२२ कात्तिक - ५ मंसीर २०७२ | 8-21 November 2015

तत्काल पुनःनिर्माण

Share:
  
हिउँद आइसक्यो तर, महाभूकम्पपछिको पुनःनिर्माण शुरू हुनै सकेको छैन।

भारतले लगाएको नाकाबन्दीले महाभूकम्प प्रभावितलाई झ्नै पीडा थपेको छ। आवश्यक इन्धनको अभावमा राहत र पुनःनिर्माण सामग्री प्रभावित क्षेत्रसम्म पुग्नसकेका छैनन्। कतिपय सामग्रीको आयात ठप्प छ। अर्कोतर्फ पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसद्बाट पारित हुनसकेको छैन। विशेष अधिकारसहितको पुनःनिर्माण प्राधिकरण अघिल्लो सरकारले अध्यादेशमार्फत गठन गरे पनि प्रतिस्थापन विधेयक व्यवस्थापिका संसद्बाट पारित हुन नसक्दा प्राधिकरण आफैं वैधानिक बन्न सकेको छैन।

राजनीतिक अन्योलले ६ महीनादेखि पालमुनि बसिरहेका पीडितमाथि अन्याय भइरहेको छ। यस्तो वेला संयुक्त राष्ट्रसंघको मानवीय सहायता समूहलगायतका विभिन्न निकायले सीमामा भइरहेको अवरोधले भूकम्पपछिको नेपालमा गम्भीर मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन्। यसबारे समयमै सचेत हुनुपर्छ।

प्राधिकरणको योजना त परैको कुरा, सुरक्षित पुनःनिर्माणका लागि सरकारी आर्थिक सहयोग पनि पीडितले पाउन सकेका छैनन्। सरकारी अनुदानसँगै सुरक्षा अनुगमन र प्राविधिक सहयोगको समन्वयको विषय पनि अन्योलमै छ। शहरी क्षेत्रमा सचेतना र विशेषज्ञको प्रत्यक्ष निगरानी हुँदा निर्माण सुरक्षित हुने भए पनि ग्रामीण क्षेत्रमा व्यक्तिगत तहमा हुने निर्माणले सम्भावित अर्को भूकम्पको झ्ट्का थेग्न नसक्ने हो कि भन्ने चिन्ता थपिएको छ। घरका सदस्यले मात्र होइन निर्माणमा संलग्न प्राविधिक जनशक्तिले समेत सुरक्षित निर्माणका सूचना र ज्ञान नपाएसम्म नीति–नियम बनाएर मात्रै ढुक्क हुने अवस्था छैन।

सुरक्षित निर्माणको चुनौती

गत वैशाख र २०४५ सालको भूकम्पमा ग्रामीण भेगमा सबैभन्दा पहिले चुली गारो भत्किएको थियो। ढुंगा वा काँचो ईंटाका गह्रौं चुली गारोको सट्टा टीन वा काठकै चुली गारो बनाउनु उपयुक्त हुने भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट) का उपनिर्देशक डा. रमेश गुरागाइँ बताउँछन्।

सामान्यतः पिलर नराखी गाउँघरमा बनाइने घरलाई बलियो पार्न सुर बाँध्ने चलन छ। घरको प्रत्येक कुनामा सुर बाँध्ने ढुंगा सँगै डण्डी र ढलान प्रयोग गरी कुना बन्धन बनाउनु उपयुक्त हुन्छ। डण्डी र सिमेन्ट नपुग्ने ठाउँमा काठको बन्धन बाँध्नुपर्छ। ईंटाको घरमा पनि सुर बाँध्नु जरूरी हुन्छ।

ढुंगा, माटो वा ईंटाका घरमा गारोको सम्पूर्ण लम्बाइमा झयालको तल (सिल लेभल) र माथि (लिन्टेल लेभल) मा तेर्सो बन्धन (बीम जस्तै) बाँध्नुपर्नेमा डा. गुरागाइँको जोड छ। गाउँघरमा पहिलेदेखि नै काठको नस राख्ने चलन छ। सकेसम्म यस्तो नस सिमेन्ट र डण्डीकै बनाउँदा घर बलियो हुन्छ। त्यसो गर्न नसके पनि काठको नस एउटा तलामा दुई ठाउँमा (झयालको तल र माथि) राख्नु अनिवार्य हुन आउँछ।

गाउँघरमा भूकम्प प्रतिरोधी घर बनाउँदा कुना–कुनामा ठाडो डण्डी वा काठ राख्नुपर्छ। जगदेखि नै शुरू गरी छानासम्म पुर्‍याइने यस्ता ठाडा डण्डी एवम् काठले घरको भुइँदेखि छानासम्मको सबै भागलाई आपसमा बाँध्न मद्दत गर्छ।

ढुंगा माटोको घरलाई भूकम्प प्रतिरोधी बनाइए पनि त्यो घर सिमेन्टको जोडाइजस्तो बलियो नहुने डा. गुरागाइँको भनाइ छ। उनी भन्छन्, “सबै ठाउँमा सिमेन्ट र बालुवा पुर्‍याउन नसकिएला तर सिमेन्टको प्रयोगलाई प्राथमिकता दिनुपर्छ।”

गत वैशाखको भूकम्पले कतिपय बस्ती नै नयाँ बनाउनुपर्ने बाध्यता छ। जमीनमा धाँजा फाटेर निर्माणमा थपिएको समस्या त छँदैछ। अबको पुनःनिर्माणमा जमीन र माटोको अवस्थामा विचार पुर्‍याउनु जरूरी छ।

एनसेटका गुरागाइँ अन्य मुलुकका अनुभवबाट समेत सिकेर आर्थिक अनुदान, सुरक्षा र प्रविधिको सहयोगबाट सुरक्षित पुनःनिर्माण गर्न सकिने बताउँछन्। “तर, यसका लागि पैसा र सरकारको प्रयास मात्रै पर्याप्त हुँदैन”, उनी भन्छन्, “जनस्तरको सचेतना र सक्रियता उत्तिकै आवश्यक हुन्छ।”

सञ्जीव शर्मा

comments powered by Disqus

रमझम