२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

सुनियोजित 'राष्ट्रघात'

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ र सन्त गाहा मगर
खेल मिलेमतो गरी देशलाई हराउने राष्ट्रिय फूटबल खेलाडीहरूको 'राष्ट्रघात' मा एन्फा अध्यक्ष गणेश थापा र उनका मतियार साक्षी बसेका छन्।

मितिः २३ भदौ २०७०

खेलः नेपालविरुद्ध अफगानिस्तान (दशौं साफ च्याम्पियनसिपको सेमिफाइनल)

स्थानः दशरथ रंगशाला, काठमाडौं।

कौशल अधिकारी
हिरोबाट जिरोः म्याच फिक्सिङ गरी राज्य विरुद्धको अपराध गरेको अभियोगमा पक्राउ परेका राष्ट्रिय फूटबल टीमका कप्तान सागर थापा, गोलकिपर रितेश थापा, डिफेन्डर सन्दिप राई, विकाससिंह क्षेत्री र पूर्व प्रशिक्षक अञ्जन केसीलाई थुनुवा म्याद थपका लागि अदालत लगिंदै।
भारत र बंगलादेशलाई पराजित गर्दै समूह ए विजेता बनेर नेपाल १६ वर्षे साफ इतिहासमै सुधारिएको प्रदर्शनसहित मैदानमा उत्रिएको थियो। प्रतिस्पर्धी थियो, चिरपरिचित प्रतिद्वन्द्वी अफगानिस्तान। देशलाई जिताउन १८ हजारभन्दा बढी दर्शक रंगशाला पुगे। तर, खेलको ११औं मिनेटमै नेपालले अनपेक्षित गोल खान पुग्यो। गोलरक्षक किरण चेम्जोङले सहजै नियन्त्रणमा लिनसक्ने बल उनको हातबाट अपत्यारिलो ढंगले फुत्किएपछि अफगान फरवार्ड सञ्जर अहमदीले ढुक्कले जाली चुमाए।

उत्कृष्ट लयमा रहेको नेपालले सुधारिएको प्रदर्शन गर्दै नतीजा उल्ट्याउने प्रयास जारी राख्यो। दोस्रो हाफको ८५औं मिनेटमा रक्षापंक्तिका सन्दिप राईको फ्रिकिकमा हेड गर्न उफ्रिएका विमल घर्ती मगरलाई अफगान गोलरक्षक मन्सुर फगिरयारले पेनाल्टी क्षेत्रमा लडाए। तत्कालै साउदी अरेबियाका रेफ्री सालेह अल हेथ्लोलले नेपाललाई पेनाल्टीको दुर्लभ मौका दिए। टीमले रक्षापंक्तिका चर्चित खेलाडी रोहित चन्दलाई पेनाल्टी प्रहारको अवसर दियो। दर्शकको ढुकढुकी टक्क रोकियो। तर, चन्दको प्रहार अफगान गोलरक्षकले ठम्याए। बल प्रहार नगर्दै अफगान खेलाडी पेनाल्टी क्षेत्रमा प्रवेश गरेपछि रेफ्रीले पेनाल्टी प्रहारलाई मान्यता दिएनन् र पुनः प्रहारका लागि चन्दलाई आदेश दिए। तर, दुर्भाग्य चन्द फेरि चुके। उनले दोस्रो पेनाल्टी पनि पहिलेकै क्षेत्रमा हाने। कमजोर प्रहारलाई अफगानी गोलरक्षकले सहजै बचाए। नेपाल साफ च्याम्पियनसिप बन्ने सपना फेरि तुहियो।

पहिलो रोजाइका गोलरक्षक चेम्जोङ र चन्दको प्रदर्शनको आलोचना गरे पनि रंगशाला र टेलिभिजन पर्दामा प्रत्यक्ष प्रसारण हेरिरहेका लाखौं नेपालीले 'भाग्य नेपालको साथमा रहेनछ', भन्दै चित्त बुझाए। तर, एशियाली फूटबल महासंघ (एएफसी) को मन यति सजिलै बुझनेवाला थिएन। एएफसीले खेल मिलेमतोमा खेलिएको आशंका गर्‍यो। तर, 'आफू नभए नेपाली फूटबल नै सकिने' दाबी गर्ने गणेश थापा नेतृत्वको अखिल नेपाल फूटबल संघ (एन्फा) ले खेलको यो पाटोतर्फ कुनै चासो देखाएन। अन्ततः एएफसीले नेपाल प्रहरीसँग मिलेर अनुसन्धान थाल्यो।

खेलाडीको अस्वाभाविक प्रदर्शनसँगै एएफसीलाई अनुसन्धानको आधार पनि थियो। २०११ मा भारतमा भएको ९औं साफ च्याम्पियनसिपमा पनि सेमिफाइनलमै नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले नै पराजित भएको थियो। हारको प्रमुख कारण रक्षापंक्तिलाई नै मानिएको थियो।

तस्वीरः शंकर व्यञ्जनकार
को जिम्मेवार? अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा।
२७ असोजमा प्रहरीले खेल मिलेमतो (म्याच फिक्सिङ) को अभियोगमा कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलरक्षक रितेश थापा, मध्यपंक्तिका विकाससिंह क्षेत्री र पूर्व राष्ट्रिय खेलाडी एवं थ्रीस्टार क्लबका पूर्व प्रशिक्षक अञ्जन केसीलाई पक्राउ गरेपछि भने यसको रहस्य खुलेको छ। एएफसीको स्पोर्टराडार सेक्युरिटी सर्भिसेज् र नेपाल प्रहरीको संयुक्त छानबिनमा नेपालले सन् २००८ यता खेलेका २३ मध्ये अफगानिस्तान, मलेशिया, फिलिपिन्स, भारत, सियरालियोन र दक्षिण कोरियासँगको प्रतिस्पर्धामा यस्तो अपराध प्रमाणित भएको प्रहरीको दाबी छ। (हे. बक्स) अभियुक्त खेलाडीहरूलाई प्रहरीले राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ अनुसार जन्मकैदसम्मको सजाय प्रस्ताव गरेको छ।

