बेल्जियममा नेपाली भाषा

Share:
  

अवसरका लागि विदेशी भूमिमा आएर संस्कृति जोगाउन नेपाली स्कूल चलाउनु आफैंमा रमाइलो प्रयास भएको छ।

विदेश जानुअघि अंग्रेजी भाषा चाहिन्छ, गएर जमिसकेपछि फेरि नेपाली नै चाहिंदो रहेछ। बेल्जियमको आन्तरपेन शहरका नेपालीले आफ्ना बालबालिकालाई २४ घण्टाको २० युरो (रु.२३००) शुल्क तिरेर बाह्रखरी पढाइरहेका छन्। प्रत्येक शनिबार र आइतबार तीन घण्टा चल्ने भाषा कक्षामा बेल्जियममै जन्मिएका १५ वर्षसम्मका २८ बालबालिका छन्। स्थानीय विद्यालयमा डच भाषामा पढ्ने नेपाली बालबालिकाले नेपाली भाषा कक्षामा संस्कृति पनि सिकिरहेको एक जना अभिभावक नविन गुरुङले बताए।

आन्तरपेनमा सोफिया महर्जन र सच्चा कार्की दम्पतीले डेढ वर्षअघि नेपाली कक्षा संचालन गरेका हुन्। उनीहरू यहीं जन्मिएका बालबालिकालाई तीन महीनामै प्रष्ट नेपाली बोल्न र लेख्न सक्ने बनाउने प्रयासमा छन्। भाषासँगै अतिरिक्त क्रियाकलापबाट बालबालिकालाई नेपाली संस्कृति र नेपालबारे जानकारी गराउने गरेको शिक्षक महर्जनले बताइन्। “खासमा कलिला नेपाली बालबालिकाले नेपाली नै बोल्न नसकेको देखेर हामीले यो प्रयास थालेका हौं”, महर्जन भन्छिन्, “हामीले अभिभावकहरूको मनकै काम थालेका रहेछौं।”

बेल्जियममा जन्मे/हुर्केका बालबालिकालाई भावनात्मक रूपमा नेपालसँग जोडिराख्न ब्रुज शहरमा पनि साताको एक दिन नेपाली भाषा कक्षा चलाइएको छ। अवसरका लागि विदेशी भूमिमा आएर संस्कृति जोगाउन नेपाली स्कूल चलाउनु आफैंमा रमाइलो प्रयास भएको छ।

सन्तोष न्यौपाने, बेल्जियम


ब्रिकेटबाट परिवर्तन

वनको काम नलाग्ने झाडी र सोत्तरमा चिम्ट्याइलो माटो मिसाएर बनाइने ब्रिकेटबाट अत्तरपुरले गत वर्ष रु.२५ लाख आम्दानी गर्‍यो।

धुवाँरहित ढंगले खाना पकाउन मात्र हैन, जाडोमा आगो ताप्न र कोठा तताउन पनि निकै उपयोगी हुन्छ, ब्रिकेट। यसको प्रयोग बढ्दै जाँदा सिन्धुपाल्चोकको अत्तरपुर गाविसमा मात्र चार वटा ब्रिकेट उद्योग खुलेका छन्। ६ वर्षबाट उत्पादन हुन थालेको यहाँको ब्रिकेटले काठमाडौंमा बजारको ठूलो हिस्सा ओगटेको छ।

वनको काम नलाग्ने झाडी र सोत्तरमा चिम्ट्याइलो माटो मिसाएर बनाइने ब्रिकेटबाट अत्तरपुरले गत वर्ष गाविसको वार्षिक बजेटभन्दा बढी रु.२५ लाख आम्दानी गर्‍यो। अत्तरपुरका ब्रिकेट उद्योगमा गाउँका करीब २०० जना रोजगार छन् र तीमध्ये धेरैको उद्योगमा शेयर छ। हिमालय नेचुरल्सका प्रबन्ध निर्देशक सुशील ज्ञवाली गएको वर्ष चार उद्योगले रु.६५ लाखको कारोबार गरेकोमा यो वर्ष रु.१ करोड पुग्नेमा आशावादी छन्।

ताम्चे बायो ब्रिकेट उद्योगका अध्यक्ष चेतलाल श्रेष्ठ धेरैले विहान–बेलुका घरको काम भ्याएर उद्योगमा मासिक रु.१० देखि १५ हजारसम्म कमाइरहेका बताउँछन्। कतिले ब्रिकेट उद्योगमा काम गरेरै पक्की घर बनाएका छन्। वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.गोविन्द पोखरेल भन्छन्, “इन्धनको समस्या भोगिरहेको हाम्रो जस्तो गाउँले मुलुकका लागि ब्रिकेट धेरै राम्रो विकल्प हो।”

