२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

सुनसान सिलिगुडी, जोगबनी

Share:
  
नेपाली उपभोक्ताकै कारण गुल्जार पूर्वका सीमावर्ती भारतीय बजार सिलिगुडी र जोगवनीका व्यापारी भारतीय नाकाबन्दीबाट आहत छन्।

कमल रिमाल
ग्राहक कुरेर बसेका जोगवनीस्थित हरियाणा फेन्सीका संचालक र कर्मचारी।
भारतको पश्चिम बंगाल राज्यस्थित सिलिगुडीको दार्जीलिङमोडका व्यापारी दिलीप लामिछाने (५४) नेपालमा नाकाबन्दी हुनुअघि मासिक रु.२० लाखभन्दा बढीको बिक्री नेपाली उपभोक्तालाई गर्थे। “२० वर्षको दोकानदारीमा पहिलोपटक धक्का महसूस भएको छ”, उनी भन्छन्।

नेपालमा संविधान जारी गरिएको तीन दिनपछि अर्थात् ६ असोज अपराह्नदेखि भारतले मुख्य व्यापारिक नाका पानीट्यांकीमा कडाइ गर्न थालेको थियो। आफ्नै देशले गरेको नाकाबन्दीका कारण सिलिगुडीका भारतीय व्यापारीहरूको निद्रा हराएको छ।

१५ असोजमा १२ जना जतिको मधेश आन्दोलनकारीको समूह काकडभिट्टास्थित मेची पुलमा नारा लगाइरहेका देखिए। प्रहरीले तत्काल हस्तक्षेप गरेपछि उनीहरू तितरवितर भए। पक्राउ परेका दुई जना पनि एकसातापछि नै छुटे। त्यसयता काकडभिट्टा―पानीट्यांकी नाकामा मधेशवादी आन्दोलनकारी देखा परेका छैनन्। तर, भारतीय सरकार भने आन्दोलनकारीकै कारण यी दुई नाकाबाट सामान पठाउन अस्वीकार गरिरहेको छ।

सिलिगुडीका प्लास्टिक उद्यमी रतन बिहानी (५८) को नेपालभित्रको व्यापार मासिक रु.२५ लाख जतिको थियो। उनी भन्छन्, “४१ वर्षको व्यापारमा पहिलोपटक उत्पादन स्टक हुनेभयो।”

भारतीय उद्यमी संगठन (सीआईआई) का उत्तर बंगाल च्याप्टरका अध्यक्ष नरेश अग्रवाल जलपाइगुडी, दार्जीलिङ, कुचबिहार, मालदह, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र अलिपुरद्वारबाट मात्रै नेपालसँग मासिक करीब १० करोडभन्दा बढी भारतीय रुपैयाँको कारोबार हुने गर्थ्यो। नाकाबन्दीपछि नेपालसँगको कारोबार करीब एक चौथाइमा झ्रेको बताउने उनी भन्छन्, “म जस्ता धेरैको हालत यस्तै छ।” यस्तै अवस्था रहे नेपालको काकडभिट्टादेखि भारतको सिलिगुडीसम्मका कम्तीमा २५ हजार कामदारको रोजीरोटी संकटमा पर्ने उनको भनाइ छ। नेपालसँगको नाका सहज पार्न अग्रवालसहितको टोलीले कोलकाता पुगी पश्चिम बंगाल राज्य सरकारका अधिकारीसमक्ष अनुरोधसमेत गरेको थियो। अग्रवाल भन्छन्, “तर कोलकाताका अधिकारीहरू दिल्ली देखाउँदै पन्छिए।”