नेपाली फूटबलप्रेमीलाई स्तब्ध पार्दै राष्ट्रको नाममा शपथ लिएका खेलाडी नै 'म्याच फिक्सिङ' मा पक्राउ परेपछि राष्ट्रिय टीमका पूर्व प्रशिक्षक कृष्ण थापाले नेपाल र अफगानिस्तानबीचको उक्त खेल फेरि सम्झिए। “दुईपटकको पेनाल्टी मिस सामान्य कुरा होइन, प्रहार हेर्दा सीधै किपरलाई बल पास दिए जस्तो देखिन्थ्यो”, थापा भन्छन्।

लहरो तान्दा पहरो

'म्याच फिक्सिङ' प्रति शून्य सहनशीलताको नीति अख्तियार गरेको एएफसी र प्रहरीको अनुसन्धानले २००८ मा मलेशियामा भएको ४०औं 'मर्डेका कप'मा नेपालको प्रदर्शनदेखि अनुसन्धान थालेको थियो। उक्त प्रतियोगितामा अफगानिस्तानसँग २–२ को बराबरी खेल्न र सियरालियोन (यू–२०) सँग ४–० ले पराजित हुन बुकी (दलाल) सँग मोटो रकम लिएपछि नेपाल समूह चरणबाटै बाहिरिएको अनुसन्धानको ठहर छ। त्यो वेला नेपालका खेलाडीलाई म्याच फिक्सिङ आफैंले गराएको कुख्यात फिक्सर विल्सनराज पेरुमल (५०) ले आफ्नो पुस्तक 'केलङ किंग्स' मा लेखेका छन्। पुस्तकको सातौं खण्डको 'दी सिन्डिकेट' शीर्षकमा पेरुमल लेख्छन्, “केटा (सियरालियोनका खेलाडी) हरूले खासमा दोस्रो हाफमा ४–० ले खेल जित्नुपर्ने थियो। नेपाल पराजय भोग्न तयार थियो।” मलेशियन एजेन्टमार्फत नेपाली खेलाडीसँग 'म्याच फिक्स' गराएपछि विजयी सियरालियोनले सहजै सेमिफाइनलको यात्रा तय गर्‍यो। फिक्सिङ नगरी दुवै खेल जितेको भए नेपाल ६ अंकसहित सेमिफाइनल पुग्ने थियो। म्याच फिक्सिङ अपराधमा पटक–पटक पक्राउ परेका पेरुमलले कप्तान सागर थापासँग दरबारमार्गस्थित एउटा रेस्टुरेन्टमा भेटेको प्रहरीको भनाइ छ।

फिक्सरः अन्तर्राष्ट्रिय म्याच फिक्सर विल्सनराज पेरुमल (बायाँ) र टाटानी सो पेरियासामल्य। जसले पैसा दिएर नेपाली खेलाडीलाई हार्न लगाए। पेरुमलले लेखेको म्याच फिक्सिङबारेको पुस्तक केलोङ किङ्स (तल)। जसमा नेपाली खेलाडीहरु कसरी बिके भन्ने उल्लेख छ।

राष्ट्रिय टोलीका कप्तानसहित पाँच खेलाडी पैसाका लागि देश हराउने 'राष्ट्रघाती' अभियानमा सहभागी देखिंदासमेत एन्फाको उदासीनता शंकास्पद छ। आरोपित खेलाडी निलम्बनको विज्ञप्ति जारी गर्ने बाहेक एन्फाले चूँसम्म गरेको छैन। एन्फा अध्यक्ष थापाले न त यसबारे आन्तरिक छानबिन थालेका छन्, न नैतिक जिम्मेवारी लिंदै राजीनामा नै गरेका छन्। बरु, उनले अनुसन्धानमा समेत खासै सहयोग नगरेको प्रहरी अधिकारीहरू बताउँछन्। तर, थापा भने आफूले अनुसन्धानमा सघाइरहेको बताउँछन्। उनी भन्छन्, “प्रहरीले मागेका सूचना दिइरहेकै छु।”

तर, एन्फाका उपाध्यक्ष कर्माछिरिङ शेर्पाको भनाइ मान्ने हो भने २००८ देखि नै एएफसीले एन्फालाई म्याच फिक्सिङबारे अनुसन्धान गर्न ताकेता गरेको थियो। तर एन्फा अध्यक्ष थापाले खेलाडीलाई भेला गरेर कसम खान लगाए। प्रहरीलाई दिएको बयानमा सबै खेलाडीले आफ्नो अपराध स्वीकारेका छन्। बयानमा म्याच फिक्सिङ बापत विभिन्न खेलमा प्रति खेलाडी ५ हजार अमेरिकी डलर (रु.५ लाख २० हजार) सम्म बुझेको उल्लेख छ। प्रहरीले खेलाडीका ब्यांक खाता र मनी ट्रान्सफरहरूको रेकर्डबाट पैसा बुझेको प्रमाण संकलन गरेको छ। अञ्जन र रितेशको नाममा पटक–पटक रकम आएको देखिन्छ। अञ्जनको नाममा वेस्टर्न युनियनबाट ९ पटक र फिजिसियन डेविज थापाको नाममा ६ पटक डलर आएको देखिएको छ। अञ्जनलाई आएको रकम एक पटक अञ्जनकी आमाले समेत बुझेकी थिइन्। यस बाहेक रितेश र सन्दीपको नाममा दुई पटक र सागर थापाको नाममा एक पटक वेस्टर्न युनियनबाट डलर आएको देखिन्छ भने अरू रकम अरू माध्यम र विदेशमै लिने गरेको बुझिएको छ। विकास सिंह क्षत्री नियमित खेलाडी नभएकाले उनले सन् २००८ मा मर्डेका कप खेल्दा एक पटक १५ सय डलर र मलेशियामै खेल्दा सन् २०११ मा अर्को पटक पाँच हजार डलर पाएको प्रहरीसमक्ष स्वीकारेका छन्। नेपाल पुलिस क्लबबाट खेल्ने रितेश भने प्रहरी सहायक निरीक्षकसमेत हुन्।

