कतारोको कालो दही

Share:
  
- मिलन बगाले
माफ गर्नुस्, तपाईंले माटो फालेर खाल्डोभित्र सगर्व सिमेन्ट भरिरहँदा म चाहिं ठेकीबाट दही झिकेर गोबर हालिरहेको देखिरहेको छु।

बिलाश राई
माटोमा मन हाले सिर्जना उमि्रन्छ, मल हाले बाली। मनले सभ्यता जन्माउँछ भने मलले सम्पन्नता। अम्लीय माटोले किसानको पसिना सोस्छ, मलिलो माटोले किसानलाई पोस्छ। काठमाडौंको कालीमाटी यस्तै गुनी माटोमध्ये एक हो, भाग्य फलाउने। यही माटोले धनधान्य बनाइदिंदा कालीमाटीवासीले कलाकौशलमा गर्नु उन्नति गरे। यहाँ म अब त्यो समयलाई सम्झ्ेर रुने दिन आएको कुरा गर्दैछु। २०६८ सालको जनगणनाअनुसार काठमाडौं जिल्लाको स्थायी जनसंख्या १७ लाख ४४ हजार २४० छ भने जनघनत्व ४४१६ प्रति वर्गकिलोमिटर। चलेको चलन अनुसार, भक्तपुर र ललितपुरका समुच्च गोलमटोललाई पनि काठमाडौं उपत्यका मान्दा र साता दश दिनका लागि टप्कने टुरिष्ट टाइपको अस्थायी जनसंख्या समेतलाई जोड्दा यो खाल्डोले चानचुन ४० लाख मनुवा बोकिरहेको छ। यतिका ज्यानलाई खुवाउन―पियाउन नसकेर काठमाडौं आत्तिंदा अन्न र जलको भण्डारभित्र भोका–तिर्खाहरूको कोलाहल मच्चिएको कुरा अब कुनै भगवान आएर भनिरहनु पर्दैन।

र पनि, खै के–को सम्झेर, बुझेर हो, देशैभरिका मान्छे यहाँ ओइरिन छाडेका छैनन्। यसरी भीड बढ्दा उहिले मुरीका हिसाबले नापिने काठमाडौंको कालीमाटी डोरी, फित्ता र बित्ताले नापिन थाल्यो अनि चिराचिरा भयो। प्रत्येक चिरोबाट सिमेन्टीका ढिस्का उमि्रन थालेपछि यो हेरिनसक्नु, बसिनसक्नु र छोइनसक्नु बन्यो। कति–कति खोला, धारा, कुवा, इनार, पोखरी र सम्पदाहरू घडेरीभित्र पुरिए। चार आनामा चार तले कीर्तिमान ठड्याएका वीरहरूले आकाशबाट झ्रेको पानीलाई सरासर चारभन्ज्याङ कटाउने सफलता प्राप्त गर्दा वीरशमशेर महाराजले हालिदिएका पाइपमा कमिलाले टाउन प्लानिङ गर्‍यो। यसलाई पानी भुईमुनि र पाप धुरीमाथि भएको अवस्था भनिन्छ।

शहरी विकासका गणित जान्नेहरूका अनुसार, पछिल्लो २० वर्षमा काठमाडौं उपत्यकाको शहरी क्षेत्र ४५० प्रतिशतले बढेको छ। शहरी क्षेत्र बेलुनझै फुलिएर १४ हजार हेक्टर हुन थाल्दा कृषियोग्य जमिन प्रति वर्ष ८३६.२७ हेक्टरका दरले घढ्दो छ। यही ताल रहे अबको डेढ वर्षमा काठमाडौंमा हरियो दृश्य स्यालको टाउकामा सिंगजस्तो हुनेछ। सडकछेउका रूखहरू त बालुवाटारका बाबुरामले भित्तो हान्ने निहुँमा स्वाहा पारी नै सकेका छन्।

बालुवाटारमा बाबुराम जस्ता विकासप्रेमीहरूले बास गरेपछि गैर–कृषि व्यवसायमा बाँच्ने शहरहरूले अन्नदाता गाउँहरूलाई सम्पन्नता, सभ्यता र अवसरको उपहार दिनुपर्छ भन्ने विकासका मानक सिद्धान्तहरूले सिल्टिम्मुर टोक्ने नै भए। काठमाडौंले उसै पनि पहिल्यैदेखि दिन हैन दाब्न मात्र जानेको थियो। अतिदोहनमा उत्रिएर आफ्नै सर्वस्वहरण गरिसकेको काठमाडौंसँग अहिले पनि मास्ने बाहेक उकास्ने योजना छैन। अब त झ्न् यो बाँदर डोजरमै सवार भएको छ।

जल, जमिन र जंगल मासेर रमाएको काठमाडौं एउटा कतारो बनिसकेको छ अनि कालीमाटी त्यसमाथिको दही। देशको यो एक्लो महानगरका बाहेकका ज्ञानीहरूले अब हुलै उठेर चक्रपथ बाहिर हेर्नुपर्ने भएको छ, जहाँ उनीहरूलाई अतिखण्डीकरण रोक्ने सानो मौकाले पर्खिरहेको छ। काठमाडौंवासीले बचेखुचेका सिला क्षेत्रलाई हरितक्षेत्र घोषणा गरेर त्यहाँ व्यावसायिक खेती र वृक्षरोपणमा अग्रसर हुनैपर्छ। घर बनाउँदा दुइटा रूख हुनैपर्ने काठमाडौं महानगरपालिकाको उर्दी अनुसार अब इन्जिनियरहरूले नक्सामा हलक्क सप्रेको रूख बनाउने नै छन्। आफूलाई जिम्मेवार नागरिक ठान्नेहरूले चाहिं अब आ–आफ्नो कम्पाउण्डभित्र रूख रोप्नुपर्छ, छत र कौसीमा फूलबिरुवा उमार्नुपर्छ।

कदाचित, महानगरपालिकाले बिरुवा उपलब्ध गरायो भने उसलाई बौलायो भन्न पाइने छैन। काठमाडौंको कालीमाटी र पानीको रक्षा नगरे यहाँ आश्रित सबैले बराबर तड्पिनुपर्ने छ। मेरो, यहाँका रैथाने नेवारको र अरू सबै इष्टहरूको जय होस्!

comments powered by Disqus

रमझम