गोपाल गड्तौला
दार्जीलिङका व्यवसायी दिलीप लामिछाने।
नेपालीकै कारण गुल्जार पूर्वी सीमावर्ती जोगवनी बजार यतिवेला सुनसान छ। विराटनगरसँग सीमा जोडिएको जोगवनी बजार यति भीड हुन्थ्यो कि पैदलयात्रीलाई समेत हिंड्न गाह्रो हुन्थ्यो। तर, साउनको अन्तिमसातायता जोगवनी सुनसान छ। “अहिले जोगवनीका व्यापारी झिंगा धपाएर बसेका छन्” जोगवनीका संचारकर्मी सुदीप यादव भन्छन्, “नेपाली नआउँदा जोगवनी बजार चल्दैन।” ६० वर्षअघि जोगवनीमा खुलेको हरियाणा फेन्सी स्टोरका संचालक मुनाल गोयल जोगवनीमा अहिले जस्तो मन्दी कहिल्यै नभएको बताउँछन्। भन्छन्, “लामो समयसम्म व्यापार ठप्प भएको यो पहिलो पटक हो।”

जोगवनीस्थित मीरा मेडिकल हलका चिकित्सक कमरुज मियाँ नेपाली खरीदकर्ता नआएकाले जोगवनीका व्यापारीले ऋण र व्याज तिर्न नसकेको बताउँछन्। “तीज, इद, जितिया पनि गयो, दशैं पनि गयो, जोगवनीको व्यापार शून्यमै रह्यो”, उनको चिन्ता छ।

सुनसरी र मोरङ जिल्लाका आधासरो बजार जोगवनीबाटै आएका सामानले चलेका छन्। जोगवनीमै सामान किन्ने र गाउँगाउँमा बेच्ने साना व्यवसायी पनि आन्दोलनबाट पीडित छन्। त्यसो त जोगवनीमा नेपालीले पनि व्यापार गर्छन्। त्यहाँका साना ठूला गरी ३०० जति पसलमा आधाजति कामदार नेपाली नै छन्।

गोपाल गड्तौला, झापा कमल रिमाल, विराटनगर


अभावको तिहार

नाकाबन्दी सिर्जित अभावबीच दशैं सकियो। अब तिहार थेग्ने बाध्यता छ।

गोपेन राई
काठमाडौं, महाबौद्धस्थित कुमारी गिफ्ट शपका संचालक राजकुमार कडोई ग्राहक कुर्दै।
“श्रीमतीले सन्फ्लावर तेल ल्याउनू भनेकी थिइन्”, १६ कात्तिकमा असन बजारमा भेटिएका रोशन महर्जन (४२) भन्दैथिए, “कतै पाइएको छ्रै्रन, अरू सामान पनि नपाइने चिन्ता छ।”

खाना पकाउने ग्याँस, मट्टीतेल, डिजललगायत पेट्रोलियम पदार्थको चरम अभावबीच यस वर्षको दशैं सकियो। अब तिहार र छठमा पनि उस्तै हालत भोग्नुपर्ने छनक देखिंदैछ। तिहार दाजुभाइ र दिदीबहिनीको पर्व मात्र होइन; मीठामीठा परिकार, फूल, झ्िलिमिली र देउसीको रमाइलो पनि हो। तर, भारतको नाकाबन्दीका कारण तिहार खल्लो बन्दैछ।

छैनन् नयाँ सामान

ग्राहकले खोजेका आवश्यक सामान उपलब्ध गराउन नसकेकोमा व्यापारी खिन्न छन्। व्यापार पनि घटेको छ। “हरेक सामानको भाउ बढेको छ”, असनचोकस्थित लक्ष्मी पालिस्था किराना पसलका सञ्चालक विकास श्रेष्ठ भन्छन्, “महँगो भएको भन्दै ग्र्राहक रिसाएर हिंड्छन्। होलसेलमै बढेको छ। तिहार आइसक्यो तर व्यापार सुक्खा छ।”