अञ्जनले म्याच फिक्सिङको अवैध रकम गुण्डा नाइके दिनेश अधिकारी (चरी) सँग मिलेर क्यासिनोमा लगानी गरेको प्रहरीको भनाइ छ। अञ्जन आफैंले राजधानीदेखि सिक्किमसम्मका क्यासिनोमा लगानी विस्तार गरेका थिए। अञ्जनले उक्त रकम राप्रपा नेपालको सिफारिशमा मनोनीत सांसद समेत रहेका एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापासँग रेस्टुरेन्टमा समेत लगानी गरेका थिए।

तस्वीरः गोलनेपालडटकम
एउटा हारः सन् २०१२ को नेहरू कप। जसमा नेपालले क्यामरुनसँग ४–० गोल अन्तरले हार्ने गरी फिक्सिङ भए पनि कारणवश गोलकिपर रितेश थापा परिवर्तन भएपछि ५–० ले हार्दा तोकिएको पैसा पाएनन्। सोही खेलका नेपाली दर्शक र गोल स्कोर।

प्रहरीले म्याच फिक्सिङको बलियो प्रमाणका रूपमा खेलाडीहरूको ब्यांक स्टेटमेन्टलाई लिएको छ। वेस्टर्न युनियन मनी ट्रान्सफर र साइबर मनी ट्रान्सफरमार्फत सिंगापुर र मलेशियाबाट पटक पटक आएको पैसाको स्रोत म्याच फिक्सिङ नै भएको उनीहरूले स्वीकारेका छन्। खेलाडीहरूले अपराध स्वीकारेको रेकर्डेड भिडियो समेत प्रहरीले प्रमाणस्वरुप अदालतमा पेश गरेको छ।

१५ कात्तिकमा विशेष अदालतले खेलाडीहरूलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ। महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल अनुसन्धान चाँडै सिध्याएर रायसहितको प्रतिवेदन सरकारी वकील कार्यालयमा बुझ्ाउने तयारी गरिरहेको बताउँछन्। (हे. कुराकानी) तर, पछिल्लो समय भने खेलाडीहरूले 'हार्ने खेलका लागि पैसा लिएको तर फिक्सिङ भने नगरेको' बताउन थालेका छन्। विशेष अदालतमा लैजाने क्रममा सागर थापाले आफूहरू निर्दोष भए पनि मिडियाले अपराधी बनाएको दाबी गरेका थिए। उनीहरूले न्यायाधीशसामु पनि मिलेमतोमा खेलेको भन्ने प्रहरी आरोप गलत भएको बताएका थिए।

नेपाली फूटबलका जानकारहरू भने म्याच फिक्सिङमा पक्राउ परेका पाँच खेलाडी 'मोहरा' मात्रै भएको बताउँछन्। एन्फाका एक पदाधिकारी भन्छन्, “गणेश थापालाई भगवान मान्दै खाएका खेलाडीहरूले उनको निर्देशन र सहमति विना यति ठूलो कदम उठाए भन्नेमा कसैलाई विश्वास छैन।” एन्फा उपाध्यक्ष कर्माछिरिङ शेर्पा म्याच फिक्सिङ काण्डमा खेलाडीलाई मात्रै होइन, एन्फा अधिकारीलाई समेत छानबिन गरिनुपर्ने बताउँछन्। खेलाडीले प्रति खेल हार्न लिएको पाँच हजार डलर टोकन मनी मात्रै भएको र यसको मुख्य योजनाकार अरू नै हुनसक्ने उनको दाबी छ।

हार्दै, मस्ती गर्दैः म्याच फिक्सिङमा पक्राउ परेका खेलाडीहरु अञ्जन केसी, सन्दिप राई, सागर थापा (रातो घेरामा) का साथमा गणेश थापाका छोरा गौरव (सेतो घेरामा)। जो अञ्जनका व्यापारिक साझेदार पनि हुन्।
एएफसीले सोझै प्रहरीसँग मिलेर गरेको अनुसन्धानले पनि शेर्पाको आरोपमा बल दिएको छ। जानकारहरूका अनुसार २००८ को 'मर्डेका कप' देखि नै म्याच फिक्सिङमा नेपाली खेलाडीको संलग्नताको आशंका गर्दै एएफसीले अनुसन्धानका लागि एन्फालाई आग्रह गरेको थियो। त्यतिवेला म्याच फिक्सिङको कुरा बाहिर आएपछि थापाले खेलाडीहरूलाई 'अनुशासित खेल खेल्ने कसम खुवाएको' कुराले फूटबल क्षेत्र तताएको थियो। फूटबल विश्लेषक नवीन पाण्डे भन्छन्, “त्यतिवेला एन्फा नेतृत्वले कसम खुवाउनुको सट्टा खेलाडीलाई कारबाही गरेको भए यो अवस्था नआउन सक्थ्यो।” तर, कारबाही त कता हो कता एन्फाले संदिग्ध खेलाडी सागर र रितेशलाई फ्लाट र सन्दिपलाई कार पुरस्कार दिने निर्णय गर्‍यो। एन्फाले विश्वास गुमाएपछि नै फिफा र एएफसीले सीधै प्रहरीसँग सहयोग मागेको हुनसक्ने पाण्डेको अनुमान छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले म्याच फिक्सिङबारे एन्फासँग स्पष्टीकरण मागेको छ। राखेपका सदस्य सचिव केशवकुमार विष्ट प्रहरी अनुसन्धान पूरा नभई यसबारे केही नबोल्ने बताउँछन्। पूर्व प्रशिक्षक कृष्ण थापा नेपाली फूटबलको यत्रो बद्नामी हुँदासमेत एन्फा अध्यक्ष थापा पदमै रहिरहनुलाई आश्चर्य मान्छन्। उनी भन्छन्, “एएफसीका पूर्वअध्यक्ष समेत रहेका उनले तत्काल राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्छ।” (हे. बक्स)