ऋषिराम कट्टेल, सिन्धुपाल्चोक


बिचल्लीमा परेकालाई राहत

लामो समयदेखि सानोभेरी नदी किनारमा बस्दै आएका शेरबहादुर वादी (३४) को जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएपछि बिचल्लीमा परेका उनका परिवारले राहत पाएका छन्। शेरबहादुरको मृत्युपछि उनकी श्रीमती तीर्था र चार बालबच्चाको बेहाल भएको समाचार १–१५ माघको हिमाल खबरपत्रिकामा प्रकाशित भएको थियो। समाचार पढेर वादी परिवारलाई तातोपानी गाविस (सिन्धुपाल्चोक) का पूर्वअध्यक्ष अमृत खड्काले रु.१० हजार र हाल इजरायलमा रहेकी थलाजुङ (गोरखा) की कौशिला गुरुङले रु.५ हजार २०० सहयोग पठाएका हुन्।

लक्ष्मण केसी, रुकुम


नेपाली जुवाडे भारतीय खालमा

सागर मार्केटको माथिल्लो तलामा रहेको रायको जुवा अखडामा निजी सुरक्षागार्ड राखेर नेपालीलाई जुवा खेलाइन्छ।

जुवा खेल्न सीमावर्ती शहर जोगवनी पुगेका १२ नेपाली जुवाडे ८ माघमा भारतीय प्रहरीको फन्दामा परे। रामसागर रायको घरको जुवा खालमा अररियाका एसपी शिवदीप लाण्डेको टोलीले छापा मार्दा उनीहरू पक्राउ परेका थिए। भारतीय प्रहरीका अनुसार, पक्राउ परेकालाई बंगाल सार्वजनिक जुवा अधिनियम १८६७ को धारा ४ लगाइएको छ। सो धारा अन्तर्गत थुनामा पर्ने धरौटी राखे छुट्न सक्छ। जुवाको खाल संचालन गरेका रामसागर र भाइ राजुलाई चाहिं धरौटी राखे पनि नछुट्ने त्यही अधिनियमको धारा ४२० लगाइएको छ। तर, उनीहरू अहिलेसम्म पक्राउ परेका छैनन्।

सागर मार्केटको माथिल्लो तलामा रहेको रायको जुवा अखडामा निजी सुरक्षागार्ड राखेर नेपालीलाई जुवा खेलाइन्छ। विराटनगरमा २९ जुवाडे प्रहरी कारबाहीमा परेपछि यो ठाउँलाई उनीहरूले रोज्न थालेका हुन्। आफ्नो जुवा अखडाको व्यापार बढाउन रामसागर र राजुले नै सुराकी दिएर विराटनगरमा जुवाडेलाई पक्राउ गराएको बताइन्छ।

नेपालका जुवाडे भारतमा र भारतका नेपालमा जुवा खेल्दै आएका छन्। नेपाली सीमाको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन्द्र कार्की जुवा खेल्न जोगवनी जानेलाई चिन्न नसकिने हुनाले रोक्न नसकिएको बताउँछन्। विराटनगरका जुवाडे झापादेखि पर्सासम्मका जुवा अखडा पनि जाने गरेका छन्। जुवाडेहरू पक्राउ परे पनि थोरै जरिवाना तिर्दा छुट्ने हुनाले नियन्त्रण गर्न कठिन भएको प्रहरीको भनाइ छ। जुवा ऐन २०२० ले जुवा खेल्नेलाई रु.२०० र खेलाउनेलाई रु.५०० मात्र जरिवाना गर्ने व्यवस्था गरेको छ।

कमल रिमाल, विराटनगर


राजमार्ग नबनुन् मृत्युमार्ग

विगत तीन वर्षमा सुदूरपश्चिममा भएका ४२७ सवारी दुर्घटनामा परी ४८७ जनाको ज्यान गएको छ। सुदूरपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय अत्तरिया, कैलालीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रमोद खरेलका अनुसार विभिन्न समयमा भएका सडक दुर्घटनामा परी यो वर्षमा मात्रै ६७ जनाको ज्यान गएको छ।

पछिल्लो समय २८ पुसमा डोटीको छतिवनमा भएको बस दुर्घटनामा ३१ जनाको ज्यान गएको थियो। दुर्घटनापछि क्षेत्रीय प्रशासक आत्माराम पाण्डेको संयोजकत्वमा गठित अध्ययन समितिले चालकको कमजोरीका कारण दुर्घटना भएको प्रतिवेदन बुझाएको छ।

प्रतिवेदनमा सुदूरपश्चिमको लामो दुरीमा लगातार एउटा चालकले गाडी चलाउनु तथा साँघुरा कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रतिस्पर्धालाई अधिकांश दुर्घटनाको कारण औंल्याइएको छ। यातायात व्यवस्था कार्यालय धनगढीका अनुसार हालसम्म सुदूरपश्चिममा ठूला साना गरी ३ हजार ४१३ सवारी दर्ता भएका छन्।
राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी पैसाको लोभमा सिण्डिकेट लगाई थोरै गाडी चलाएर क्षमताभन्दा बढी यात्रु बोक्नु नै गलत ठान्छन्। पैसा कमाउने होडबाजी गर्नुभन्दा पनि चालकले यात्रुलाई सुरक्षित साथ गन्तव्यमा पुर्‍याउनेतर्फ सचेत हुनुपर्ने रेग्मीको भनाइ छ।

कपिल भट्ट, धनगढी

comments powered by Disqus

रमझम