नाकाबन्दीका कारण होलसेल पसलमै सामानको अभाव छ। रु.१०० देखि रु.१८ हजारसम्मका बत्ती बेच्न राखेका व्यवसायी केदार सुवाल भन्छन्, “ग्राहकले तिहारका लागि धेरै महँगा बत्ती किन्दै किन्दैनन्।” अघिल्लो वर्ष तिहारका वेला दैनिक एक/डेढ लाख रुपैयाँको व्यापार भएको तर यसपटक पूरै व्यापार चौपट भएको महाबौद्धस्थित कीर्तिका इन्टरनेशनलका प्रविन अग्रवाल बताउँछन्। उनी भन्छन्, “चिनियाँ सामान पनि भारतकै बाटो भएर आउने भएकाले नयाँ सामान आउनै सकेन।” उनको होलसेलमा पहिले दुई सय प्रकारका बत्ती पाइनेमा अहिले बढीमा सय थरीका बत्ती मात्रै उपलब्ध छन्।

अभावको असर भाउमा पनि परेको छ। भाइटीकाका लागि मसला किन्न असन आइपुगेकी सानोभर्‍याङ, स्वयम्भूकी विष्णु राई (२८) भाउ सुनेरै तर्सिइन्। उनका अनुसार पहिले रु.३५० मै पाइने नरिवल अहिले किलोको रु.५५० पुगेको छ। छोगडा पनि किलोको रु.२४० पुगेको छ। असनमै पसल गर्ने प्रेम रोका नरिवल, छोगडा, काजु, किसमिस, सुकुमेल, मधेशी बदाम, ओखर, पेस्ता, मखना, मिश्री, खुर्पानी, कटुसलगायत मरमसलामा न्यूनतम ५० प्रतिशतसम्म मूल्य बढेको बताउँछन्।

नयाँसडककी मसला व्यवसायी सुन्दरी श्रेष्ठका अनुसार भाइ–मसला पनि भारतबाटै आयात गरिने भएकाले यस्तो स्थिति आएको हो। “होलसेलमा चिनी, चामल र गेडागुडी पनि सकिएको छ”, उनी भन्छिन्।

तिहारका लागि नयाँ ढाँचाका कृत्रिम फूल थप्ने योजना बनाएका कुमारी गिफ्ट शपका सञ्चालक राजकुमार कडोई नाकाबन्दीका कारण निराश छन्। “भएकै सामान पनि बिकिरहेको छैन”, उनी भन्छन्, “इन्धन नभएकाले किनमेल गर्नै आएका छैनन्।”

पुष्प व्यवसायीहरू तिहारका वेला फूल अभाव हुनसक्ने बताउँछन्। नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरे भन्छन्, “हाम्रै ६० प्रतिशत फूल बजार पुग्न सकेको छैन। भारतबाट आयात हुने ३० प्रतिशत फूल पनि आएको छैन।”

भाइटीकाका लागि नभई नहुने सप्तरंगी टीकाको समेत बजारमा कमी छ। हनुमानढोकास्थित पसलमा सप्तरंगी टीका बेचिरहेका रामप्रसाद दास भन्छन्, “पोहोर १२/१३ थरीका टीका बेचेको थिएँ, यसपालि त यही पनि लुकाएर नेपाल भित्र्याएको हुँ।”

बजारमा चामल, पीठो, चिनी र ड्राई फ्रुट्स पनि सकिन थालेको छ। चाबहिलको तृष्णा मिठाई पसलका निमेष अग्रवाल धन्न दूध भने पाइएको बताउँछन्। अभाव यस्तै हुने हो भने चाँडै पसल बन्द गर्नुपर्ने अवस्था आउने उनी बताउँछन्।

सबै चिजको भाउ बढे पनि फलफूल र तरकारीको मूल्य भने थोरै घटेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ खुद्रा पसलमा सामान पुर्‍याउन भने सकस परिरहेको बताउँछन्। व्यवसायी सन्तोषप्रसाद गुप्ता ग्याँस अभावका कारण उपभोक्ताले पकाउने परिमाण घटाएपछि व्यापारमा मन्दी छाएको बताउँछन्।

फलफूलको भने भाउ यथावत् छ। कालीमाटी बजारमै रहेको भारती कम्पनीका सञ्चालक केशव भारती उपत्यकामा फलफूल अभाव नहुने दाबी गर्छन्। “तर, इन्धन नभएकाले खपतमा कमी हुने देखिन्छ।”

सजना बराल

comments powered by Disqus

रमझम