राजधानीमा १७ कात्तिकमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख धनराज गुरुङले म्याच फिक्सिङमा संलग्न व्यक्तिमाथि तत्काल छानबिन गरी कारबाही थाल्नुपर्नेमा जोड दिए। एन्फा अध्यक्ष थापाले रु.५८ करोड भ्रष्टाचार गरेको ठहरसहित व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले कारबाही प्रक्रिया अघि बढाउन आवश्यक कागजात पठाए पनि त्यसलाई अख्तियारले तामेलीमा राखेको छ। लेखा समिति सदस्य समेत रहेका गुरुङ अख्तियारले एन्फा भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउँछन्।

खेलाडीलाई मात्रै छानबिन गरेर पुग्दैन। एन्फा अध्यक्ष गणेश थापाले राजीनामा गरेर छानबिनका लागि सहज वातावरण बनाइदिनुपर्छ।

कर्माछिरिङ शेर्पा

पूर्व उपाध्यक्ष, एन्फा

पहिल्यै म्याच फिक्सिङको आशंका हुनासाथ एन्फा नेतृत्वले खेलाडीलाई कसम खुवाउनुको सट्टा निलम्बन गरेको भए यो अवस्था नआउन सक्थ्यो।

नवीन पाण्डे

फूटबल विश्लेषक

कसरी भयो 'फिक्सिङ'

कुख्यात फिक्सर पेरुमलले पुस्तकमा सन् २००८ को मर्डेका कपअघि नै नेपाली खेलाडी फिक्सिङमा सहभागी भइसकेको उल्लेख गरेका छन्। “हामी सम्पर्कमा आउनु पहिल्यै नेपालका खेलाडीहरू भ्रष्ट थिए। हामीले मलेशियन एजेन्टमार्फत 'अप्रोच' गरुर्‍यौं। त्यसपछि खेलाडीहरू आफैं हामीसँग कुरा गर्न आए”, पुस्तकमा उनले लेखेका छन्। पेरुमलको भनाइका आधारमा म्याच फिक्सिङको जरा खोज्न २००८ अघि जानुपर्ने हुन सक्छ।

प्रहरीको अनुसन्धानमा २३ अन्तर्राष्ट्रिय खेलमध्ये ६ वटामा नेपाली खेलाडीले 'फिक्सिङ' गरेर खेल हारेको पुष्टि भइसकेको छ। (हे. छुट्टै बक्स) जस अनुसार सन् २००८ मा भएको मर्डेका कपमा अफगानिस्तानसँग २–२ को बराबरी खेलेर फिक्सिङमा सामेल प्रत्येक खेलाडीले पाँच हजार अमेरिकी डलर लिएका थिए। सन् २००९ मा बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा उनीहरूले जनही तीन हजार ६१ डलर लिएको खुलेको छ। त्यस्तै, सन् २०११ को मलेशियासँग भएको मैत्रीपूर्ण खेलमा २–० ले हारेर प्रति खेलाडीले पाँच हजार डलर प्राप्त गरेका थिए। सोही वर्ष फिलिपिन्समा भएको मैत्रीपूर्ण खेलमा पनि पूर्व सहमति अनुसार नै ४–० ले पराजित हुँदै प्रति खेलाडी पाँच हजार डलरकै दरले पैसा लिएका थिए। सन् २०१२ को नेहरू कपमा क्यामरुनसँग ४–० गोल अन्तरले हार्ने गरी फिक्सिङ गरेका खेलाडीहरूले गोलरक्षक रितेश अचानक परिवर्तन भएपछि ५–० ले हारेका थिए। यसरी हार्दा तोकिएको पैसा नपाएको खेलाडीहरूले बयानमा बताएका छन्। २०१४ मा दक्षिणकोरियामा भएको २३ वर्ष मुनिको एशियन गेममा समेत प्रति खेलाडी पाँच हजार डलरका दरले पैसा खाएको प्रहरीको दाबी छ। दक्षिण कोरियामा नेपाली युवा टोली कुवेतसँग ५–० र इराकसँग ४–० ले पराजित भएको थियो।

नेपाली खेलाडीहरूलाई 'म्याच फिक्स' गराउनेमा पेरुमल, केसभान पटान (२८), टिटानी एसओ पेरियसामी (३८) लगायत छन्। पेरुमलले खेलाडीहरूलाई मलेशियाको होटलमै समेत भेटेर जनही ५/५ हजार डलर दिएका थिए। सबै खेलमा अञ्जनले 'फिक्सर'हरूसँग 'डिल' गरेको प्रहरी अनुसन्धानले देखाएको छ। फिक्सरहरूसँग उनको सम्बन्ध यति बलियो थियो कि, कोरियामा भएको अण्डर–२३ एशियन कपमा उनी नेपालमै भएर पनि म्याच फिक्सिङबापत ५ हजार डलर प्राप्त गरेका थिए।

