by Disqus

रमझम