खेल मिलेमतोमा अन्य खेलाडी र एन्फा पदाधिकारीहरू समेत संलग्न भएको आशंका गरिए पनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन। लामो समय राष्ट्रिय फूटबल टोलीका फिजिशियन रहेका तर हाल अमेरिकामा रहेका डेजिव थापा पनि पक्राउको सूचीमा छन्। उनलाई इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा मलेशियाका पूर्वराष्ट्रिय खेलाडीसमेत रहेका केसभान पटानको नामबाट अञ्जन केसी र फिजिशियन डेजिव थापाको नाममा पटक पटक वेस्टर्न युनियन मनी ट्रान्सफरबाट रकम आएको देखिन्छ। केसभान–पेरुमलको अन्तर्राष्ट्रिय सञ्जालले म्याच फिक्सिङ गराउँदै आएको देखिन्छ।

पूर्वी टिमोरलाई होम र अवेमा पराजित गरी पहिलो पटक विश्वकप छनोटको दोस्रो चरणमा पुगेको नेपालले २०१४ विश्वकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा जोर्डनविरुद्ध अवेमा ९–० को विशाल गोल अन्तरले पराजय भोगेको थियो। यो खेलमा पनि नेपालले म्याच फिक्सिङ गरेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। लगत्तै एक सातापछि दशरथ रंगशालामा भएको खेलमा भने १–१ गोलको बराबरी खेल्नुले पनि यस्तो शंकामा बल पुर्‍याएको छ।

हार्ने खेलः ४–० ले हार्नका लागि पहिल्यै फिक्स भइसकेको नेपाल–फिलिपिन्सको खेल २०११।
पेरुमल, पटान, टिटानी जस्ता म्याच फिक्सरहरूले खेलाडी मात्रै हैन खेल आयोजकसँग मिलेर पूरै म्याच समेत फिक्स गर्ने गरेको देखिन्छ। म्याच फिक्सिङलाई फूटबल जगतको क्यान्सर मानिन्छ। नेपाल प्रहरीले पाँच खेलाडी पक्राउ गरेको तेस्रो दिन २९ असोजमा जारी गरेको विज्ञप्तिमा एएफसीका कार्यवाहक महासचिव डी.डब्लु. जोनले म्याच–फिक्सिङलाई रोक्न ३६० डिग्रीको दृष्टि अख्तियार गरेको बतायो। एएफसीले खेलाडी पक्राउ गरिएपछि नेपाल प्रहरीलाई धन्यवाद समेत दिएको छ। जोनले भनेका छन्, “एएफसीले म्याच–फिक्सिङलाई शून्य सहनशीलताको रूपमा लिएको छ। यसको रोकथाम, अनुसन्धान र रेस्पोन्समा ३६० डिग्रीको दृष्टि दिने नीति अख्तियार गरेका छौं।” स्पोर्टराडार सेक्युरिटी सर्भिसेजका म्यानेजिङ डाइरेक्टर एन्ड्रिस क्रान्निचले म्याच फिक्सिङलाई आफूहरूले गम्भीरतापूर्वक लिएको र यसमा संलग्न जो–कोहीलाई सजायको भागीदार बनाएरै छाडिने बताएका छन्।

शंकामा बाबु–छोरा

गोल प्रोजेक्ट, एएफसी अध्यक्षबाट लिएको रकम, खेलाडी कल्याण कोष र प्रशिक्षकलाई दिनुपर्ने रकमलगायत रु.५८ करोडको घोटालाको आरोप खेपिरहेका एन्फा अध्यक्ष थापा म्याच फिक्सिङको पछिल्लो घटनाले नराम्ररी झ्स्केका छन्।

सार्वजनिक लेखा समितिमा अनियमितताको उजुरी परेर गत वर्ष मात्र बयान दिएका थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागले समेत अनुसन्धान गरिरहेको छ। 'पहुँचवाला' भएकै कारण थापाको मुद्दा अख्तियारले तामेलीमा राखेको छ भने सम्पत्ति शुद्धीकरणले पनि 'छानबिन जारी रहेको' बताउँदै आएको छ। विभागका महानिर्देशक केवल भण्डारी थापाको सम्पत्ति छानबिनमा सम्बन्धित निकायहरूले पर्याप्त सहयोग नगरेको गुनासो गर्छन्। उनी भन्छन्, “थापाको सम्पत्ति विवरणहरूसँगै फिफाको लगानी र ब्यांकिङ कारोबार समेत मागेका छौं।” थापा र उनका छोरा गौरवबारे पनि प्रश्न उठेकाले एउटै केस बनाएर छानबिन गरिरहेको उनको दाबी छ। अबको छानबिनमा म्याच फिक्सिङको पक्षलाई पनि ध्यान दिने भण्डारी बताउँछन्।

राष्ट्रिय टीमका पूर्व प्रशिक्षक ग्राहम रोबर्टस्को सम्झौतालाई निरन्तरता नदिनुको पछाडि पनि म्याच फिक्सिङको विषय जोडिएको जानकारहरू बताउँछन्। ग्राहमले पटक पटक एन्फा अध्यक्ष थापासँग फिक्सिङको विषयमा चर्चा गरेको स्रोतको भनाइ छ। ११ अक्टोबर २०११ मा मनिलास्थित रिजाल रंगशालामा फिलिपिन्ससँगको खेलमा भएको घटनाले ग्राहमलाई म्याच फिक्सिङबारे शंका जगाएको थियो। रक्षापंक्तिको कमजोरीका कारण १७औं मिनेटमा नेपालले पहिलो गोल खाएपछि १८औं मिनेटमा ग्राहमले रक्षापंक्तिको नेतृत्व सम्हालेका कप्तान सागरलाई मैदान बाहिर पठाएका थिए। स्रोतका अनुसार, त्यसवेला रोबर्टस्लाई पहिल्यै एकजना बुकीले नेपाल ४–० ले हार्दैछ, त्यसमा तिम्रो खेलाडी पनि संलग्न छ भनेका थिए। “उनले विश्वास गरेनन् तर कप्तान माथि नै शंका लागेपछि भोला सिलवाललाई मैदानमा पठाए”, स्रोत भन्छ। बुकीले भने जस्तै नेपाल ४–० ले नै पराजित भएपछि भने खरो स्वभावका ग्राहम खेलाडीमाथि खनिएका थिए।

म्याच फिक्सरहरूसँग गणेश थापाका छोरा गौरवको पनि सम्बन्ध खुलेको छ। उनले नै म्याच फिक्सर र खेलाडीबीच तारतम्य मिलाएको हुनसक्ने अनुसन्धानले देखाएको छ। एएफसीमा अधिकृतस्तरका जागिरे गौरवको पहलमै कतिपय खेल आयोजना गरिने र ती खेलमै फिक्सिङ हुने गरेको अनुसन्धानमा देखिएको स्रोतको दाबी छ। स्रोतका अनुसार, सन् २०११ मा मलेशिया र फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल फिक्सिङकै लागि भएको देखिएको छ, यस्तो फिक्सिङलाई 'स्पोर्टिङ फिक्सिङ' भनिन्छ। पैसा जित्नकै लागि गरिने फिक्सिङलाई भने 'विटिङ फिक्सिङ' भन्ने गरिन्छ। फूटबलमा वार्षिक १० खर्ब अमेरिकी डलर बराबरको म्याच फिक्सिङ भइरहेको एक अध्ययनले देखाएको छ।

एन्फा अध्यक्ष बुबा र एएफसीबाट म्याच कमिसनरको भूमिका पाएका छोरा गौरवकै संलग्नतामा अर्को देशको फिफा वरियता बढाउन यस्ता मैत्रीपूर्ण खेल तय गरिएको आशंका गरिएको छ। यसरी हुने खेलमा सम्बन्धित आयोजक देशले खेलाडीको आतेजातेदेखि बस्ने–खाने सम्पूर्ण खर्च र आगन्तुक देशलाई प्रतिखेल ५० हजार अमेरिकी डलरसम्म दिने चलन छ। म्याच फिक्सिङमा खेलाडी पक्राउ परेलगत्तै गौरव मलेशिया जानुलाई पनि प्रहरीले शंकाको घेरामा लिएको छ। ९ जुलाई र १३ अगस्त २००९ मा फिफाका मोहम्मद विन हमामको खाताबाट गौरवकै खातामा शंकास्पद रूपमा एक लाख डलर आएको खुलासा भएको थियो। उक्त रकमलाई गणेश थापाले सापटी भने पनि फिफा चुनावमा अध्यक्षका प्रत्यासी हमामलाई मत हालेबापत खुवाएको रकम बताइँदै आएको छ।

पक्राउ परेका सबै खेलाडीसँग गौरवको निकट मात्र होइन, व्यावसायिक साझेदारी समेत छ। गौरव, अञ्जन र सन्दिप एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन हुन्। एन्फा उपाध्यक्ष शेर्पाका अनुसार एएफसीले एन्फालाई पटक पटक म्याच फिक्सिङबारे छानबिनका लागि ताकेता गर्दै इन्टिग्रिटी अफिसर राख्न निर्देशन दिएको थियो। थापाले आफूखुशी पूर्व डीआईजी माधव थापालाई इन्टिग्रिटी अफिसर चयन गरेका थिए। अध्यक्ष थापाले न विज्ञता हेरे, न त उनलाई तालीम नै दिए।

'राजद्रोह' को अभियोग

राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६ मा राष्ट्र विप्लव अभियोग प्रमाणित भए खेलाडीलाई १० वर्षसम्म जेल या जन्मकैदसम्म हुने उल्लेख छ। ऐनको दफा ३ मा 'नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा आघात पर्न सक्ने गरी, कुनै विदेशी राज्य वा संगठित शक्तिसँग मिली कुनै प्रकारको षडयन्त्र गरेमा निजलाई जन्मकैद वा दश वर्षसम्म कैद हुने व्यवस्था' छ। विदेशी बुकीहरूसँग मिली राज्यको प्रतिष्ठामा आँच ल्याउने काम गरेकाले यही दफाअनुसार मुद्दा चलाइने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी खनाल बताउँछन्। अहिले भने ऐनको दफा ४ अन्तर्गत म्याद थप गरिएको छ।

अनुसन्धान पूरा भएपछि सरकारी वकीलको कार्यालयले कुन दफा अनुसार मुद्दा चलाउने भन्ने निर्णय गर्नेछ। राज्य विरुद्धको अपराध तथा सजाय ऐनको दफा ४ मा भनिएको छ 'कसैले स्वतन्त्र एवं अविभाज्य नेपालकोे सार्वभौमसत्ता र अखण्डतामा खलल पर्न सक्ने गरी वर्गीय, जातीय, धार्मिक, क्षेत्रीय वा कुनै आधारमा घृणा, द्वेष, अवहेलना उत्पन्न हुने कुनै काम कारबाही गरे/गराएमा तीन वर्षसम्म कैद र रु.३ हजारसम्म जरिवाना वा दुवै सजाय हुने' उल्लेख छ। तीन वर्षसम्म कैद सजाय हुने अधिकांश मुद्दामा साधारणतया अदालतले अभियुक्तलाई धरौटीमा छाड्ने नजिर रहेकाले खेलाडीहरू छुट्ने सम्भावना पनि छ। तर, राज्य विरुद्धको अपराधमा उनीहरू छुटेमा प्रहरीले मनी लाउन्ड्रिङ, भ्रष्टाचार, किर्ते कागजात जस्ता मुद्दामा कार्बाही चलाउन सक्नेछ। पक्राउ परेका रितेश र विकासको नागरिकता र राहदानीको उमेर समेत फरक पाइएको प्रहरीले जनाएको छ।


'ढिलो चाँडो सबै समातिन्छन्'

सर्वेन्द्र खनाल,

प्रमुखमहानगरीय प्रहरी अपराध महाशाखा

नेपाली फूटबलमा 'म्याच फिक्सिङ' नौलो मानिन्छ। प्रहरीको ध्यान त्यतातिर कसरी पुग्यो?

हाम्रो फूटबल टोली जहिल्यै किन हार्छ? पहिले त राम्रै खेल्थ्यो। कतै हाम्रा खेलाडीले पनि फिक्सिङ गरेका त होइनन् भन्ने शंका लाग्यो। त्यसपछि सम्बन्धित क्षेत्रका पदाधिकारीसँग बुझ्न चाह्यौं। करीब एक महीनाको अनुसन्धानपछि म्याच फिक्सिङका आधारहरू देखिए। एएफसीसँग सहकार्य गर्‍यौं। फिक्सरसँग खेलाडीहरूको सम्बद्धता र खेलहरू केलाएपछि शंका प्रमाणित भयो।

म्याच फिक्सिङमा एन्फाका पदाधिकारीमाथि अनुसन्धान नथालिनुको कारण के हो?

खेलाडी मात्रै होइन, प्रशिक्षक र पूर्वखेलाडी पनि समातिएका छन्। एन्फा पदाधिकारीबारे हामी बुझ्दैछौं। अनुसन्धानमा संलग्न पाइए कसैलाई पनि छाड्दैनौं। ढिलो चाँडो सबै समातिन्छन्।

म्याच फिक्सिङको घटना 'राज्यविरुद्ध अपराध' ठहर्छ?

यो देशको राष्ट्रिय झण्डा र स्वाभिमान बेचेको घटना हो। यसर्थ, यो कर्तुत राज्यद्रोहतर्फ नै आकर्षित भयो। खेलाडीले फिक्सिङ गरेको बुझिएपछि राज्यद्रोह प्रमाणित भइसकेको छ।

खेलाडीको फरक फरक बयान सुनिन थालिएको छ। यसले मुद्दामा कस्तो प्रभाव पार्ला?

देशलाई नै ढाँट्ने, छलेर खानेले बयान फेर्नु स्वाभाविक हो। तर, उनीहरूले भनेका कुरा र गरेका कर्तुतको प्रमाण हामीसँग छ।

अनुसन्धानमा एन्फाले कत्तिको सहयोग गरिरहेको छ?
बिडम्बना खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबाट पर्याप्त सहयोग पाइएको छैन। खेलाडी पक्राउ परेपछि सम्बन्धित निकायले छानबिन कमिटी बनाएर सहयोग गर्लान् भन्ने आशा थियो तर, त्यो पनि हुनसकेको छैन। हामीले मागेपछि भर्खरै एन्फाले सबै खेलहरूमा सहभागी भएका खेलाडीहरूको विवरण दिएको छ।


'प्रहरीलाई सहयोग गरेका छौं'

गणेश थापा

अध्यक्ष, एन्फा

म्याच फिक्सिङको विषयमा खेलाडी पक्राउ परेको घटनाले स्तब्ध र दुःखी बनाएको छ। यस विषयमा २८ असोजमै विज्ञप्तिमार्फत एन्फाले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ। अनुसन्धान चलिरहेकाले यसबारे धेरै नबोलौं।

म्याच फिक्सिङबारे मलाई कुनै जानकारी पनि छैन। मिडियाबाटै कुराहरू थाहा पाइरहेको छु। प्रहरीले मागेको सूचना उपलब्ध गराएको छु। अनुसन्धानमा सहयोग गरिरहेको छु। अदालतको फैसला नआई भन्न गाह्रो छ। मिलेमतो जस्तो संवेदनशील विषयको किनारा नलागेसम्म पक्राउ परेका खेलाडीहरूलाई फूटबल गतिविधिमा संलग्न गराउँदैनौं।


**'म्याच फिक्सिङमा एन्फा अध्यक्ष नै दोषी' **

कृष्ण थापा

पूर्व प्रशिक्षक,

राष्ट्रिय फूटबल टीम

देशको झण्डा बोकेर खेलेका खेलाडीमाथि नै म्याच फिक्सिङको आरोप लागेपछि एन्फाले अनुसन्धानमा सहयोग गर्नुपर्दछ। फिक्सिङ भनिएका सबै खेलको भिडियो उपलब्ध गराउनुपर्दछ। अहिले मैले नै प्रशिक्षण दिएका पाँच खेलाडी फिक्सिङमा परेका छन्। तर, उनीहरूकै बलले मात्र यस्तो भयो जस्तो मलाई लाग्दैन। यसको जिम्मेवारी एन्फा नेतृत्वले लिनुपर्दछ। अनुसन्धानमा सहयोग गर्न एन्फाका अध्यक्ष गणेश थापाले तत्काल राजीनामा दिनुपर्दछ।

विदेश खेल्न जाँदा खेलाडीको नाम कटाएर असम्बन्धित मान्छेलाई लगेको देखेको छु। एउटै खेलका लागि १२ जनासम्म अधिकारी लगिएको छ। १५०० डलर पाउनुपर्ने प्रशिक्षकलाई ८० डलर दिइन्छ। विदेशी प्रशिक्षकलाई मासिक रु.८ लाख पारिश्रमिक दिंदा नेपाली प्रशिक्षकलाई आठ हजार दिइन्छ। एन्फामा वर्षौंदेखि हुँदै आएको भ्रष्टाचार कतैबाट लुकेको छैन।

सार्वजनिक लेखा समितिदेखि अख्तियारसम्म फाइल पुगेको छ। तर कारबाही कतैबाट भएन।
एन्फामा सधैं एउटैको नेतृत्व हुँदा पनि म्याच फिक्सिङमा बल पुगेको हो। त्यसकारण दोष एन्फाले नै लिनुपर्छ।


चर्चित म्याच फिक्सिङ

अल्जेरियालाई समूह चरणबाटै बाहिर पठाउन पश्चिम जर्मनी र अष्ट्रियाले सन् १९८२ को विश्वकपमा म्याच फिक्सिङ गरेर १–० गोल अन्तरको नतीजा निकाले।
खेल भावना विपरीत पूर्व निर्धारित नतीजाका लागि खेल्नु म्याच फिक्सिङ हो। म्याच फिक्सरले खेलकुद लगायत प्रचलित ऐन उल्लंघन गरेको हुन्छ। फिक्सिङमा सहभागी खेलाडीले जानी–जानी कमजोर प्रदर्शन गर्दछ भने रेफ्रीले जिताउनुपर्ने पक्षको फल नलिने र विपक्षको अनावश्यक फल लिने गर्दछ। विश्व अनुभव हेर्दा बुकीले खेलाडी, प्रशिक्षक, रेफ्री, खेल पदाधिकारी, क्लब मालिकदेखि व्यवस्थापन पक्षलाई समेत म्याच फिक्सिङको चंगुलमा फसाएको देखिन्छ। अधिकांश म्याच फिक्सिङको भित्री उद्देश्य जुवाडेले रकम जित्नका लागि गराएको देखिन्छ। विपक्षीलाई आर्थिक प्रलोभनमा पारेर आफ्नो टीमलाई सहजै जिताउन पनि फिक्सिङ हुने गर्दछन्।

विश्वकपमै मिलिभगत

स्पेनमा स्न १९८२ को विश्वकप फूटबलको समूह एमा रहेको अल्जेरियाले तीन खेलबाट चार अंक जोडेको थियो भने चिली शून्यमा थियो। दुई जित निकालेको अष्ट्रियाको प्लस तीन गोलसहित चार अंक थियो। अल्जेरियासँग पराजित भएको पश्चिम जर्मनीको प्लस दुई गोलसहित दुई अंक थियो। अन्तिम खेलमा थोरै गोल अन्तरले अष्ट्रिया पराजित हुँदा अल्जेरिया प्रतियोगिताबाट बाहिरिथ्यो। अष्ट्रियासँगको खेल शुरु भएको १०औं मिनेटमा पश्चिम जर्मनीले एक गोल गरेपछि दुवै टीमले बाँकी समय गोल गर्ने प्रयास समेत नगरी बिताए। फूटबल इतिहासमा यसलाई नियम उल्लंघन नगरी गरिएको म्याच फिक्सिङ भनिन्छ।

टोटोनेरो १९८०

इटालीको घरेलु फूटबलमा भएको म्याच फिक्सिङ सम्बन्धी घटना 'टोटोनेरो १९८०' नाममा विश्व चर्चित छ। इटलीको कानून कार्यान्वयन एजेन्सी 'गार्डिय डि फिनान्जा' ले २३ मार्च १९८० मा खेलाडीहरूले पैसाका लागि म्याच फिक्सिङ गरिरहेको तथ्य पत्ता लगाएको थियो। यो काण्डमा १९८२ को विश्वकपमा ६ गोल गरेर गोल्डेन बुट जितेका पाउलो रोसीसमेत दुई वर्षको निलम्बनमा परे। जम्मा २० खेलाडीलाई तीन महीनादेखि ६ वर्षसम्म निलम्बन गरिएको थियो। सात क्लब र दुई जना व्यवस्थापक पनि कारबाहीमा परे।

कोलम्बियामा हत्या

एन्ड्रिस इस्कोबार फूटबल इतिहासमा त्यो अभागी नाम हो जसलाई आत्मघाती गोल गरेको निहुँमा हत्या गरियो। १९९४ को विश्वकपमा अमेरिकाविरुद्धको खेलमा उनले आत्मघाती गोल गरेका थिए। अमेरिकासँग २–१ गोल अन्तरले पराजित भएर विश्वकपबाट बाहिरिएको केही दिनमा उनको हत्या भयो। कोलम्बियाले जित्छ भनेर बाजी लगाएकाहरूले पैसा हारेको झोंकमा उनको हत्या गरिएको विश्वास गरिन्छ। १९८८ देखि राष्ट्रिय टीमबाट खेलेका एन्ड्रिसको अन्तिम संस्कारमा करीब एक लाख २० हजार नागरिक सहभागी थिए।

रेफ्रीको फिक्सिङ

जर्मन रेफ्री रोबर्ट रोयजेर २००५ मा म्याच फिक्सिङको अभियोगमा २९ महीना जेल परे। सेकेण्ड डिभिजन रेफ्री रोबर्टमाथि २३ म्याच फिक्सिङ गरेको आरोप थियो। २६ वर्षीय उनले ९ वटा म्याच फिक्सिङको आरोप स्वीकारेका थिए। उनको फिक्सिङबाट क्रोयसियाली फिक्सर एन्टे सपिनले पाँच लाख पाउण्ड कमाएका थिए। त्यसमध्ये रोबर्टले ४६ हजार पाउण्ड पाएका थिए। यसका लागि रोबर्टले अनावश्यक पेनाल्टी दिने र खेलाडीलाई मैदान बाहिर पठाउने गरेका थिए।

एकै खेलमा ७९ गोल

सन् २०१३ मा नाइजेरियाको प्लाटेयु युटाइटेडले स्थानीय अकुर्ब क्लबलाई ७९–० गोल अन्तरले पराजित गर्‍यो। रोचक के छ भने त्यसमध्ये ७२ गोल मध्यान्तरपछि भएको थियो। एउटै समयमा भएको अर्को खेलमा पुलिस मेशिन क्लबले बाबायारो क्लबलाई ६७–० गोल अन्तरले पराजित गरेको थियो। यस्तो लज्जास्पद नतीजापछि नाइजेरियाली फूटबल महासंघ (नाफुम) ले चारवटै टीम सम्बद्ध सबैलाई र म्याच अफिसियललाई फूटबलबाट आजीवन प्रतिबन्ध लगाउने निर्णय गर्‍यो।

comments powered by Disqus

रमझम